धनकुटा– राष्ट्रपति रामवरण यादवले राजनीतिक दलहरुलाई एक वर्षअगाडि गरेको वाचा अनुसार माघ ८ मै संविधान जारी गर्न आग्रह गरेका छन्। 'संविधान दिन्छु भनेर जनतालाई दिएको वाचा पूरा गर्नुस्, यही मेरो आग्रह छ,' उनले भने।
बुधबार पूर्वाञ्चल औद्योगिक व्यापार मेला तथा कृषि मेला प्रदर्शनी एवं धनकुटा महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति यादवले समुन्नत नेपाल बनाउने भए राजनीतिक दलहरूले संविधानका लागि सहमति गर्नैपर्ने बताए। सबै जाति धर्म, समुदाय र क्षेत्रका बासिन्दालाई मान्य हुने गरी समावेशी संविधान बनाउन राष्ट्रपतिले आग्रह गरे।
पछिल्ला दिनमा संविधानसभा अध्यक्ष, राजनीतिक दल र संविधानसभाले संविधान निर्माण गर्न गरेको सहमतिको प्रयास प्रशंसायोग्य भएको र निश्चित समयमै संविधान बन्ने आशा पलाएको राष्ट्रपति यादवको भनाइ थियो। दोस्रो संविधानसभा निर्वाचन विशेष परिस्थितिमा भएकाले त्यसको मर्मलाई बुझ्नसमेत दलहरूलाई राष्ट्रपति यादवले आग्रह गरे।
राष्ट्रपतिले चुरे क्षेत्रको खानी जोगाउन आग्रह गरे। 'चुरे बचाइदिनोस्। चुरे बचेन भने तराई मरुभूमि हुनेछ,' उनले भने, 'पहाडमा पानी र हिमालमा हिउँ पर्दैन। त्यसैले सबैलाई चुरे जोगाउने अभियानमा सहयोग गर्न अनुरोध गर्छ।'
नेपालको आर्थिक विकासको लागि भारत र चिनियाँ बजारमा नेपाली उत्पादन पुर्याउनु पर्ने भएकाले जोगवनीदेखि किमाथांका जोड्ने सडकलाई पूरा गर्न सरकारलाई राष्ट्रपति यादवले आग्रह गरे।