दाङ– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले 'अधुरो क्रान्ति'लाई पूर्णता दिन 'जनवादी क्रान्ति'को कार्यदिशा तय गरेको छ। माओवादीले यसलाई नेपाली मौलिकता सुहाउँदो 'एकीकृत क्रान्ति ' पनि भनेको छ। घोषणा अनुसार माओवादीले यो क्रान्ति 'वैदेशिक हस्तक्षेप र दलाल तथा पुँजीवादीहरूविरुद्ध' गर्नेे निर्णय गरेको छ।
चार दिनसम्म तुलसीपुरमा चलेको पार्टीको प्रथम राष्ट्रिय सम्मेलन क्रान्तिलाई सशक्त पार्ने रणनीति तय गर्दै शनिबार सकिएको छ। 'सर्वहारा' वर्गको अधिकार स्थापित गर्ने मुख्य उद्देश्यसहित क्रान्तिको कार्यदिशा तय गरेको माओवादीले क्रान्तिको स्वरूप परिस्थिति अनुसार तय गरिनेसमेत वताएको छ। हाल आफुहरूको मिसन शान्तिपूर्ण क्रान्ति रहेको तर शान्तिपूर्ण क्रान्तिबाट सर्वहारा वर्गको अधिकार स्थापित नभए सशक्तरूपमै जाने निर्णयसमेत सम्मेलनले गरेको छ।
यो क्रान्ति सर्वहारा वर्गकै नागरिकको सहयोगमा गरिने माओवादी भनाइ छ। सम्मेलनपछि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले पत्रकार सम्मेलनमा भने, 'हाम्रो अबको मुख्य कार्यदिशा भनेको क्रान्ति हो, यसलाई सम्मेलनको हलले पास गरेको छ।'
माओवादीले आफ्नो क्रान्ति 'जनवादी राज्यसत्ता' निर्माणका लागि हुनेसमेत बताएको छ। हालको राज्यसत्ता संरचनाले 'दलाल पुँजीवादी'हरूले मात्रै फाइदा लिइरहेको भन्दै माओवादीले जनवादी राज्यसत्तामा मात्रै सर्वहारा वर्गको अधिकार स्थापित हुने निष्कर्ष निकालेको छ। 'हाम्रो अबको क्रान्ति जनवादी राज्यसत्ता निर्माणका लागि हुनेछ,' प्रवक्ता विश्वकर्माले भने, 'यो राज्यसत्ता भयो भने मात्रै सबैको अधिकार सुनिश्चित हुने छ भन्ने निष्कर्षमा पुगेका छौँ।'
सांगठनिक संरचना : महासचिवको नेतृत्व
चन्द माओवादीले महासचिवको नेतृत्व रहने गरी पार्टीको सांगठनिक संरचना निर्माण गरेको छ। सम्मेलनले नेत्रविक्रम चन्दलाई महासचिव चयन गरेको छ। मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबाट अलग बनेपछि यो पार्टी संयोजकको नेतृत्वमा थियो। पार्टी विभाजनपछि ८० केन्द्रीय समिति रहेको यो पार्टीले केन्द्रीय समितिको आकारसमेत घटाएको छ। सम्मेलनले केन्द्रीय समितिलाई ६५ सदस्यमा सीमित राखेको छ। पार्टी महासचिवसहित हाल ५८ सदस्य चयन गरेको मओवादीले ७ सदस्य भने पछि थप गर्ने जनाएको छ।