प्रदेश निर्माणको आधार र त्यसको सान्दर्भिकता
२९ जेष्ठ २०७२
•
३२ मिनेट पाठ
प्रदेश निर्माणको आधार र त्यसको सान्दर्भिकता
यतिबेला धेरैलाई संघीयता र प्रदेश निर्माणका सन्दर्भमा अध्ययनविना हुचुवाकै भरमा अनुचित प्रस्तावका पक्षमा उभिने गल्ती गरियो भन्ने लागिरहेको छ। त्यसमध्ये एकल जातीय पहिचान सहितको संघीयताका पक्षमा रहेका एमाओवादीका नेताहरूलाई मात्र होइन, बहुजातीय साझा पहिचानका पक्षमा पैरवी गर्दै आइरहेका एमाले र कांग्रेसका नेताहरूलाई समेत त्यस्तै लागिरहेको छ। अझ भित्री रूपमा त कतिपयलाई सहमतिका नाममा संघीयता स्वीकार गरेरै गल्ती गरिएछ भन्ने परिरहेको छ।जसलाई जे लागे पनि, जे जस्तो अनुभूति भए पनि यथार्थ के हो भने हाम्रो मुलुकमा यतिबेला संघीयतावाट पछि हट्ने परिस्थिति छैन र उचित पनि हुँदैन। यस अर्थमा २५ गते मध्यरात प्रमुख चार दलबीच संविधानका विवादित विषयमा भएको १६ बुँदे सहमति माथि उल्लेखित अनुभूति र संघीयतामा जानैपर्ने धरातलीय यथार्थताको परिणाम हो। उक्त सहमतिले विगत छ वर्षदेखि चुनौतीका रूपमा तेर्सिएका विषयमा विषयगत र प्रक्रियागत सहमति गरेर संविधान निर्माणका लागि मार्ग प्रशस्त गरेको छ। संविधानसभा उपस्थितिसँगै लम्बिँदै गएको संक्रमणकालले उत्पन्न गरिरहेको र गर्न सक्ने राजनीतिक चुनौतीलाई उक्त सहमतिले समाधान गर्न पुगेको छ। ऐतिहासिक संविधानसभा औपचारिक रूपमा नयाँ संविधान जारी गरी केही समयभित्रै विधिवत रूपमा बिदा हुने सहज स्थिति सिर्जना भएको छ।




प्रमुख चार राजनीतिक दलले गरेको १६ बुँदे सहमतिमा केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक व्यवस्थामा सहमति कायम हुने भएको छ। प्रतिनिधिसभाको निर्वाचन प्रत्यक्षवाट ६० प्रतिशत र समानुपातिक ४० प्रतिशत हुने गरी कुल सदस्य संख्या २७५ कायम गरिएको छ। राष्ट्रियसभा भने प्रत्येक प्रदेशवाट पाँचका दरले ४० र केन्द्र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने पाँच गरी ४५ सदस्यीय हुने व्यवस्था गरिएको छ। यस प्रकारको व्यवस्थाले प्रतिनिधिसभामा सामन्यतः कुनै पनि दलको बहुमत नहुने अवस्था आउने र सरकार परिवर्तनको अनुचित खेल सुरु हुने खतरा भने कायममै छ। थे्रसहोल्डले केही सम्बोधन गर्ने भए पनि सामान्यतः कुनै एक दलको बहुमतको सम्भावना कमै रहने छ। सुधारिएको संसदीय व्यवस्था सहितको शासकीय स्वरूपको हकमा एमाओवादीले फरक मत राखी संविधान निर्माणको प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सर्वाधिक विवादको विषयका रूपमा रहेको संघीय प्रदेशको संख्या आठमा सहमति कायम गरी सीमांकन संघीय आयोगको सिफारिसमा व्यवस्थापिका संसदले गर्ने र नामांकन भने प्रदेशसभाको दुई तिहाइबाट टुंगो लाग्ने भएको छ। यद्यपि सीमांकन र नामकरणको विषयमा भविष्यमा पुनः विवाद हुने ठाउँ यथावत नै रहेको भए पनि यो सहमतिले संविधान निर्माण हुने आधार तयार भएको छ। जेठ २५ को १६ बुँदे सहमति संविधानसभाबाट संविधान निर्माणको सन्दर्भमा यो कोशेढंुगा साबित हुने निश्चित छ।

प्रक्रियामा लगेर समाधान खोज्न लागिएका दुई विषयमध्ये नामांकनको विषय संवेदनशील विषय हुँदाहुँदै पनि यसले संघीयताको अभ्यास सुरु गर्नका लागि प्रत्यक्ष रूपमा कुनै अवरोध सिर्जना गर्दैन। किनकि संघीय आयोगको प्रतिवेदनका आधारमा संसदले प्रदेश, संघ र प्रदेशका निर्वाचक इकाइहरूको सीमांकन गरेको अवस्थामा प्रदेशको नाम नभए पनि औपचारिक रूपमा प्रदेश निर्माण हुनेछ। त्यसको अन्तरिम शासकीय प्रबन्ध गर्न सकिनेछ र प्रदेशसभा गठन समेत गर्न सकिन्छ। संघीय आयोगले आफ्नो काम सम्पन्न गर्न नसके वा व्यवस्थापिका संसदबाट संघीय आयोगको प्रतिवेदनका आधारमा अहिले सहमति भएको आठ प्रदेशको सीमांकन गर्न नसकिएको अवस्थामा संघीयताको अन्तरिम अभ्यास अघि बढ्न पाउनेछैन। त्यसमाथि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन क्षेत्रको सीमांकन गर्न नसकिएको अवस्थामा संविधान जारी भए पनि संघीयताको विधिवत अभ्यास र अन्तरिम संविधान अन्तर्गतका वर्तमान संरचनागत व्यवस्थाको प्रतिस्थापन सम्भव हुनेछैन। यस अर्थमा १६ बुँदे सहमति संविधान निर्माणको आधारसम्म हो। तर संघीयताको विधिवत अभ्यास आरम्भ गर्नका लागि भने संघीय आयोगमार्फत गर्ने भनिएका काम सफलतापूर्वक सम्पन्न हुनु जरुरी छ। त्यसो हुन नसकेको अवस्थामा यस सहमतिले संविधान जारी भएपछिको अर्को नयाँ संक्रमणकालीन परिस्थिति सिर्जना गर्न पुग्नेछ। त्यसो नहोस् भन्नका लागि पनि समयमै राजनीतिक दलहरूले आन्तरिक गृह कार्यगरी प्रदेशका साथै प्रतिनिधिसभा र प्रादेशिक सभाका निर्वाचन क्षेत्रहरूको सीमांकनका ठोस आधार विज्ञहरूलाई सुझाउनु र सहयोग गर्नु जरुरी छ। अन्यथा राजनीतिक नेतृत्व तहबाट नसुल्भि्कएका विषय विज्ञहरूको आयोगमार्फत सहजै सुल्भि्कन्छ भन्ने ठान्नु ठूलो भुल हुनेछ।

१६ बुँदे सहमतिमा चार प्रमुख राजनीतिक दलले पहिचानका पाँच र सामर्थ्यका चार आधारमा आठ प्रदेश निर्माण गर्ने र सोको सीमांकनका लागि संघीय आयोग गठन गर्ने प्रतिबद्धता जनाएको कुरालाई कतिपयले पहिचानका पाँच र सामर्थ्यका चार आधारमा प्रदेश बनाउदा आठ कसरी हुन्छ? नौ पो हुनुपर्ने हो भनेर व्यंग्य वा अज्ञानता प्रकट गरिरहेका छन्। कतिपयले भविष्यमा यही आधार नै विवादको बीउ हुनेछ भनेर आशंका प्रकट गरिरहेका छन्। वास्तवमा पहिचानका पाँच आधार के हुन् र सामर्थ्यका चार आधार के हुन् भन्ने कुरा यतिबेला चासोको विषय वनेको छ। पहिचानका पाँच आधारका १. जातीय/समुदायगत, २. भाषिक, ३. सांस्कृतिक, ४. भौगोलिक/क्षेत्रगत निरन्तरता र ५. ऐतिहासिक निरन्तरता रहेका छन्। सामर्थ्यका चार आधारमा १. आर्थिक अन्तरसम्बन्ध र सामर्थ्य, २. पूर्वाधार विकासको अवस्था र सम्भावना ३. प्राकृतिक साधन र स्रोतको उपलब्धता र ४. प्रशासनिक सुगमता रहेका छन्।

कुनै पनि समाजका विशेषता र विशिष्टतालाई प्रतिविम्बित गर्ने महत्वपूर्ण आधारहरू पनि यिनै हुन्। समाज विकासका सन्दर्भमा आवश्यक र उपयुक्त यी आधार नेकपा (एमाले) द्वारा गठन गरिएको कार्यदलले प्रतिवेदन तयार गर्ने क्रममा संस्थागत गरिएका आधार हुन्। यसलाई संविधानसभाभित्र स्थापित गर्ने कुरामा समेत एमाले अग्रसरता रहेको हो। यतिबेला कतिपयका लागि यी आधार नेपाली समाजमा देखिएका उग्रजातिवादी र साम्प्रदायिकतावादी चिन्तनका कारणले अनुपयुक्त लागे पनि ती आफैंमा गलत कुरा होइनन्। त्यसलाई कसरी प्रयोग गरिन्छ भन्ने कुरा नै मुख्य विषय हो। विगतमा पहिचानको कुरा गर्नेले पहिचानका पाँच आधारमा जातीय/समुदायगत आधारलाई मात्रै जोड दिई त्यसको मात्रै पैरवी गरे। उनीहरूले पहिचानका बाँकी आधारलाई पूर्णतः उपेक्षा गरे। जबकि कुनै पनि समुदाय विशिष्ट पहिचान नै बाँकी आधारबाट नै निर्माण भएको हुन्छ। जस्तो नृवंशीय हिसाबले एउटै आर्य समुदायका व्यक्तिहरू कोही मधेसीका रूपमा र कोही पहाडी खसका रूपमा चिनिनुको कारण पहिचानका बाँकी आधारमा भिन्नता रहनु नै हो। त्यसरी नै एउटै मंगोल समुदायका गुरुङ र मगरको पहिचानको भिन्नताको कारण भाषा र सांस्कृतिक भिन्नता नै हो। यस प्रकारको यथार्थतालाई उपेक्षा गर्नाले नै नेपालमा संघीयता निर्माणको विषय जटिल बन्न पुग्यो। यसरी नै सामर्थ्यको कुरा गर्नेहरूले पनि सामर्थ्य कसका लागि भन्ने कुरालाई ध्यान दिन सकेनन्। सामर्थ्यको कुरा पनि निश्चित भौगोलिक समुदायमा बस्ने मानव समूहको एकीकृत शक्ति हो। पहिचान र सामार्थ्य एक–अर्काका विरोधी नभई त्यसका पूरक विषय हुन्। तर नेपालको संविधान निर्माणको सन्दर्भमा पहिचान र सामर्थ्यलाई परस्पर विरोधी पक्षका यस अर्थमा प्रस्तुत गर्ने काम भयो।

नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाज हो। भौगोलिक विविधताले त्यसलाई अझै विविधतापूर्ण बनाएको छ। नेपाल राष्ट्रमात्र होइन नेपालका प्रायः सबै जातीय समुदाय भाषिक तथा सांस्कृतिक हिसाबले एकात्मक अवस्थामा छैनन्। जाति र जनजातिहरू बीचको अन्तरघुलनको अवस्थाले नेपालमा मौलिक सांस्कृतिक विशेषता निर्माण भएका छन्। पश्चिमका खसआर्य र पूर्वका खसआर्यका बीचमै सांस्कृतिक आस्था र प्रथामा निकै ठूलो अन्तर छ। पहाड र तराई–मधेसका खसआर्यका बीचमा पनि त्यस्तै अन्तर छ। सांस्कृतिक रूपले अत्यन्त समृद्ध रहेका उपत्यकामा रहेका नेवार समुदाय र उपत्यकाबाहिरका नेवार समुदायबीच पनि समानता छैन। जनजाति समुदायभित्रका मगर र थारू समुदायमा त भाषिक तथा सांस्कृतिक हिसाबले समेत पूर्व, मध्य र पश्चिममा निकै धेरै भिन्नता देखिन्छ। तामाङ, गुरुङ, राई र भोटे/शेर्पा समुदायका बीचमा पनि भाषिक र सांस्कृतिक विविधता ठूलो रहेको छ। भौगोलिक विशिष्टता र स्थानीय समुदायसँगको परस्परको अन्तरघुलनका कारण नै त्यस प्रकारको अवस्था सिर्जना भएको हो। पहिचानको कुरा गर्नेहरूले यी विशेषता समेतका आधारमा खास भौगोलिक परिवेशभित्र सदियांैदेखि विकसित साझा सांस्कृतिक आधारहरूलाई देख्न सक्नुपर्दछ। त्यसबाट नै नेपाली समुदायबीच रहेको सांस्कृतिक विशिष्टताको जगेर्ना गर्न सम्भव हुनेछ।

सामर्थ्यको आधारमा जे जस्ता विषयलाई समाविष्ट गरिएको छ, ती आधारले नै वास्तवमा नेपालका सबै जातजातिलाई एक–अर्कामा अन्तरनिर्भर हुन र त्यसका माध्यमबाट आर्थिक, सामाजिक सांस्कृतिक अन्तर्घुलनमा योगदान गर्दै आएका छन्। नेपालमा सडक सञ्जालको विकास हुनुपूर्व नै भारतसँगको सीमा क्षेत्रमा विकसित बजारहरू मूलतः पहाडका सामान मधेस हँुदै भारतसम्म पुर्या उने र भारतीय सामान पहाडसम्म पुर्याकउने सेतुका रूपमा नै विकास भएका हुन्। पूर्व–पश्चिम राजमार्गको विकाससँगै त्यस्ता बजार क्रमशः तराई–मधेसको माथिल्लो भागमा विस्तार हुन पुगे पनि तिनको सम्बन्ध मूलतः पहाडसँगै रहेको पाइन्छ। यस हिसाबले हेर्ने हो भने पछिल्ला समय केही अपवादका रूपमा विकसित स्थानीय बजारबाहेक प्रायः बजार पहाड र तराईबीचको अन्तरसम्बन्धको सेतुकै रूपमा विकसित भएका हुन्। सोही क्रममा पहाड र तराईका समुदायबीच सामाजिक र सांस्कृतिक अन्तरघुलन हँुदै आएको छ। नेपाल राष्ट्रको निर्माणमा त्यसको प्रभाव सहजै अनुभव गर्न सकिन्छ।

नेपालमा सडक सञ्जालको विकासको सामाजिक प्रवृत्तिको अध्ययन गर्ने हो भने पनि हामी त्यही कुरा पाउँछौ। पूर्व–पश्चिम राजमार्गको विकासलाई राष्ट्रिय योजनाको अंगको प्राथमिकतामा राखिए पनि त्यसको निर्माणमा जनताको सहभागिता खासै रहेन। तर पहाडबाट तराईलाई जोड्ने सडकको निर्माणमा भने जनताको प्रत्यक्ष चासो र सहभागिता पनि रह्यो। पहाडका जनतामात्र होइन, तराई–मधेसका व्यापारिक समुदायले समेत उत्तर–दक्षिण जोड्ने बाटोमा नै जोड दिए। नेपालमा सडक सञ्जालको विकासमा उत्तर–दक्षिण बाटोले प्राथमिकता पाउनुको कारण दुवैतर्फका जनताका साझा आर्थिक स्वार्थ र सामाजिक सम्बन्ध नै प्रमुख कारणका रूपमा रहे। पछि राजनीतिक तहबाट हुलाकी राजमार्ग र पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको अवधारणा विकास भई कार्यान्वयनमा ल्याइए पनि केही सीमित क्षेत्रबाहेक ती सञ्जालको विकासमा स्थानीय जनताको चासो र सहभागिता खासै भेटिँदैन। किनकि ऐतिहासिक कालदेखि नै त्यस क्षेत्रका जनताका आर्थिक तथा सामाजिक सम्बन्ध पूर्व–पश्चिमको तुलनामा उत्तर–दक्षिणतर्फ ज्यादा रहेको पाइन्छ।

व्यापार व्यवसाय र आप्रवासको सन्दर्भलाई समेत विश्लेषण गरी हेर्ने हो भने पहाड र तराईबीचको सम्बन्ध जति छ, त्यति तराई–मधेसको एउटा भागको अर्को भागसँगको सम्बन्धमा देखिँदैन। औद्योगिक क्षेत्रको विकासको प्रवृत्तिलाई समेत विश्लेषण गर्दा पनि केही ठूला उद्योगलाई छाडेर प्रायः उद्योगहरूको उत्पादनको प्रमुख लक्ष्य आफ्नो क्षेत्रसँग जोडिएको पहाडी भूभागका उपभोक्ता नै हुने गर्दछन्। पहाडका घरेलु तथा साना उद्योग र व्यावसायिक उत्पादनको लक्ष्य तराई–मधेसका उपभोक्ता र बजार नै हुने गर्दछन्। पछिल्लो समयमा खुलेका निजी क्षेत्रका अस्पतालले पनि मूलतः पहाडबाट आउने बिरामीलाई विशेष केन्द्रित गरिरहेका हुन्छन्। यो यथार्थतालाई बिर्सेर पहाड र तराई–मधेसबीचको सम्बन्धलाई जबर्जस्ती लादिएको सम्बन्धका रूपमा बुझ्ने कुरा गलत हो। पछिल्लो समयमा पहाडी क्षेत्रमा विकास भएका विद्युत आयोजनाहरूको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि त्यसको सापेक्षित लाभका लागि सोही क्षेत्रका तराई–मधेसका बजारमा नै विस्तार गर्नुपर्ने अवस्था छ। यही अवस्थाका कारण भौतिक पूर्वाधारहरूको विकाससमेत प्रभावित भएको छ। यी सबै आधार एक–अर्काका विरोधी नभई अन्तरसम्बन्धित नै हुन्। अनि त्यही आर्थिक र सामाजिक सम्बन्धले त्यस क्षेत्रका जनताका लागि प्रशासनिक सुगमता निर्धारित गर्ने गरेको छ। तसर्थ पहिचानका पाँच र सामर्थ्यका चार आधारको जगमा उभिएर निर्धारित आठ प्रदेशको सीमांकन गरिरहँदा उपरोक्त तथ्यलाई गहिरोगरी आत्मसात गर्न सक्नुपर्दछ।

तराईका प्रमुख व्यापारिक केन्द्रको प्रवेश मार्गमा उभिएर आउजाउ गर्ने मानिसको अभिलेख राख्ने हो भने विराटनगरमा कोसीपारिका तराईका जिल्लाका तुलनामा मेची–कोसीको पहाडी जिल्लाका मानिसको आउजाउ बढी भेटिनेछ। त्यसरी नै वीरगन्जमा आउजाउ गर्नेहरूमा पनि वाग्मतीपूर्वका तराईका जिल्लाका मानिसको तुलनामा त्यस भेकका पहाडी जिल्लाका मानिसको आउजाउ ने बढी भेटिनेछ। भैरहवा, नेपालगन्जजस्ता व्यापारिक केन्द्रमा त त्यस क्षेत्रका पहाडी क्षेत्रका जनताको आउजाउ र निर्भरता ज्यादा छ। यतिसम्म कि समुदायगत हिसाबले नै विश्लेषण गर्ने हो भने राप्तीका मगर समुदायको अन्तरसम्बन्ध पूर्वी भेकका मगर समुदायको तुलनामा दाङका जनजाति र जातीय समुदायसँग बढी छ। पश्चिमका थारू समुदायको सम्बन्ध पूर्वका थारू समुदायको तुलनामा पश्चिमकै पहाडी जाति र समुदायसँग बढी छ। विनाकुनै राजनीतिक आग्रह यी तथ्यमा रहेर विश्लेषण गर्ने हो भने सामाजिक तथा सांस्कृतिक अन्तरघुलनबाट निर्मित विशेष क्षेत्र जसमा स्थानिय जनताको सामाजिकी जोडिएको छ, सहजै पहिचान गर्न सकिनेछ।

यतिबेला कतिपयले प्रदेश निर्माण गर्दा जातीय क्लस्टर टुक््रयाउन पाइँदैन भनेर खबरदारी गरिरहेका छन्। सोही आशंकाका कारण सीमांकन विनाका आठ प्रदेशमा सहमति भएकोमा विरोध भइरहेको हो। वास्तवमा कुनै एउटा जातिको क्लस्टरको कुरा गर्दा एउटा भाषा, एउटै सांस्कृतिक तथा सामाजिक सम्बन्धसहितको भौगोलिक निरन्तरताको कुरा बुझ्नुपर्ने हुन्छ। त्यस हिसाबले हेर्ने हो भने एक मधेस प्रदेश वा दुई मधेस प्रदेश भनेर त्यसको पक्षमा पैरवी गर्ने कुरा पहिचानका पाँच आधारका दृष्टिकोणले समेत उपयुक्त देखिँदैन। त्यसैगरी तराई र भित्री मधेसमा फैलिएर रहेको थारू समुदाय, पहाडी भूभागमा फैलिएर रहेका मगर समुदाय भाषिक तथा सांस्कृतिक हिसाबले विविधतापूर्ण अवस्था छ। सांस्कृतिक हिसाबले एकीकृत अवस्थामा रहेको नेवार समुदाय प्रायः सबै व्यापारिक केन्द्रमा फैलिएर रहेका कारण काठमाडौं र पेरिफेरी बाहेकको क्षेत्रलाई एकै ठाउँ समेट्न सम्भव छैन। यसरी नै हिमाली क्षेत्रमा बसोबास गर्ने भोटे/शेर्पा समुदाय सिंगो हिमाली क्षेत्रमा फैलिएर रहेका कारण एउटै प्रादेशिक इकाइमा राख्न सम्भव देखिँदैन। यस्तै अवस्था कुमाल, माझीजस्ता छरिएर रहेका साना जातीय समुदायको हकमा पनि लागू हुन्छ। तर यसबाहेक अधिकांश समुदायको जातीय वा भाषिक जनसंख्याको दुई तिहाइभन्दा माथिको जनसंख्यालाई प्रस्तावित आठ प्रदेशमा एउटै क्लस्टरहरू सहजै राख्न सकिन्छ। कम प्रदेश भएको भए त्यो अझै सहज हुने थियो।

निश्चय नै राजनीतिक आग्रहका आधारमा असहमति र असमझदारी नबढाउने हो भने संघीयता हाम्रो समाजको बहुलता र विविधतालाई सम्बोधन गर्ने उपयुक्त माध्यम बन्न सक्छ। संघीय शासन व्यवस्थाभित्र अमेरिकाजस्तो शक्तिशाली राष्ट्रको निर्माण भएको छ। राजनीतिक असफलताका कारण विभाजनको तितो पीडा बेहोर्नुपरे पनि विश्वको सवैभन्दा ठूलो मुलुक रुस संघीय प्रणालीअन्तर्गत बलियो शक्तिका रूपमा उपस्थित छ। संघीयताकै बाटोबाट भूपरिवेष्ठित स्विटजरल्यान्डले जनतामा समृद्धि र खुसी भरिरहेकै छ। संघीयताकै बाटोबाट भारतले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको सफलतापूर्वक अभ्यास गरिरहेकै छ। तसर्थ संघीयताबारे सशंकित हुनेले पनि हामी हिँड्न लागिरहेको बाटो भीरको बाटो हो भन्ने मनोविज्ञानवाट मुक्त होऔं। अर्कोतिर आफूलाई संघीयताको हिमायती ठान्ने पहिचानवादीले पनि आजको दुनियाँमा एकल जातीयतामा आधारित संघीयतामात्रै संघीयता हो भनेर असान्दर्भिक भइसकेका थोत्रा विचार/सिद्धान्तलाई नेपालजस्तो मिश्रित समाजमा जबर्जस्ती लाद्ने कोसिस पनि नगरौं।

संघीयतालाई सफलतापूर्वक अभ्यास गरिरहेका र समृद्धिको बाटोमा अग्रसर मुलुकले कहीँ पनि जातीयता र साम्प्रदायिकतालाई प्रोत्साहित गरेको पाइँदैन। यतिबेला जनता र राष्ट्रको हितमा नै एकात्मक राज्यमा संघात्मकताका विशेषतालाई ग्रहण गर्न लागिएको र संघीय राज्यहरूमा एकात्मक राज्यका विशेषतालाई ग्रहण गर्न लागिएको समय हो। तसर्थ हामीले माथि उल्लेख गरिएझैं पहिचानका पाँच र सामर्थ्यका चार आधारलाई एकीकृत रूपमा ग्रहण गर्दै संघीय आयोगमार्फत छिटोभन्दा छिटो प्रदेशहरूको सीमांकन गरी संक्रमणकाललाई अन्त्य गर्न सक्ने हो भने संघीयताकै माध्यमबाट मुलुकलाई आर्थिक, सामाजिक विकास र रूपान्तरणको बाटो हुँदै समृद्धितर्फ डोर्यामउन सकिनेछ। अन्यथा हाम्रा लागि संघीयता 'बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड' भनेझैं हुनेछ।

मलेसिया र खाडिमा जान निशुल्क
काठमाडौं- सरकारले मलेसिया र खाडी मुलुकमा रोजगारमा जाने कामदारसँग रोजगारदाता कम्पनीले एक पैसा पनि लिन नपाइने व्यवस्था गरेको छ। म्यानपावर कम्पनीहरुले खाडीका ६ वटा मुलुक र मलेसियामा कामदार पठाउँदा हवाई टिकट, प्रवेशाज्ञाबापत लाग्ने खर्चलगायतका कुनै पनि शुल्क लिन पाउने छैनन्। सरकारले गरेको यो नयाँ व्यवस्था पछि वैदेशिक रोजगारीमा जाने कामदारले आवधिक जीवन बिमा, अभिुमखीकरण तालिम, स्वास्थ्य परीक्षण शुल्क र कल्याणकारी कोषको शुल्क मात्रै बुझाए पुग्नेछ। कामदार माग गर्ने विदेशको संस्थाले सेवा शुल्क नदिएको अवस्थामा मात्र नेपालका म्यानपावर कम्पनीले १० हजारसम्म सेवा शुल्क लिन पाउने छन्।

श्रम तथा रोजगार मन्त्रालयका राज्यमन्त्री टेकबहादुर गुरुङले कतार, बहराइन, साउदीअरब, संयुक्त अरब इमिरेट्स (दुबई), ओमन, कुबेत र मलेसियामा जाने कामदारलाई निःशुल्क टिकट र प्रवेशाज्ञाको निर्णय गरिएको शुक्रबार जानकारी दिए। उनले कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा यस सम्बन्धी प्रस्ताप पठाएको जानकारी दिए। राज्यमन्त्री गुरुङले अहिले घोषणा गरिएका सात मुलुकबाहेक अन्य मुलुकमा पनि निःशुल्क गर्दै लैजान सरकारको तयारी रहेको बताए।

राज्यमन्त्री गुरुङले उक्त प्रस्ताव कानुन मन्त्रालयबाट एक साताभित्रै स्वीकृत भएर आउने र नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको पाँच दिनपछि यो व्यवस्था लागू हुने बताए। कामदारका लागि टिकट र प्रवेशाज्ञाको निशुल्क व्यवस्था गर्दा विदेशमा उनीहरुको माग कम हुने नभइ झनै बढ्ने गुरुङले दावी गरे।

नयाँ व्यवस्था अनुसार कामदार माग गर्ने विदेशी मुलुकको रोजगारदाताले नेपालमा अनुमति पाएको म्यानपावर कम्पनीलाई हवाई टिकट, सेवा शुल्कलगायतका लागि नेपालका बैंक खातामा रकम जम्मा गर्नु पर्नेछ।

सरकारले यसअघि मलेसियाका लागि ८० हजार र खाडीमुलुकका लागि ७० हजारसम्म लागत तोकेर त्यसैअनुरुप कामदारसँग रकम लिन पाउने व्यवस्था गरेको थियो। तर म्यानपावर कम्पनीहरुले निःशुल्क टिकट र प्रवेशाज्ञा ल्याए पनि कामदारसँग डेढ लाखसम्म रुकम असुली गर्दै आएका थिए।

सरकारले नयाँ व्यवस्था लागु गरे पनि यसबारेमा सम्बन्धित मुलुकका सरकार र व्यवसायीसँग छलफल गरेको छैन। सरकार पहिला निर्णय गरी सम्बन्धित मुलुकलाई पत्राचार गर्ने र पछि जानकारी दिन जाने तयारीमा छ।

बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले सरकारले संयन्त्र बनाएर मात्र निशुल्क टिकट र भिसाको व्यवस्था लागू गर्नुपर्ने बताए। उनले व्यवसायी निशुल्क लागतमा कामदार पठाउन तयार रहेको जानकारी दिंदै सरकारले सम्बन्धित मुलुकमा गएर छलफल र सम्झौता नगरी एकलौटी गर्दा रोजगार गुम्न सक्ने बताए। अहिले व्यवसायी बीच अस्वस्थ्य प्रतिस्पर्धा भएर माग ल्याउँदा कमिशन तिर्नुपर्ने बाध्यता छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस