काठमाडौं-शक्तिशाली भूकम्प र त्यसपछिका शृंखलाबद्ध अनुकम्पनले सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति पुर्या्यो। सरकारले बाँडेको राहत रकममा भने सिन्धुपाल्चोक प्राथमिकतामा पर्न सकेन।
मानवीय र भौतिक क्षतिको सूचीमा तेस्रो नम्बरमा रहेको नुवाकोट जिल्ला सरकारी राहत रकम पाउनेमा पहिलो नम्बरमा छ।
गृह मन्त्रालयले मृतक परिवारलाई एक लाख क्षतिपूर्ति, ४० हजार किरिया खर्च र १५ हजार जस्तापाताका लागि दिने घोषणा गरेको थियो। राहत रकमका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले गृहलाई ८ अर्ब दिएको थियो। गृहप्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार आइतबार बेलुकासम्म जिल्ला दैवीप्रकोप उद्धार कोषका लागि ७ अर्ब ८५ करोड निकासा भइसकेको छ। गृहले प्रधानमन्त्री राहत कोषसँग सोमबार थप ५ अर्ब मागेको छ।
५४ जिल्ला र विभिन्न सरकारी निकायलाई पठाएको मध्ये भौतिक र मानवीय क्षति कम भए पनि नुवाकोटमा सबैभन्दा धेरै रकम गएको छ। भूकम्पबाट मारिनेमध्ये सिन्धुपाल्चोकवासीको संख्या ३९ प्रतिशत छ भने कुल मृतकको संख्यासँग नुवाकोटमा मारिएकालाई हेर्दा १२ प्रतिशतमात्रै पुग्छ।
गृहले कोषमार्फत नुवाकोटमा ९ दशमलव २४ प्रतिशत पैसा पठाइसकेको छ। भूकम्पबाट सबैभन्दा ठूलो क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा ९ दशमलव ६ प्रतिशतमात्रै राहत रकम गएको छ। दोस्रो नम्बरमा रहेको काठमाडौंमा १४ प्रतिशत मानवीय क्षति भए पनि राहत रकम ५ दशमलव ३० प्रतिशतमात्रै आएको छ।
भूकम्पले १४ जिल्लामा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति पुर्या्एको छ। ३७ जिल्लामा मानवीय क्षति भएको छ भने ६७ जिल्लामा भौतिक क्षति भएको छ। गृहले ५४ जिल्लामा राहत रकम पठाएको छ।
गृह मन्त्रालयको आइतबार बेलुकासम्मको तथ्यांकअनुसार भूकम्पमा ८ हजार ६ सय ९३ को ज्यान गएको छ। ५ लाख ४ हजार नीजि घरमा पूर्ण क्षति पुगेको छ। सिन्धुपाल्चोकमा ३ हजार ४ सय ४० जनाले ज्यान गुमाए भने ६३ हजार ८ सय ८५ घर ध्वस्त भए। गृहले सो जिल्लामा ५६ करोड ७१ लाख राहत रकम पठाएको छ। जसमध्ये सबै खर्च भइसकेको गृहको तथ्यांकमा उल्लेख छ।
मानवीय र भौतिक क्षतिमा तेस्रो नम्बरमा रहेको नुवाकोटमा १ हजार ८० जनाको ज्यान गयो भने ५७ हजार ९ सय ४३ घर ध्वस्त भए। सो जिल्लामा गृहले ५४ करोड ५९ लाख राहत रकम दिइसकेको छ।
मानवीय र भौतिक क्षति हुने जिल्लामा दोस्रो नम्बरमा रहेको काठमाडौंमा ३१ करोड ३० लाख सरकारी राहत रकम आएको छ। गृहका अनुसार काठमाडौंमा वितरण गर्न निकासा भएको सबै रकम खर्च भइसकेको छ।
धादिङका लागि सरकारले ३६ करोड ९७ लाख, रसुवाका लागि २ किस्ता गरी २३ करोड ८ लाख निकासा गरेकोमा सबै रकम खर्च भइसकेको छ। गोरखाका लागि २८ करोड ७० लाख, भक्तपुर १४ करोड ६७ लाख, काभ्रे ३२ करोड ८७ लाख, ललितपुरका लागि ११ करोड ११ लाख, दोलखा ३५ करोड निकासा भई खर्चसमेत भइसकेको छ।
अतिप्रभावित जिल्लामध्ये रामेछापमा २२ करोड २४ लाख, मकवानपुरका लागि ९ करोड ३३ लाख, सोलुखुम्बु र ओखलढुंगाका लागि ९ करोड ४७ लाख र १० करोड १८ लाख गइसकेको छ। मानवीय क्षति भएका जिल्लामध्ये रोल्पा, रुकुम, पाल्पा, नवलपरासी, धनुषा, सिरहालगायतमा समेत राहत रकम निकासा भएका छन्।
गृहप्रवक्ता ढकाल क्षतिको विवरण र जिल्लाबाट आएको मागअनुसार मन्त्रालयले रकम निकासा गरिरहेको बताए। दैवीप्रकोपका लागि पठाएको रकमबाट कार्यालय प्रयोजनमा खर्च गर्न नपाउने भएकाले सतप्रतिशत रकम पीडित र प्रभावितको हातमा पुग्ने दाबी गर्दै उनले मागअनुसार मन्त्रालयले रकम पठाइरहेकाले कुन जिल्लाले कति पायो भन्ने अहिले नै आंकलन र विश्लेषण गर्नु हतार हुने बताए।