काठमाडौं-'म राज्यका दुई सुरक्षा संगठनबीच द्वन्द्व बढ्ने गरी कुनै निर्णय गर्दिनँ, तपाईंहरु ढुक्क हुनुस्।' प्रधानमन्त्री सुशील कोइरालाले सोमबार बिहान ९ बजे पूर्वप्रहरी महानिरीक्षकहरुका चासो सुनिसकेपछि यस्तो वचन दिएका थिए।
अर्धसैनिक संरचनाको सशस्त्र प्रहरी बलको प्रस्तावित नियमावलीमा 'पक्राउ पुर्जी दिने अधिकार' राखिएको बारे सुरक्षा प्रमुखको जिम्मेवारी सम्हालिसकेका सुरक्षाविज्ञ टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए– यस्तो व्यवस्थाले दुई सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच अधिकार क्षेत्रको विवाद बढ्छ, सुरक्षा क्षेत्र नै प्रभावित हुन्छ।'
प्रधानमन्त्रीको आश्वासन भने १२ घन्टा पनि टिक्न सकेन, मन्त्रिपरिषदकै एक समितिले सोमबार बेलुकै उल्ट्याइदियो। आफूहरुले मन्त्रिपरिषद अध्यक्षबाटै पाएको आश्वासन १२ घन्टा पनि नटिकेको देखेर पूर्वआइजिपीहरु भने चकित परे।
मन्त्रिपरिषदअन्तर्गतको विधेयक समितिले प्रस्तावित नियमावलीमा भाषा मात्र फेरेर पक्राउ पुर्जीको अधिकारसहितै पारित गरेको छ। पारित नियमावलीमा 'पक्राउ पुर्जी' को सट्टा 'पक्राउ गरिएको सूचना' दिनसक्ने राखिएको छ। त्यसको प्रयोजन पक्राउ पुर्जीको भन्दा फरक देखिँदैन।
कानुनमन्त्री नरहरि आचार्य संयोजक रहेको यो समितिले सोमबार पारित गरेको सशस्त्र बलको नियमावलीमा नेपाल प्रहरीलाई 'अन्य प्रहरी' उल्लेख गरेर सशस्त्रलाई अर्धसैनिक बलको साटो अर्काे प्रहरी संगठनको मान्यता दिन खोजिएको छ।
पारित नियमावलीको नियम १६३ को उपनियम १ सँग सम्बन्धित अनुसूची १९ मा राखिएको नमुनामा 'आपराधिक क्रियाकलापमा संलग्न रहेकाले पक्राउ गरिएको' उल्लेख छ। यसअगाडिको पुर्जीमा सशस्त्र प्रहरी कर्मचारीसँग तुरुन्त कार्यालय आउन लेखिएकोमा संशोधन गर्दै 'प्रचलित कानुनबमोजिम अनुसन्धान गर्ने अधिकारीसमक्ष बुझाउने प्रयोजनका लागि पक्राउ गरिएको' उल्लेख छ।
विधेयक समितिमा पुगेको प्रस्तावित नियमावलीको नियम १६३ मा पक्राउ पुर्जी जारी गर्ने अधिकार तोक्दै आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई पक्राउ गर्दा पुर्जी जारी गर्नुपर्ने उल्लेख थियो।
प्रधानमन्त्री कार्यालयका कानुन सचिव राजुमानसिंह मल्लको समितिले त्यसलाई संशोधन गर्दै पक्राउ पुर्जीको स्थानमा पक्राउको सूचना दिनुपर्ने शब्द राख्दै सशस्त्रलाई पुर्जीको अधिकार सुनिश्चित गरेको हो। त्यसमा सशस्त्रले पक्राउ गरेको व्यक्तिलाई सम्बन्धिीत अपराधको अनुसन्धान गर्ने अधिकार प्राप्त निकाय वा अधिकारीलाई सुम्पनुपर्ने उल्लेख छ।
सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २४ को उपदफा २ अनुसारको काममा पक्राउ गरिएको सूचना दिने उल्लेख छ। ऐनको उपदफामा 'सशस्त्रले पक्राउ गरेको व्यक्ति बुझाउँदा ती व्यक्तिको नाम, थर, वतन वा हुलिया तथा पक्राउ परेको मिति, समय र स्थानसहितको विवरण खुलाउनुपर्ने र स्थानीय अन्य प्रहरीले सशस्त्रसँग ती व्यक्ति बुझी त्यसबारेको लिखित जानकारी तत्काल सशस्त्र प्रहरी कर्मचारी वा ऊ कार्यरत कार्यालयलाई दिनुपर्ने' उल्लेख छ।
सशस्त्र प्रहरी ऐन, २०५८ ले सशस्त्र संघर्ष, पृथकतावादी गतिविधि, दंगा नियन्त्रण, दैवीप्रकोप र महामारी नियन्त्रण, सीमा सुरक्षा, आतंककारी गतिविधि नियन्त्रण, अपहरण नियन्त्रणको दायित्व उसलाई तोकेको छ।
ऐनमा प्रहरीको क्षेत्राधिकारभित्र प्रवेश गर्ने भन्दा सघाउने देखिए पनि सशस्त्रको कार्यक्षेत्र थप प्रस्ट पार्ने भन्दै गृहले २०६९ मा ल्याएको सशस्त्र प्रहरी बल परिचालन निर्देशिका, २०६९ ले ऐनको उक्त उपदफाको थप व्याख्या गर्दै नेपाल प्रहरीले गर्ने काममा सशस्त्रलाई प्रवेश गराइसकेको छ।
निर्देशिकाले ऐनमा झंै विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, महŒवपूर्ण संरचनाको सुरक्षा, सीमा सुरक्षालगायतकाको अधिकारसँगै उसलाई प्रहरीझैं गस्ती, पेट्रोलिङमा खटिने, विस्फोटनजस्ता शान्ति सुरक्षामा गम्भीर असर पर्ने घटनामा परिचालन हुने, चेकप्वाइन्ट स्थापना गर्ने, सडकको अवरोध हटाउने थप अधिकार बढायो।
यी अधिकार तोकिए पनि पक्राउपुर्जी अधिकारको अभावमा सशस्त्रले अवैध हातहतियारमा मात्रै आफूलाई केन्द्रित गरेको थियो। नयाँ नियमावली पारित भएसँगै निर्देशिकामा टेकेर प्रहरीझैं चोरी, लुटपाटलगायत अपराधमा संलग्न शंका लागेका व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गर्ने अधिकार राख्नेछ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने यो नियमावलीले दुई संगठनको क्षेत्राधिकार नमिचिने दाबी गरे।
सशस्त्र प्रहरी बलको ऐनले केही विषयमा सशस्त्रलाई पक्राउ गर्ने अधिकार तोकेको र त्यसअनुसार पुर्जी नदिई पक्राउ गर्दा मानवअधिकार उल्लंघन हुने भएकाले यो व्यवस्था गरिएको दाबी गर्दै गरे।
'ऊ आफैंले कहाँ के अपराध भएको छ भन्दै खोज्दै हिँड्ने होइन, ऊ खटिएको स्थानमा आपराधिक घटना भएको देखे उसले पक्राउ गर्ने हो,' ढकालले भने, 'प्रहरीले झैं न उसले सुराकी परिचालन गर्न पाउँछ न अपराधी खोज्दै हिँड्न पाउँछ, अनि कसरी क्षेत्राधिकार मिचियो।'
त्रुटिपूर्ण व्यवस्था
कानुनसम्बन्धी जानकार सशस्त्रको नियमावलीमा रहेको व्यवस्था फौजदारी न्यायको सिद्धान्त र अभ्यासविपरीत रहेको र उसकै ऐनभन्दा बाहिर गएकाले कानुनी रुपमा त्रुटिपूर्ण रहेको बताउँछन्।
अधिवक्ता सुवास आचार्य सशस्त्रले पक्राउको सूचना दिने अधिकार ऐनभन्दा बाहिर गएको र कसैलाई सूचना दिएर पक्राउ गर्ने पद्धति फौजदारी कानुनमा सैद्धान्तिक र व्यावहारिक दुवै रुपमा कतै अभ्यासमा नरहेकाले नियमावलीमा राखिएको व्यवस्था कानुनी रुपमा त्रुटिपूर्ण रहेको बताए। दुइटा सुरक्षा संगठनलाई एकै प्रकृितको अधिकार दिँदा सर्वसाधारण मारमा पर्ने र यसले नागरिकको स्वतन्त्रतासमेत हनन हुने भएकाले सशस्त्रको नियमावली कानुनी रुपमै त्रुटिपूर्ण देखिएको उनले बताए।
'पुर्जी राज्यले जारी गर्छ, सूचना होइन,' उनले नागरिकसँग भने, 'सूचनापत्र दिएर पक्राउ गर्ने सशस्त्रको नियमावलीमा जे आएको छ, त्यसको कतै अभ्यास भएको छैन।'
सशस्त्रको पारित नियमावलीबारे नेपाल प्रहरीका अधिकारीले औपचारिक रुपमा बोल्न चाहेनन्। एक अधिकारीले समन्वयकारी मन्त्रालय नै उस्तै प्रकृतिका दुइटा संगठन बनाएर द्वन्द्व बढाउन लागेकाले सशस्त्रको नियमावलीबारे कानुनी बाटो खोज्न परामर्श भइरहेको बताए।
सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ र नियमावली २०५५ मा कुनै व्यक्तिलाई प्रहरी हिरासतमा राख्नुपर्ने अवस्था आए पक्राउ पुर्जी जारी गर्नुपर्ने उल्लेख रहेको तर सशस्त्रले आफैं हिरासतमा राख्न नपाउने अवस्थामा पक्राउ पुर्जी जारी गर्नु गैरकानुनी हुने आधार टेक्दै प्रहरी कानुनी उपचारको बाटोमा जाने तयारीमा छ।
'यसअघि नियम–कानुन बनाउँदा लिखित रुपमा सुझाव माग्ने गरिएकोमा यसपालि सकेसम्म पत्तै नदिने प्रयास भयो,' एक वरिष्ठ प्रहरी अधिकारीले भने, 'नियमावलीको निर्माणमै कुनियत राखियो, समानान्तर संगठन बनाउने प्रयास भएकाले कानुनी बाटो खोज्छौं।'
सशस्त्र प्रहरी प्रवक्ता पुष्पराम केसीले सशस्त्रको नयाँ नियमावलीको विषयमा प्रहरीसँग कुनै मनमुटाव नभएको दाबी गरे। ऐनले तोकेको कार्यक्षेत्रअनुसार सशस्त्रले अन्य सुरक्षा संगठनसँग सहकार्य गर्ने बताए।
हतियार मुद्दामा सशस्त्र–प्रहरी टकराव
आफ्नो सुराकीलाई नै अवैध हतियारमा पक्राउ गरेको भन्दै सशस्त्र प्रहरीले अनुसन्धान प्रक्रियामा हस्तक्षेप गरेपछि नेपाल प्रहरीले हतियारसहित पक्राउ परेका दुई जनालाई मंगलबार सार्वजनिक गरेको छ।
महानगरीय प्रहरी वृत्त, महाराजगन्जले जेठ २७ गते अवैध हतियारसहित पक्राउ परेका दुर्गासिंह गुरुङ र असार ६ मा पक्राउ परेका विनोद कट्टेललाई सार्वजनिक गरेको हो।
सशस्त्र प्रहरीले उपत्यकामा परिचालन गरेको विशेष टोलीले जेठ २७ मा टोखा नगरपालिका–१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका–८ का ३५ वर्षीय गुरुङलाई कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित समातेर महानगरीय प्रहरी वृत्त महाराजगन्जमा बुझाएको थियो।
सशस्त्रले गुरुङलाई टोखा नगरपालिका–१४ गणेशस्थानबाट पक्राउ परेको दाबी गरेको थियो। सशस्त्रले उनको कम्मरमा बाँधेको हरियो झोलामा कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीलाई जानकारी गराएको थियो।
सशस्त्रले आफ्नो सुराकी निर्दोष रहेको दाबी गरेपछि प्रहरीले अनुसन्धानमा उनको संलग्नता खुलेको भन्दै हिरासतमा राखेर अनुसन्धान अगाडि बढायो। सशस्त्रका अधिकारी अनुसन्धान प्रक्रिया प्रभाव पार्न सरकारी वकिल कार्यालयमै पुगेका थिए।
सशस्त्रले आफ्ना सुराकीलाई नै पक्राउ गरेको भन्दै कट्टेलमाथि अनुसन्धान नगर्न दबाब दिएपछि प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर यी दुवैलाई सार्वजनिक गरेको हो।
वृत्तका प्रमुख डिएसपी सानुराम भट्टराईका अनुसार गुरुङको बयानबाट माओवादी पूर्वलडाकु कट्टेलले ऋण लिएबापत बन्धकी राखेको खुलेपछि अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको थियो।
'उनले घटनामा संलग्नता अस्वीकार गरेपछि पोलिग्राफ परीक्षण गराएका थियौं,' भट्टराईले भने, 'त्यसमा उनी असफल भएपछि अनुसन्धान अगाडि बढाएका हौं।'