काठमाडौं- एकीकृत माओवादीले सत्तापक्ष दलले संविधानसभालाई ब्यारेकमा परिणत गरेको आरोप लगाएको छ। बिहीबार एक विज्ञप्ती जारी गर्दै एमाओवादीले हजारौंको संख्यामा प्रहरी शक्तिलाई संविधानसभामा उतारेर सत्तापक्षीय दलले पञ्चायती शासककै शैली अपनाएको आरोप लगाएको छ।
'आज संविधानसभाको दृश्य हेर्दा यो सार्वभौमसत्ता सम्पन्न प्रजातान्त्रिक संस्था नभएर संगीनको बलमा हुकुम लाद्ने संयन्त्र बनेको प्रतित हुन्छ,' विज्ञप्तीमा भनिएको छ।
एमाओवादीले संविधानभसा प्रवेशद्वारमा सभासदको हुर्मत लिने काम भएको आरोप लगाएको छ। सुरक्षाको नाममा प्रतिपक्षका महिला सभासदको अस्मितालाई समेत गिज्याउने काम भएको विज्ञप्तीमा उल्लेख छ।
संविधानसभाभित्रका माइक निकालिएको, सत्तापक्षको छेउमा पिउने पानीको व्यवस्था भएको तर, प्रतिपक्षीको लागि भने पिउने पानीको व्यवस्था नगरिएको, संविधानसभामा सभासदभन्दा बढी मर्यादापालक रहेकाले यस्तो अवस्थामा प्रजातान्त्रिक अभ्यासद्वारा जनताको पक्षमा संविधान जारी असम्भव रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ।