काठमाडौं-'उक्त प्रस्तावको पक्षमा हुन्छ भन्ने माननीय सदस्यले हुन्छ भन्नुहोला, विपक्षमा हुनेले हुन्न भन्नुहोला,' राप्रपा नेपाल अध्यक्ष कमल थापाले संविधानको परिमार्जित विधेयकको धारा ६१ मा राष्ट्रपतिको ठाउँमा राजसंस्था रहनुपर्ने भन्दै गरेको प्रस्ताव सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्णयार्थ पेस गरे।
लगत्तै एमाओवादीका शीर्ष नेताहरूले प्रस्तावको समर्थनमा हात उठाए। राप्रपा नेपालका सभासहरू भने आफ्नै प्रस्तावको पक्षमा हात उठाएका छौं कि विपक्षमा भनेर एकछिन त अलमल्ल परे।
हल भने हाँसोले गुन्जियो। सभाध्यक्षले पनि हाँसो थाम्न सकेनन्। उनले मुस्कुराउँदै प्रक्रिया अघि बढाइहाले। त्यसपछि एमाओवादी र राप्रपा नेपालका नजिक रहेका सभासदहरू मुखामुख गर्दै हाँसे।
राप्रपा नेपालका सभासदहरूले एमाओवादी सभासदहरूलाई 'मनको कुरा भन्नुभयो' भन्दै जिस्क्याउन थाले। एमाओवादीले भने आफूहरू संवैधानिक राष्ट्रपतिको विपक्षमा रहेकाले झुक्किएर हात उठाएको स्पष्टीकरण दिइरहनुपर्योए।
'एमाओवादीले पनि हाम्रो पक्षमा हात उठाएपछि हामी नै अलमलमा पर्यौंे,' राप्रपा नेपालका सुशील श्रेष्ठले भने, 'तर उहाँहरू झुक्किनुभएको रहेछ।'
एमाओवादीका नेता टोपबहादुर रायमाझीले बाहिर गलत सन्देश गएको भन्दै केही बेरपछि नै पत्रकारहरूसँग भने, 'हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भनेर फरक मत राखेका थियौं, संवैधानिक राष्ट्रपतिको व्यवस्था हुन्न भनेर हात उठाएको हौं। राजसंस्था कायम रहनुपर्छ भनेर होइन।'
संविधानका ३ सय २ वटा धारा पारित प्रक्रिया लम्बिँदा संविधानसभाको पूर्ण बैठक बेलाबेला हाँसोले भरिन्थ्यो। दिनभर एक्लै संविधानसभा बैठक सञ्चालन गरेका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले नै आफैं हँसाइदिन्थे।
लगातार एउटै गतिमा बैठक सञ्चालन गरेका नेम्वाङले बीच–बीचमा केहीबेर संविधानसभा बैठक स्थगित गर्थे। तर उनी भने बैठक स्थगित गर्दासमेत आराम गर्न पाउँदैनथे।
तलमाथि भएका संशोधन प्रस्ताव मिलाउँदै आराम गर्ने समय सकिइहाल्थ्यो। मंगलबार बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म लगातार बैठकमा प्रस्तावको पक्षमा हुनेले हुन्छ भन्नुहोला यसको विपक्षमा हुनेले हुन्न भन्नुहोला भन्दै सबै संशोधन प्रस्तावलाई उनले हलबाट निर्णय गराए।
यही क्रममा सभाध्यक्ष नेम्वाङले एमाओवादीका तर्फबाट मनोनीत भएका सभासद श्याम श्रेष्ठलाई बीचमै प्रश्न गरे, 'तपाईंले हुन्छ भन्नुभएको हो कि हुन्न भन्नुभएको, स्पष्ट भएन माननीय सदस्य।'
'मैले अघि नै फिर्ता लिइसकेँ अध्यक्षज्यू,' श्रेष्ठले यति भनेपछि बैठक हल थप हाँसोले गुन्जियो।
नेम्वाङ पनि के कम, फ्याट्टै भनिहाले, 'फिर्ता लिन्नँ भनेको सुन्दा सुन्दा कान अभ्यस्त भएकाले यस्तो भएको हो।'
लामो समय बैठक निरन्तर सञ्चालन गरेका नेम्वाङ बेला–बेलामा झुक्किन्थे। उनी संविधानसभा सचिवालयका कर्मचारीको तत्कालै साथ लिएर निर्णय सुनाइहाल्थे।
'मेरो संशोधन प्रस्ताव नै आएन सभाध्यक्षज्यू,' नेपाली जनता दलका नेता हरिचरण साहले उठेर प्रश्न गरेपछि नेम्वाङले तत्कालै जवाफ दिए, 'विशेष प्राविधिक कारणले विविधमा परेकाले पछि आउँछ। सोझै रेकर्डमा नदेखिएकाले हामी पछि हेर्छौ।'
संविधानको धारा ७६ मा रहेको मन्त्रिपरिषदको गठनसम्बन्धी प्रस्तावमा साहले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि मत विभाजन माग गरेका थिए। नियमावलीअनुसार मत विभाजनका लागि ६१ जना सदस्य उभिनुपर्छ। सो पार्टीबाट उनी मात्रै सभासद रहेकाले मत विभाजन मागपछि सभा हल हाँसोले गुन्जियो।
'धारा ७६ मा नियम ४२ अनुसार मत विभाजन माग गर्छु,' साहले भनेका थिए।
नेम्वाङले पनि ठट्ट्यौली पारामा भने, 'विभाजन गर्न खोजेकै हो माननीयजी? माननीय सदस्यको विभाजनलाई समर्थन गर्नेहरू को को हुनुहुन्छ आ–आफ्नो ठाउँबाट उठिदिनुहोला।'
नेम्वाङको यस्तो भनाइ आएपछि लगातार हाँसिरहेका सभासदलाई साहले पनि आफ्नो प्रस्ताव महत्वपूर्ण भएकाले उठिदिन आग्रह गरे। 'उठ्नु न उठ्नु तपाईंहरू,' साहले भने। तर उनको आग्रहलाई स्वीकार गर्दै जम्मा ६ जना मात्रै उठे । ती पनि साना दलकै सभासद थिए।
विधेयकको धारा १२९ को संशोधन प्रस्ताव अत्यन्त महŒवपूर्ण भएको भन्दै कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले फिर्ता नलिने बताएपछि पनि संविधानसभा हलमा हाँसो गुन्जिएको थियो।
'सबै प्रस्ताव महत्वपूर्ण होइनन् र माननीय सदस्य?' नेम्वाङले पनि हाँसोमा हाँसो मिलाउँदै श्रेष्ठलाई सोधिहाले।
नेम्वाङले यसरी रमाइलो पारामा बैठक सञ्चालन गरेकाले पनि दिनभर सभासदहरू हल बाहिर नगई बसेका थिए।