काठमाडौं- सत्तापक्ष दलले वार्ता र सहमतिलाई पछि धकेल्दै पोलेर जाने नीति लिएको निष्कर्ष निकाल्दै एमाओवादी नेतृत्वको सात दलीय गठबन्धनले संविधानसभाको अवरोध जारी राख्ने निर्णय गरेको छ।
शनिबार एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको एमाओवादी, मधेसी मोर्चा र संघीय समाजवादी पार्टीको बैठकले सत्तारुढ दलले पेलेर जाने नीति अख्तियार गरेको निष्कर्ष निकाल्दै संविधानसभामा जारी अवरोध कायम राख्ने निर्णय गरेको गठबन्धनका सदस्य एवं तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले जानकारी दिए।
'जहिलेसम्म सहमति हुँदैन तबसम्म संविधानसभामाभित्रको विरोध कायम राख्ने निर्णय भएको छ,' यादवले नागरिकन्युजसँग भने, 'सत्तापक्षले वार्ता र सहमतिलाई अस्विकार गरेको हुनाले संविधानसभाभित्रको अवरोध कायम राख्ने निर्णय भएको छ।'
गठबन्धनको बैठकले विगतमा भएको चार बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमाग समेत गरेको छ। दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेस-एमाले, एमाओवादी र मधेसी दलबीच चार बुँदे सहमति भएको थियो।
बैठकले कुनै पनि हातलमा प्रश्नावली समिति गठन गर्न नदिने निर्णय गर्दै संविधानसभा अध्यक्षले नै प्रस्ताव पेस गरे त्यसको विरोध गर्ने निर्णय गठबन्धनले गरेको छ। संविधानसभा अध्यक्ष आफैँले प्रस्ताव पेस गर्ने प्रचलन कहीँ पनि नभएको निष्कर्ष निकाल्दै अध्यक्षले प्रस्ताव पेस गरे प्रतिवाद गर्ने निर्णय भएको नेताहरुले जनाएका छन्।
सोही विषमया छलफल गर्न अहिले एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाको बैठक बसिरहेको छ।