काठमाडौं– संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा कार्यदललाई सुम्पिँदै प्रमुख दलका शीर्ष नेताहरूले दुई दिनलाई फुर्सद लिएका छन्। संविधान निर्माणका गतिरोध फुकाउन बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठक कार्यदल गठन गर्ने सहमति गर्दै टुंगिएको हो।
बैठकले कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले उपाध्यक्ष भीम रावल, एमाओवादी महासचिव कृष्णबहादुर महरा र मधेसी मोर्चाका तर्फबाट सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण रहेको चार सदस्यीय कार्यदल गठन गरेको छ। जसलाई शीर्ष तहबाट नसुल्भि्कएको विषय सुल्झाउन दुई दिनको समय पाएको छ।
पटक–पटक बसेको शीर्ष नेतासहितको बैठकले कुनै सहमति जुटाउन नसकेपछि विकल्पसहित प्रतिवेदन पेस गर्न कार्यदललाई जिम्मा दिएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार कार्यदलले सहमतिका विकल्प शीर्ष बैठकमा पेश गर्ने छ।
कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले दलहरू आफ्नो अडानबाट पछि हटे मात्रै दुई दिनभित्र सहमति सम्भव हुने बताएका छन्। 'सबै दल आफ्नो अडानबाट पछि हट्ने हो भने एक दिनमै सहमति गर्न सकिन्छ,' कर्णले नागरिकन्युजसँग भने, 'कार्यदलले शीर्ष नेताहरूसँग औपचारिक/अनौपचारिक छलफल गरेर सहमतिको प्रयास गर्नेछ।'
कार्यदलले दुई दिनमो प्रतिवेदन बुझाएपछि छलफलमा जुट्ने एमाले अध्यक्ष केपी ओलीले बताएका छन्। उनले टि्वट गरेका छन्– ..... कार्यदल बनाउने र दुई दिनमा प्रतिवेदन बुझी छलफलमा जुट्ने बालुवाटारमा तय भएको छ।
बैठकमा सहभागी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने शीर्ष तहबाट पार नलागेको विषय कार्यदलले टुंगो लगाउँछ भन्नेमा आशंका व्यक्त गरे। समय पर धकेल्न कार्यदल गठन गरिएको उनको टिप्पणी थियो। 'बैठकमा चिया पिउनेबाहेक कुनै काम भएन,' बालुवाटार बैठकमा सहभागी यादवले नागरिकन्युजसँग भने, 'कुनै सहमति नभएपछि मिडियालाई देखाउन कार्यदल बनाउने भनेर नेताहरू उठे।'
उनका अनुसार बैठकमा संविधानका विवादित विषयमा छलफल नै भएन। 'कसरी समय बिताउने भन्नेमा नै शीर्ष नेताहरू केन्द्रित छन्,' उनले भने, 'त्यसैको परिणामस्वरूप कार्यदल गठन भएको हो।'
सत्तापक्ष दलले संविधानका विवादित विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरी सहमति गर्न आग्रह गर्दै सहमति नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नुपर्ने बताउँदै आएका छन्। एमाओवादीसहित विपक्षी दलले भने सहमतिबाटै संविधान जारी गर्नुपर्ने भन्दै आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन्। दलहरुबीच राज्यपुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्यायप्रणालीमा सहमति हुन सकेको छैन।