गभर्नर अधिकारीलाई सर्वोच्चले काममा फर्कायो
०७ वैशाख २०७९
•
४ मिनेट पाठ
गभर्नर अधिकारीलाई सर्वोच्चले काममा फर्कायो
सर्वोच्च अदालतले सरकारले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदीय जिम्मेवारीमा फर्कन मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।




न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले गभर्नर अधिकारीको निलम्बन फुकुवा गर्दै बुधबारदेखि काममा फर्कन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। यो आदेशसँगै गभर्नर अधिकारीमाथि छानबिन गर्न सरकारले बनाएको समिति तत्कालका लागि अर्थहीन बन्न पुगेको छ। सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति बनाएपछि उनी स्वतः निलम्बनमा परेका थिए।

सर्वोच्च अदालतको यो निर्णय अन्तिम भने होइन। सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन एक साताका लागि आदेश गरेको हो।

गभर्नर अधिकारीलाई निलम्बन गर्नुको लिखित कारण १५ दिनभित्र पेस गर्नसमेत आदेश गर्दै इजलासले दुवै पक्षलाई यही वैशाख १३ मा छलफलका लागि बोलाएको छ। दुवै पक्षको उपस्थितिमा हुने छलफलपछि सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने टुंगो लगाउनेछ।

‘नेपाल राष्ट्र बैंक, मौद्रिक नीति तथा समग्र अर्थतन्त्रको स्थायित्वसँग गाँसिएको विषय देखिँदा यस्तो विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा दुवै पक्षलाई झिकाइ छलफल गरी निर्णयमा पुग्नुपर्ने देखिएकाले २०७९ वैशाख १३ लाई पेसी तोकी दुवै पक्षलाई जानकारी दिनू,’ आदेशमा भनिएको छ, ‘अन्तरिम आदेशको सम्बन्धमा निर्णय नहुन्जेल संविधानको धारा १३२(२) तथा धारा ३०४(१) को प्रतिबन्धात्मक वाक्यांश तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २३ (१)(क) को विद्यमानको अवस्थामा जाँचबुझ समिति गठन भएको समेत  देखियो।’ आदेशमा अगाडि भनिएको छ, ‘सरकारको २०७८ चैत २४ को निर्णय र अर्थ मन्त्रालयको चैत २५ को निवेदकको नाममा जारी गरिएको पत्राचार तत्काल कार्यान्वयन नगर्ननगराउन र निवेदकलाई आफ्नो पदीय जिम्मेवारी पुनः गर्न दिनू भनी सर्वोच्च अदालत नियमावलीबमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ।’

गत चैत २५ मा मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन समिति गठनको निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णय प्रतिशोध साँध्न गरिएकाले बदर हुनुपर्ने माग दाबीसहित गभर्नर अधिकारी स्वयंले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्। सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएपछि अधिकारी गभर्नर पदबाट  निलम्बनमा परेका थिए। उनले छानबिन समितिमाथि प्रश्नचिह्न उठाउँदै निलम्बन फुकुवाको माग राखेर आइतबार रिट निवेदन दर्ता गरेका थिए। आफूलाई कुनै जानकारी नगराईकन र स्पष्टीकरण पनि नसोधी एक्कासि छानबिन समिति गठन गरिएकाले त्यस्तो समिति बदरयोग्य भएको जिकिर अधिकारीको छ।

राष्ट्र बैंक ऐनको दफा २२ मा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई पदमुक्त गर्न जाँचबुझ समिति गठन र त्यसको सिफारिस अनिवार्य हुने व्यवस्था छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २३ मा जाँचबुझ समितिको गठन, काम, कर्तव्यबारे उल्लेख छ। सर्वोच्च अदालतबाट अवकाश प्राप्त न्यायाधीशमध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति त्यस्तो समितिको अध्यक्ष बन्ने व्यवस्था छ। त्यसैगरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा व्यवस्थापन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट नेपाल सरकारले तोकेका दुईजना छानबिन समितिको सदस्य हुने व्यवस्था छ।

राष्ट्रबैंकको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको पाइए गभर्नर पदमुक्त हुने व्यवस्था छ। खराब आचरणको कारणबाट कुनै पेसा वा व्यवसाय गर्नबाट अयोग्य ठहर्‍याई प्रमाणपत्र खोसिएको वा व्यवसाय गर्न रोक लगाइएकोमा पनि गभर्नर पदमुक्त हुने कानुनी व्यवस्था छ। त्यसैगरी बिनाकारण लगातार तीनपटकभन्दा बढी समितिको बैठकमा उपस्थित हुन नसकेमा पनि पदमुक्त गर्न सक्ने व्यवस्था छ। राष्ट्र बैंकले गर्नुपर्ने काम गर्न गराउन, कार्यान्वयन गर्न, कार्यक्षमताको अभाव भएमा गभर्नर पदमुक्त हुने व्यवस्था छ। मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानिनोक्सानी पुग्ने काम गरेको देखिए पनि गभर्नर पदमुक्त हुन सक्ने कानुनी व्यवस्था छ।

यसअघि तत्कालीन सरकारले गभर्नरद्वय तिलक रावल र विजयनाथ भट्टराईलाई हटाए पनि सर्वोच्चले पुनर्बहाली गरेको थियो। रावल पुनर्बहाली भएपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले नैतिकताका आधारमा राजीनामा दिएका थिए। सर्वाेच्चको आदेशपछि गर्भनरले भने, ‘आधिकारिक पत्र पाएको छु। भोलिदेखि राष्ट्र बैंकको काममा फर्किन्छु।’ अदालतको अन्तरिम आदेशले राष्ट्र बैंक स्वायत्त निकाय भएको भन्ने थप पुष्टि गरेको छ।
अर्को समाचार
गभर्नर निलम्बनको सर्वत्र आलोचना
२७ चैत्र २०७८
•
५ मिनेट पाठ
गभर्नर निलम्बनको सर्वत्र आलोचना
सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई विभिन्न आरोप लगाएर निलम्बन गरेकोमा सर्वत्र आलोचना भएको छ।




पूर्वगभर्नर, प्रशासक, अर्थविद् र राजनीतिक दलका नेताहरूले सरकारको रबैयामाथि तिखो टिप्पणी गरेका छन्। यो निर्णयको विरोध गर्ने सबैले राष्ट्र बैंकजस्तो स्वायत्त निकायमाथि हस्तक्षेप गरेर सरकारले अस्थिरता निम्त्याउने प्रयास गरेको बताएका छन्।

सरकारले शुक्रबार गभर्नर अधिकारीमाथि विभिन्न आरोप लगाउँदै जाँचबुझ गर्न समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका छन्। सरकारले गभर्नर अधिकारीमाथि विलासी वस्तु आयात रोक्नेलगायत नीतिगत निर्णय गर्नुअघि सूचना चुहाएको, बैंकिङ प्रणालीमा हानिनोक्सानी पुर्‍याएको, खराब आचरण गरेकोजस्ता आरोप लगाएको छ।

अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच सुरुदेखि नै मतभेद भएको थियो। चालु बजेट सार्वजनिक गर्न ढिला भएपछि गभर्नर अधिकारीले समयमा नै मौद्रिक नीति ल्याउन खोजेका थिए। तर अर्थमन्त्रीले त्यसलाई रोकेपछि दुई जनाबीच विवाद सुरु भएको थियो।

त्यसपछि पनि गभर्नर अधिकारी र अर्थमन्त्री शर्माबीचको सम्बन्ध राम्रो हुन सकेको थिएन। पछिल्लो समय अर्थमन्त्री शर्माले गैरकानुनी रूपमा अमेरिकाबाट आएको १४ करोड रुपैयाँ फुकुवा गर्न दिएको निर्देशन गभर्नर अधिकारीले नमानेपछि विवाद उत्कर्षमा पुगेको थियो। यसैकारण गभर्नर निलम्बनमा परेका हुन्।

पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थतन्त्रका परिसूचकहरू समस्यामा देखिएका बेला सरकारले गभर्नरलाई चलाएर थप अस्थिरता निम्ताएको बताए। ‘गभर्नरलाई हटाएपछि निमित्तले ठुला निर्णय गर्न सक्दैनन्,’ उनले भने, ‘यस्तोमा झनै समस्या हुन्छ।’ खनालले अर्थमन्त्री शर्माले सुरुदेखि नै राष्ट्र बैंकमाथि खुलेआम हस्तक्षेप गरेको बताए।

उनका अनुसार अहिले नीतिगत मुद्दामा समस्या भएको देखिँदैन, यो व्यक्तिगत समस्या हो, गभर्नरलाई समयमा मौद्रिक नीति पनि ल्याउन दिइएन। खनालले गभर्नरले भ्रष्टाचार गरेको भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताए।

अर्थशास्त्री केशव आचार्यले पनि सरकारको निर्णयप्रति तिखो आलोचना गर्दै यसले झनै अस्थिरता निम्त्याउने काम गरेको बताए। उनले स्वायत्त संस्थामाथि सरकारले गरेको हस्तक्षेपले परिणाम उल्टो दिने भन्दै नयाँ गभर्नरले पनि सरकारले चाहेअनुसारको काम गर्न नसक्ने बताए।

‘यस्तो अस्थिरतामा नयाँ गभर्नरले पनि काम गर्न सक्दैन। सरकारले भनेअनुसार गैरकानुनी रकमलाई फुकुवा गर्दै जाने हो भने नेपाल अन्तर्राष्ट्रियस्तरमा कालोसूचीमा पर्नेछ,’ आचार्यले भने। आफूअनुकूल नहुँदा राष्ट्र बैंकमा हस्तक्षेप गर्ने राजनीतिक सोच गलत भएको पूर्वगर्भनरहरू बताउँछन्।

राजनीतिक नेतृत्वमा गलत सोच हाबी हुँदा राष्ट्र बैंकजस्तो स्वायत्त संस्थामा हस्तक्षेप भएको पूर्वगभर्नर चिरञ्जीवी नेपालले बताए। आफू गभर्नर हुँदा पनि राजनीतिक नेतृत्वले हस्तक्षेप गर्ने प्रयास गरेको उनले स्मरण गरे। ‘म गभर्नर हुँदा पनि यस्तो प्रयास भएको थियो,’ उनले नागरिकसँग भने, ‘त्यो बेलाको राजनीतिक नेतृत्वको प्रयास पनि गलत थियो। अहिले पनि हस्तक्षेप गरेर अस्थिरता निम्त्याउने काम भयो।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर नेपाललाई हटाउन चाहन्थे। स्वायत्त संस्थामा हस्तक्षेप गर्दा गलत सन्देश जाने भएर उनी हच्किएका थिए। राजनीतिक नेतृत्वको गलत सोचले राष्ट्र बैंकजस्तो निकायलाई अस्थिर बनाउन नहुने नेपालको तर्क छ।

‘आफ्नो नेतृत्वमा हस्तक्षेप हुँदा चुप बस्ने,’ नेपालले भने, ‘अहिले हस्तक्षेप भयो भनेर दोहोरो चरित्र देखाउनु भएन।’ गभर्नर अधिकारीमाथि गम्भीर आरोप लगाउँदै छानबिन समिति बनाएकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्को आलोचना गरेका छन्। ओलीको यही अभिव्यक्तिप्रति लक्षित गर्दै नेपालले टिप्पणी गरेका हुन्।

सरकारको हस्तक्षेपले संस्थाको आत्मबलमा असर पुग्ने नेपालले बताए। ‘संस्थाको प्रमुख नराम्रो भए पनि असर पर्छ,’ नेपालले भने, ‘सरकारले पनि अनावश्यक हस्तक्षेप गर्नु हुँदैन।’ अर्थमन्त्री र गभर्नरबीच नेपालमा मात्र नभएर संसारभर विवाद पर्ने उनले बताए। नेपाल राष्ट्र बैंक ऐनलाई हस्तक्षेप गर्न नपाउने तरिकाले बनाइएको भए पनि बेलाबेलामा हस्तक्षेप हुँदै आएको नेपाल बताउँछन्।

कतिपय देशमा सरकार परिवर्तन हुँदा गभर्नर पनि परिवर्तन हुने परम्परा छ। राजा ज्ञानेन्द्रको पालामा राष्ट्र बैंक ऐन बनाएर स्वायत्त संस्थाका रूपमा खडा गरिएको थियो। तर अहिले प्रजातान्त्रिक चरित्र बोकेका राजनीतिक दलको हस्तक्षेप गर्नुपर्छ भन्ने सोच गलत भएको नेपालको टिप्पणी छ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री आरोप लगाउनेले त्यसको पुष्टि गर्नुपर्ने बताउँछन्। ‘साँच्चै नै निलम्बन गर्नुपर्ने कारण हो होइन, आरोप लगाउनेले प्रमाणित गर्नुपर्‍यो,’ क्षेत्रीले भने, ‘लगाएको आरोपको सम्बन्धित पक्षले प्रतिवाद गर्नुपर्‍यो।’ सरकारले लगाएको आरोप पुष्टि नभए नियत गलत भएको उनले बताए।

आफू नेतृत्वको सरकारले नियुक्त गरेका गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णयविरुद्ध पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पनि सरकारको चर्को आलोचना गरेका छन्। ओलीले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेका गभर्नर अधिकारीलाई निलम्बन गरेर सरकारले निर्लज्जता प्रकट गरेको आरोप लगाए।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा ओलीले भने, ‘अर्थतन्त्र जोगाउन खोज्दा गभर्नरलाई निलम्बन गरेर सरकारले गलत निर्णय गर्‍यो।’ ओलीले गभर्नरले नभई अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र बिगारेको भन्दै व्यंग्य गरे। ‘मुखभरि रौं भएको मुसोले धान खायो तर एउटा पनि रौं नभएको भ्यागुतोलाई कारबाही भयो,’ अर्थमन्त्री शर्माप्रति व्यंग्य गर्दै ओलीले भने, ‘सरकारले लिएका अस्थिर नीतिका कारण देशको अर्थतन्त्र संकटमा पर्दै गएको छ।’

गभर्नरका कारण नभई सरकारको कारण अर्थतन्त्र बिग्रिएको टिप्पणी ओलीले गरे। ‘अर्थतन्त्र जोगाउन लागिपरेका राष्ट्रसेवकलाई सरकारले कारबाही गर्‍यो,’ ओलीले भने, ‘गभर्नरलाई बलिको बोको बनाउन खोजियो।’ ओलीले गभर्नर अधिकारीको लगाइएका आरोप छानबिन गर्न बनाएको समितिप्रति पनि संशय व्यक्त गरे।

माओवादीले नियुक्त गरेर अवकाश पाएका न्यायाधीशको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएकोमा उनको आपत्ति छ। सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन्। पूर्वन्यायाधीश भण्डारी माओवादी केन्द्रनिकट भएको आरोप ओलीले लगाए।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस