काठमाडौं– संधिवानसभा अध्यक्षले प्रश्नावली समिति गठन गर्ने प्रस्ताव निर्माण समितिको घोषणा गरेपछिको स्थितिको मूल्यांकन गर्न बसेको एमाओवादीसहितको सात दलीय मोर्चाको बैठक बिना निष्कर्ष सकिएको छ।
सोमबार एकीकृत माओवादी संसदीय दलको कार्यलय सिंहदरवारमा बसेको एमाओवादी, पाँच मधेसी दल र संघीयत समाजवादी सहभागी बैठक आन्दोलन गर्ने विषयमा केन्द्रित रहेपनि कुनै निर्णय भने गर्न सकेन। बैठक दिउँसो २ बजे पुन: बस्ने गरी सकिएको स्रोतले जानकारी दिएको छ।
बैठकमा सहभागी नेता एवं तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवका अनुसार आन्दोलन गर्ने विषयमा छलफल भए पनि कुनै निर्णय भने भएन। तीन घण्टासम्म चलेको बैठकले कुनै निर्णय गर्न भने सकेन।
‘आन्दोलनमा जाने विषयमा त कुनै दुईमत छैन,' फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकन्युजसँग भने,’ त्यसलाई औपचारिक घोषणा गर्नुपूर्व थप छलफल आवश्यक भएकाले पुन: बैठक बस्ने गरी अहिलेलाई सकियो।' उनले अन्य दलसँग थप छलफल गरेर निष्कर्षमा पुग्ने बताए। यसअघि २ बजे ३० दलीय मोर्चाको बैठक बस्ने भनिएको थियो। बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि पुन: २ बजे सात दलको बैठक बस्ने र ५ बजे ३० दलीय मोर्चाको बैठक बस्ने यादवले जानकारी दिए।
बैठकमा सत्तापक्षले आफ्नो गल्ती नसच्याएसम्म वार्ता गर्न नहुने विषयमा छलफल भएको तमसपा अध्यक्ष महेन्द्र राय यादवले जनाए। ‘वार्ताको औचित्य समाप्त भयो,' यादवले भने, ‘जवसम्म सत्तापक्षले आफ्नो कदम सच्याउँदैनन् तबसम्म वार्ताको कुनै अर्थ छैन।'
स्रोतका अनुसार बैठक आन्दोलनमा जाने वा नजाने विषयमा मोर्चाका नेताबीच मतभेद भएको छ। फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिबाटै जानुपर्ने भन्दै तत्काल आन्दोलनमा जानु घातक हुनसक्ने बताएका थिए।