उम्दा युवादेखि ७७ वर्षे ज्येष्ठ नागरिक चुनावी भिडन्तमा
१८ वैशाख २०७९
•
७ मिनेट पाठ
उम्दा युवादेखि ७७ वर्षे ज्येष्ठ नागरिक चुनावी भिडन्तमा
इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका ७४ वर्षे तुलाराम गुरुङ चुनवी घरदैलो अभियानमा मतदातालाई सम्बोधन गर्दै। उनी जिल्लाका पालिका प्रमुख/अध्यक्षमध्ये सबैभन्दा बढी उमेरका उम्मेदवार हुन्।
२६ वर्षे कुन्धन पौडेल आउँदो स्थानीय तह निर्वाचनका लागि इलामको माइजोगमाई गाउँपालिका अध्यक्ष पदको उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका उनी जिल्लाका १० पालिकाका प्रमुख/अध्यक्षमध्ये उमेरले सबैभन्दा कान्छा हुन्।

सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार ७४ वर्षे तुलाराम गुरुङ जिल्लाका पालिकाको प्रमुख/अध्यक्ष पदका उम्मेदवारमध्ये सबैभन्दा उमेरदार (ज्येष्ठ नागरिक) हुन्। नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका उनी अहिले चुनावी अभियानमा गाउँ–गाउँ घुमिरहेका छन्।

२३ वर्षीया जुनु लिम्बू सूर्याेदय नगरपालिकाको उपमेयर पदमा उम्मेदवार छिन्। जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनकै दल भएपनि जिल्लामा भएको चुनावी तालमेलमा जसपा सामेल छैन। तालमेल नभएपछि जुनुले सूर्याेदय नगरमा उपमेयरमै उम्मेदवारी दिएकी हुन्। २१ वर्षे आशिष जबेगू माङ्सेबुङ गाउँपालिका १ को वडाध्यक्षका उम्मेदवार बनेका छन्। उनले वडामा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

यस्तै २२ वर्षीय बबिन राई पनि चुलाचुली गाउँपालिका ५ को वडाध्यक्षका उम्मेदवार छन्। उनलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ। आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनबाट स्थानीय तहको नेतृत्व लिन नागरिकमा उत्कट चाहना देखिएको छ।

जिल्लाका १० पालिकाबाट जम्मा ४ सय २५ जना विभिन्न पदमा निर्वाचित हुन्छन्। त्यसका लागि तेब्बरभन्दा बढीले उम्मेदवारी मनोनयन गरेका छन्। अझ रोचक चाहिँ के छ भने पालिकाका पदमा नेतृत्व लिन चाहनेमा क्षमताको हिसाबले उम्दा मानिने २१ वर्षे युवादेखि ७७ वर्षे ज्येष्ठ नागरिकसम्म छन्।

माइजोगमाई गाउँपालिकाको अध्यक्षका उम्मेदवार पौडेल युवालाई हरेक हिसाबले प्रयोग गर्ने तर उनीहरूको क्षमतालाई उपलब्धिमूलक बनाउने गरी कसैले योजना ल्याउन नसकेको प्रतिक्रिया दिन्छन्। ‘सार्वजनिक निकायलाई भ्रष्टाचारमुक्त, सुशासनको नमुना र सेवाग्राहीको काम छिटो–छरितो बनाउन युवा नेतृत्वको खाँचो रहेकाले उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘युवालाई लागुऔषधको कुलतबाट बचाउने, प्रविधिले पूर्ण विद्यालय, अनिवार्य कम्प्युटर शिक्षा, फरक शारीरिक क्षमता भएकाका लागि सिप र शिक्षालगायत मेरा एजेण्डा हुन्।’

उनले नागरिकको निःशुल्क स्वास्थ्य बिमा, निःशुल्क आधारभूत उपचार, कृषिको समुन्नति, रोजगारी, आधारभूत खानेपानी, करको दर घटाउनेलगायतका एजेण्डा आफूले ल्याएको बताए। त्यस्तै २१ वर्षीया रेखा विश्वकर्मा धमला चुलाचुली गाउँपालिकाको वडा १ मा दलित महिला सदस्यको उम्मेदवार छिन्। उनलाई नेकपा (माओवादी) केन्द्रले उम्मेदवार बनाएको हो।

देउमाई नगरपालिका–४ को दलित महिला सदस्यमा पनि नेकपा (एस)ले २१ वर्षीया मनिषा दियालीलाई उम्मेदवार बनाएको छ। यही नगरको वडा ८ मा नेकपा (एस)ले २२ वर्षे सुमन विकलाई उम्मेदवार बनाएको छ। २२ वर्षकै प्रसान मगर देउमाई ९ मा कांग्रेसबाट वडा सदस्यको उम्मेदवार छन्। २२ वर्षीया ममता बर्देवा चुलाचुुली गाउँपालिका ४ मा एमालेबाट दलित महिला सदस्यका लागि चुनाव लड्दै छिन्।

२२ वर्षीया डायना राईलाई नेपाली कांग्रेसले इलाम नगरपालिका १ को वडा सदस्यको उम्मेदवार बनाएको छ भने २३ वर्षे फुर्सत लिम्बू फाकफोकथुम ४ मा कांग्रेसबाट वडा सदस्यको उम्मेदवार छन्। सूर्याेदय नगरपालिका ९ का सोनाम तामाङ २३ वर्षका भए। उनी अहिले जसपाबाट वडाध्यक्षको उम्मेदवार छन्। रोङ गाउँपालिका ३ को सदस्यमा पनि कांग्रेसले २३ वर्षे अनिल ढकाललाई सदस्यको उम्मेदवार बनाएको छ।

माई नगरपालिका ६ को वडा सदस्यमा २३ वर्षे मनोजकुमार पोर्तेल नेकपा (एस)बाट प्रतिस्पर्धामा छन्। २८ वर्षीया सेरगेम तामाङ मंगोल नेसनल अर्गनाइजेसनबाट इलाम नगरपालिकाको उपमेयरकै उम्मेदवार छिन्। २८ वर्षकी शान्ता लिम्बू राप्रपाबाट देउमाई नगरपालिकाको उपमेयर प्रतिस्पर्धामा छिन्। नेपालको संविधान (२०७२) र स्थानीय निर्वाचन निर्देशिका २०७८ ले स्थानीय तहमा उम्मेदार हुने योग्यताको न्यूनतम् उमेर २१ वर्ष रहने व्यवस्था गरेका छन्।

बढीमा कति उमेरसम्मका व्यक्ति उम्मेदवार बन्न पाउने भन्नेबारे चाहिँ कानुनी व्यवस्था भएको देखिँदैन। यसलाई नै आधार मानेर २१ वर्षभन्दा माथिका नागरिक चुनावी मैदानमा होमिएका छन्। कलिलै उमेरमा नेतृत्व लिन युवाको जोस–जाँगर देखिएको दलका अगुवा नेता पनि बताउँछन्। युवाहरू शैक्षिक र अन्य हिसाबले पनि नेतृत्व लिन सक्षम भएको दलका युवा नेताहरूको भनाइ छ।

‘अहिले स्थानीय तहको नेतृत्व लिन धेरै युवाको आकर्षण देखिएको छ,’ नेकपा (एमाले) जिल्ला उपसचिव तथा युवानेता रवीन्द्र सुवेदी भन्छन्, ‘शैक्षिक योग्यता पूरा गरेपछि युवाहरू राजनीतिमा आउन चाहनु सकारात्मक पक्ष नै हो। सँगसँगै युवामात्र होइन, उमेर अलि बढी भएका अगुवाको अनुभवले पनि नेतृत्वमा राम्रो काम गरेको देखिन्छ र गर्छ।’

नेपाली कांग्रेस इलामका सचिव निरोज खड्गी आफू पनि युवक नै छन्। भन्छन्, ‘अब देशको राजनीति हाँक्ने जिम्मा बिस्तारै युवाको काँधमा आउँदै छ। अनुभवी ज्येष्ठ नागरिक पनि स्थानीय तहको नेतृत्वमा आकर्षित देखिन्छन्। युवा हरेक कामको नेतृत्व गर्न सक्षम छन् तर पाको उमेरका मानिस सक्षम छैनन् भन्ने होइन। उनीहरूको अनुभव र युवाको जोस–जाँगरले जुनसुकै कामको परिणाम राम्रो आउँछ।’

जिल्ला निर्वाचन कार्यालयको विवरणअनुसार जिल्लाका स्थानीय तहको नेतृत्व लिन चाहने उम्मेदवारमा अहिले सम्भवतः २५ देखि ५० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै छन्। नागरिकको काम गर्न रात–साँझ नभनि गाउँ–गाउँ र घर–घर पुग्नुपर्ने भएकाले पनि नेतृत्वमा युवा नै सुहाउँदिलो हुने चाहिँ मतदाताको तर्क पनि छ।

‘कुनै अपर्झट काम पर्दा मोटरसाइकलमै भए पनि तुरुन्त जनताको घर पुग्ने खालका जनप्रतिनिधि स्थानीय तहलाई चाहिनेरहेछ,’ देउमाई नगरपालिका २ का मतदाता सविन राई भन्छन्, ‘पाको उमेरका जनप्रतिनिधिले पनि काम नगर्ने त होइन तर युवामा आफ्नो भविष्यलाई सोचेर पनि राम्रैमात्र काम गर्ने ऊर्जा चाहिँ बढी हुन्छ।’ स्थानीय तहको नेतृत्व लिने चाहनेमा ज्येष्ठ नागरिकको संख्या पनि कम छैन।

इलामका पालिकामा सबैभन्दा बढी उमेरका उम्मेदवार चाहिँ फाकफोकथुम गाउँपालिका वडा ६ को सदस्यका आकाङ्क्षी ७७ वर्षे लीलानाथ श्रेष्ठ हुन्। उनलाई कांग्रेसले वडा सदस्यको टिकट दिएको हो। ‘म वडा सदस्य नभएकै बेला पनि सामाजिक सेवामा सक्रिय छु,’ उनले भने, ‘वडा सदस्य हुँदा अलि बढी जिम्मेवारी आउने हो, म त्यो जिम्मेवारी पूरा गर्न शारीरिक हिसाबले पनि सक्षम छु।’

यही गाउँपालिकाको उपाध्यक्ष पदमा चाहिँ २८ वर्षीया सोनिया लिम्बू चुनावी प्रतिस्पर्धा गर्दैछिन्। उनी मंगोल नेसनल अर्गनाइजेसनबाट उम्मेदवार बनेकी हुन्। ७६ वर्षे रघुरवीर खड्का माई नगरपालिका १ को वडाध्यक्ष पदका उम्मेदवार छन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन्। इलाम नगरपालिकाको उपमेयरकी उम्मेदवार विष्णुकुमारी लिम्बू ७४ वर्षकी भइन्। उनलाई कांग्रेसले उम्मेदवार बनाएको छ।

सूर्याेदय नगरपालिका ७ को अध्यक्षमा मंगोल नेसनल अर्गनाइजेसनबाट उम्मेदवारी दिएकी दुर्गाकुमार घलेको उमेर पनि ७४ वर्ष छ। देउमाई नगरपालिका ३ को सदस्यमा ७० वर्षे कृष्णबहादुर लामगाधे भिड्दै छन्। उनी राप्रपाका उम्मेदवार बनेका छन्। ६९ वर्षे छविलाल आचार्यले माई नगरपालिका ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दिनेमा ६० वर्षभन्दा माथिका नागरिकको संख्या पनि कम चाहिँ छैन।

सन्दकपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार ७४ वर्षे गुरुङ आफ्नो सामाजिक क्षेत्रको अनुभव अब गाउँपालिकामा प्रयोग गर्ने बताउँछन्। करिब २८ वर्ष विद्यालयको शिक्षक भएर अवकाश पाएका उनी गाउँकै भगवती आधारभूत विद्यालयको अध्यक्ष थिए।

‘अझै ५–१० वर्ष म सामाजिक काममा शारीरिक हिसाबले पनि युवाजत्तिकै सक्रिय हुनसक्छु भन्ने लाग्छ,’ उनले भने, ‘अहिले मेरो तन र मन दुवै सक्रिय छ, विजयी भएको खण्डमा गाउँबासीलाई सेवा–सुविधा दिनमा मेरो उमेर बाधक बन्ने छैन।’

उनले मुख्य आर्थिक उपार्जनको माध्यम कृषि भएकाले कृषिबाटै गाउँ समुन्नत बनाउने योजना ल्याएको सुनाए। यहाँको पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य दर्जनौं सम्भावनालाई उजागर गर्ने जाँगर छ उनमा। कतिपय उम्मेदवारका ‘वान टु वान’ प्रतिस्पर्धीबीचको उमेरमा ठूलो फरक छ।

माङ्सेबुङ गाउँपालिका ५ की दलित महिला सदस्यकी उम्मेदवार अमृता विकको उमेर ६० छ भने उनकी प्रतिस्पर्धी गंगामाया विश्वकर्मा २५ वर्षकी छिन्। माइजोगमाई गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी कांग्रेसकी प्रविना राई ३४ वर्षकी छिन्। उनीसँग प्रतिस्पर्धा गर्ने एमालेकी उम्मेदवार सावित्रा भट्टराईको उमेर ६२ छ।

वडा र पालिका तहमा समेत प्रतिस्पर्धा गर्ने कतिपय उम्मेदवारको उमेर आफ्नो प्रतिस्पर्धीसँग तेब्बरभन्दा धेरैले फरक परेको पनि देखिएको छ। गत ११ र १२ गते जिल्लाका सबै पालिकामा एक हजार ४ सय ५६ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराए। दाबी–विरोध, मनोनयन फिर्ता र रद्द गर्ने समय सकिँदा १ हजार ३ सय १९ उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन्। ६ जना निर्विरोध निर्वाचित भएका छन्।
अर्को समाचार
माइजोगमाईमा साना सिँचाइ कार्यक्रम
०२ वैशाख २०८१
•
३ मिनेट पाठ
माइजोगमाईमा साना सिँचाइ कार्यक्रम
जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ। माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक ६ वटा सिँचाइ आयोजना सुरु भएको हो।

चालु आर्षिक वर्षमा सम्पन्न हुने गरी तीन करोड ८३ लाख १५ हजार ६ सय साठीको लागतमा ६ वटा सिँचाइ आयोजनाको काम धमाधम भइरहेको साना सिँचाइ कार्यक्रम वरिष्ठ प्राविधिक मन्दिल राईले जानकारी दिए। उनका अनुसार ड्याम र पक्की कुलो धमाधम निर्माण भइरहेको छ।  

माईजोगमाई गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुईवटा, वडा नं २ मा एउटा र वडा नं ५ मा तीनवटा सिँचाइ योजना निर्माण भइरहेका छन्। वडा नं १ स्थित लप्सीबोटे फलाटेगाउँमा ८९ लाख ९७ हजारको लागतमा ६३ घरका किसान  लाभान्वित हुने गरी लक्ष्मीखोलाबाट लप्सीबोटे फलाटेगाउँ सिँचाइ कुलो निर्माणाधीन छ।

त्यस्तै सोही वडाको ठूलोबेँसीमा ४२ लाख ७८ हजार तीन सय ४३ को लागतमा २६ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी हिलेखोलाबाट ठूलोबेँसी सिँचाइ कुलो निर्माण भइरहेको छ। वडा नं २ को राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा ५० लाख ५५ हजार आठ सय ८३ को लागतमा ५८ घरका किसान लाभान्वित हुने गरी बजुर खोलाबाट सिँचाइ कुलो निर्माण सुरु भएको छ।

वडा नं ५ को साठीमुरे बेँसीमा ३९ लाख ५८ हजार तीन सय ६६ को लागतमा २६ परिवार लाभान्वित हुनेगरी ठोट्नी खोलाबाट र काफ्ले टोलमा ८२ लाख ६४ हजार दुई सय ८२ रुपैयाँको लागतमा ३७ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी सिँचाइ कुलो निर्माणाधीन छ।

यसैगरी ७७ लाख ६१ हजार सात सय ७७ को लागतमा एक सय ४८  किसान प्रत्यक्ष लाभान्वित हुने गरी सोही वडाको भुट्टेखोला थापा चावा खोला सिँचाइ कुलो निर्माणको काम तीव्र पारिएको प्राविधिक राईले बताए। आयोजना सम्पन्न भएपछि माईजोगमाईका तीनवटा वडामा बाह्रैमास पानी पुग्ने छ।

आयोजनाले तीन सय ५८ किसानका तीन हजार तीन सय साठी रोपनी क्षेत्रमा सिँचाइ पुग्ने बताए। ‘वर्षौंदेखि परम्परागत कुलोबाट सिँचाइ गरिरहेका माईजोगमाईका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, आयोजना सम्पन्न भएपछि यहाँका तीन हजार तीन सय साठी रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्ने छ’, राईले भने, ‘यहाँका तीन सय ५८ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुनेछन्।’

साना सिँचाइ आयोजनामा स्वीस सरकारको एक करोड १४ लाख ९४ हजार ६ सय ९८, सङ्घीय सरकार, प्रदेश सरकार र माईजोगमाई गाउँपालिकाको ७६ लाख ६३ हजार एक सय ३२ का  र स्थानीय उपभोक्ताको ३८ लाख ३१ हजार पाँच सय ६६ रुपैयाँ साझेदारी छ।

यसअघि माईजोगमाई गाउँपालिकामा चार करोड ७० लाख ८२ हजार आठ सय २५ को लागतमा नौवटा सिँचाइ कुलो निर्माण भएका छन्। ती कुलोबाट चार सय आठ हजार नौ सय ४० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ।

सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने स्थानीयको अपेक्षा छ। माईजोगमाईमा धान, मकै, गहुँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मूला, काउली, काबी, बन्दा, सिमीजस्ता तरकारीको व्यावसायिक खेती हुँदै आएको छ।  –रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस