चितवन- प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनका बेला हुने खर्च कटौती गर्न समानुपातिक प्रणाली उपयुक्त हुने बताएका छन्। आइतबार भरतपुरमा सम्पनन निर्वाचन आचार संहितासम्बन्धी गोष्ठीमा बोल्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले १५ वर्षसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनु उपयुक्त हुने धाराणा व्यक्त गरे।
'पूर्ण समानुपातिक निर्वाचन प्रणाली भए उम्मेद्वारले गर्ने खर्च ७५ प्रतिशत कम हुन्छ। सरकारको खर्च आधा कम हुन्छ,' उप्रेतीले भने। उम्मेद्वारहरुले खर्च गर्ने प्रवृत्ति अत्यन्त बढेर गएकाले त्यसलाई सुधार गर्न निर्वाचन प्रणालीमा सुधार आवश्यक भएको उनको जोड थियो। अहिले एक उम्मेद्वारले बढीमा १० लाख रुपैयाँ खर्च गर्नसक्ने प्रवधान छ।
'यो प्रवधानको पालना नगर्नेहरु छन्। चुनाव जितेर आएकाहरुले ५०औं लाख खर्च गरेको मेरै अगाडि सुनाउँछन्। हामी सुन्या नसुनैझैँ गर्नुपरेको छ। यो बेतिथि अन्त्य हुनुपर्छ,' उप्रेतीले भने। निर्वाचनमा जाने दल र उम्मेद्वारलाई खर्च गर्ने पैसा सरकारले दिने खर्चको कडाइका साथ अनुगमन हुन सके पैसा नहुनेले पनि चुनाव जित्ने दिन आउने उनले बताए।
भुटानमा सरकारले खच दिने परिपाटी रहेको कार्यक्रममा जानकारी गराइयो। 'सरकारले दिने खर्चको लेखा परीक्षण हुनुपर्छ। खर्चको बिल भर्पाइ दुरुस्त हुनुपर्छ। कारोबार बैङि्कङ प्रणालीबाट हुनुपर्छ। यस्ता व्यवस्थाहरु गर्न सकेमा बल्ल कम खर्चमा चुनावमा उठ्ने र जित्ने परिपाटी बस्छ,' उप्रेतीले भने। पैसा खर्च गरेर चुनाव जित्नेले पैसा कमाउनमात्रै खोज्ने उनले बताए।
मतदाता शिक्षा प्रभावकारी भए भ्रष्टाचार र अन्य अबाञ्चित गतिविधिले चुनाव जित्न गाह्रो हुने उनले बताए। 'त्यसैले कमसेकम तीनवटा आवधिक चुनाव अर्थात् १५ वर्षसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाऔं। त्यसपछि मतदातामा एक प्रकारको सचेतना पनि बढ्छ। अनि अन्य निर्वाचन प्रणालीका बारेमा सोचौंला,' उप्रेतीको सुझाव थियो।
चुनावलाई व्यवस्थित र धाँधलीरहित बनाउन निर्वाचन आयोग आचार संहितालाई परिस्कृत गराउँदैछ। सोही प्रस्तावित आचार संहिताका विषयमा छलफल गर्न आयोजित गोष्ठीमा प्रमुख निर्वाचन आयुक्त उप्रेतीले सो कुरा बताएका हुन्। देशका सात ठाउँमा गोष्ठी राखेपछि नयाँ आचार संहिता जारी गर्ने तयारी रहेको उनले जानकारी दिए।