काठमाडौं– संविधानका विवादित विषयमा सहमतिको बिन्दु खोज्ने जिम्मेवारी पाएको कार्यदलले प्रमुख दलको शीर्ष नेताहरूलाई मौखिक प्रतिवेदन बुझाएको छ। विवादित विषयमा कुनै ठोस सहमति नभएपछि विभिन्न विकल्पसहित मौखिक प्रतिवेदन बुझाएको कार्यदलका सदस्य एवं एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले बताए।
बुझाइएका विकल्पहरूबारे खुल्न नचाहेका उनले नागरिकन्युजसँग भने, 'विवादित विषयमा कुनै ठोस सहमति भएन। विभिन्न विकल्प र सुझावसहित प्रतिवेदन शीर्ष नेतालाई बुझाएका छौं।' कार्यदलले दिएको विकल्प र सुझावका आधारमा शीर्ष तहमा छलफल भए सहमतिमा पुग्न सकिने उनको विश्वास थियो।कार्यदलमा सबै विषयमा प्याकेजमा छलफल भएको उल्लेख गर्दै महराले कार्यदलले दिएको विकल्प र सुझावका विषयमा भोलि (सोमबार) शीर्ष तहमा छलफल हुने बताए। कुनै एक विषयमा मात्र छलफल गर्दा विषयान्तर हुने भएकाले सबै विषयमा प्याकेजमा छलफल गर्न कार्यदलले सुझाव दिएको छ।
स्रोतका अनुसार बैठकमा मधेसी मोर्चाले कुनै ठोस सहमतिको प्रस्ताव ल्याउनेभन्दा पनि बहुमतीय प्रक्रियाबाट संविधान जारी गरे बहिस्कार गर्ने चेतावनी दिएपछि बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको एक नेताले जनाए।
बैठकमा पनि सदस्यले आफ्नो दलीय अडान नछोडेकाले सहमति हुन नसकेको कार्यदलका एक सदस्यले जनाए। संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै प्रमुख तीन दल र मधेसी मोर्चाले चार सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले उपाध्यक्ष भीम रावल, एमाओवादी महासचिव कृष्णबहादुर महरा र मधेसी मोर्चाका तर्फबाट सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण छन्।
संविधान जारी गर्ने मिति नजिकिँदै गर्दा प्रमुख दलहरुबीच संविधानका अन्तर्वस्तु, राज्यको पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीलगायत विषयमा सहमति जुट्न सकेको छैन।