काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेतृत्वमा चक्रीय प्रणाली (आलोपालो) गर्ने निर्णय गरेको छ। मोर्चा गठन भएको लामो समयसम्म पनि संयोजक बारे सहमति जुट्न नसकेपछि बैठकैपिच्छे संयोजक फेर्न मोर्चामा सहभागी दलहरू सहमति भएका हुन्।
बुधबार बसेको मोर्चाको बैठकमा बैठकैपिच्छे संयोजक फेर्ने सहमति भएको फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले जनाए। यो सहमतिअनुसार बुधबार बसेको बैठकको संयोजन फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए। यसअघिको बैठकको संयोजन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले गरेका थिए।
बैठकले मोर्चामा सहभागी सबै दलका अध्यक्षसहित तीन–तीन जना संयोजन समितिमा रहने निर्णय गरेको राउतले जनाए। बैठकले सचिवालयसमेत गठन गरेको छ। सचिवालयमा फोरम नेपालबाट लालबाबु राउत, तमलोपाबाट सर्वेन्द्रनाथ शुक्ला, फोरम लोकतान्त्रिकबाट जितेन्द्रनारायण देवलगायत छन्।