नेपालगन्ज– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न पार्टी महाधिवेशनमा धर्म, संस्कृति र परम्परा रक्षालाई मूल एजेन्डा बनाउने बताएका छन्।
बाँकेमा मंगलबार पार्टीको तेस्रो जिल्ला अधिवेशन उद्घाटनपछि अध्यक्ष थापाले विकास र समृद्धि अर्को एजेन्डा हुने जानकारी दिए। 'यी मुद्दामा अडिग रहेको एकमात्र पार्टी राप्रपा नेपाल हो,' उनले भने, 'त्यही कारणले हाम्रो पार्टी राष्ट्रिय राजनीतिको अग्रणी स्थानमा छ।'
पार्टीको महाधिवेशन जेठ १० देखि १४ गतेसम्म राजधानीमा हुँदैछ। अध्यक्ष थापाका अनुसार महाधिवेशनमा देशभरका २ हजार २ सय प्रतिनिधिले भाग लिनेछन्।
पार्टीले प्रगति गरिरहेको जिकिर गर्दै थापाले संविधानसभा निर्वाचनमा चौथो शक्तिका रूपमा स्थापित भए पनि संख्या कम भएको बताए। स्थानीय निकायको निर्वाचनबारे तीन ठूला दलबाट ओठे प्रतिबद्धताबाहेक कुनै निर्णय नभएकोमा उनको आपत्ति थियो। ‘संविधानसभालाई फेरि पनि रबर स्ट्याम्प बनाउने काम भइरहेको छ,' उनले भने, ‘संविधान निर्माणप्रति कांग्रेस, एमाले र एमाओवादीमा उत्साह देखिएको छैन।'
मुलुकमा प्रजातान्त्रिक मान्यता कमजोर भएको ठोकुवा गर्दै उनले यसबाट मुक्ति दिलाउन नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको बताए। नयाँ शक्तिको रूपमा राप्रपा नेपाल आएको थापाको भनाइ छ।