जनकपुर– नेकपा एमाले उपाध्यक्ष विद्या भण्डारीले निर्धारित समयमै संविधान आउनेमा विश्वस्त रहन कार्यकर्तालाई आग्रह गरेकी छन्। सहमतिको प्रयास भइरहे पनि सहमति हुने छाँटकाँट नदेखिएपछि प्रक्रियामा गएर विवादित विषय सल्टाउने गरी छठपछि संविधान निर्माण कार्यमा तिव्रता ल्याउने उनले बताइन्।
‘संविधान आउने/नआउने द्विविधामा पर्दै नपर्नोस्।' दिपावली तथा छठ पर्वको अवसरमा आइतबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भण्डारीले भनिन्, ‘संविधान निश्चित आउँछ र माघ ८ गते नै आउँछ।'
सहमतिकै आधारमा विवादित मुद्दा सल्टाउने एमालेको पनि इच्छा रहेको जिकिर गर्दै उनले थपिन्, ‘सहमति हुने आशामै यत्रो समय पनि खर्चिएको हो। तर, कसैगरी पनि सहमति टुंगोमा नपुगेपछि अब प्रक्रियामा जानुको विकल्प देखिँदैन।'
संविधानसभामा विभिन्नथरिका एजेन्डा बोकेका पार्टीहरू रहेको र सबैको चित्त बुझाउन सम्भव नभएको पनि उनको धारणा थियो। धर्म निरपेक्षताको मुद्दादेखि धेरैभन्दा धेरै प्रदेश कायम गराउने पार्टीहरू संविधानसभामा रहेकाले मूल मुद्दालाई छिनोफानो गरी संविधान घोषणा गर्ने तयारीमा लाग्न एमाले तत्पर रहेको उनको भनाइ थियो।