काठमाडौं- नेकपा एमालेले एकीकृत नेकपा माओवादी नेतृत्वको १९ दलीय मोर्चालाई सहमतिको संविधान जारी गर्नका लागि वार्तामा आउन आह्वान गरेको छ। स्थायी कमिटीको बिहीबार सम्पन्न बैठकले प्रश्नावली निर्माण प्रक्रिया प्रारम्भ भए पनि सम्भव भएसम्म वार्ता र संवादका माध्यमबाट सहमति खोज्ने प्रयासमा एमाले रहेको प्रस्ट पारेको छ।
'एकीकृत नेकपा (माओवादी) लगायतका विपक्षी दलहरूलाई बहिष्कार, निषेध र सडक आन्दोलनको बाटो छाडेर सहमतिको प्रक्रियामा सामेल हुन र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने ऐतिहासिक अभिभाराबाट विमुख नहुन एमाले आह्वान गर्दछ,' बैठकपछि महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
एमालेले 'प्रश्नावली निर्माणको प्रक्रिया प्रारम्भ भए पनि वार्ता र संवादको माध्यमबाट सहमति खोज्ने प्रयास जारी नै रहेको र अहिले पनि नेकपा (एमाले) सम्भव भएसम्म सहमतिकै माध्यमबाट अगाडि बढ्न चाहेको' जनाएको छ।
अवरोधका बीच बहुमतीय प्रक्रिया सुुरु गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव निर्माण समिति गठन गरेपछि आक्रोशित एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले आन्दोलन घोषणा गरेको छ। उनीहरूले बहुमतीय प्रक्रिया खारेज नगरुञ्जेल सरकार, सत्तारूढ दल वार्ता नगर्ने र सभाध्यक्ष नेम्वाङविरुद्ध असहयोग आन्दोलन घोषणा गरेका छन्। यस्तै, सभाध्यक्षको तटस्थ भूमिकालाई बिर्सेर नेम्वाङ कांग्रेस–एमालेको प्रवक्ता बनेको आरोप उनीहरूले लगाउँदै आएका छन्। प्रस्ताव निर्माण समितिमा सदस्यको नाम नदिने घोषणा गरेका विपक्षी दलहरूले संविधानसभा र व्यवस्थापिका समितिको बैठक बहिष्कार गर्ने घोषणा गरेका छन्।
एमालेले भने विवादित विषयमा प्रश्नावली बनाउने 'प्रस्ताव निर्माण समिति' गठनलाई सकारात्मक रूपमा लिएको छ। 'माघ ८ भित्र संविधान जारी गर्ने संविधानसभाको संकल्प र जनताको अपेक्षा एनेकपा (माओवादी) नेतृत्व मोर्चाको अनुत्तरदायी व्यवहार र अवरोधका कारण पूरा हुन नसकेको कुरा नेपाली जनतासामु स्पष्ट छ,' विज्ञप्तिमा भनिएको छ, 'यसै पृष्ठभूमिमा माघ ११ गते संविधानसभाबाट विवादित विषयमा प्रश्नावली तयार गर्न प्रस्ताव निर्माण समिति गठन हुनुलाई सकारात्मक रूपमा ग्रहण गर्दै यसबाट संविधान निर्माणको कामलाई सुनिश्चित बनाउन योगदान पुगेको पार्टीले ठहर गरेको छ।'
यसैबीच, सत्ता साझेदार दल एमालले बजारमा खाना पकाउने ग्यासमा कालोबजारी भएको ठहर गर्दै कारबाहीका लागि सरकारसँग माग गरेको छ।
'खाना पकाउने ग्यासमा हाहाकार सिर्जना भएर सर्वसाधारण जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको स्थितिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,' एमालेले विज्ञप्तिमा भनेको छ, 'नेपाल आयल निगमले ग्यासको आपूर्ति पर्याप्त मात्रामा भइरहेको जनाइरहेका बेला भइरहेको यो अभावलाई एमालेले कालोबजारियाको नाफाखोर प्रवृत्ति, गैरजिम्मेवार व्यवहार र बदनियतपूर्ण कदमका रूपमा लिएको छ।'
एमालेले कालाबजारिया र ग्यास उद्यमी, व्यवसायीको मनपरी रोक्न नसक्नुमा सरकारको गम्भीर लापरबाही र निरीहता भएको ठहर गरेको छ।
'नेपाल सरकारलाई अविलम्ब खाना पकाउने ग्यासको सहज र प्रभावकारी आपूर्ति गराउन, कालाबजारियालाई तत्काल कडा कारबाही गर्न र राजनीतिक अन्योलको लाभ उठाउँदै समाजमा अशान्ति र अराजकता फैलाउने प्रयासप्रति सजग रहन एमाले जोडदार माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ।