सिन्धुली–नेेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेले मुलुकको राजनीति संकटमा पर्नुको पछाडि सर्वोच्च अदालतको संलग्नता रहेको आरोप लगाएका छन्।
मंगलबार सिन्धुलीमाढीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गजुरेलले तत्कालीन प्रधानन्यायधीश खिलराज रेग्मीले संविधानको म्याद थप्न नहुने भन्दै नियम विपरित निर्णय गरेर देशको प्रधानमन्त्री भएको आरोप लगाए। संविधान सभाको म्याद थप्न नदिई सर्वोच्चले हस्तक्षेप गरेको उनको भनाइ थियो। 'फेरि हाल बनेको सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पनि गम्भिर अपराधमा माफी दिन मिल्दैन भन्दै सर्वोच्चले हस्तक्षेप गर्यो,' उनले भने।
गजुरेलले सर्वोच्चको हस्तक्षेपले नचाँहदा नचाँहदै माओवादी पार्टी भुमिगत हुनु पर्ने अवस्था आएको जिकिर गरे। उनले पार्टी एकताका विषयमा छलफल गर्न दुवै पार्टीको गरी नौ सदस्य कार्यदल बनेको जानकारी दिँदै भने,' पार्टी एकता भइहाल्छ भन्नेचाहि होइन, एकताका लागि छलफल प्रारम्भ भएको छ। आजसम्म नभएको कार्यगत एकताचाँही भएको हो।'
पार्टी एकता, राजनीतिक परिस्थिति र संविधानमा केन्द्रित रहेका गजुरेलले वर्तमान संविधानसभाले कुनै पनि हालतमा संविधान दिन नसक्ने जनाए। सत्तामा रहेका केही पार्टीले हस्ताक्षर गरेर बहुमतीय संविधान जारी गरे आफूहरुलाई मान्य नहुने उनको भनाइ थियो।