काठमाडौं-संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका सुझाव प्रतिवेदनमा हुबहु समावेश नगरिएको भन्दै सभासदहरूले आपत्ति जनाएका छन्।
नागरिक सम्बन्ध तथा सुझाव समितिले तयार पारेको प्रतिवेदनमाथि संविधानसभामा छलफल हुनुअघि नै सुझाव जस्ताको त्यस्तै नआएको भन्दै विभिन्न दलका सभासदले आपत्ति प्रकट गरेका छन्। 'जनताले दिएका कतिपय सुझाव छुटाइएको छ,' नेपाली कांग्रेसका सभासद मोहनबहादुर बस्नेतले पत्रकारहरूसँग भने।
संविधानसभाको बैठकमा कांग्रेसकै मानबहादुर विश्वकर्माले जनताले दिएका सुझाव बीचबाटोबाटै गायब बनाइएको भन्दै जवाफ मागे। 'विभिन्न जिल्लाबाट दलितका मुद्दा समावेश गर्न भन्दै जनताले दिएका सुझाव प्रतिवेदनमा समावेश गरिएको छैन,' विश्वकर्माले भने, 'जिल्लाबाट पठाइएका सुझाव कहाँ हराए? कि जनताको सुझाव संकलनपछि तयार पारिएको प्रतिवेदनै हरायो? यसको जवाफ चाहिन्छ।'
विश्वकर्माले पहिले पनि संविधान अध्ययन तथा निर्क्योल समितिले सहमति गरेर पठाएका विषय पनि बीचमै काटेर दलितको अधिकार कटौती गरिएको आरोप लगाए। उनले दलितका मुद्दा सम्बोधन नभएसम्म संविधानले पूर्णता नपाउने समेत जिकिर गरे।
नेकपा एमालेका सभासद जितबहादुर दर्जीले पनि सुझाव समितिले तयार पारेको प्रतिवेदनमा आफूहरूका एजेन्डा र सुझाव हटाइएको भन्दै आक्रोश पोखे। 'दलित समुदाय अधिकारसम्पन्न संविधान चाहन्छ,' उनले भने, 'त्यहीअनुसार सुझाव पनि आएका थिए, तर प्रतिवेदनमा सुझाव समेटिएको छैन।'
त्यसैगरी, एमाओवादी सभासद दलजित विक श्रीपाइलीले संविधानको मस्यौदा तयारअघि र पछिको अवस्थामा धेरै फरक पाएको बताए। उनले जनताले दिएका सुझाव पनि समावेश नगरेर अर्को गल्ती गरेको आरोप लगाए।
'तपाईंहरू दलितको अधिकार खोसेर संविधान बनाउन सक्नुहुन्छ?' उनले आक्रोश पोख्दै भने, 'जनताले दिएका सुझाव हटाउने र भइसकेका विषय नसमेट्ने अनुहार हामीले पनि चिन्न पाउनुपर्छ।'
खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सभासद रामकुमार राईले पनि विभिन्न ठाउँबाट आएका सुझाव हटाइएको दाबी गरे। 'ठाउँ–ठाउँबाट आएका सुझाव प्रतिवेदनमा समावेश गरिएका छैनन्,' उनले भने, 'जनताले लिम्बुवान, खम्बुवान जस्ता राज्य बन्नुपर्ने सुझाव दिएका थिए, तर प्रतिवेदनमा समावेश छैन।'
एमाले सभासद तथा नेपाल आदिवासी जनजाति महासंघका महासचिव पेम्बा भोटेले पनि प्रतिवेदनको आलोचना गरे। 'प्रतिवेदन तयार हुँदा धेरै विषय चोरबाट छिर्दा रहेछन्,' उनले भने, 'समितिबाट एउटा निर्णय हुन्छ, मस्यौदामा अर्कै। जनताले एउटा सुझाव दिन्छन्, प्रतिवेदनमा बेग्लै!'
संघीय समाजवादी फोरम नेपालका अशोक राईले संविधान अभिलेख अध्ययन तथा निर्क्योल समितिले पठाएका विषयलाई रद्दिको टोकरीमा फालेर उल्टो विषय समावेश गरिएको आरोप लगाए। उनले संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिन गएका सर्वसाधारण पनि सुझाव दिन नपाई फर्किएको बताए।
असन्तुष्ट केही सभासदहरूले संविधान निर्माण प्रक्रिया नै मिचिएको भन्दै संविधानसभा बैठक अवरोध गर्ने प्रयाससमेत गरे। बेल घेराउ गर्दै नियम मिचेर प्रक्रिया अघि नबढाउन नाराबाजी गरिरहेकै बेला सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सुझावसहितको प्रतिवेदन पेस गर्न संविधान सुझाव समितिकी सभापति प्रमिला राणालाई समय दिएका थिए।
'जनताले हामीलाई संविधान बनाउन पठाएका हुन्,' बैठकमा नेम्वाङले भने, 'माघ ७ गतेदेखि नै संविधानसभा अवरोधको समयमा पनि रोकिँदैन भन्ने नियम स्थापित भइसकेको छ। संविधानसभाले अवरोध स्वीकार गर्दैन।'
राणाले पेस गरेको प्रतिवेदनमा बुधबारदेखि छलफल हुनेछ। बुधबार बिहान ११ बजे बोलाइएको संविधानसभा बैठकमा प्रतिवेदनमा समावेश गरिएका विषयमा गरिन लागेको हो।
तर, संविधान सुझाव समितिका सचिव एवं संविधानसभा सचिवालयका प्रवक्ता भरत गौतमले जनताले दिएका सुझाव समावेश नभएको भन्ने दाबी गलत भएको टिप्पणी गरे। 'उहाँहरूले चाहेजस्तै शब्द नहुन सक्छ,' गौतमले भने, 'तर, जनताले दिएका सुझाव हामीले जस्ताको त्यस्तै समावेश गरेका छौं। कसैलाई चित्त नबुझे जिल्लाबाट प्राप्त प्रतिवेदन र जनताका लिखित/मौखिक सुझाव सुरक्षित राखिएको छ। हेर्न सकिन्छ।'
उनका अनुसार सबै विषय समावेश भएनन् भन्दा पनि मुख्य विषय छुट्यो कि छुटेन भन्ने हो। 'संविधानको मस्यौदा नै त हामी पनि राख्न सक्दैनौं,' गौतमले भने, 'जनताले लिखित र मौखिक रूपमा दिएका सुझाव समावेश गरिएको छ। आफ्नै शब्द नपरेको होला। तर, सबै भावना समावेश गरिएको छ।'
जनताले करिब २ लाख सुझाव दिएका बताउँदै उनले सबै सुझाव जस्ताको त्यस्तै अभिलेखालयमा राखिएकाले प्रतिवेदनमा समावेश गर्न नसकिएको बताए।
सबै विषय आएको भोलिपल्टै प्रतिवेदन तयार पारिएको हुनाले केही विषयमा छुट्न गएको हुन सक्ने उनको धारणा थियो।