रौतहट-नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानन्त्री माधवकुमार नेपालले संविधानको मस्यौदामा सोचेर सुझाव दिन आग्रह गरेका छन्। रौतहटको गरुडामा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले कतिपयले संविधानको प्रारम्भिक मस्यौदा नपढी विरोधको लागि मात्र विरोध गरेको आरोप लाउँदै उनले त्यसो नगरि देशको संविधानमा सोचेर सुझाव दिनुपर्ने बताए।
उनले सबैको सहयोगले नेपालको संविधान विश्वमै उत्कृष्ट बन्ने दाबी गरे। नयाँ संविधानमा नागरिकताको विषयमा कडाई गर्नु पर्नेमा जोड दिए। उनले प्रदेशको सिमाङ्कन सबैको सहमतिमा हुनु पर्ने बताए।
नेता नेपालले मस्यौदामा देखिएका कमीकमजोरीलाई जनताको सुझावबमोजिम परिमार्जन गरिने आश्वासन समेत दिए।
कार्यक्रममा सभासद वंशीधर मिश्रले आगामी एकदेखि डेड महिनाभित्र जसरी पनि संविधान जारी हुने जिकिर गर्दै विरोधीहरुले विरोध गर्नुको कुनै औचित्य नै नरहेको बताएका छन्।
यसैबिच संविधानको मस्यौदा लिएर सुझावका लागी जिल्ला आएका सभासदहरुलाई मधेशवादी दलका नेता कार्यकर्ताले चर्को विरोध जनाउँदै शुक्रवार साँझ कालो झण्डा देखाएका थिए। संविधानका विषयमा राय–सुझावका लागी गृह जिल्ला आएका नेपाललाई शुक्रवार साँझ मधेशवादी दलले जिल्ला प्रशासन कार्यालय अगाडी कालो झण्डा देखाएका थिए।