काठमाडौं- राष्ट्रिय योजना आयोगले भूकम्पपछि संरचना पुनर्निर्माणका लागि सरकारलाई चारवटा विकल्प दिने भएको छ। आयोगका सदस्य चन्द्रमणि अधिकारीले भूकम्पपछि पुनर्निर्माणमा कस्तो संरचना बनाउने भन्ने विषयमा विभिन्न विकल्प तयार भएको बताए।
'कस्तो बनाउने भन्ने विषयमा हामीले थालेको छलफलमा चार विकल्प आएका छन्,' अधिकारीले नागरिकसँग भने, 'सुझावसहित चारवटै विकल्प प्रधानमन्त्रीलाई दिन्छौं, कुन उचित हुन्छ सरकारले त्यही गर्छ।'
अधिकारीका अनुसार पहिलो विकल्प हाल भएका मन्त्रालयलाई नै सुदृढीकरण गरेर प्रभावकारी बनाउने र हालकै संरचनामार्फत काम गराउने रहेको छ। त्यसका लागि कानुन परिमार्जन गरी विकास निर्माणका कामलाई छिटो, छरितो र प्रभावकारी बनाउन सकिन्छ जसमा हाल कायम मन्त्रालयले नै आफ्नो क्षेत्रगत हिसाबले पुनर्निर्माणको काम गर्नेछन्।
दोस्रो विकल्प विपत व्यवस्थापनका लागि छुट्टै मन्त्रालय खडा गर्ने रहेको छ। मन्त्रालयमा मन्त्री, सचिव लगायतका संगठन संरचना तयार हुनेछन्। त्यसले विपतपछिको उद्धार र राहतको काम गर्नेछ। विपतका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणको काम पनि त्यसैलाई दिइनेछ।
त्यसैगरी आयोगले तेस्रो विकल्पका रूपमा विपत व्यवस्थापन र पुनर्निर्माणका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा उच्चस्तरीय संयन्त्र बनाउने रहेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय समितिले नीतिगत समन्वय र अनुगमन गर्नेछ। जसअन्तर्गत रहेको समितिले पुनर्निर्माण कोष परिचालन तथा केन्द्रीय दैवीप्रकोप उद्धार, राहत र पुनर्निर्माणको काम गर्नेछ। संयन्त्रअन्तर्गत विभिन्न मन्त्रालय पनि रहनेछन्। परामर्शका लागि दलहरूलाई पनि राखिनेछ। कार्यान्वयन र सहजीकरणका लागि जिल्ला र गाउँस्तरसम्म समिति गठन गर्ने यस विकल्पमा उल्लेख छ।
प्रधानमन्त्रीकै मातहत रहने गरी शक्तिशाली प्राधिकरण गठन गरेर त्यसैमार्फत पुनर्निर्माणका काम सञ्चालन गर्ने चौथो विकल्प छ। प्रधानमन्त्रीको मातहत रहने प्राधिकरणमा कार्यकारी प्रमुख नियुक्त गरिनेछ।
सदस्य अधिकारीले विभिन्न देशमा अपनाइएका अभ्यासलाई विकल्पको रूपमा छलफल गरिएको बताए। 'यी विकल्पमध्ये कुन उपयुक्त हुन्छ भन्ने विषयमा छलफल भइरहेको छ,' उनले भने, 'हाम्रो जोड तेस्रो विकल्पमा बढी छ, अब सुझावसहित केही दिनमै टुंगो लगाउँछौं।'
आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलले कस्तो संरचना बनाउने भन्ने विषयमा छलफल भइरहे पनि टुंगो भने लागिनसकेको बताए। 'विभिन्न विकल्प आएका छन्,' उनले भने, 'बिहीबारअघि नै प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँछौं।'
आयोग स्रोतका अनुसार भूकम्पपछि संरचना पुनर्निर्माणका विषयमा छलफल भइरहे पनि त्यो संरचना प्रधानमन्त्री मातहतमै रहनुपर्छ भन्नेमा भने सबैको एकमत छ। खर्बौ रकम पुनर्निर्माणमा खर्च हुने भएकाले मन्त्रिपरिषद बाहिरको व्यक्तिलाई प्रमुख बनाउँदा समानान्तर सरकारको अनुभूति हुने भन्दै प्रधानमन्त्रीकै मातहतमा संयन्त्र बनाउन आयोगले सुझाव दिनेछ।
'सरकारको सबैभन्दा ठूलो कार्यकारी संयन्त्र भनेको प्रधानमन्त्री वा मन्त्रिपरिषद नै हो,' आयोगका एक सदस्यले भने, 'कुनै पनि निकाय प्रधानमन्त्री वा मन्त्रिपरिषदप्रति उत्तरदायी हुनु नपर्दा समानान्तर सरकारको अनुभूति हुन सक्छ, यसकारण पनि पुनर्निर्माणका लागि बन्ने संयन्त्र प्रधानमन्त्री मातहत नै हुनुपर्छ।' उनले प्रधानमन्त्री वा सरकारप्रति उत्तरदायी हुनु नपर्ने प्रावधान राखिए सरकारी संयन्त्र र प्राधिकरणबीच टकराव आउन सक्ने बताए।
यसअघि गृहमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिले विपतपछिको उद्धार, राहत र पुनर्निर्माणमा अन्तर्मन्त्रालय परिचालन, सेना परिचालन गर्न समस्या भएकाले सरकारले प्रधानमन्त्रीकै मातहतमा दैवीप्रकोप उद्धारका लागि स्थायी संरचनाको व्यवस्थासहित विपत व्यवस्थापनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिसकेको छ।
विपत व्यवस्थापनका लागि हालको सरकारी संरचना र व्यवस्था कमजोर हुँदा भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनामा समस्या भएको भन्दै मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकमा व्यवस्थापिकामा पुगेको विधेयकलाई फिर्ता ल्याई संशोधन गरेर अध्यादेश ल्याउने सहमति जुटेको थियो।