काठमाडौं— संविधानको अन्तिम मस्यौदा तयार पार्दासम्म सीमांकनमा देखिएका कमीकमजोरी सच्याउने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख राजनीतिक दलका शीर्ष नेताले संयम भई आन्दोलनका कार्यक्रम रोक्न सम्बन्धित पक्षसँग अपिल गरेका छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संयुक्त अपिल गर्दै सीमांकनका विषयमा जारी आन्दोलन रोक्न आग्रह गरेका हुन्।
उनीहरूले अपिलमा नेपालमा संघीयताको विषय नयाँ भएकाले जसरी गर्दा पनि विवाद हुनु र विविध कोणबाट कुरा उठ्नु स्वाभाविक भएको उल्लेख गरेका छन् । 'संविधान निर्माणका क्रममा प्रदेशको सीमांकन गर्दा विभिन्न दृष्टिकोण र प्रतिक्रिया उत्पन्न भएका छन्,' अपिलमा भनिएको छ, 'देशका कतिपय स्थानमा अप्रिय घटनासमेत भएकोमा हामी चिन्तित छौं । नेपालको सन्दर्भमा संघीयता नयाँ विषय हुनाले यसमा जे, जसरी सीमांकन गर्दा पनि कहीँ न कहीँ विवाद रहनु र जनताले विविध कोणबाट कुरा उठाउनु र सुझाव दिनु स्वाभाविकै पनि हो । तर, उठेका यी विवादलाई जनताको भावना र राष्ट्रको आवश्यकता तथा हितलाई ध्यानमा राखी सबै प्रकारका आन्दोलन रोक्दै उपयुक्त सुझावद्वारा सहयोग पु¥याएर समस्याको समाधान प्रतीक्षा गर्न हामी हार्दिक अपिल गर्दछौं ।'
नेपाली जनताको चाहनाअनुसार पहिलोपटक संविधानसभाबाट संविधान निर्माण गर्ने कार्य अन्तिम चरणमा पुग्न लागेको जनाउँदै नेताहरूले ऐतिहासिक कार्यलाई सफल पार्नु राष्ट्रको अपरिहार्य आवश्यकता बनेको अपिलमा उल्लेख गरेका छन् । उनीहरूले राष्ट्रियता, लोकतन्त्र, शान्ति, स्थायित्व र विकासनिम्ति पनि संविधान निर्माणमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा मंगलबार बिहान बसेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समिति बैठकले जनतालाई एकसाथ अपिल गर्ने निर्णय गरेको थियो ।
संविधानसभा भवनमै पत्रकार सम्मेलन गर्दै चार दलका शीर्ष नेताले सीमांकनमा देखिएका कमीकमजोरी सच्याउने प्रतिबद्धता गर्दै आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका हुन् । चार दलका तर्फबाट जारी भएको अपिल प्रधानमन्त्री कोइरालाले पढेर सुनाएका थिए ।
एमाले अध्यक्ष ओलीले पनि अहिले सीमांकनका विषयमा केही नमिलेको भए वार्तामार्फत मिलाउन सकिने बताए । अहिले भावना र उत्तेजनामा आएर तोडफोड र आगजनी नगर्न उनले सबैलाई आग्रह गरे ।
'हामीलाई अनावश्यक भावना र उत्तेजनामा उतारेर संविधान बन्न नदिने खेल भइरहेको छ,' ओलीले पत्रकार सम्मेलनमा भने, 'यसलाई निस्तेज पार्दै संयमता अपनाउन जरुरी छ ।'
उनले अहिले भएको सहमति अन्तिम संविधान जारी गर्ने अवस्थाको नभएको बताउँदै संविधान जारी गर्ने बेलासम्म जनताका राय सुझाव समेट्न विशेष समिति कायमै रहेको जानकारी दिए ।
'केही नमिलेको भए मिलाऊँला, तर मारामार, आगजनी, तोडफोड गरेर मिल्ने होइन,' ओलीले भने, 'हामी आवेश र उत्तेजनामा जानु हुँदैन । सबैका लागि राम्रो संविधान कसरी बनाउन सकिन्छ भन्ने सुझाव दिऊँ ।'
सभासदले अहिले दिएका तथा जनता र विभिन्न पक्षबाट आएका सुझाव कर्मकाण्डी नभएकाले त्यसबाट पनि कतिपय विषय समावेश गर्न सकिने उनले बताए । 'विशेष समिति, संवाद समिति कायमै छन्,' ओलीले भने, 'अन्तिम रूपमा संविधान जारी भएको पनि होइन । सुझाव लिन अहिले पनि छलफल गरिरहेका छौं । हामी संविधान बनाउने कुरामा केन्द्रित हुनुपर्छ । मिलनविन्दु पहिल्याएर संविधान जारी गर्नुपर्छ ।'
ओलीले १६ बुँदे सहमति कायम गर्दा पनि कतिपय विषयमा असहमति रहेकाले अहिले जनताले दिएका सुझाव र धारणालाई अन्यथा लिन नहुने बताए । '२ करोड ७० लाख जनता भएको देशमा विचारमा विविधता हुनु अनौठो होइन,' ओलीले भने, 'त्यसैले स्वाभाविक रूपमा मान्छेका माग र धारणामा भिन्नता हुन्छन् । कुनै न कुनै रूपमा माग मिलाएर एउटै संविधान बनाउने हो । सबै जातजाति, धर्मावलम्बीका लागि एउटै संविधान बनाउने हो । भिन्नतामा समानता र स्वीकार्यता खोज्नुपर्छ । भावनाका आधारमा होइन सत्य र न्यायका आधारमा समानता खोज्नुपर्छ ।'
उनले संविधान निर्माणका क्रममा पनि विभिन्न खालका सुझाव आएकाले बीचबाट निकास निकाल्नुपरेको बताए । 'माग फरक–फरक छन्,' ओलीले भने, 'तराई र पहाड मिसाउनै हुन्न र अलग गर्नै हुन्न भनेको पनि सुनेका छौं । जातीय आधारको चाहियो र जातीय आधारमा हुँदैन भन्ने पनि सुनेका छौं । १६ बुँदे सहमति गर्दा पहिले संविधान जारी गरौं, पछि सीमांकनको कुरा गरौंला भनेका थियौं । तर, अहिले नै सीमांकन भनेपछि हामीले मान्यौं । यसमा केही विचार गर्नुपर्ने अवस्था होला, तर यसैलाई लिएर संविधान जारी गर्न नदिने खेल भइरहेको छ । सबैले विचार गर्नुपर्छ ।'
ओलीले प्रेसले पनि यो अत्यन्त संवेदनशील घडीमा राष्ट्रिय एकताको भूमिका र जनभावनाको प्रतिनिधित्व गर्ने गरी सकारात्मक योगदान गर्न आग्रह गरे ।
एमाओवादी अध्यक्ष दाहालले २००७ सालमा उठेको संविधानसभाको आवाजलाई अहिले पनि सफल हुन नदिने षड्यन्त्र भइरहेको बताउँदै संयम रहन आग्रह गरे ।
'नेपालमा संविधानसभाबाट संविधान बनाउने कुरा नयाँ होइन,' दाहालले भने, 'यो ७ सालमा राणा शासनविरुद्ध आन्दोलनमा उठेको मुद्दा हो । जनतालाई अधिकारसम्पन्न बनाउने र अर्को पक्ष संविधान बन्न नदिने, विभेद कायम राख्नेबीच लडाइँ ६५ वर्षसम्म चलेको हो । यो ६५ वर्षसम्म जनतामा विभेद कायम राख्न चाहने शक्ति सफल भए । त्यसैले अब संविधानसभाबाट संविधान बनाएर विभेद अन्त्य गर्ने बेला भएको छ ।'
उनले संविधान कुनै धार्मिक ग्रन्थ नभएको जनाउँदै संयमता अपनाउन सबैसँग आग्रह गरे । संविधान निर्माणपछि पनि बाँकी कमजोरी सच्याउन सकिने उनको भनाइ थियो ।
'संविधान भनेको देशको राजनीतिक र समाजको शक्ति सन्तुलन हो,' दाहालले भने, 'संविधान जसलाई जे मन लाग्यो, त्यस्तै भन्ने हुँदैन । जस्तो शक्ति सन्तुलन छ त्यस्तै आउँछ भनेर बुझ्नुपर्छ । यो राजनीतिक दस्तावेज पनि हो । आफ्नो माग छाडेर र केही सम्बोधन गरेर सम्झौताको दस्तावेज बन्छ भन्ने हेक्का राख्नुपर्छ । यो गतिशील दस्तावेज पनि हो ।'
उनले संविधानको मस्यौदा छलफलमै रहेकाले जनताको चासोलाई सम्बोधन गर्ने प्रशस्तै ठाउँ रहेको बताए । 'हामी संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदैछौं,' दाहालले भने, 'यसलाई हामीले अन्यथा ठानेका छैनौं । केही जिल्ला र क्षेत्रमा चासो र भावना व्यक्त भएका छन्, त्यसलाई स्वाभाविक रूपमा लिएका छौं । अन्तिम समयसम्म पनि यसलाई निरन्तर परिमार्जन गरिनेछ ।'
दाहालले अहिले जनतालाई उत्तेजित पारेर षड्यन्त्र गर्न लागिएको बताए । 'जनताले आफूलाई लागेको कुरा भन्नु पनि पर्छ । चित्त नबुझेको कुरा राख्नुपर्छ । तर, सम्पूर्ण प्रक्रिया बिगारेर फाइदा उठाउन खोज्नेहरू सक्रिय छन् । त्यस्ताबाट सतर्क रहनुपर्छ,' उनले भने, 'हामीले संकल्प गरेका छौं, संविधानसभाबाट संविधान बनाउने कुरा अब रोकिँदैन । त्यसकारण जनताको भावना सम्बोधन गर्दै संविधान बनाइछाड्ने प्रतिबद्धता गरेका छौं । हाम्रो प्रतिबद्धतालाई साथ दिन सम्पूर्ण जनतालाई अपिल गरेका हौं । कहीँ कतै जिल्ला नमिलेको भए सच्याउने अधिकतम प्रयास गर्नेछौं । त्यति गर्दा पनि केही मिलेन भने त्यो ठूलो कुरा होइन । संविधानसभाबाट संविधान बनेपछि पनि परिमार्जन हुन सक्छ ।'
फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारले संविधानको मस्यौदामाथि जनताले राखेको चासोलाई आफूले सकारात्मक रूपमा लिएको जनाउँदै अझै पनि सच्याउने ठाउँ रहेको बताए ।
'विभिन्न जिल्ला र क्षेत्रबाट उठेको आवाजलाई सम्बोधन गर्न कोसिस गर्छौं,' गच्छदारले भने । उनले अन्तिम मस्यौदा आउन बाँकी रहेकाले अहिले धैर्य नगुमाउन आग्रह गरे । 'जनताका सरोकार अझै पनि सम्बोधन गरेर जान सकिन्छ । थारू समुदाय, आदिवासी जनजाति र मधेसी समुदायले उठाएका मुद्दालाई हामीले सम्बोधन गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत दृष्टिकोण छ । विशेष समिति यसबारेमा गम्भीर छ,' उनले भने । उनले मुलुक संविधान जारी गर्ने अन्तिम चरणमा प्रवेश गरेको बताउँदै सहयोग गर्न अपिल गरे।