काठमाडौं-संविधानको प्रारम्भिक मस्यौदा संशोधन गर्दै 'धार्मिक स्वतन्त्रता' र 'प्रत्यक्ष निर्वाचित कार्यकारी' को व्यवस्था गर्न अधिकांशले सुझाव दिएका छन्। संविधानसभा सचिवालयमा मंगलबार साँझ पाँच बजेसम्म प्राप्त करिब २७ हजार सुझावमध्ये बढीजसो सुझावमा 'धार्मिक स्वतन्त्रता हुनुपर्ने' र 'प्रत्यक्ष निर्वाचित कार्यकारी' व्यवस्था गर्नुपर्ने उल्लेख छ।
त्यसपछि प्रदेशको संख्या ५ भन्दा बढी हुन नहुने, थ्रेसहोल्ड कायम गर्नैपर्ने, संघीयतासम्बन्धी सबै विषय अहिल्यै टुंगो लगाउनुपर्ने विषय पनि बढीजसो सुझावमा दोहोरिएका छन्।
२ सय ४० निर्वाचन क्षेत्रमा बाहेक संविधानसभा सचिवालयमा विभिन्न माध्यमद्वारा प्राप्त २६ हजार ४ सय ९६ सुझावमध्ये धेरैजसोमा संविधानको प्रारम्भिक मस्यौदा संशोधन गरेर 'धार्मिक स्वतन्त्रता हुनुपर्ने' र प्रधानमन्त्री या राष्ट्रपति जे भए पनि 'प्रत्यक्ष निर्वाचित कार्यकारी' हुनुपर्ने सुझाव दिइएको छ।
वेबसाइट, इमेल, फ्याक्स, टोल फ्री कल एवं समितिमा सोझै प्राप्त सुझावमा यस्तो उल्लेख गरिएको छ।
२०४७ पछि सुरु भएको संसदीय व्यवस्थाले मुलुकलाई निकास दिन नसक्ने भन्दै धेरैजसो सुझाव स्थिर सरकारका लागि पनि प्रत्यक्ष निर्वाचित नै हुनुपर्ने उल्लेख गरिएको छ।
'संसदीय शासन प्रणाली असफल भयो, जुन प्रणाली पैसामा बिक्छ,' रामप्रज्ज्वल पाण्डेले इमेलमार्फत दिएको सुझावमा उल्लेख छ, 'त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्छ।'
उनको सुझावमा प्रस्तावित मिश्रित निर्वाचन प्रणालीलाई १० वर्ष कायम गर्दै त्यसपछि समानुपातिक प्रतिनिधित्वलाई सम्बोधन गर्ने गरी पूर्ण प्रत्यक्ष निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख छ।
'प्रस्तावित व्यवस्थाका आधारमा कुनै पनि दललाई दुईतिहाइ मत ल्याउन करिब असम्भवप्रायः देखिन्छ, जसको कारण समयअनुसार संविधान संशोधन हुन सक्दैन र १०/१५ वर्षको अन्तरमा अर्को विद्रोही समूह जन्मन सक्छ,' उनले कारण खुलाउँदै भनेका छन्।
संविधानसभा सचिवालयस्रोतका अनुसार इमेल, वेबसाइट, फोन र फ्याक्समा प्राप्त अधिकांश सुझावमा 'धार्मिक स्वतन्त्रता' र 'प्रत्यक्ष निर्वाचित कार्यकारी' हुनुपर्ने उल्लेख छ।
'अहिलेसम्म प्राप्त सुझाव हेर्दा संविधानको प्रारम्भिक मस्यौदामा धेरै संशोधन गर्नुपर्ने देखिन्छ,' संविधानसभा सचिवालय स्रोतले भन्यो, 'धेरैजसो सुझाव हेर्दा धार्मिक स्वतन्त्रता र प्रत्यक्ष कार्यकारीको व्यवस्था नै हुनुपर्ने उल्लेख गरिएको छ। हामीले प्रतिवेदन तयार पारेर शीर्ष नेता रहेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने हो। समितिले थप निर्णय गर्नेछ।'
स्रोतका अनुसार जिल्लाबाट प्राप्त केही रिपोर्टमा पनि धार्मिक स्वतन्त्रता, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था, संघीय राज्यको नामांकन र सीमांकन संविधानसभाबाटै टुंगो लगाउनुपर्ने सुझाव बढी प्राप्त भएका छन्।
त्यसैगरी, वेबसाइटमार्फत प्राप्त अर्को सुझावमा छ, 'राष्ट्रपति र उपराष्ट्रपति पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्छ, साथै पाँचवर्षे कार्यकालका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति या प्रधानमन्त्री हुनुपर्छ,' सुरेन्द्रराज भट्टराईले काठमाडौंबाट दिएको सुझावमा उल्लेख छ, 'प्रदेश संख्या बढीमा पाँच मात्रै बनाउनुपर्छ।'
जिल्ला–जिल्लामा सुझाव संकलनका क्रममा पनि मस्यौदामा उल्लेख गरिएको भन्दा फरक तरिकाले सुझाव प्राप्त भएका छन्।
'कार्यक्रममा निकै नाराजुलुस र मस्यौदा च्यातचुत भए पनि उनीहरु अन्तिमसम्म सुनेर बस्छन्,' पाँचथरमा सुझाव संकलनमा पुगेका सभासद अइन्द्रसुन्दर नेम्वाङले टेलिफोनमा नागरिकसँग भने, 'बढीजसो सुझाव नामांकन र सीमांकन पहिल्यै छिनोफानो गर भन्ने खालका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी र धार्मिक स्वतन्त्रताका कुरा यहाँ पनि प्रशस्तै उठेका छन्।'
त्यसैगरी, संविधानसभा सचिवालयमा प्राप्त अर्को सुझावमा प्रस्तावनामा धेरै संघर्ष, आन्दोलन आदि उल्लेख गर्नु नपर्ने भन्दै धेरै अनावश्यक रुपमा राखिएका शब्द हटाउनुपर्ने उल्लेख छ।
आफूलाई बैंकर उल्लेख गर्दै पठाइएको अर्को सुझावमा भनिएको छ, 'संविधानमा धार्मिक स्वतन्त्रता लेखिनुपर्छ। कुनै धर्म तोक्नु वा धर्मनिरपेक्ष लेख्दा विवाद उत्पन्न हुन्छ। प्रदेश ८ भन्दा कम हुनुपर्छ। थ्रेसहोल्ड ३ देखि पाँच प्रतिशतसम्म हुनुपर्छ।'
सचिवालयले बढीजसो प्राप्त सुझाव भन्दै तयार गरेको सूचीमा नामांकन र सीमांकनसहितको संघीयता हुनुपर्ने, पार्टीहरुले प्रधानमन्त्री या राष्ट्रपतिको उम्मेदवार पहिले नै तय गरेर प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गरिनुपर्ने, राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनैपर्ने उल्लेख छ।
'राष्ट्र फुटाउन खोज्ने र नाबालिका बलात्कार गर्ने अपराधीलाई मृत्युदण्ड दिइयोस्,' सचिवालयले सुझावका आधारमा तयार पारेको सूचीमा यस्ता सुझाव पनि समेटिएका छन्,'वडा अध्यक्षलाई पनि प्रत्यक्ष चुन्न पाउनुपर्छ। स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिनुपर्छ। नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र कायम गर्नुपर्छ। जातको आधारमा होइन, 'सगरमाथा', लुम्बिनीजस्ता सबैले गौरव गर्न सक्ने गरी राज्यको नामकरण गरियोस्। सांसद हुन कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिनुपर्छ।'
त्यसैगरी, एक व्यक्ति दुई वा त्यसभन्दा बढी क्षेत्रबाट उम्मेदवार हुने व्यवस्था खारेज गर्नुपर्ने पनि सुझाव प्राप्त भएको छ।
'लोभलालच देखाएर धर्म परिवर्तन गराउन खोज्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ,' वेबसाइटमा प्राप्त सुझावमा उल्लेख गरिएको छ, 'प्रधानमन्त्री होस् या राष्ट्रपति कार्यकारी जो भए पनि प्रत्यक्ष निर्वाचित हुनैपर्छ। बढीमा दुई कार्यकालका लागि पाँच वर्षका लागि समय तोकिनुपर्छ।'
त्यसैगरी, एमाले सचिव योगेश भट्टराईको नेतृत्वमा रहेको मदन भण्डारी अध्ययन केन्द्र नेपालले मंगलबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेरै अहिलेको व्यवस्थाले अल्पअवधिको प्रधानमन्त्री जतिसुकै सक्षम भए पनि आफ्नो नेतृत्व र कौशल देखाउन नसक्ने हुनाले संसदीय प्रणालीबाट निर्वाचित प्रधानमन्त्रीय प्रणालीभन्दा प्रत्यक्ष रुपमा निर्वाचित व्यक्ति राज्यको प्रमुख रहने शासन प्रणाली नै उपयुक्त हुने सुझाव दिएको छ।
१६ वटा बुँदामा दिइएको सुझावमा भनिएको छ, 'संवैधानिक राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा जानुपर्छ। यसका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले संसदभन्दा बाहिरबाट मन्त्रीहरु चयन गर्नुपर्छ।'
त्यसैगरी, सुझावमा निर्वाचनको प्रतिस्पर्धामा सामेल दलमध्ये जुन दलले खसेको मतको पाँच प्रतिशत मत ल्याउँछ, त्यसलाई मात्र राष्ट्रिय पार्टीको मान्यता दिने र त्यस्ता पार्टीले मात्र समानुपातिक पद्धतिबाट संसदमा प्रतिनिधित्व गर्न पाउने संवैधानिक व्यवस्था गर्नुपर्ने उल्लेख छ।
त्यस्तै, फाउन्डेसनले बुझाएको सुझावमा 'कुनै पनि व्यक्तिलाई राज्य, राजनीतिक पार्टी वा कुनै पनि संघ/संगठनको दबाब वा प्रलोभनमा उसको धर्म परिवर्तन गर्न/गराउन पाइनेछैन। त्यसो गरे त्यसलाई दण्डनीय ठानिनेछ,' भन्ने उल्लेख गरिएको छ।
संविधानसभा भवनमै रहेर सुझाव संकलन कार्यको संयोजन गरिरहेका सभाध्यक्ष सुवास नेम्वाङले जनताले दिएका सुझावलाई सकेसम्म समट्ने प्रतिबद्धता जनाएका छन्।
दिनभर सुझाव र ज्ञापनपत्र बुझ्नै व्यस्त रहेका सभाध्यक्ष नेम्वाङले जति धेरै सुझाव संविधानमा समावेश गर्न सक्यो, त्यति बढी अपनत्व हुने भएकाले आफूहरुले सक्दो प्रयास गर्ने बताए।
'समेट्न सक्नेजति समेटौंला,' नेम्वाङले ज्ञापनपत्र बु‰ने क्रममा भने, 'जति धेरै समेट्यो, त्यति बढी अपनत्व हुन्छ। संविधान कार्यान्वयनमा पनि सहज हुन्छ तर संविधानले सयका सय कुरा कसैका पनि समेट्न सक्दैन। मेरा पनि सबै कुरा समेटिएका छैनन्। यो सबैको हकमा लागू हुन्छ। अहिले समेटिएका विषयहरुलाई उपलब्धिका रुपमा लिँदै अरू थप विषय जनताको मन जितेर संविधान संशोधन गरी अघि बढ्न पनि सकिन्छ। सयमा सय विश्वको कुनै पनि संविधानले समेटेको मलाई थाहा छैन।'
सभाध्यक्षलाई भ्याइ/नभ्याइ
संविधानको प्रारम्भिक मस्यौदाको सुझाव संकलनका लागि जिल्ला नगएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सोमबार र मंगलबार ज्ञापनपत्र बुझ्न भ्याइ–नभ्याइ छ।
उनले दुई दिनमा दुई दर्जन बढी संघसंस्थाका ज्ञापनपत्र बुझिसकेका छन्। 'नेताहरु सुझाव संकलनका लागि गाउँगाउँ जानुभएको छ,' नेम्वाङले भने, 'यहाँ मलाई बिहानदेखि बेलुकासम्म ज्ञापनपत्र बु‰न भ्याइ–नभ्याइ छ। यसले पनि सिंगो मुलुक यो प्रक्रियामा सामेल भएको पुष्टि हुन्छ। हामीले अघि सारेको राष्ट्रिय अभियान सफल भयो।'
नेम्वाङले आफूलाई संस्थागत रुपमा बुझाइएका ज्ञापनपत्र देशव्यापी रहेका संस्थासँगको छलफलमा बुझाइएकाले पनि धेरैको चासो र सरोकार रहेको बताए।
'आजसम्म सुझाव दिन नसक्नेले भोलि (बुधबार) पनि मेरो समय लिनुभएको छ,' नेम्वाङले भने, 'सेना, प्रहरी, सशस्त्र, सर्वोच्च अदालतले पनि लिखित रुपमा सुझाव दिइसक्नुभएको छ। यो राम्रो हो।'
'कुनै पनि निहुँमा प्रेस स्वतन्त्रता कुण्ठित गर्नुहुँदैन'
सभाध्यक्ष नेम्वाङले प्रेसलाई लोकतन्त्रको आधार मान्ने दलहरुले कुनै पनि निहुँमा प्रेस स्वतन्त्रता कुण्ठित गर्न नहुने बताएका छन्।
पूर्ण प्रेस स्वतन्त्रता माग गर्दै रिपोर्टर्स क्लबले बुझाएको ज्ञापनपत्र बु‰दै नेम्वाङले प्रेस स्वतन्त्रताको विषयमा आफू जानकार रहेको भन्दै अब बन्ने संविधानले प्रेस स्वतन्त्रताको आधार तयार पार्नुपर्ने बताए।
उनले निरकुंशताविरुद्ध आन्दोलनका बेला प्रेसले खेलेको भूमिका आफूमा राम्रो स्मरण रहेको उल्लेख गर्दै सडकदेखि सर्वोच्च अदालतको बेन्चसम्म सँगसँगै भूमिका खेलेको बताए।
'आन्दोलनका उपलब्धि संस्थागत गर्ने यसबेला यसबाट संविधानसभा र दलहरु चुक्ने प्रश्न आउँदैन,' उनले भने, 'पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीका लागि म भूमिका खेल्छु।'