रौतहट–केन्द्रमा एमाओवादी र नेकपा–माओवादी एकीकरणको पहल भइरहेको अवस्थमा रौथहटमा भने एमाओवादी दुई धारमा बाँडिएको छ। संविधानसभामा तेस्रो ठुलो दल बनेको एमाओवादी दुई धारमा बाँडिएपछि कार्यकर्तामा अन्योल उत्पन्न भएको छ।
एमाओवादी जिल्ला कार्य समिति रौतहटका इन्चार्ज उपेन्द्र साहले ६ जिल्लाको ६ वटै क्षेत्रमा जानजागरण अभियान सम्पन्न गरी गौर नगरपालिकाको सभाकक्षमा विकास एवं सुशासन विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरिरहँदा एमाओवादीकै जिल्ला अध्यक्ष विन्देश्वर राय यादवले विज्ञप्ती जारी गर्दै पार्टीको कुनैपनि कार्यक्रम नरहेको बताएपछि कार्यकर्तामा अन्योल उत्पन्न भएको हो।
दुवै पक्ष आफूलाई संस्थापन पक्षको भएको दाबी गरे पनि प्रभु साह पक्षधर रहेका जिल्ला इन्चार्ज साहले दाबी गर्दै कार्यक्रम गरिरहेका छन्। उक्त कार्यक्रममा कार्यकर्तालाई जान नदिन जिल्ला अध्यक्ष यादवले विज्ञप्ती आग्रह गरेका छन्।
अन्तरक्रिया कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखलाई बोलाइए पनि यादव पक्षको विज्ञप्ती आएपछि कार्यालय प्रमुख पनि उक्त कार्यक्रममा उपस्थित भएनन्। सो कार्यक्रममा करिव ५० जना कार्यकर्ताको मात्र उपस्थित छन्। जिल्ला इन्चार्ज साहले पार्टी एकताबद्ध भएर अगाडी बढिरहेको तथा कुनै गुटउप गुट नभएको टिप्पणी गरेपनि जिल्ला अध्यक्षले सार्वजनिक रुपमा विज्ञप्ती जारी गर्दा दुई गुट स्पष्ट देखिएको छ।
एमाओवादीका जिल्ला अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा पार्टीको नाममा मंगलबार नगरपालिकाको सभाकक्षमा हुने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएकाले सम्पूर्ण राजनीतिक दल, कार्यालय प्रमुख एवं पार्टीका कार्यकर्तालाई उपस्थित नहुन आग्रह गरेका छन्। यादव पक्षसंग सभासद सत्यनारायण भगत र सुरेन्द्र जयसवाल रहेका छन भने साह पक्षमा प्रभु साहको समर्थन गरहेको कार्यकर्ताले बताएका छन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहितका विकासे अड्डाका प्रमुखलाई आमन्त्रण गरिएपनि कार्यक्रममा उनीहरु उपस्थिति भएनन्। एमाओवादीले जिल्लामा कुनैपनि कार्यक्रम गर्दा हजारौं जनताहरुको उपस्थिति रहदै आएपनि दुई धारमा बाँडिएपछि कार्यकर्ताको उपस्थितिमा निकै कमी आएको छ।