पाल नै गोलमाल
२३ जेष्ठ २०७२
•
१८ मिनेट पाठ
पाल नै गोलमाल
काठमाडौं-भूकम्प पीडितलाई अस्थायी ओतका लागि लाखौं पाल वितरण गरिए अझै २ लाख पीडितले पाल नपाएको भन्दै रेडक्रस प्रतिनिधिमार्फत हारगुहार गरिरहेका छन्। गृह मन्त्रालयले भने पीडित घरधुरीभन्दा बढी टेन्ट तथा पाल बाँडिसकेकाले अब नबाँड्ने, स्टक राख्ने जनाउ दिएको छ।गृह मन्त्रालयले समेत टेन्ट र पालको पूर्ण रेकर्ड नराख्दा यसको प्राप्तिदेखि वितरणसम्म गोलमाल देखिएको छ। गृहले राखेको तथ्यांक अन्यसँग मेल खाँदैन भने गृह आफैंले संसदीय समितिमा देखाएको विवरणसमेत अधुरो हुँदा पाल कता गायब गरियो भन्ने आशंका बलियो देखिएको छ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले मंगलबार व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई भूकम्पको क्षति र राहत विवरण प्रस्तुत गर्दै ९ लाखभन्दा बढी टेन्ट र पाल भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको दाबी गरे। 
नेपाली सेना र अन्य संघसंस्थाले डेढ लाख टेन्ट तथा पाल पीडितलाई बाँडेको स्विकारेका छन्। व्यक्तिगत रुपमा वितरण गरिएका टेन्ट तथा पालको त कुनै गणनै छैन।




गृह, सेना र विभिन्न संघसंस्थाको दाबीअनुसार यी तीन पक्षले मात्रै वैशाख १२ यता साढे १० लाख टेन्ट तथा पाल भूकम्प प्रभावितलाई वितरण गरिसकेका छन्। यो संख्या भूकम्पले पूर्ण र आंशिक रुपमा क्षति पुर्या्एको घरसंख्याभन्दा साढे २ लाख बढी हो। 
सरोकारवालाले पीडित परिवारभन्दा अधिक पाल वितरण गरिसकेको दाबी गरिरहे पनि २० लाख पीडित परिवारले भने घरविहीन भएको ४० दिन बित्दा पनि ओत लाग्ने पाल नपाएको गुनासो गरिरहेका छन्। 

‘भूकम्प प्रभावित विभिन्न ५७ जिल्लाका १ लाख ९९ हजार ९ सय २ जनाले अहिलेसम्म टेन्ट तथा पाल पाएका छैनन्। उनीहरुले हाम्रा जिल्ला प्रतिनिधिमार्फत पाल मागिरहेका छन्,' नेपाल रेडक्रस समाजका सञ्चार विभागप्रमुख दिव्यराज पौडेलले नागरिकसँग भने, ‘हामीले यो सूचना गृह मन्त्रालयलाई पठाइसकेका छौं।' 

गृह मन्त्रालयका अनुसार वैशाख १२ गते गएको ७.६ म्याग्निच्युड स्केलको भूकम्प र त्यसपछिको अनुकम्पनका कारण देशभर कुल ५ लाख ५ हजार ५ सय ७७ वटा निजी घर पूर्ण रुपमा ध्वस्त छन्। 
भूकम्पकै कारण २ हजार ६ सय ३८ वटा सरकारी भवनमा पूर्ण क्षति पुगेको छ। यस्तै, २ हजार ७८ हजार ९ सय ७ निजी घर र ३ हजार ३ सय ९३ सरकारी भवनमा आंशिक क्षति पुगेको छ। 
गृहको तथ्यांकअनुसार भूकम्पका कारण हालसम्म कुल ७ लाख ९० हजार ५ सय १५ वटा घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। उपप्रधान तथा गृहमन्त्री गौतमले क्षति पुगेको घरको संख्याभन्दा बढी टेन्ट तथा पाल बाँडेको संसदीय समितिमै दाबी गरे पनि अझै २ लाखले टेन्ट तथा पाल मागिरहेका छन्। उनले समितिको बैठकमा ९ लाख ४ सय ३६ वटा टेन्ट तथा पाल वितरण गरेको विवरण पेस गरेका थिए। 
सेना, विभिन्न संघसंस्था र व्यक्तिगत तवरमा झिकाई वितरण भएका टेन्ट तथा पाल गृहले यसमा जोडेको छैन। 
वितरित टेन्ट तथा पाल वास्तविक पीडितकहाँ पुगेको छ वा अन्यले कुम्ल्याए भन्ने तथ्यांक भने कसैले राखेको छैन। काठमाडौं र जिल्ला सदरमुकामबाट टेन्ट तथा पाल चलानी गरेकै आधारमा पीडितले प्राप्त गरिहाल्यो भन्नेमा ढुक्क छन् सरकारी निकाय। वास्तविक पीडितले टेन्ट तथा पाल पाए–नपाएको खोजी गर्ने कार्य कसैले गरेको छैन। सबैलाई टेन्ट तथा पाल यति संख्यामा वितरण भयो भन्ने अंक जोड्दैमा भ्याइनभ्याइ छ। 
क्षति पुगेका घरभन्दा साढे २ लाख बढी टेन्ट तथा पाल वितरण भइसकेको छ। अझै २ लाखले टेन्ट तथा पाल पाइएन भन्दै माग गरिरहेका छन्। कहाँ गए त त्यत्रो संख्याका टेन्ट र पाल? 
‘धेरै जिल्लामा टेन्ट तथा पाल पुगेको छ। केही ठाउँ छुटेका हुन सक्छन्। हाम्रो तथ्यांकअनुसार अधिकांश भूकम्प पीडितले टेन्ट तथा पाल प्राप्त गरेका छन्,' गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले भने, ‘एक द्वारबाट टेन्ट तथा पाल वितरण भएको भए यस्तो समस्या आउँदैनथ्यो।'
गृहले अधिकांश पीडितले टेन्ट तथा पाल पाइसकेको दाबी गरे पनि रेडक्रसको तथ्यांकमा भने अझै ओत लाग्ने टेन्ट तथा पाल नपाउनेको संख्या २ लाख छ। ‘विभिन्न गाविस तथा वडामा पुगेका हाम्रा साथीहरुले यो डाटा संकलन गरेका हुन्,' पौडेलले भने।
रेडक्रसका अनुसार अहिले सबैभन्दा ठूलो टेन्ट तथा पाल नपाउने संख्या रामेछापमा छ। रामेछापबाट ६२ हजारले रेडक्रससँग टेन्ट तथा पाल मागिरहेका छन्। दोस्रो ठूलो माग गोर्खाबाट ४० हजारको छ। काभ्रेबाट ३ हजार, नुवाकोटबाट ५ हजार, दोलखाबाट ७ हजार ५ सय, रसुवाबाट ८ हजार, लमजुङबाट १० हजार, सिन्धुपाल्चोकबाट १० हजारले टेन्ट तथा पाल नपाएको भन्दै उपलब्ध गराइदिन रेडक्रसलाई भनेका छन्। यीलगायत भूकम्प प्रभावित ५७ जिल्लाबाट रेडक्रससँग टेन्ट तथा पालको माग भएको छ जुन सबै जोड्दा २ लाख पुग्छ। 
गृहले कहाँबाट कति टेन्ट तथा पाल आयो, कस–कसले वितरण गरे भन्ने रेकर्डसमेत राखेको छैन। गौतमले ९ लाख ४ सय ३६ टेन्ट पालमध्ये विभिन्न १५ देशबाट प्राप्त ३ लाख ९ हजार ४ सय, रेडक्रसले वितरण गरेको ७९ हजार ५ सय ३८, स्थानीय विकास मन्त्रालयले वितरण गरेको १ लाख २२ हजार ३ सय ३१, सहरी विकास मन्त्रालयबाट वितरित १ लाख २८ हजार ७ सय ३ र युएनएचसिएचआरबाट वितरित २० हजार ५ सय २७ वटा टेन्ट तथा त्रिपाल जोडेर तथ्यांक पेस गरेका थिए।
यी सबै जोड्दा ६ लाख ६० हजार ४ सय ७९ मात्र पुग्छ। गृहले दाबी गरेअनुसार बाँकी २ लाख ३९ हजार ९ सय ५७ टेन्ट तथा पाल कहाँबाट आयो? पत्तो छैन। 
गृहको सूचीमा जेठ १४ गते भारतको सिक्कम राज्य सरकारले उपहारस्वरुप प्रदान गरेको ४ करोड रुपैयाँबराबरको ५० हजार थान त्रिपालसमेत समेटिएको छैन। त्यति मात्र होइन, साउदी अरब सरकारले राहतस्वरुप पठाएको प्रत्येकलाई एक लाख रुपैयाँभन्दा बढी पर्ने १२ हजार थान उच्च कोटीको टेन्ट पनि गृहले आफ्नो सूचीमा समावेश गरेको छैन। साउदीले दिएको टेन्ट कसले प्रयोग गरेको छ, कसैलाई पत्तो छैन। 

‘साउदी सरकारले दिएको १२ हजार थान उच्च गुणस्तरको टेन्ट हामीले नेपाल पठाएका थियौं। साउदीले दिएको एउटा टेन्ट किन्नुपर्दा १ लाख रुपैयाँभन्दा बढी पर्छ जुन असिना–पानीले कुनै क्षति नगर्ने गुणस्तरका हुन्। अब केही दिनभित्र थप यस्तै ३ हजार थान टेन्ट साउदीले नेपाल पठाउँदैछ,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनबाट भने। 

काठमाडौंस्थित बंगलादेशी दूतावासका अनुसार हालसम्म सडक र हवाई मार्गबाट १ हजार ३ सय १४ टेन्ट र ६ हजार ७ सय ७७ पाल बंगलादेशबाट नेपाल भित्रिएको छ। यो भित्रिएको पनि तीन साता भइसक्यो। तर गृहले भने बंगलादेशबाट ४ सय ९५ टेन्ट र ७ सय ७५ पाल गरी कूल १ हजार २ सय ७० मात्र आएको देखाएको छ। ६ हजार ८ सय २१ टेन्ट तथा पाल देखिँदैन।

नेपाल रेडक्रस समाजले वितरण गरेको भन्दा १२ हजार बढी टेन्ट तथा पालको संख्या गृहले रेडक्रसका नाममा राखेको पाइएको छ। रेडक्रसका सञ्चार विभाग प्रमुख पौडेलका अनुसार जेठ १८ गतेसम्म ६४ हजार ६ सय ८५ पाल र २ हजार ७ सय ६८ गरी कुल ६७ हजार ४ सय ५३ टेन्ट तथा पाल रेडक्रसले भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको छ। जब कि गृहले जेठ १८ सम्मकै आफ्नो विवरणमा रेडक्रसका नाममा ७९ हजार ५ सय ५३ टेन्ट तथा पाल वितरण गरेको उल्लेख गरेको छ। यो वास्तविक संख्या भन्दा १२ हजार ८५ बढी हो। 

भूकम्प पीडितलाई पाल उपलब्ध गराउने जिम्मा लिएको सहरी विकास मन्त्रालयको अवस्था झन् नाजुक छ। मन्त्रालयले भारतबाट ४ लाख ५२ हजार २ सय पाल खरिद गर्न टेन्डर आह्वान गरी खरिद प्रक्रिया अघि बढायो तर किनिएका मध्ये केकति पाल भारतबाट नेपाल भित्रिए भन्नेबारे मन्त्रालय नै बेखबर छ। 
सहरी विकास मन्त्रालयले खरिद गरेका पाल निजी गोदाममा भेटिएका छन्, यसमा पनि मन्त्रालय मौन छ। 
‘जेठ ८ गतेसम्म ४ लाख ५२ हजार २ सय त्रिपाल भारतबाट ल्याइसक्ने भनिएको थियो, केकति नेपाल भित्रियो, हामीलाई पनि थाहा छैन, बुझ्दैछौं,' सहरी विकास मन्त्रालयका प्रवक्ता पदमकुमार मैनालीले प्रतिक्रिया जनाए। 
नेपाल ल्याइसक्ने भनिएको मिति गुजि्रएको पनि शनिबार १५ दिन बित्यो, ती पाल कहाँ छन्, कति वितरण भए, मन्त्रालयसँग तथ्यांक छैन। 
गृहमन्त्री गौतमले संसदीय समितिमा पेस गरेको विवरणमा भने सहरी विकासले ल्याएको १ लाख २८ हजार ७ सय ३ थान पाल वितरण भइसकेको उल्लेख छ। सहरी विकासले भारतसँग खरिद गरेका बाँकी ३ लाख २३ हजार ४ सय ९७ पालको अत्तोपत्तो छैन। 
सैनिकस्रोतका अनुसार सेनाले जेठ १७ गतेसम्म ६८ हजार २ सय ६० थान टेन्ट तथा पाल भूकम्प प्रभावित क्षेत्रमा वितरण गरिसकेको छ। वैशाख १२ यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको कुल ७ हजार ५ सय २२ टन कार्गोको ४७ प्रतिशत (३ हजार ५ सय ६२ टन) सेनाले लिई वितरण गरेको छ। बाँकी ५३ प्रतिशत कार्गो विभिन्न संघसंस्थाले वितरण गरेको सैनिकस्रोत बताउँछ। कार्गोमा टेन्ट, पाल, ब्लांकेटलगायत खाद्य सामग्रीसमेत हुने गरेको छ। सेनाको यो तथ्यांकअनुसार पनि विमानस्थलबाट भित्रिएमध्ये ७८ हजार ९ सय ७४ थान टेन्ट र पाल विभिन्न संघसंस्थाले जिम्मा लिई वितरण गरेको देखिन्छ। तर ती संघसंस्था कसले, कति टेन्ट र पाल लगे, कहाँकहाँ वितरण गरे भन्ने पत्तो छैन।
गृहको तथ्यांकअनुसार वैशाख १२ पछि सबैभन्दा बढी टेन्ट तथा पाल नेपाललाई सहयोग दिनेमा पहिलो नम्बरमा भारत छ। भारतबाट १३ हजार २७ थान टेन्ट र २ लाख ३१ हजार ३ सय ३१ थान पाल गृहले बुझेको छ। गृहले चीनबाट टेन्ट २५ हजार ८ सय २६ थान र पाल १० हजार ९ सय ७० थान प्राप्त गरेको छ। यस्तै, पाकिस्तानले पठाएको २ हजार ५ सय १९ थान टेन्ट र १६ हजार ७ सय ३५ थान पाल गृहले राहतस्वरुप पाएको छ। 

गृहले विभिन्न राष्ट्रबाट हालसम्म ४४ हजार १ सय ३ थान टेन्ट प्राप्त गरिसकेको छ तर हालसम्म उसले मात्र १२ हजार ८ सय ६५ टेन्ट मात्र भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको छ। विदेशी राष्ट्रले पीडितलाई पठाएको टेन्टमध्ये करिब एक चौथाइ मात्र वितरण गरेको छ। पीडितका नाममा आएको बाँकी ३१ हजार २ सय ३८ टेन्ट गृहले आफैँ राखेको छ। 

थप टेन्ट र पाल दिँदैनौं : गृहसचिव 


भूकम्प प्रभावित क्षेत्रका २ लाखले राहतस्वरुप टेन्ट तथा पाल मागिरहे पनि सरकारले अब थप टेन्ट र पाल नपठाउने जनाएको छ। भूकम्प पीडितलाई टहरा बनाउन सरकारले पैसा पठाइसकेकाले अब प्रभावित क्षेत्रमा टेन्ट तथा पाल नपठाउने निर्णय लिइएको गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले बताए।
‘अब भूकम्प पीडितलाई थप टेन्ट र पाल दिँदैनौं। भूकम्पले जति घरमा क्षति गरेको छ, त्योभन्दा बढी टेन्ट र पाल पुर्यातइसकिएको छ,' गृहसविच सिलवालले नागरिकसँग भने, ‘सरकारले अस्थायी टहरा बनाउन प्रभावित क्षेत्रमा पैसा पठाउन थालिसक्यो। अब पीडितलाई टेन्ट र पाल आवश्यक पर्दैन।' 
बाँकी रहेका र अब आउने टेन्ट र पाललाई ‘स्टक' राख्ने उनले बताए। मनसुन सुरु भएपछि भूकम्प प्रभावित जिल्लामा थप समस्या आउने जनाउँदै उनले त्यतिबेलाका लागि टेन्ट र पाल स्टक राख्नुपर्ने बताए। उनले भने, ‘मनसुन सुरु भएपछि थप समस्या हुन्छ। त्यसैले हामीले जिल्लालाई त्यहाँ रहेका टेन्ट र पाल वितरण नगरी सुरक्षित राख्न भनेका छौं।' 
राहत वितरणमा गृहले मात्रै ४ हजार हेलिकप्टर उडान गरेको गृहसचिव सिलवालले स्पष्ट पारे। केही टेन्टहरु भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य चौकीलाई दिइने उनले बताए। बाँकी र अब विदेशबाट अउने टेन्ट र पाल गृहले नै स्टक राख्ने उनले जनाए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस