काठमाडौं- राष्ट्रपति रामवरण यादवले दलीय वार्ता छाडेर मुलुकलाई मुठभेडमा नलैजान मधेसकेन्द्रित दलका नेताहरूलाई आग्रह गरेका छन्। आइतबार दिउँसो शीतलनिवास पुगेका मधेसकेन्द्रित दललाई राष्ट्रपति यादवले वार्ता र सहमतिबाटै अघि बढ्न आग्रह गरे। 'मुलुकलाई मुठभेडतर्फ होइन, सहमतिमा अघि बढाउनुस्,' राष्ट्रपतिलाई उद्धृत गर्दै मधेसी जनअधिकार फोरम नेपालका नेता रत्नेश्वरलाल कायस्थले भने, 'सहमतिबाटै छिटो संविधान निर्माण गर्नुस्।
राष्ट्रपतिले वार्ता र सहमतिको विकल्प नभएको बताउँदै मधेसकेन्द्रित दलहरूलाई आन्दोलनकारी शक्तिहरू मिलेर नै अघि बढ्नुपर्नेमा जोड दिएको थिए। 'परिर्वतनकारी शक्तिहरू मिलेर छिटो संविधान बनाउनुस्,' राष्ट्रपतिलाई उद्धृत गर्दै कायस्थले भने, 'अहिलेको अवस्था कायमै रहँदा मुलुकमा नयाँ नयाँ संकट आउँछ।'
मधेसकेन्द्रित दलका नेताहरूले आफूहरू सहमति र वार्ताकै पक्षमा रहेको सुनाउँदै सत्तारूढ दलहरू त्यसका लागि तयार नरहेको राष्ट्रपतिसँग गुनासो गरेका थिए। प्रधानमन्त्री कोइरालाले आइतबार मात्र वार्ताका लागि गरेको आह्वान पनि सकारात्मक रूपमा नआएको उनीहरूले राष्ट्रपतिलाई जानकारी गराएका थिए।
प्रमुख दलहरूबीच नै दूरी बढेपछि पछिल्ला दिनमा राजनीतिक परामर्श तीव्र बनाएका राष्ट्रपतिले आइतबार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका नेता कायस्थसहित पाँच नेतालाई भेटेका हुन्।