काठमाडौं–संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बोलाएको कार्यव्यवस्था समितिको बैठकमा नेताहरु प्रष्टरुपमा दुई धारमा विभाजित भएका छन्। बैठकको सुरुमा नै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले चार दिनभित्र विषयमा सहमति गर्न तथा संविधान मस्यौदा लेखनको काम आफूलाई दिन वा स्ववीवेकीय अधिकार दिन आग्रह गरेपछि दलहरु दुई धारमा विभाजित भएका हुन्।
बैठकमा सभाध्यक्ष नेम्वाङले चार दिनभित्र विवादित विषयमा सहमति जुटाए माघ ८ भित्र संविधान जारी गर्न सकिने बताएका थिए। नेम्वाङले दलका नेताहरुले सहमति गर्न नसकेको अवस्था आफूसँग दुईवटा विकल्प बाँकी रहेको जानकारी गराए।
'चारदिनभित्र तपाईहरुले विवादित विषयमा सहमति गर्नु भयो भने नियम निलम्बन गरेर भए पनि माघ ८ मा संविधान जारी गर्न सकिन्छ,' नेम्वाङको भनाई उद्धृत गर्दै बैठकमा सहभागी खुम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार खुम्बुले नागरिकन्युजसँग भने,'यदि विषयमा सहमति गर्नसक्नु भएन भने मसँग दुईवटा विकल्प छन्। मलाई अधिकार दिनुहोस्।'
अध्यक्ष नेम्वाङले दुईवटा विकल्पस्वरुप संविधानको मस्यौदा लेखनको काम आफूले जिम्मा लिने र आफूलाई स्वविवेकीय अधिकार दिन प्रस्ताव गरेका छन्। नेम्वाङले आफूलाई स्वविवेकीय अधिकार दिएको खण्डमा कार्यतालिकासमेत तयार गरेका छन्। जसअनुसार पुस १८ देखि माघ ८ सम्मको कार्यतालिका तयारी अवस्थामा रहेको जानकारी नेताहरुलाई गराएका थिए।
निकै कडा रुपमा प्रस्तुत भएका सभाध्यक्ष नेम्वाङले आफैँले कार्यतालिका बनाएर सबै दलका नेताका हातमा थमाएका छन्।
संविधानसभा अध्यक्षले आफ्नो भनाइ राखेपछि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले नेम्वाङले पेश गरेको विकल्प आफूलाई मान्य भएको बताउँदै त्यसमा सहमति गर्न एमाओवादीलाई आग्रह गरेका थिए। बैठकमा सहभागी खुम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार खुम्बुका अनुसार प्रधानमन्त्री कोइरालाले अहिले निकै तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरेका र लोकप्रिय अध्यक्ष भन्दै नेम्वाङको प्रस्तावमा सहमत हुन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका थिए।
प्रधानमन्त्री कोइरालाले सहमतिबाटै संविधान जारी गर्न आफूहरु तयार रहेको भन्दै तर, सहमतिको नाममा मुलुकलाई धेरै दिन बन्धक बनाउन नहुने धारणा राखेका थिए। 'सहमतिबाटै संविधान जारी गर्न अहिलेसम्म प्रयास गरेका हौं,' प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै खुम्बुले भने, 'अब सहमति हुन सक्दैन भने सभामुखजीले गरेको प्रस्तावमा सहमत बन्न म प्रचण्डजीलाई आग्रह गर्छु।' एमाले अध्यक्ष ओलीले पनि नेम्वाङको प्रस्तावको पक्षमा सहमति जनाउन आग्रह गरेका थिए ।
अध्यक्ष नेम्वाङले भने दलहरुका लागि आफू कालकुट र हलाहल विष पिउनसमेत तयार भएर दुईवटा विकल्प अघि सारेको बताएका थिए। 'म तपाईहरुका लागि कालकुट र हलाहत विषसमेत पिउन तयार छु,' नेम्वाङले भने, 'कि विषयमा सहमति गर्नुस कि मैले अघि सारेको विकल्पमा सहमति जनाउनुस्।'
नेम्वाङले आफू कालकुट र हलाहत विष पिउन तयार रहेको बताएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरु सभामुखलाई कुनै प्रकारको विष पिलाउने पक्षमा नरहेको बताएका थिए। कांग्रेस–एमालेको चर्को आलोचना गर्दै उनीहरुलाई पश्चगामी र प्रतिमागीको सज्ञा दिएका थिए। संवाद समितिमा समय हुँदासम्म कुनै प्रस्ताव पेश नगरेर अन्तिम अवस्थामा मात्रै नौ बुँदे प्रस्ताव पेश गरेको उल्लेख गर्दै दाहालले बहुमत, अल्पमतको कुरा गरेर सत्तारुढ दलले संविधान बनाउने नचाहेको आरोप लगाए।
उनले कांग्रेस–एमालेले दुई तिहाइको बलमा पेलेर लैजाने रणनीति बनाएको भन्दै कुनै पनि हालतमा बहुमतबाट संविधान जारी हुन नसक्ने बताएका थिए। विगतको आन्दोलन, शान्ति सम्झौता, १२ बुँदे सहमति र अन्तरिम संविधानको मर्मविपरित जारी हुने संविधान आफूहरुलाई मान्य नहुने उनको भनाइ थियो। शान्ति सम्झौतामा आएपछि सबैभन्दा बढी त्याग एमाओवादीले गरेको उल्लेख गर्दै धेरै त्याग गर्दा आफ्नो पार्टीसमेत विभाजन भएको गुनासो गरे।
एमाओवादी नेता एवं संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले भने विवादित विषयको टुंगो सभामुखको रोहवरमा हुनुपर्ने बताए। अहिले पनि विवादित विषयमा सहमति गर्न सके माघ ८ मा संविधान जारी गर्न सकिने उनको भनाई थियो। बैठकमा कांग्रेस,एमाले, एमाओवादी मधेसी मोर्चा र संवाद समिति र मस्यौदा समितिका सभापतिलाई बोल्ने समय दिइएको थियो।