काठमाडौं- संविधानसभा अध्यक्षले प्रस्ताव निर्माण समिति गठन गरेको विरोधमा एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले तीन चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोमबार बसेको ३० दलीय मोर्चाको बैठकले माघ १२ देखि चैत १७ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
पहिलो चरणको आन्दोलनअन्तर्गत माघ १२ देखि २० सम्म सबै पार्टीले आफ्नो आन्तरिक बैठक गर्ने, आन्दोलनको तयारी गर्ने, माघ २१ देखि २९ सम्म गाउँ क्षेत्र, नगरस्तरीय अन्तक्रिया, भित्तेलेखक पर्चा वितरण गर्ने तथा आफ्नो निर्वाचन क्षेत्रमा खबरदारी सभा गर्ने मोर्चाका नेता आरके खुम्बुले जानकारी दिए।
यसैगरी चैत १ देखि १० सम्म जिल्लास्तरीय धर्ना, घेराउ तथा जनप्रदर्शन गर्ने र आमसभा गर्ने मोर्चाले घोषणा गरेको छ।
त्यस्तै फागुन १७ गते काठमाडौंमा विशाल जनसभा गर्ने मोर्चाले जनाएको छ। यसैगरी फागुन १७ देखि चैत १५ सम्म विभिन्न प्रतिकात्मक विरोधका कार्यक्रम गर्ने खुम्बुले जनाए।