चन्द्रौटामा सद्भाव फर्काउँदै निर्वाचन
२३ कार्तिक २०७९
•
८ मिनेट पाठ
चन्द्रौटामा सद्भाव फर्काउँदै निर्वाचन
उत्तरी क्षेत्रमा पहाडबाट झरेको समुदायको बसोबास छ। दक्षिणतिर मधेसी समुदायसँगै आसपासका गाउँमा मुस्लिम समुदायको पनि उत्तिकै बाक्लो बस्ती छ। बीचमा महेन्द्र (पूर्व–पश्चिम) राजमार्ग छ। यही राजमार्गमा पर्ने सहर हो– चन्द्रौटा।




यही चन्द्रौटा सहर एक समय पहाडी–मधेसी, हिन्दु–मुस्लिम सबै समुदाय जोड्ने सद्भावको पुल थियो। बजारमा सबै समुदायका पसल थिए। सबै मिलेरै व्यवसाय गर्थे, उद्योग वाणिज्य संघमा संगठित थिए।

उत्तरी क्षेत्रमा बसोबास गर्ने पहाडी समुदायका मानिस चन्द्रौटा बजार आउँथे। दक्षिण भेकमा बस्ने मधेसी र मुस्लिम समुदाय पनि त्यहीं बजार गर्न पुग्थे। सबैले सद्भावका साथ समय बिताउँथे। हिन्दुका चाडपर्व दसैं, तिहार र छठमा मुस्लिम पनि रमाउँथे। मुस्लिमका इद, बकर इद, रमजानमा हिन्दु पनि रमाउँथे।

‘हिन्दु–मुस्लिम, पहाडे–मधेसीबीचको त्यस्तो सद्भाव सायद अन्यत्र कहीं थिएन होला,’ चन्द्रौटा बजारमा रहेको उसमान विन अफ्फान मदरसाका सदरे मुदरिस (प्रधानाध्यापक) ताजुद्दिन सिरादीले भने, ‘सबै मिलेर, एकअर्कालाई सम्मान गरेर बसेका थियौं।’

चन्द्रौटाको यस्तो सद्भाव १५ वर्षअगाडिको एउटा घटनाले एकाएक तहस–नहस पारिदियो। त्यसले निम्ताएको साम्प्रादायिक द्वेष पूर्ण रुपमा अझै हटेको छैन। तर पनि यहाँका सबै समुदाय अब त्यो तितो यथार्थबाट बिर्सन चाहन्छन्। उनीहरूले मंसिरमा हुने निर्वाचनबाट त्यस्तो द्वेष र विभाजन अन्त्य गर्न चाहिरहेका छन्।

के थियो घटना ?

राज्यको मूलधारमा आउन प्रयासरत मुस्लिम समुदायका त्यतिबेलाका एक चर्चित नेता थिए, अब्दुल मोइद खाँ। लामो समय नेपाली कांग्रेसको राजनीति गरेका खाँ महन्थ ठाकुर, हृदयेश त्रिपाठीलगायतका नेताहरूको अगुवाइमा बनेको मोर्चामा सम्मिलित थिए, जुन पछि गएर तराई मधेस लोकतान्त्रिक पार्टी बन्यो।

तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध भए पनि उनी राजदरबारसँग पनि निकट थिए। उनका बुवा मन्नान खाँ दरबारका सल्लाहाकार समेत थिए। राजपरिवारसँग निकट रहेकै कारण सशस्त्र द्वन्द्वकालमा मोइदको घरमा तत्कालीन विद्रोही नेकपा माओवादीले दुईपटक आक्रमण गरेको थियो। त्यसक्रममा एउटा घटनामा दुईजना र अर्को घटनामा मोइदका भाइ डा. इकवाल खाँको मृत्यु भएको थियो। दुवै पटक स्थानीयले मोइदको हत्या योजना असफल बनाइदिए। त्यसक्रममा माओवादीतर्फ ठूलै हताहती भएको अहिले पनि स्थानीय बताउँछन्।  

माओवादी आक्रमणपछि तत्कालीन राजदरबारले मोइदको घरमा नेपाली सेनाको क्याम्प राखिदियो। ‘त्यतिबेला राजाको दरबारमा सेना थियो तर निजी घरमा कतै थिएन। माओवादी आक्रमणपछि दरबारको निर्देशनमा मोइदको निजी घरमा सेना बस्योे,’ मदरसाका सदरे मुदरिस सिरादीले भने।

मोइदको २०६४ भदौ ३० गते गोली हानेर हत्या गरियो। सेनाको घेरामा बस्ने मोइदको घरभन्दा बाहिर निस्किएका बेला गोली हानेर हत्या गरिएको थियो। स्थानीय जानकारका अनुसार कसैले फोन गरेर उनलाई घरबाहिर बोलाएको थियो। बाहिर गाउँमा पुगेपछि अपरिचित समूहका केही व्यक्तिहरूले उनीसँग केही समय कुराकानी गरे। कुराकानी गरेपछि सोही समूहका एक व्यक्तिले उनीमाथि गोली प्रहार गरे। उनको मृत्यु भयो। गोली हान्ने को थिए ? किन मोइदलाई फोन गरेर घरबाहिर बोलाए ? किन उनी बाहिर गए ? यी प्रश्नहरू अहिलेसम्म अनुत्तरित छन्। ‘उहाँ आफै निकै भद्र र सहज प्रकारको समाजसेवी हुनुहुन्थ्यो। जोकोहीले बोलाउँदा पनि भनेको ठाउँमा पुग्नुहुन्थ्यो,’ मदरसाका सदरे मुदरिस सिरादीले भने्, ‘त्यही कमजोरीको फाइदा हत्याराले उठाएको हुनुपर्छ।’

मोइदको हत्यापछि शान्त चन्द्रौटाको रुप रौद्र बन्योे। घटना भएको एक घण्टा नबित्दै चन्द्रौटाको दक्षिण भेकतिरबाट घरघरमा आगलागी हुन थाल्यो। ‘हामीले त्यो खबर सुनेपछि धमाधम पसल बन्द ग¥यौं,’ चन्द्रौटाका व्यवसायी महादेव पोखरेलले सम्झिए, ‘केहीबेरपछि मानिसको समूहले बजार आगो लगाउन थाल्यो। पार्किङ गरेर राखिएका दुई सय ट्रक जलाइए।’ त्यसक्रममा चन्द्रौटा, कृष्णनगर, गणेशपुर, बिसनपुर, चनईलगायतका क्षेत्रमा साम्प्रादायिक हिंसा भड्किएको थियो। सुरुमा पहाडी र मधेसीबीच भड्किएको हिंसा पछि मधेसी हिन्दु र मुस्लिम समुदायमा रुपान्तरण भयोे। त्यसक्रममा १४ जनाको ज्यान गयो। केही बलात्कृत भए। १० हजारभन्दा बढी बजार र आसपासका घर छाडेर भागे। मधेसी र मुस्लिम समुदाय भारततर्फ र पहाडी समुदाय पहाडतिर लागे।

हिंसा भड्किरह्यो। प्रशासनले निषेधाज्ञा लगाइरह्यो। ‘त्यो घटनापछि मुस्लिम, हिन्दु, मधेसी र पहाडी समुदायबीच ठूलै खाडल देखियो। त्यसको रुप त मधेस आन्दोलनमा झन् गहिरियो,’ कपिलवस्तु घटना पीडित संघर्ष समितिका अध्यक्षसमेत रहेका स्थानीय व्यवसायी पोखरेलले भने, ‘त्यतिबेला राजनीतिक दलका नेताले पनि भाषण गर्दा साम्प्रादायिता ओकल्थे। तीनका भाषण स्मरण गर्ने हो भने अहिले पनि साम्प्रादायिकता भड्किन सक्छ।’

मुस्लिम अगुवा मोइदको हत्या र त्यसपछि भड्किएको साम्प्रादायिक हिंसाको कारण अझै पनि पत्ता लागेको छैन। मोइदको हत्याका विषयमा अनेक आशंका छन्। ढाका टोपी लगाएर आएका व्यक्तिले गोली चलाएको प्रत्यक्षदर्शीले बताउने गरेका छन्। गोली हान्ने मधेसी वा पहाडी को भन्ने विषयमा अहिलेसम्म्म पनि अन्योल छ। यसैकारण साम्प्रदायिक हिंसाको असर मधेसी र पहाडी दुवै समुदायतर्फ परेको जानकारहरूको भनाइ छ। गोली हान्नेले ढाका टोपी लगाएकाले नेपाली भएको अनुमान स्थानीय बहुसंख्यकको छ। माओवादीले पहिला पनि उनको घरमा आक्रमण गरेकाले सोही पक्षबाटै हत्या भएको आशंका एकथरीको छ। अर्काथरीले मोइदको बढ्दै गरेको ओजका कारण नेपाली राजनीतिमा मुस्लिम समुदायबाट ठूलै नेता बन्नसक्ने देखेपछि भारतीय कट्टर हिन्दुवादी संस्था आरएसएसले हत्या गरेको हुन सक्ने आशंका गर्छन्।

घटनापछि सरकारले पूर्वन्यायाधीश लोकेन्द्र मल्लिकको नेतृत्वमा छानबिन आयोग बनायो। आयोगले सरकारलाई प्रतिवेदन बुझायो। तर त्यो प्रतिवेदन आजसम्म पनि सार्वजनिक गरिएको छैन। स्वयं मल्लिकले पनि आयोगले भेट्टाएका तथ्य बाहिर चुहाएका छैनन्। पीडित पक्षसँगको भेटमा उनले त्यो प्रतिवेदनमा सत्यतथ्य सबै उल्लेख गरेको तर आफूले सार्वजनिक गर्न नमिल्ने बताउने गरेका छन्।

पीडित पक्षले सत्यतथ्य सार्वजनिक गर्न, राहत तथा क्षतिपूर्ति दिन माग गर्दै संघर्ष गरे पनि सुनुवाइ भएको छैन। सर्वोच्च अदालतमा मुद्दा छ तर पेसी सरेको स¥यै छ। ‘घटनापछि सबै पार्टीका सरकार बनेका छन्। हामीले सबैजसो दलका नेतालाई भेटेका छौं। तर हाम्रो आवाजमा कोही कसैले चासो दिएनन्,’ संघर्ष समितिका अध्यक्ष पोखरेलले भने, ‘न्यायालय धाउँदा पनि हाम्रो मुद्दा उपेक्षामा प¥यो। राज्य नै डराउने, प्रतिवेदन गोप्य राख्ने, खास कुरा के हो ? हामीले जान्न त चाहेका छौं।’

सद्भाग फर्काउँदै निर्वाचन

त्यतिबेला भड्किएको सम्प्रादायिकता हिंसाका बाछिटालाई त्यसयता भएका आवधिक निर्वाचनले हटाउँदै लगेको बुझाइ स्थानीयको छ। ‘भोटस्वार्थ’ ले नेताहरूलाई पनि साम्प्रादायिक आवाज सद्भावमा परिणत गर्न बाध्य पारेको स्थानीय जानकारको भनाइ छ। समुदाय जोड्न राजनीतिक दलका नेताभन्दा स्थानीय सामाजिक तथा व्यवसायिक संस्थाका अगुवाले भूमिका खेलेका छन्। राजनीतिक दलका नेताहरूले पनि साम्प्रादायिक आवाजभन्दा विकास र सामाजिक, आर्थिक विकासका मुद्दालाई चुनावी अजेन्डा बनाइरहेका छन्।

पहिलो र दोस्रो संविधानसभा सदस्य निर्वाचनमा साम्प्रादायिक आवाज सुनिए पनि २०७४ सालमा भएका निर्वाचन, गत वैशाखमा भएको स्थानीय तह निर्वाचन र मंसिरमा हुन लागेको निर्वाचनसम्म आइपुग्दा साम्प्रादायिक आवाज शून्यमा झरेको देखिन्छ। दलहरूले उम्मेदवार सबै धर्म र समुदायलाई समेटेर उम्मेदवार बनाउनुपर्ने बाध्यता र सँगै भोट माग्न जानुपर्ने अवस्थाले परस्परको सद्भाव कसिलो बन्दै गएको छ।

समावेशी उम्मेदवारी

चन्द्रौटा बजार अहिले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ। चन्द्रौटा शिवराज नगरपालिकामा पर्छ। यो निर्वाचन क्षेत्रमा शिवराज नगरपालिकाका एउटा वडाबाहेक सबै, महाराजगन्ज नगरपालिकाका तीनवटा वडा, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिका पर्छन्।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट कांग्रेसका अभिषेकप्रताप शाह, एमालेका मंगलप्रसाद गुप्ता र जनता प्रगतिशील पार्टीका ईश्वरीदयाल मिश्र मुख्य प्रतिस्पर्धी रहेको स्थानीय बताउँछन्। शाह लगातार तीन निर्वाचनका विजेता हुन्। उनले यसपटक पनि आफूले सजिलै जित्ने दाबी गरिरहेका छन्। ‘अरुको गणना १ बाट हुन्छ। मेरो पाँचहजार एकबाट हुन्छ। त्यसैले मेरो प्रतिस्पर्धा कोहीसँग हुन्न र छैन। यो क्षेत्रबाट अकोर्ले जित्न मैले उम्मेदवारी दिनु नै हुन्न,’ उनले भने, ‘यहाँ जतिपटक म उठ्छु जित्छु।’

एमालेका उम्मेदवार गुप्ता जीवनको अधिकांश समय कांग्रेसमा बिताएका नेता हुन्। कांग्रेसबाट जसपा हुँदै उनी केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन्। यो क्षेत्रमा एमाले र जसपाको गठबन्धन भएका कारण उनी हौसिएका छन्।

जनता प्रगतिशील पार्टीका उम्मेदवार मिश्र अघिल्लोपटक हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका थिए। उनी २०६४ सालको संविधानसभा सदस्य निर्वाचित भई मन्त्रीसमेत बनेका थिए।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले प्रदेशसभा (क) मा मुस्लिम नेता एहसान अहमत खाँ र कांग्रेसले प्रदेशसभा (ख) मा मधेसी समुदायका वीरेन्द्र कनौडियालाई उम्मेदवार बनाएको अवस्था छ। कनौडिया लुम्बिनी प्रदेश सरकारका मन्त्री पनि हुन्। एमालेले प्रदेशसभा (क) मा पहाडी समुदायका अर्जुनकुमार केसीलाई उम्मेदवार बनाउको छ। उनी यसअघि पनि प्रदेशसभा सदस्य थिए। एमालेले प्रदेशसभा (ख) मा मुस्लिम समुदायका रजाउर्रहमान खाँलाई उम्मेदवार बनाएको छ। अन्य दलले पनि सबै समुदायलाई समेटेर उम्मेदवार उठाएका छन्।

यसरी सबै समुदायका मिलाएर उम्मेदवार बनाउँदा सद्भाव कायम गर्न सहयोग पुगेको स्थानीय बताउँछन्। ‘कपिलवस्तुमा उत्तर–दक्षिण जोड्ने निर्वाचन क्षेत्र बन्नु नै सुखद रह्यो। जसले पहाडी र मधेसी समुदायलाई एउटै क्षेत्रमा जोड्यो,’ चन्द्रौटाका व्यवसायी पोखरेलले भने, ‘पछिल्लो डेढ दशक आवधिक निर्वाचन भइरहे। जसले भोटकै लागि भए पनि नेतालाई सबै समुदायसँग जोड्यो। त्यसको प्रभाव जनता–जनतामा पनि प¥यो। यसले विभिन्न समुदायबीच सद्भाव कायम गर्न ठूलै मद्दत गरेको छ।’
अर्को समाचार
बाँकेमा मुस्लिम समुदायका अगुवाहरूले यसरी मनाए दसैं
०८ कार्तिक २०८०
•
२ मिनेट पाठ
बाँकेमा मुस्लिम समुदायका अगुवाहरूले यसरी मनाए दसैं
सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसैंको दिन मुस्लिम समुदायका अगुवाहरूले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका छन्।




मङ्गलबार हिन्दूहरूको महानपर्व बडादसैँंका अवसरमा मुस्लिम अगुवाहरूले दसैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका हुन्।

बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसैंको टीका र जमरा लगाएका छन्। उनले दसै्, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैं यसरी नै मिलेर मनाउने गरेको बताए।

“हामी सद्भावको शहरमा छौं। यो शहर आफैंमा एउटा धार्मिक परम्परा अनुसार मिलेको शहर हो। यहाँ मुस्लिमले हिन्दूहरूको मात्र नभई हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्छन्” उनले भने, “मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनैदेखि नै सम्मान छ। टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरु खुसी हुँदा मलाई पनि खुसी मिल्छ भने त्यो खुसीमा किन सहभागी नहुने?”

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकर ईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उहाँहरूसँग रमाउने गरेको बताए। बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षाैंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उनको भनाइ छ।

सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दसैँमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गरेका छन्। उनले आफूले टीका र जमरा ग्रहण गरेपछि आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिएका छन्।

सिद्धिकी वर्षौदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आएका छन्। पर्वका बेला एक अर्कासँग मिलेर खुसी साट्ने गरेको उनको भनाइ छ। हिन्दूले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दूको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्धिकीले बताए।

अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैंमा टीका र जमरा लगाएर आशीर्वाद लिएका छन्। रहमान मियाँले दुवै समुदायबीच अभूतपूर्व एकता र सद्भाव रहेको भन्दै उक्त सद्भावलाई बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताए।  

बडादसैंका दिन मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई भेटेर दसैंको शुभकामना दिएका छन्। एकताका र सद्भावका लागि दुवै समुदायका धर्म गुरुले संयुक्त रुपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गरेका छन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस