काठमाडौं- संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठन गर्न प्रस्ताव निर्माण समिति गठन गर्ने घोषणा गरेपछि त्यसको विरोधमा उत्रिएको एकीकृत माओवादीले सरकारलाई पूर्णरुपमा असहयोग गर्ने निर्णय गरेको छ।
बुधबार एमाओवादी संसदीय दलको बैठकले सरकारले गर्ने आयोजना गर्ने कुनै पनि काम कारबाहीमा सहभागी नहुने निर्णय भएको एमाओवादी नेता अग्नी सापकोटाले जानकारी दिए।
बैठकले प्रस्ताव निर्माण समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। 'हामीले यसअघि पनि सरकार र सभाध्यक्षलाई सहयोग गर्ने बताइसकेका थियौं,' सापकोटाले भने,' आज औपचारिकरुपमा त्यसको निर्णय गरेका हौं।' बैठकले मंगलबार सत्तारुढ दलले संयुक्तरुपमा निकालेको विज्ञप्तीप्रति आपत्ति जनाउँदै सरकारले आफूहरुलाई चेतावनी दिएको निष्कर्ष निकालेको छ। 'हिजो हामीलाई वार्तामा आह्वान गर्ने नाममा खुला चुनौति दिने काम भएको छ,' उनल भने, 'हामी त्यो चुनौतिको सामना गर्न तयार छौं।'
एमाओवादीले आफ्नो सबै सभासदलाई जनतामा जान निर्देशन दिएको नेता शक्तिबहादुर बस्नेतले जानकारी दिए।
गत ११ गते संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठन गर्न प्रस्ताव निर्माण समिति निर्माण गर्ने घोषणा गरेपछि एमाओवादीलगायत संविधानसभाभित्रका १९ दलले विरोधका कार्यक्रम सार्वजनिक गरिसकेका छन्। तीन चरणमा घोषणा गरिएको आन्दोलनकोलाई चैत १७ गतेपछि निर्णायक आन्दोलनको नाम दिइएको छ। तर, सत्तापक्षले भने एमाओवादीले गर्ने भनिएको निर्णायक आन्दोलन अगाडि नै संविधान जारी भइसक्ने दाबी गर्दै आएका छन्।