ललितपुरमा पकड जमाउन एमालेलाई कठिन
२४ वैशाख २०७९
•
१० मिनेट पाठ
ललितपुरमा पकड जमाउन एमालेलाई कठिन
२०७४ सालको स्थानीय तह निर्वाचनमा देशभरि झन्डै ४० प्रतिशत स्थानमा जितेर पहिलो बनेका एमालेले ६ वटा स्थानीय तह रहेको ललितपुर जिल्लामा भने दुईवटा पालिकामा मात्र जित निकालेको थियो।




ललितपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको तालमेल पनि निर्णायक बन्न नसक्दा एमाले झिनो मतान्तरमा पराजित भएको थियो। जिल्लाका महालक्ष्मी नगरपालिका र महांकाल नगरपालिकामा मात्र एमाले विजयी भएको थियो। ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र वाग्मती गाउँपालिकामा कांग्रेसले जित्दा कोन्ज्योसोम गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो।

यसपटकको स्थानीय तह निर्वाचनमा पनि ललितपुर जिल्लामा जित निकाल्न एमालेका लागि झन् अप्ठेरो देखिएको छ। उसका लागि एमाले विभाजनको असर त पर्ने नै छ, त्यसमा माथि पनि सत्ता गठबन्धन दलबीचको तालमेलले झन् जोखिम बढाएको छ। एमालेका स्थानीय नेताहरू भने यो कुरा स्वीकार गर्न तयार छैनन्। तर गठबन्धन एमालेलाई अवश्य बिझाएको देखिन्छ।

एमालेका लागि थोरै राहतको पक्ष पनि छ। गठबन्धन दलभित्र तालमेल भए पनि त्यो पूर्ण रूपमा कार्यान्वयन भएको छैन। कांग्रेस र माओवादी केन्द्रले मात्रै अन्तिम अवस्थामा जिल्लाका पालिकामा तालमेल गरेका छन्। सत्ता गठबन्धनभित्र रहेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई कांग्रेस र माओवादी मिलेर एक्लै पारेका छन्। जसले गठबन्धनको समीकरणमा केही असर गर्ने देखिन्छ। महालक्ष्मी नगरपालिकाको मेयरमा माओवादी र कांग्रेस दुवैका उम्मेदवार छन्। वडाहरूमा गठबन्धनको अवस्था भद्रगोल छ। यसको फाइदा एमालेले उठाउन सक्छ।

कोन्ज्योसोममा माओवादी–कांग्रेस तालमेल

अघिल्लो स्थानीय तह निर्वाचनमा कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा भएको थियो। यहाँ माओवादी केन्द्रका गोपीलाल सिंताङले ६६ मत अन्तरले कांग्रेसका राजनप्रसाद घिमिरेलाई जितेका थिए। नेकपा एमालेका कृष्णमान लामा १ हजार ४ सय ७८ मतसहित तेस्रो भएका थिए।

यहाँ अघिल्लोपटक मतका आधारमा पहिलो र दोस्रो स्थान हासिल गरेका कांग्रेस र माओवादी केन्द्रबीच अहिले तालमेल हुँदा एमालेले जित निकाल्ने सम्भावना निकै घटेको छ। अहिले यहाँ अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट निवर्तमान अध्यक्ष सिंताङ पुनः उम्मेदवार भएका छन्। कांग्रेसका घिमिरे उपाध्यक्षमा उठेका छन्। एमालेका तर्फबाट अध्यक्षमा कृष्णमान लामा र उपाध्यक्षमा रीता लामा उम्मेदवार छन्। राप्रपाले यहाँ मानबहादुर तामाङलाई अध्यक्षमा उठाएको छ।

गोदावरीमा कांग्रेसलाई माओवादीको समर्थन

गोदावरी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवैमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको छ।

कांग्रेसबाट मेयरमा गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारी उम्मेदवार छन्। दुवै निवर्तमान मेयर र उपमेयर हुन्। अघिल्लो निर्वाचनमा महर्जन १३ हजार ८ सय २० मतसहित मेयरमा विजयी हुँदा एमालेका श्यामकृष्ण सिलवाल ११ हजार ८७ मतसहित दोस्रो भएका थिए। मेयरमा माओवादीका उम्मेदवार गोविन्द महर्जनले ५ हजार ६ सय ७० र राप्रपाका कृष्णबहादुर देसारले ३ हजार १ सय २७ मत ल्याएका थिए।

यसपटक गोदावारी नगरपालिकामा कांग्रेसलाई चुनौती दिन एमालेले गम्भीरबहादुर रानालाई मेयर र रमी प्रधानांगलाई उपमेयरको उम्मेदवार बनाएको छ। तर अघिल्लोपटक २ हजारभन्दा बढी मतले अगाडि रहेको कांग्रेसलाई ५ हजार ६७० मत पाएको माओवादी केन्द्रले समर्थन गर्दा एमालेलाई जित निकाल्न चुनौती थपिएको छ। अघिल्लोपटक एमालेबाट मेयरका उम्मेदवार भएका सिलवाल अहिले नेकपा एसबाट उपमेयरमा उठेका छन्। यस्तै राप्रपाले मेयरमा राजकुमार महर्जनलाई र उपमेयरमा रञ्जिता श्रेष्ठलाई उठाएको छ।

वाग्मतीमा कांग्रेस–माओवादी तालमेल

वाग्मती गाउँपालिकामा अघिल्लोपटक कांग्रेसका उम्मेदवारबाट पराजित एमालेका लागि यसपटक पनि जित निकाल्न कठिन देखिन्छ। किनकि अघिल्लोपटकको चुनावमा तेस्रो मत पाएको माओवादी र कांग्रेसबीच अहिले तालमेल छ। तालमेलअनुसार अध्यक्षमा निवर्तमान अध्यक्ष कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर उम्मेदवार छन्। उनीहरूविरूद्ध एमालेले नवराज सञ्जेललाई अध्यक्ष र नमुना दोङलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

राप्रपाले अध्यक्षमा सानु महर्जन र उपाध्यक्षमा अम्बिका न्यौपाने घिमिरेलाई उम्मेदवार बनाएको छ। वाग्मतीमा अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसका लोप्चनले ३ हजार ३८८ मतसहित अध्यक्ष पदमा विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाप्रसाद घिमिरेले २ हजार २ सय ५२ मत पाएका थिए। अध्यक्षको उम्मेदवार बनेका माओवादी केन्द्रका राजु आलेमगरले १ हजार ६ सय ४२ मत पाएका थिए।

महांकालमा एमालेलाई ‘राहत’

अघिल्लो स्थानीय निर्वाचनमान एमालेले जितेको महांकाल गाउँपालिकामा अहिले सत्ता गठबन्धन दलबीच तालमेल मिलेको छैन। सबै दल एक्लाएक्लै चुनावी मैदानमा देखिएका छन्। यहाँ अघिल्लोपटक एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जितेको थियो। अध्यक्षमा एमालेका रामचन्द्र दाहालले २ हजार ८० मतसहित निर्वाचित हुँदा कांग्रेसका भीमसेन घिमिरेले १ हजार ७ सय २२ मत पाएका थिए।

अघिल्लो चुनावमा अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका बुद्बबहादुर नेगीले ९ सय २८ मत पाएका थिए। उपाध्यक्षमा पनि एमालेकै कमला लामा तामाङ २ हजार २ सय ९३ मतसहित विजयी भएकी थिइन्। यो गाउँपालिकाका ६ वटा वडामध्ये ४ मा एमाले र एक÷एक वडामा कांग्रेस र माओवादीले जितेका थिए।

यसपटक यहाँ अध्यक्ष पदका लागि एमालेकी कमला लामा तामाङ, कांग्रेसका गणेश केसी, माओवादी केन्द्रका भगिरथ तिमिल्सिना, नेकपा एसका राजनप्रसाद बञ्जारा र राप्रपाका सुरेश घिमिरेलगायत उम्मेदवार छन्। सुरूमा कांग्रेस र माओवादी केन्द्रबीचको सहमतिमा यहाँ कांग्रेसले अध्यक्ष पाउने कुरा भएको थियो। तर माओवादी केन्द्रका तिमिल्सिना पनि उम्मेदवार भएपछि सत्ता गठबन्धन दलमा तालमेल नभएको हो।

माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हरि दाहालले अझै पनि सहमतिका लागि छलफल भइरहेको बताउँदै अन्तिम समयसम्म अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने वातावरण बन्नेतर्फ संकेत गरे। ‘छलफल भइरहेको छ। अध्यक्षमा कांग्रेसलाई सघाउने र उपाध्यक्षमा हामीलाई सघाउने गरी वातावरण पनि बन्न सक्छ,’ उनले भने। उपाध्यक्ष एमालेले पुरुषोत्तम हुमागाईंलाई उम्मेदवार बनाएको छ। कांग्रेसले उपाध्यक्षमा उम्मेदावरी दिएको छैन। माओवादी केन्द्रबाट डोल्मामाया गोले, नेकपा एसबाट रुजिना दुलाल र राप्रपाबाट सञ्चमाया सिंगार उपाध्यक्षको उम्मेदवार छन्।

महालक्ष्मीमा नेकपा एसको जित्ने दाबी

अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारले १ हजार ४१ मतान्तरले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका महालक्ष्मी नगरपालिकामा अहिले कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ। तालमेलअनुसार मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसका उम्मेदवार छन्। माओवादीका शिवप्रसाद कट्टेल मेयरका र कांग्रेसकी लक्ष्मी महर्जन उपमेयरको उम्मेदवार छिन्। यहाँ सत्ता गठबन्धनकै अर्को दल नेकपा एसले नकुल थापालाई मेयरको उम्मेदवार बनाएको छ।

यहाँ सत्ता गठबन्धन कांग्रेस र माओवादीबीच मात्र गठबन्धन भएपछि गठबन्धनकै अर्को घटक नेकपा एस रुष्ट छ। ‘हाम्रो बटमलाइन भनेकै महालक्ष्मीको मेयरमा दाबी हो। तर कांग्रेस र माओवादी केन्द्रले प्रदेशबाट निर्णय गराएर हामीलाई गठबन्धन बाहिर राखे,’ नेकपा एस ललितपरका इन्चार्ज अमृतमान तिमिल्सिनाले भने, ‘अझै पनि हामी गठबन्धन दलसँग आग्रह गरिरहेका छौं। गठबन्धनको मर्म बचाएर हामीलाई मेयरमा सघाउनुहोस्।’ उनले एक्लै भए पनि महालक्ष्मीमा आफ्नो पार्टीले जित्ने दाबी गरे। यस क्षेत्रका संघीय सांसद कृष्णलाल महर्जन, प्रदेश सांसद माधव पौडेल, उपमेयर निर्मला थापा, तीन निर्वाचित वडाध्यक्ष र नगरकार्यपालिकाका चार सदस्यसहित बहुसंख्यक पूर्वएमाले नेता–कार्यकर्ता आफ्नो पार्टीमा भएकाले जित सुनिश्चित भएको तिमिल्सिनाले बताए। उनले भने, ‘यहाँ हामी पहिलो, एमाले दोस्रो र अहिले तालमेल गरेका (माओवादी केन्द्र–कांग्रेस) को स्थान तेस्रो हो।’

गठबन्धनभित्रको यस्तो अवस्था एमालेका लागि भने लाभदायी बन्न सक्छ। तर एमालेले आफ्नो विरासत यहाँ कसरी जोगाउँछ त्यो भने ३० गतेको निर्वाचन नतिजाले देखाउनेछ। उसलाई चुनौती भनेकै नेकपा एस हो। एमालेले यसपटक मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयरमा विणा सुवेदीलाई उम्मेदवार बनाएको छ। राप्रपाबाट मेयरमा प्रवीण खत्री र उपमेयरमा रामदेवी महर्जन उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा एमालेले यहाँ मेयर र उपमेयरसहित १० वटा वडामध्ये ८ मा जित निकालेको थियो। कांग्रेस र माओवादी केन्द्रले एकएक वडामा जितेका थिए। अघिल्लोपटक मेयरमा एमालेका रामेश्वर श्रेष्ठले ७ हजार ७ सय ६४ मतसहित निर्वाचित हुँदा कांग्रेसका महेश खड्का दोस्रो भएका थिए। त्यस्तै मेयरका उम्मेदवार माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ४ हजार ३ सय मत पाउँदा राप्रपाका आनन्द अधिकारीले एक हजार ५ सय ५७ मत ल्याएका थिए।

ललितपुर महानगरपालिकामा एक्लै भिड्दै एमाले

ललितपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको छ भने एमाले एक्लै मैदानमा छ। यहाँ मेयरमा कांग्रेसबाट चिरिबाबु महर्जन र उपमेयरमा माओवादी केन्द्रका बाबुराज बज्राचार्य उम्मेदवार छन्। महर्जन निवर्तमान मेयर हुन्। मेयर र उपमेयरमा कांग्रेस र माओवादीका उम्मेदवारलाई केन्द्रकै निर्णयअनुसार आफूहरूले सघाउने नेकपा एसका जिल्ला इन्चार्ज अमृतमान तिमिल्सिनाले बताए। उनले भने, ‘जिल्लामा हामीलाई अलग राखे पनि केन्द्रको निर्णय हामी मान्छौं। केन्द्रकै निर्णयअनुसार नै हामीले ललितपुर महानगरपालिकाको मेयर÷उपमेयरमा उम्मेदवारी दिएका छैनौं।’

यहाँ एमालेले अघिल्लोपटककै उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई दोहोर्‍याएर मेयरको टिकट दिएको छ। उसले उपमेयरमा मञ्जली श्रेष्ठलाई उम्मेदवार बनाएको छ। राप्रपाबाट मेयरमा अष्टबहादुर महर्जन र उपमेयरमा स्वर्णिमा शाक्य उम्मेदवार छन्। विवेकशील साझाले उज्जलकृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवार बनाएको छ।

यहाँ अघिल्लोपटकजस्तै यसपटक पनि मेयरमा कांग्रेस र एमालेकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। जसमा गठबन्धनका कारण कांग्रेस उम्मेदवार महर्जनलाई सहज देखिन्छ। यसैकारण एमाले उम्मेदवार व्यञ्जनकारलाई जित निकाल्न चुनौती थपिएको छ। अघिल्लोपटक राप्रपासँग तालमेल गरेको एमालेका उम्मेदवार व्यञ्जनकार ३ सय २६ मतले पराजित भएका थिए। मेयरमा विजयी कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत र व्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए। मेयरमै अर्का प्रतिस्पर्धी रवीन्द्र मिश्रको साझा पार्टीको समर्थनबाट स्वतन्त्र उठेका रमेश महर्जनले १३ हजार ४ सय ५८ मत ल्याएका थिए। माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत प्राप्त गरेका थिए।

यसपटक व्यञ्जनकारलाई जित्नका लागि आफूले उतिबेला पाएको मत जोगाएर गठबन्धनभित्रको मत चोर्नुपर्ने देखिन्छ। एमालेबाट अलग भएर बनेको नेकपा एसले पनि व्यञ्जनकारको मत घटेको छ। अघिल्लो निर्वाचनमा यहाँ एक लाख १२ हजार ९२३ मतदाता थिए। जसमध्ये ८७ हजार ४८ मत खसेको थियो। यसपटक नौ हजार ९६७ मतदाता थपिएका छन्।

आआफ्नै दाबी

ललितपुर जिल्लामा अघिल्लो स्थानीय तह निर्वाचनमा कमजोर देखिएको एमालेका लागि यसपटक पार्टी विभाजन र कांग्रेस–माओवादी तालमेलका कारण जित निकाल्न चुनौतीको पहाड ठडिएको छ। एमाले केन्द्रीय सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल भने ६ वटै स्थानीय तहमा आफूहरूले सहजै जित्ने दाबी गर्छिन्। ‘६ वटै पालिकामा हाम्रो सहज जित हुन्छ। जनताले हामीलाई हौस्याइरहेका छन्,’ उनले भनिन्, ‘जनताले नै हामीलाई ढाडस दिइरहेका छन्।’

एउटा पार्टीलाई कमजोर बनाउन र दबाउन सत्ता गठबन्धनले चुनावी तालमेल गरेको जनताले बुझेको उनले बताइन्। ‘जनताले नै सोधिरहेका छन्–गठबन्धन के का लागि ? त्यसकारण हामीलाई जनताले नै जनमतद्वारा त्यसको जवाफ दिनेछन् भन्ने विश्वास छ,’ उनले भनिन्। पार्टी विभाजनले खासै असर नगरेको पनि उनले बताइन्। उनले भनिन्, ‘स्वार्थी व्यक्तिहरूले पार्टी छाड्दैमा केही बिग्रिंदैन। जनताले एमाले सरकारले गरेका जनपक्षीय कामको सही जवाफ दिनेछन्।’

सत्ता गठबन्धनका नेता भने एमालेले यसपटक पनि ललितपुरमा जित निकाल्न नसक्ने बताउँछन्। कांग्रेस ललितपुरका सचिव वशिष्ठ अधिकारीले अघिल्लै निर्वाचनमा कांग्रेसले जितेका ठाउँमा फराकिलो अन्तर र एमालेले जितेका ठाउँमा झिनो अन्तर रहेकाले यसपटक तालमेल पनि भएकले सबै पालिकामा सत्ता गठबन्धनले जित्ने दाबी गरे। ‘हामी र माओवादी केन्द्रबीचमा कुनै समस्या छैन। भएका समस्या पनि टुंग्याउँछौं,’ उनले भने, ‘यही अवस्थामा एमालेले जिल्लामा कतै पनि जित्न सक्ने अवस्था रहन्न।’ माओवादी केन्द्रका ललितपुर इन्चार्ज हरि दाहाल ललितपुरमा प्रतिगमनविरुद्धको तालमेल पूर्ण रूपमा सफल हुन लागेको दाबी गर्छन्। ‘हामी कांग्रेसलाई भोट हाल्छौं, कांग्रेसले हामीलाई,’ उनले भने, ‘यति भएपछि प्रतिगमनकारी शक्तिले जित्ने ठाउँ बाँकी रहन्न।’
अर्को समाचार
नुवाकोटका एक हजार आठ सय ६१ उम्मेदवार कारवाहीमा
०२ असोज २०७९
•
२ मिनेट पाठ
नुवाकोटका एक हजार आठ सय ६१ उम्मेदवार कारवाहीमा
तोकिएका समयमा निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका एक हजार आठ सय ६१ जना उम्मेदवार कारवाहीमा परेका छन्। गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जारिवाना गर्ने निर्णय गरेको छ।  




तोकिएका समयमा निर्वाचन खर्च विवरण बुझाउने उम्मेदवार जिल्लामा तीन सय १२ जना मात्र रहेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।  

उनका अनुसार स्थानीय तह निर्वाचन अन्तरगत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार एक सय ७३ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये तोकिएका समयमा खर्च विवरण बुझाउनेको सङ्ख्या ३१२ जना मात्रै भएकाले ढिलो गरेर बुझाउने ९४ जना र ढिलो भएको स्पष्टीकरणसहित बुझाउने दुई सय १३ जनालाई समेत निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा ९१० बमोजिम जरिवाना हुने आयोगले निर्णय हो।

आयोगको उक्त निर्णयले नुवाकोटमा निर्वाचित भएका पालिका तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसमेत कारवाहीमा परेका छन्। कार्यपालिका र जिल्ला समन्वय समितिका उम्मेदवारको हकमा आयोगले स्पष्ट नपारेकाले के गर्ने भन्ने थप निर्णयको पर्खाइमा रहेको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए।

उनका अनुसार स्थानीय तह निर्वाचनअन्तर्गत पालिका, कार्यपालिका र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा उम्मेदवार भएका दुई हजार एक सय ७३ जनामध्ये विभिन्न पदमा पाँच सय ७४ जना उम्मेदवार निर्वाचित भएका छन्। ‘समयभित्र खर्च विवरण बुझाउने तीन सय १२ जनामा पराजित उम्मेदवारको सङ्ख्या आधाभन्दा बढी छन्’, उनले भने, ‘निर्वाचित उम्मेदवारलेसमेत खर्च विवरण बुझाउन चासो नदिनुलाई उम्मेदवारदेखि राजनीतिक दलबाटसमेत कानूनको अटेरी गरेको देखिन्छ।’

निर्वाचन आयोगले गत शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीअनुसार तोकिएको समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई सात लाख ५० हजार रपैयाँ तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई तीन लाख रुपैयाँ जरिवाना तोकिएको छ।

उपमहानगर पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई पाँच लाख ५० हजार रुपैयाँ तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई दुई लाख ५० हजार रुपैयाँ, नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई चार लाख ५० हजार रुपैयाँ तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई दुई लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भनिएको छ।  

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारलाई तीन लाख ५० हजार रुपैयाँ तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना लाग्ने भनिएको छ।

तोकिएको उक्त जरिवाना शुल्क छ महिनाभित्र नबुझाएमा नामावली प्रकाशित गर्ने, छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउनेदेखि आयोगबाट गराउने आगामी सबै निर्वाचनमा भाग लिन अयोग्य ठहर गर्ने, उनीहरुको नामावली सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा टाँस गरिने र तोकिएको जरिवानालाई सरकारी बाँकीसरह असुल गरिने भनिएको छ। 
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस