रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख धमेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले घुससहित पक्राउ गरेपछि जनता समाजवादी पार्टीले आन्दोलनको चेतावनी दिएको छ। मेयर पटेललाई षड्यन्त्रपूर्ण तरिकाले फसाइएको भन्दै जसपा रौतहटले सोमवार विज्ञप्ति प्रकाशित गरी घटनाको छानबिन गर्न माग गरेको छ।
आइतबार दिउँसो मेयर पटेलको कार्यकक्षबाटै साढे दुई लाख नगद र साढे दुई लाखको चेकसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो। वडा नम्बर १ को वडा कार्यालय भवनको निर्माणमा वडाध्यक्षसित पाँच लाख घुस लिएको आरोप रहेको छ। जसपासहित मेयर पक्षले मेयर पटेलले घुस नलिएको र षड्यन्त्र गरेर फसाएको आरोप लगाइरहेको छ।
मेयर पटेल पक्राउ परेको घटनालाई षडयन्त्र भन्दै जसपाले घटनाको सत्य तथ्य तथा निष्पक्ष रुपले छानबिन गर्नुपर्ने माग गरेको छ। साथै षड्यन्त्रकारी व्यक्तिलाई कानुनी दायरामा ल्याउनको लागि जोडदार माग पनि सम्बन्धित निकायसित गरिएको छ।
निष्पक्ष रुपले छानबिन नभएमा जसपाले आन्दोलन गर्ने चेतावनी पनि दिएको छ। विज्ञप्तिमा भनिएको छ, 'निष्पक्ष रुपमा छानबिन गरिएन भने आन्दोलन गर्न बाध्य हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ।' जसपाका जिल्ला सचिव अरबिन्द कुमार यादवद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्तिमा साे कुरा बताइएकाे छ।
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।
त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।
बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।
त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।
त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।