प्रत्यक्षबाट किन पछि हटे निधि ?
१९ भदौ २०७९
•
४ मिनेट पाठ
प्रत्यक्षबाट किन पछि हटे निधि ?
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका अन्य दलसँग तालमेलको गृहकार्यमा जुटेका बेला पार्टीका प्रभावशाली नेता विमलेन्द्र निधिले समानुपातिकतर्फ बस्ने निर्णय गरेका छन्। माओवादी केन्द्रसहितका राजनीतिक दलसँग चुनावी तालमेल गरेर जाँदा कांग्रेसका अधिकांश नेता चुनाव जित्नेमा ढुक्कजस्तै देखिएका बेला निधिले भने प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने निधो गरेका हुन्।




पार्टी निर्देशनअनुसार क्षेत्र र जिल्लाबाट धमाधम उम्मेदवार सिफारिस भइरहेका बेला निधिको गृहजिल्ला धनुषाबाट उनको नाम प्रत्यक्षतर्फ आएन। २०७४ सालको निर्वाचनमा धनुषा–३ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोसँग पराजित भएका निधि अहिले सोही क्षेत्रबाट समानुपातिकमा सिफारिस भएका हुन्। पार्टी क्षेत्रीय समितिले निधिको नाम समानुपातिकमा राख्दै शुक्रबार प्रत्यक्षतर्फ अन्य नेताहरूको नाम पठाएको छ। धनुषा–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न जिल्ला सभापति योगेन्द्र पञ्जियार, नेताहरू गणेश तिवारी र परमेश्वर महासेठले आवेदन दिए पनि पूर्वउपसभापति निधिले भने समानुपातिक रोजे।  

कांग्रेस शीर्ष तहबाट समानुपातिक रोजेर निवेदन दिने निधि पहिलो नेता हुन्। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने धनुषा–३ मा कांग्रेसको मत २२ हजार ४२८ छ। त्यस्तै एमालेको मत १७ हजार तथा लोसपा र जसपाको ८ हजार आसपासमा छ। तर पनि निधिले समानुपातिक कोटा रोजेका छन्। २०५१ सालको मध्यावधि निर्वाचनमा धनुषा–४ बाट निधि २१ हजार ३४० मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी राप्रपाका कृष्णप्रताप मल्लले १६ हजार ५६३ मत पाएका थिए। २०५६ सालको निर्वाचनमा भने राप्रपाका उनै मल्लसँग पराजित भएका निधि पहिलो र दोस्रो संविधानसभामा भने निर्वाचित भएका थिए।

सभापति शेरबहादुर देउवासँगको लामो सहकार्य तोड्दै १४औं महाधिवेशनमा निधि सभापति पदका लागि प्रतिस्पर्धामा उत्रिए। सभापतिका प्रत्यासीमध्ये चौथो नम्बरको मत पाएका निधिले दोस्रो चरणको निर्वाचनमा भने देउवालाई नै साथ दिए। तर पनि निधि र देउवाबीच पहिलाजस्तो सुमधुर सम्बन्ध कायम हुन सकेको छैन तर पनि दुवै सम्बन्ध विस्तारको प्रयासमा भने छन्। पार्टीभित्र मौलाउँदै गएको गुट राजनीतिले निधि ‘कर्नर’मा पर्दै आएका छन्। त्यसको असर मंसिर ४ गते हुने निर्वाचनमा पनि पर्न सक्ने बुझाइमा रहेका निधिले समानुपातिकतर्फ बसेर आफ्नो स्थान सुरक्षित गर्न खोजेको निकटहरूको दाबी छ।  

सभापति देउवासँगको परामर्शमा निधि समानुपातिकमा बसेको जिकिर गर्दै निकट एक नेताले भने, ‘पार्टीभित्र र बाहिरबाट पनि उहाँ (निधि) माथि आक्रमण जारी छ। पार्टीको आन्तरिक निर्वाचन (महाधिवेशन) पनि हारेको अवस्थामा संसदीय निर्वाचनमा पार्टीभित्र र बाहिरको वातावरण पनि अनुकूल नदेखिएकाले उहाँले समानुपातिकमा बस्ने निधो गर्नुभएको हो।’  

नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै निधिले पार्टी उपसभापतिसम्मको जिम्मेवारी समालिसकेका छन्। उनले केन्द्रीय समितिको पछिल्लो बैठकपछि सभापति देउवालाई भेटेरै पार्टीमा काम (जिम्मेवारी) दिन आग्रह गरेका थिए। तर सभापति देउवाले निधिसहित पार्टीका केही प्रभावशाली र वरिष्ठ नेतालाई विधानअनुसार जिम्मेवारी दिन मिल्ने कुनै पद नभएको बताएका थिए। निधिले विधान संशोधन गरेर आफूलाई सहसभापतिको जिम्मेवारी दिन आग्रह गरेको निकटहरूको दाबी छ।  

विधान संशोधन गरी तेस्रोपटक सभापतिमा उम्मेदवार बन्न सक्ने भन्दै देउवाले केन्द्रीय समितिमा राखेको धारणालाई उद्धृत गर्दै निधिले सभापतिले चाहेमा सहसभापतिको पद खडा गर्न सक्ने प्रस्ताव गरेको निकटहरूको दाबी छ। देउवाले निधिको उक्त प्रस्तावमा कुनै जवाफ नदिएको निकट एक नेताले बताए। देउवा–निधि सम्बन्धमा सुधार आएको दाबी गर्दै निधि निकट एक नेताले भने, ‘उहाँ (निधि) भारत भ्रमणमा जानु पहिला र फर्केपछि पनि निरन्तर सभापतिसँग संवादमा हुनुहुन्छ।’  

पछिल्ला डेढ महिनामा दुईपटक दिल्ली पुगेका निधिले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि चुनावी गठबन्धनमा ल्याउनुपर्ने प्रस्ताव गरेका थिए। निधिकोे लगातारको भारत भ्रमणलाई दुई देशबीच ‘धार्मिक र सांस्कृतिक’ सम्बन्धलाई बढावा दिने उद्देश्यले भएको बताउँदै आएका छन्। तर निर्वाचनको मुखमा डेढ महिनामा दुईपटक निधिको भारत भ्रमणलाई धार्मिकभन्दा बढी राजनीतिक भएको जानकार बताउँछन्।

हिन्दु मान्यताअनुसार भगवान् विष्णुको अवतारका रूपमा रामको जन्म अयोध्यामा भएको र उनको विवाह जनकपुरकी राजकुमारी सीतासँग भएको बताउँदै निधिले राममन्दिरमा जनकपुरवासी र जानकी मन्दिरका तर्फबाट धनुष राख्ने र अयोध्यामा कालीगण्डकीको पत्थर प्रयोग गरेर रामको मूर्ति राख्ने प्रस्तावका लागि आफू लागिपरेको दाबी गरे। सोहीक्रममा दिल्ली जानेआउने चलेको उनले बताएका छन्।

सभापति देउवालाई नै समानुपातिकतर्फको उम्मेदवार बन्न निकटहरूले सुझाउँदै आएका छन्। उनको गृहजिल्ला डडेलधुराबाट पत्नी आरजुलाई प्रतिष्पर्धामा उतार्न निकटहरूले सुझाउँदै आएका छन्। देउवा गृहजिल्ला र आरजु कैलालीबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।  

पार्टीको १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका अर्का नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि समानुपातिकमै बस्न सक्ने सम्भावना रहेको निकटको दाबी छ। गृहजिल्ला झापा भएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको चाहना पनि समानुपातिकतर्फ रहेको स्रोतको दाबी छ। तर उनको नाम झापा–३ बाट उम्मेदवार बन्न सर्वसहमतिमा सिफारिस भएको छ।
अर्को समाचार
‘देश जोगाऔं’ भन्दै राष्ट्रपतिको सक्रियता
१४ भदौ २०७९
•
५ मिनेट पाठ
‘देश जोगाऔं’ भन्दै राष्ट्रपतिको सक्रियता
प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणासँगै प्रमुख राजनीतिक दलहरूबीच ध्रुवीकरण बढ्दै गइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाएकी छन्। संघीय संसद्का दुवै सदनबाट पारित भएसँगै विभिन्न पक्षसँगको भेटघाट र परामर्शलाई तीव्र बनाएकी राष्ट्रपति भण्डारीले पछिल्ला दिनमा राजनीतिक दलका नेताहरूसँग छलफल थालेकी हुन्।




सोमबार सत्तारूढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरूसँग राजनीतिक परामर्श गरेकी उनले केही दिनयता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दल र विभिन्न पक्षसँग छलफल गरिसकेकी छन् ।

सरकारप्रति निकै असन्तुष्ट देखिएकी राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै कारण मुलुकको आर्थिक अवस्था निकै कमजोर बन्न पुगेको गुनासो गरेकी छन्। तत्कालीन केपी ओली नेतृत्व सरकारले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा शपथ गराउन आदेश गराएदेखि नै वर्तमान सरकारप्रति राष्ट्रपति भण्डारी असन्तुष्ट छिन्। देउवालाई प्रधानमन्त्रीको शपथपछि औपचारिकतासमेत पूरा नगरेकी राष्ट्रपतिको आक्रोश पछिल्लो भेटघाटहरूमा पनि झल्कने गरेको भेटवार्तामा सहभागी एक नेताले जानकारी दिए।

कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका कारण मुलुक संकटमा फस्दै गएको भन्दै राष्ट्रपतिले धेरैजसो समय सरकारको आलोचनामै खर्चनेको भेटमा सहभागी एक नेताले बताए। ‘देश नै रहेन भने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीति भन्ने नै रहँदैनन्,’ राष्ट्रपतिलाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘मुलुकको अवस्था निकै कमजोर बन्न पुगेको छ, पहिला देश जोगाऔं ।’

आफू आन्दोलन र क्रान्तिबाट आए पनि संवैधानिक राष्ट्रपतिका रूपमा आफ्नो भूमिका केही नभएको बताउँदै भण्डारीले राजनीतिक दलहरू मुलुकको राष्ट्रियताको संरक्षणका लागि एकजुट हुनुपर्ने धारणा राखेकी छन्। नागरिकता विधेयक पनि सोहीअनुरूप आउनुपर्ने आशय उनले व्यक्त गरेको भेटवार्तामा सहभागी एक नेताले जानकारी दिए।

देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागि तोकेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनेमा राष्ट्रपति भण्डारी सशंकित देखिएकी छन्। प्रहरी प्रशासन सबै गृह मन्त्रालयअन्तर्गत हुने र सरकारले त्यसको व्यापक प्रयोग गरेर निर्वाचन प्रभावित गर्ने भन्दै राजनीतिक दलसँगको भेटमा राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘निर्वाचन आयोगको हातमा केही छैन, गृह मन्त्रालयले प्रहरी प्रशासनको प्रयोग गरेर निर्वाचनमा धाँधली हुने देखिरहेकी छु ।’

निर्वाचनको निष्पक्षतामा प्रश्न उठाउँदै राष्ट्रपतिले के संकेत गर्न खोजेकी हुन् भनेर आफूहरूले बुझ्न नसकेको धारणा राख्दै सहभागी ती नेताले अहिलेको ‘कोर्स’ नै अन्यत्र लैजान खोजेको त होइन भन्ने आशंकासमेत उनीबाट व्यक्त भएको बताए। ‘उहाँ (राष्ट्रपति) को आशय अहिलेको सरकार सम्पूर्ण रूपमा समस्याग्रस्त भयो, देश जोगाउन राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने अवस्था आयो भन्ने देखिन्छ,’ उनले भने।  

आफूले नागरिकता विधेयक फिर्ता पठाएर नयाँ सिराबाट छलफलको अपेक्षा गरेको बताउँदै राष्ट्रपति भण्डारीले सत्तारूढ पाँच दल र सरकारले नागरिकता विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट अघि बढाएकोमा असन्तुष्टि जनाएकी छन्। प्रधानमन्त्री देउवासहित कांग्रेस पदाधिकारीहरूसँगको छलफलमा पनि भण्डारीले सोही कुरा दोहोर्‍याएकी छन्।

संविधानको व्यवस्थाअनुसार नागरिकता विधेयकमाथि विभिन्न प्रश्न उठाउँदै साउन २९ गते विधेयक फिर्ता पठाएकी भण्डारीले आफ्नो चासो सम्बोधन नगरेकोप्रति असन्तुष्टि जनाएकी छन् । प्रधानमन्त्री देउवासहितका कांग्रेस नेताहरूले केपी ओली नेतृत्वको सरकारले यसअघि ल्याएको अध्यादेशलाई नै वर्तमान सरकारले विधेयकका रूपमा अघि बढाएको बताएका छन्।

आर्थिकबाहेक राष्ट्रपतिलाई संघीय संसद्मा फिर्ता पठाउने अधिकार रहेको धारणा राख्दै प्रधानमन्त्री देउवासहित कांग्रेस पदाधिकारीहरूले जन्मसिद्ध अधिकारका आधारमा धेरैका छोराछोरीले अहिले नागरिकता नपाएको र त्यसलाई सम्बोधन गर्न मात्र खोजिएको धारणा राखेका थिए ।

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक संघीय संसद्मा पेस गर्नुपर्ने सरकारको दायित्व सम्झेर अघि बढाएको देउवाले दाबी गरेका थिए। ‘राष्ट्रपतिजीले त आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुभयो,’ देउवालाई उद्धृत गर्दै सहभागि एक नेताले भने, ‘सरकारले पनि आफ्नो कर्तव्य सम्झेर विधेयकलाई अगाडि बढाएका हौं ।’ राष्ट्रपतिले उठाएका कतिपय सवालहरूलाई आगामी दिनमा पनि सम्बोधन गर्न सकिने धारणा कांग्रेस नेताहरूले राखे। प्रधानमन्त्री देउवासहितका नेताहरूसँग निर्वाचन तयारीसहितका विषयमा पनि राष्ट्रपति भण्डारीले चासो राखेकी छन्।  

त्यस्तै राष्ट्रपति भण्डारीले सोमबार साँझ एमालेका नेताहरूसँग पनि छलफल गरेकी थिइन्। उनलाई भेट्न एमालेका नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ र रामबहादुर थापा तथा महासचिव शंकर पोखरेल पुगेका थिए। त्यसक्रममा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमा देखिएका केही विषयमा आफूले सरोकार राखेको बताउँदै २००९ सालदेखिको कानुन हेर्दै अहिलेको अवस्थामा आइपुग्दा देखिएको कमजोरीबारे आैंल्याएकी थिइन् ।

उनले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुको कारणबारे प्रस्ट पार्दै त्यसबारे घनीभूत छलफल होस् र बुद्धिमतापूर्ण ढंगले पास होस्, सकेसम्म त्यसबारे राष्ट्रिय सहमति बनोस् भन्ने चाहना राखेको बताइकी थिइन्। ‘नागरिकताको वितरण कसरी गरिन्छ भनेर विगतका कानुनको सवाल उठाउँदै संसद्मा छलफल गरेर निष्कर्षमा पुग्नुस् भनेर विधेयक फिर्ता पठाएकी थिएँ तर प्रतिनिधिसभामा गम्भीर ढंगले छलफल भएको पाइएन, राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिमा पठाएको छ। त्यहाँबाट केही सुधार हुन्छ वा गति लिन्छ भनेर हेर्न बाँकी नै छ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै एमाले उपाध्यक्ष नेम्वाङले भने ।

राष्ट्रपतिले नागरिकता विधेयकका सन्दर्भमा एमालेको भूमिकाबारे पनि जिज्ञासा राखेको उपाध्यक्ष नेम्वाङ बताए। उनका अनुसार एमालेले पनि प्रतिनिधिसभामा राम्रो भूमिका निभाएजस्तो नदेखिएको भनाइ राष्ट्रपतिले राखेकी थिइन्। जवाफमा एमाले नेताहरूले संसद्मा आफूहरूको भूमिका प्रभावकारी रहेको तर गठबन्धन दलहरूले राष्ट्रपतिले पठाएको र उठाएको विषयलाई सम्बोधन नगरी जस्ताको तस्तै पठाएको बताएका थिए।

‘हामीले नागरिकताको सवालमा उठाएको विषय पुरानै अडान कायमै राखेका छौं तर सरकार सम्बद्ध दलहरूले यसलाई कमा फुलिस्टप पनि परिवर्तन नगरी पठाएका छन्, हामी जनताको अदालतमा यो विषय जस्ताको तस्तै लिएर जान्छौं,’ एमाले उपाध्यक्ष नेम्वाङले भने। उनले राष्ट्रपति भण्डारीले राखेको जिज्ञासालाई भरसक मेट्ने प्रयास गरेको समेत बताए। सत्ता गठबन्धनबाहिरका दलहरूसँगको भेटमा भने राष्ट्रपतिले वर्तमान सरकारका विषयमा गम्भीर आशंका व्यक्त गर्दै आएकी छन् ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस