काठमाडौं-संविधानसभाले नयाँ संविधानका लागि पठाएका थप विषयमा आइतबार मस्यौदा लेखन सुरु हुनेन भएको छ। संविधानका मूल अन्तर्वस्तु दलहरूको सहमतिबमोजिम संविधानसभा हुँदै मस्यौदा समितिलाई पठाइएको छ।
राजनीतिक दलहरूले राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणालीका बाँकी विवादमा सहमति गरी संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएका थिए। सभाध्यक्ष नेम्वाङमार्फत संविधानसभामा पेस भएका विषय संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पठाइएको थियो।
समितिले दलहरूबीच भएको सहमतिका आधारमा प्रतिवेदन तयार पारी फेरि संविधानसभामै पठाएको थियो। संविधानसभाको शुक्रबार बसेको बैठकले मस्यौदा समितिलाई १५ दिनको समय दिएर मस्यौदा तयार पार्न निर्देशन दिएको छ।
केही विवादित विषय पनि आएकाले त्यसमा सहमति गर्नुपर्ने थप चुनौती भने मस्यौदा समितिलाई थपिएको छ। तर, संविधान निर्माणको मूल विषय शासकीय स्वरूप नै भएकाले यसको टुंगो लागेपछि मस्यौदा लेखनमा अल्झिनुनपर्ने सभासदहरू बताउँछन्।
'राष्ट्रपतीय प्रणाली कि संसदीय प्रणाली भन्ने कुरा विवादित रहेको भए मस्यौदा लेखनको काम अघि बढाउनै समस्या पर्थ्यो,' मस्यौदा समितिका सदस्य एवं कांग्रेस नेता गगन थापाले भने।
बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीसहित बाँकी रहेका संविधानका विवादित अन्तर्वस्तुलाई मस्यौदाका रूपमा ढालिनेछ।
समितिअन्तर्गत रहेका पाँचवटा उपसमिति र एउटा कार्यदललाई आआफ्नो समितिअन्तर्गतका विषय दिइनेछ। उपसमिति र कार्यदलले सँगसँगै काम गर्ने समितिले जनाएको छ।
विवादित विषयहरू समानान्तर ढंगले लैजान नसके समितिलाई थप समय लाग्न सक्ने समितिका केही सदस्यले बताएका छन्।
संविधानसभाले संविधान संशोधन, नागरिकता, प्रस्तावनामा बहुलवाद लगायतका विवादित विषय जस्ताको त्यस्तै नै मस्यौदा समितिमा पठाएको छ।
'हामीले संविधानको सिंगो मस्यौदा प्रस्तुत गर्नैपर्छ,' एमाले सभासद एवं मस्यौदा समितिका सदस्य कृष्णभक्त पोखरेलले भने, 'विवादित विषयमा कसैको फरक मत रहे त्यसैअनुसार पठाउनुपर्छ, तर १५ दिनमा मस्यौदा लेखन कार्य सक्नैपर्छ।'
उनका अनुसार विवादास्पद विषय अब फेरि अर्को समितिमा पठाउने व्यवस्था छैन। 'हामीले संसदीय शासन प्रणालीलाई स्वीकार गरेका छौं,' उनले भने, 'एमाओवादी तयार छ, तर बहुलवाद मान्दिनँ भन्यो भने समस्या पर्न सक्छ। यस्तो विषयले सिद्धान्तमा नै असर पुर्याभउन सक्छ। तर, कसैका फरक मत भए समावेश गरेर जान सकिन्छ।'
कांग्रेस नेता थापाले पनि मस्यौदा समितिमा आएका विवादित विषय सँगसँगै टुंगो लगाउनुपर्ने बताउँछन्। '१५ दिनको समय दिइएको छ,' उनले भने, 'विवादित विषयलाई टुंगो लगाउन पार्टीहरूले सहयोग गरे समयमा नै मस्यौदा तयार गर्न सकिन्छ।'
मस्यौदा समितिले यसअघि नै थुप्रै काम सकिसकेको छ। 'विवादित विषयमा मस्यौदाका लागि प्रारम्भिक काम भइसकेको छ,' समिति स्रोतले भन्यो, 'दलहरूबीच भएको सहमतिअनुसार अब संविधानको भाषामा ढाल्न बाँकी छ।'
तर, मस्यौदा समितिले मौलिक हक, प्रस्तावना, संवैधानिक निकायको प्रतिवेदन, न्यायपालिकाको प्रतिवेदनका धेरै विषयमा मस्यौदा तयार पारिसकेको समिति स्रोतले जनायो।
कांग्रेस नेता थापाले पनि संविधानको भाषामा लिखत तयार पार्न मात्रै बढी समय लाग्ने बताए। 'संविधानको भाषामा लिखत तयार पार्दा कमा र फुलस्टपले पनि समस्या पर्छ,' उनले भने, 'यसका लागि विज्ञहरूको पनि सहयोग लिनुपर्छ।'
उनले समितिले गर्नुपर्ने सानामसिना काम पनि थुप्रै रहेको बताए। 'प्रदेश, केन्द्र र स्थानीय तहको अधिकार बाँडफाँटको कुरा छ,' उनले भने, 'त्यसमा पनि अहिले ध्यान पुगेन भने भोलि समस्या हुन्छ।'
एमाले सभासद पोखरेलले भाषिक विवादबाहेक मस्यौदा समितिले काम गरिसकेको बताउँदै संविधानसभाले दिएको समय पर्याप्त भएकाले काम सक्नैपर्ने धारणा राखे।