काठमाडौं– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संविधानसभाले सहमतिका लागि भन्दै पुनः संवाद समितिमा फिर्ता पठाएको छ। संविधानसभाको बिहीबारको बैठकमा संवाद समितिको प्रतिवेदनमाथि छलफल सकिएपछि सहमतिका लागि भन्दै प्रतिवेदन फिर्ता गरिएको हो।
संवाद समितिलाई पुस २९ गते ११ बजे बस्ने संविधासभा बैठकमा प्रतिवेदन पेस भनिएको छ। समितिलाई सहमति वा असहमति जे भए पनि प्रस्ताव संविधानसभामा पठाउन निर्देशन दिइएको छ। प्रतिवेदन समितिमा पठाउने निर्णयको राप्रपा नेपालबाहेक सबै दलले स्वागत गरेका छन्।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले तोकिएको समयभित्र सहमति नभए संविधानसभा कार्यसंचालन नियमावलीको नियम ६५ को उपनियम ११/१२ बमोजिम नियम, कानुन र स्थापित अभ्यास अनुसार अघि बढ्ने बताए।
संवाद समितिका सभापति बाबुराम भट्टराईले सभासदको प्रश्नको जवाफ दिँदै संविधानसभाले दिएको निर्देशन अनुसार काम गर्न तयार रहेको बताए।
यसअघि तोकिएको मितिभित्र संवाद समितिले सहमति जुटाउन नसकेपछि समितिमा पेस भएका प्रस्ताव जस्ताको त्यस्तै संविधानसभामा बुझाएको थियो। संविधानका अन्तर्वस्तुमा सहमति जुटाउने जिम्मा पाएको समितिले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायाप्रणालीलगायत विषयमा सहमति जुटाउन सकेको छैन।