काठमाडौं–सत्तापक्ष वार्ताको लागि गंभिर नभए दोस्रो चरणको क्रियात्मक आन्दोलन घोषणा गर्ने चेतावनी दिँदै आएको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले फागुन भरी सहमतिको लागि पहल गर्ने भएको छ। सिहदरबारमा मंगलबार बसेकाे बैठकले फागुन महिनाभरी सहमतिको पहल गर्ने र सो समयभित्र पनि सहमति नभए चैत १ गते दोस्रो चरणको आन्दोलन घोषणा गर्ने निर्णय गरेकाे हो।
बैठकमा तत्काल आन्दोलन घोषणा गर्नुपर्ने र केही दिन पर्खनुपर्ने भन्ने विषयमा मतभेदसमेत भएको छ। स्रोतका अनुसार मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र एमाओवादीका केही युवा नेता केही दिन पर्खनुपर्ने पक्षमा देखिएका छन भने एमाओवादी नेता बाबुराम भट्टराई, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र केही साना जातीय दल आन्दोलनको घोषणा गर्नुपर्ने पक्षमा देखिएका छन्।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशील कोइरालाले तेस्रो पटक वार्ताका औपचारिक वार्ताको आह्वान गर्दै बक्तव्य निकालेपछि केही दिन सहमतिको पहल गर्नुपर्ने प्रस्ताव बैठकमा राखेका छन्। 'प्रधानमन्त्रीले सहमतिबाटै संधिवान जारी गर्न प्रतिबद्ध रहेको तेस्रो पटक वक्तव्य निकाल्नु भएको छ छ। यस्तो अवस्थामा आन्दोलनका कार्यक्रम केही दिनसम्म घोषणा नगरौं', दाहालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।
स्रोतका अनुसार प्रधानमन्त्रीले पटक पटक वार्ताको लागि आह्वान गर्दासमेत आन्दोलनमा जाँदा जनतामा नकारात्मक सन्देश जाने भन्दै केही फागुन महिनाभरी पर्खनु पर्ने बताएपछि तत्काल आन्दोलन घोषणा नहुने भएको छ।
विपक्षी मोर्चाको सचिवायलको मंगलबार विहान बसेको बैठकले पनि तत्काल आन्दोलनमा जान नहुने निष्कर्ष निकालेको थियो। उनीहरु संविधानका विवादित विषयमा छलफल प्रवेश गरे केही समय आन्दोलन सारेर सहमतिको प्रयास गर्ने निर्णय गरेको थियो। यसअघि माेर्चाले २६ गतेसम्म सहमति नभए दाेस्राे चरणकाे क्रियात्मक अान्दाेलन गर्ने चेतावनी दिएकाे थियाे ।