काठमाडौं- संधिवानसभा अध्यक्षले प्रश्नावली समिति गठन गर्न प्रस्ताव निर्माण समिति गठनको घोषणा गरेपछि सरकार र सभाध्यक्षलाई असहयोग गर्न संविधानसभा र व्यवस्थापिका संसदअर्न्तगतका समितिका बैठक बहिष्कार गर्ने एमाओवादी संसदीय दलको निर्णयप्रति पार्टी र एमाओवादी नेतृत्वको मोर्चाभित्र विरोध भएको छ।
पार्टीभित्र प्रयाप्त छलफल नै नगरी हतारमा निर्णय गरेको भन्दै नेताहरुले आपत्ति जनाएका छन्। एमाओवादी नेता प्रभु साहले पार्टीभित्र प्रयाप्त छलफल नै नगरी संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका हुन्। 'संसद भनेको विपक्षीको हो,' साहले नागरिकन्युजसँग भने, 'संसद नै बहिष्कार गरेर विपक्षी कहाँ जाने?' त्यस विषयमा आफूले पार्टीका शीर्ष नेतासँगकुरा गरेर विरोध जनाएको उनको भनाइ थियो।
'म संसदीय दलको बैठकमा सहभागी भएको भए त्यस्तो निर्णय हुन दिन्न थिएँ,' उनले भने, 'जुन निर्णय भयो त्यो हतारमा भयो। त्यो धेरै दिनसम्म जान सक्दैन।'
व्यवस्थापिका संसदअन्तर्गतको अर्न्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापतिसमेत रहेका साहले बुधबार समितिको बैठक आफूले पार्टीको निर्णय विपरीत नबोलाएको बताए। 'त्यो बैठक त पार्टीको निर्णय भन्दौ चार/पाँच दिन अगाडि नै बोलाएको हो,' उनले भने, 'समितिको बैठक सकिन लाग्दा संसदीय दलको निर्णय आएको हो।' संसदीय दलको निर्णयप्रति आफूलाई चित्त नबुझेको उनको भनाइ थियो। आज बस्ने केन्द्रीय समितिको बैठकमा त्यससमबन्धी कुरा उठाउने साहले जनाए। संसद बहिष्कार गर्दा पर्ने दूरगामी असरको विषयमा नेताहरुले ध्यान नदिएको उनको भनाइ थियो।
यसैबीच एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाभित्र पनि संसद र त्यस अन्तर्गत समितिका बैठक बहिष्कार गर्ने एमाओवादी संसदीय दलको निर्णयको विरोध भएको छ। आफूहरुसँग छलफल र सल्लाह नै नगरी एमाओवादीले एकलौटी निर्णय गरेको भन्दै मोर्चाआबद्ध दलका नेताले विरोध जनाएका हुन्।
मोर्चामा आबद्ध खुम्बुवा राष्ट्रिय मोर्चाका नेता आरके खुम्बुले संसद बैठक बहिष्कार गर्ने एमाओवादी संसदीय दलको निर्णय गलत भएको बताए। उनले आफूहरुसँगको छलफलमा संसद बहिष्कार गर्ने कुनै छलफल नै नभएको भन्दै उनले एमाओवादीले सो निर्णय सच्याउनुपर्ने बताए। 'संविधानसभा बैठक बहिष्कार गर्ने भन्ने थियो,' उनले भने, 'अचानक संसद र त्यसअन्तर्गतका समितिको बैठक बहिष्कार गर्ने निर्णयले हामी आश्चर्यमा परेका छौं।' सो निर्णय फिर्ता लिन मोर्चाले दबाब दिने उनको भनाइ थियो।
एमाओवादी संसदीय दलको बुधबार बसेको बैठकले सरकार र सभाध्यक्षलाई सहयोग गर्न संविधानसभा र व्यवस्थापिका संसद र त्यसअन्तर्गतका समतिका बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो।