काठमाडौं–'पहिचानमा आधारित संघीय गठबन्धन' ले युवा दस्ता गठन गर्ने तयारी गरेको छ। पहिलो चरणमा राजधानीमा करिव एक हजार युवा दस्ता सार्वजनिक गर्ने तयारी गरेको गठबन्धनले त्यसपछि क्षेत्रीय रुपमा युवा दस्ता गठन गर्ने तयारी गरेको हो।
पहिचानमा आधारित संघीय गठबन्धनको आइतवार सामाजिक लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले आगामी माघ २९ गते राजधानीमा करिव एक हजारको संख्यामा युवा दस्ता सार्वजनिक गर्ने निर्णय गरेको हो। दस्तालाई अहिले तालिम दिने काम भइरहेको गठबन्धनका एक नेताले जानकारी दिए।
सत्तापक्षले पेलेर जाने रणनीति अख्तियार गरेको निष्कर्ष निकाल्दै प्रतिकारात्मक आन्दोलनका लागि युवा दस्ता तयार पारेको खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खुम्बुले जानकारी दिए। 'युवादस्तालाई अहिले तालिम दिने काम भइरहेको छ,' उनले भने। २९ गते राजधानीमा युवा दस्ता सार्वजनिक गरेपछि क्षेत्रीय स्तरमा पनि गठन गर्ने तयारी भइरहेको छ। 'केन्द्र देखि क्षेत्रसम्म युवा दस्ता गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ,' एक नेताले भने,'त्यसका लागि अन्य दलसँग पनि समन्वय र सहकार्य गर्ने तयारीमा छौं।'
गठबन्धनमा खुम्बुवान राष्ट्रिय मोर्चा, संघीय लिम्बुवान पार्टी, नेपा राष्ट्रिय पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, थरुहट तराई पार्टी र आदिवासी जनजाति पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी सहभागी छन्।