काठमाडौं- तीस दलीय गठबन्धनले आइतबार प्रधानमन्त्री सुशील कोइरालाले आह्वान गरेको वार्तालाई सकारात्मक रहेको निष्कर्ष निकालेको छ। तर निर्णायक वार्ताको लागि प्रधानमन्त्रीले अर्को पत्र पठाउनुपर्ने बैठकले निर्णय गरेको छ।
एमाओवादी संसदीय कार्यालय सिंहदरवारमा बसेको बैठकले प्रधानमन्त्रीले आह्वान गरेको पत्रमा १२ बुँदे सम्झदारी, अन्तरिम संविधान र अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्ने प्रतिबद्धता नजाएको भन्दै अर्को पत्र पठाउनुपर्ने निष्कर्ष निकालेको हो।
'प्रधानमन्त्रीले आह्वान गर्नुभएको वार्ताका लागि ३० दलीय गठबन्धन सकारातम्क छ। तर पत्रले सबै कुरा समेटेको छैन। अर्को पत्रले सबै कुरा समेटिए हामी वार्तमा बस्न तयार छौं,' गठबन्धनका सभासद् आरके खुम्बुले नागरिकन्युजलाई बताए।
उनका अनुसार बैठकले प्रस्ताव निर्माण समिति पनि खारेज गर्नुपर्ने निर्णय गरेको छ। खारेज गर्न नमिले हाललाई स्थगित गरेर भए पनि वार्ताको वातावरण तयार गर्नुपर्ने निर्णय भएको खुम्बुले बताए।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायत शीर्ष नेताहरुको उपस्थिति थियो।
प्रधानमन्त्री सुशील कोइरालाले छिटोभन्दा छिटो लोकतान्त्रिक संविधान निर्माण गर्न अविलम्ब सार्थक वार्ता थाल्न एकीकृत माओवादी नेतृत्व मोर्चालाई आह्वान गरेको थियो।