सहकारी ठगेर विदेशमा बिन्दास
१३ असोज २०८३
•
५ मिनेट पाठ
सहकारी ठगेर विदेशमा बिन्दास
बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएसँगै सहकारीपीडितलाई रकम फिर्ता गराउने विश्वास दिइयो। विशेष गरेर सहकारीको रकम हिनामिना गर्ने सञ्चालक तथा ऋणीहरूको सम्पत्ति जफत र लिलामी गरेर भए पनि पीडितको बचत फिर्ता गर्ने योजना अघि सारियो।




तर बचतकर्ताले रकम फिर्ता त पाएका छैनन् नै, सहकारीको करोडौं रकम अपचलन गरेर फरार भएकालाई कारबाहीको दायरामा ल्याउने कामसमेत भएको छैन। सहकारीको करोडौं रकम अपचलन गरेर फरार रहेकामध्ये एक मुख्य व्यक्ति हुन्, गीतेन्द्रबाबु (जिबी) राई। एक दर्जनभन्दा बढी निजी व्यवसायमा सहकारीकै रकम ल्याएर लगानी गरेका उनी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा आएसँगै फरार छन्। जिबीविरुद्ध कास्की, रूपन्देही, चितवन, पर्सा र काठमाडौंमा समेत गरेर ६ वटा सहकारीको रकम अपचलनको अभियोग छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलाएर इन्टरपोलको रेड नोटिस जारी भए पनि उनलाई पक्राउ गर्न सकिएको छैन।

जिबीविरुद्ध २०८० माघ २५ गते इन्टरपोलमा रेड नोटिस जारी भएको थियो। रेड नोटिसको रेकर्डअनुसार २०८० चैत ६ गते जिबीले मलेसियामा ‘म्यासेज रिसिभ’ गरेको देखिएको थियो। त्यसयता इन्टरपोलको कुनै पनि सदस्य राष्ट्रले उनीबारे जानकारी दिने र पक्राउ गर्न सहयोग गर्ने कार्य गरेको छैन। जिबीलाई खोज्न मलेसियासम्म गएको नेपाल प्रहरीको टोलीले त्यहाँ कुनै सहयोग प्राप्त नभएको गुनासो गरेको थियो। यता नेपालमा उनले अवैध रूपमा सहकारीको रकम ल्याएर लगानी गरेको सबै व्यवसाय र सम्पत्ति रोक्का राखिएको छ। कास्कीको सूर्यदर्शन सहकारीमा एक अर्ब ८६ करोड, रूपन्देहीको सुप्रिम सहकारीमा ५५ करोड ५२ लाख, चितवनको सहारा बहुउद्देश्यीय सहकारीमा ३७ करोड बिगो दाबी गरिएको मुद्दा लागेका जिबीलाई फिर्ता ल्याउन सरकारलाई ठुलो सकस भएको छ। जिबीले सहकारीकै रकम लगानी गरेर स्थापना गरेका व्यवसाय लिलामी तथा बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियासमेत सुरु भएको छैन।

त्यसैगरी नेपालमा सहकारीको पैसा अपचलन गरेर इन्टरपोलमार्फत खोजी भइरहेका अर्का व्यक्ति हुन्, सुमेरु सहकारीको पैसा दुरुपयोग गर्ने भरत महर्जन। सुमेरुको सात अर्बभन्दा बढी रकम दुरुपयोग गरेको आरोप लागेका उनीविरुद्ध २०८० पुस १७ गते इन्टरपोलमार्फत रेड नोटिस जारी भएको थियो। २०८० माघ १९ गते उनी बेलायतमा रहेको इन्टरपोलको रेकर्डमा देखिन्छ तर उनलाई स्वदेश ल्याएर बचतकर्ताको रकम फिर्ता गराउन सकिएको छैन। 

सुमेरु सहकारीको अनुसन्धान गर्ने एक अधिकृतका अनुसार महर्जनले सहकारीको रकममार्फत लगानी गरेका सबै व्यवसाय चलिरहेकै छन्। अदालतमा मुद्दा चलिरहेको अवस्थामा सबै सम्पत्ति बिक्रीका लागि रोक्का राखिए पनि ती व्यवसायहरूबाट आम्दानी भइरहेकै छ। त्यही आम्दानी पनि सरकारले नियन्त्रणमा लिएर बचतकर्ताको रकम फिर्ता गराउने बाटो लिएको छैन। ‘बचतकर्ताको पैसा अपचलन गरेर सञ्चालन गरेका व्यवसायहरू कम्पनी ऐनअनुसार चलेका छन्। त्यसमा अन्य पार्टनरहरू पनि राखिएका होलान्। उनीहरूले सबै व्यवसायबाट प्राप्त भइरहेको आम्दानी बरु महर्जनलाई पठाउन सक्छन् तर बचतकर्तालाई फिर्ता कसले गराउने?’ ती अनुसन्धान अधिकृत भन्छन्, ‘मान्छे बेलायतमा छन्। रेड नोटिस जारी भए पनि ल्याउन सकिएको छैन।’

कास्कीस्थित सूर्यदर्शन सहकारीकै ८० करोड ७२ लाख अपचलनको आरोप लागेका भूपेन्द्र राई पनि रेड नोटिसमार्फत इन्टरपोलको खोजी सूचीमा छन्। २०८० जेठ २६ गते उनी नेपालबाट बेलायत गएको देखिएको इन्टरपोलको रेकर्डमा छ। यता बचतकर्ता आन्दोलन गरेर थाकिसके तैपनि इन्टरपोलको सहयोग लिँदा पनि उनलाई ल्याउन सकिएको छैन। सूर्यदर्शन सहकारीमै २७ करोड बिगो दाबी गरिएका अर्का आरोपी थानबहादुर बुढाविरुद्ध पनि रेड कर्नर नोटिस जारी भएको छ। २०८० माघ २५ गते जिबीसँगै रेड नोटिस जारी गरेर फरार सूचीमा रहेका बुढा कहाँ छन् भन्ने पत्तो सरकारले पाउन सकेको छैन।

बागलुङस्थित इमेज सहकारीको एक अर्ब ३८ करोड अपचलनको आरोप लागेकी छेला नेपालीविरुद्ध पनि रेड नोटिस जारी गरिएको छ। २०८० साउन १ गते भारतबाट बेलायत नै गएको सूचना प्राप्त गरेको प्रहरीले पक्राउका लागि पटकपटक प्रयास गरे पनि सकेन। छेलाकै पति देवकुमार नेपालीलाई भने भारतबाटै पक्राउ गरेर ल्याइएको थियो। पर्वतस्थित तपाईं हाम्रो सहकारीको २९ करोड ९८ लाख ठगीको आरोपमा रेड नोटिस जारी गरिएका बालगोपाल श्रेष्ठ कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन। 

रूपन्देहीस्थित सुप्रिम सहकारीको एक अर्ब दुई करोड रुपैयाँ ठगीमा संलग्न रहेको भन्दै मुद्दा दायर भइसकेका सागर केसी पनि इन्टरपोलकै खोजी सूचीका आरोपी हुन्। ललितपुरस्थित मितेरी सहकारीको १४ करोड रकम अपचलन गरेर फरार रहेकी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी भए पनि पक्राउ पर्न सकेकी छैनन्। मितेरी सहकारीका अर्का आरोपी ज्योतिबहादुर भण्डारीलाई भने इन्टरपोलकै सहयोगमा २०८२ असारमा कम्बोडियाबाट ल्याइएको थियो। देवेन्द्रबाबु राई पनि एक अर्ब दुई करोड सहकारीकै रकम ठगी गरेर इन्टरपोलले खोजी गरिरहेका व्यक्ति हुन्। सहकारीको ठुलो रकम अपचलन गरेर फरार भएकामध्ये नौ जनाविरुद्ध अहिले पनि इन्टरपोलमार्फत रेड नोटिस जारी छ। तर उनीहरूलाई ल्याउन प्रहरीको इन्टरपोलमार्फत रेड नोटिस जारी भए पनि सफल हुन सकिरहेको छैन।

प्रहरी प्रवक्ता अविनारायण काफ्ले भने सहकारीको रकम हिनामिनामा संलग्न भएर रेड नोटिसको सूचीमा रहेकाहरू कारबाहीको दायरामा आउने बताउँछन्। इन्टरपोलको सहयोगमा रेड नोटिस जारी गरिसकेका व्यक्ति केही समय लुके पनि जुन देशमा छन्, ती देशले खोजी गरेर पठाउने विश्वास नेपाल प्रहरीले लिएको काफ्लेले बताए। तर अधिकांशले विदेशमा गएर सम्बन्धित देशको नागरिकता लिइसकेको हुन सक्ने र त्यसरी आफ्नो देशको नागरिकता लिएको व्यक्तिलाई पक्राउ गरेर दिन कुनै पनि देश बाध्य नहुने भएकाले सहकारीको रकम अपचलन गर्नेहरूलाई ल्याउन नसकिएको प्रहरीकै एक अधिकृत बताउँछन्। ‘इन्टरपोल एउटा प्राविधिक कुरा हो। जिबी राई करोडौं लिएर जुन देशमा व्यवसाय गरेर बसेको छ, उसलाई त्यहाँबाट ल्याउन त कूटनीतिक दबाब हुनैपर्छ। त्यस्तै सहकारीको रकम लिएर अरू जति विदेशमा व्यापार गरेर बसेका छन्, उनीहरूलाई ल्याउन नसके कसरी रकम फिर्ता गर्ने? त्यसका लागि सरकारले कूटनीतिक पहल बलियो बनाउनुपर्छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए।

यता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव रविन ढकालका अनुसार सहकारीको रकम अपचलन गरेर फरार हुनेहरूको सम्पत्ति लिलाम गरेर पीडितको रकम फिर्ता गराउन सकिएको छैन। सहकारीको रकम ल्याएर सञ्चालन गरिएका कतिपय व्यवसायमा पार्टनर छन्, त्यसलाई बिक्री गर्न कानुनले दिँदैन। ठगीको आरोप लागेका व्यक्तिको सम्पत्ति रोक्का राखिए पनि त्यसको लिलामीमा जान कठिन भइरहेको सदस्य सचिव ढकालले बताए।
अर्को समाचार
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
१ मिनेट अघि
•
१ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भन्नेमा फेरि बहस सुरु भएको छ। संविधान संशोधनका क्रममा स्थानीय निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगले नै सुझाव दिएपछि यो विषयले नीतिगत बहसको रूप लिएको हो। नागरिक अभियान, नयाँ राजनीतिक दल र केही नेता यसको पक्षमा उभिए पनि राजनीतिक दलहरूमा भने यसप्रति संशय र असहमति देखिएको छ।
यसैक्रममा निर्वाचनको तयारी चलिरहँदा ‘गैरदलीय स्थानीय सरकार निर्माण अभियान’ र ‘स्वतन्त्र नागरिक अभियान’ लगायत समूहले दलीय चुनाव चिह्न हटाएर स्वतन्त्र उम्मेदवारबिच प्रतिस्पर्धा गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन्। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने अवधारणालाई आफ्नो राजनीतिक अजेन्डाका रूपमा अघि सारेको थियो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि आयोगमा ज्ञापनपत्र बुझाएर यस विषयमा ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रकाशचन्द्र लोहनीले पनि गैरदलीय निर्वाचनको समर्थन गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि गैरदलीय स्थानीय तहको अवधारणाप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। कात्तिक २१ मा गैरदलीय स्थानीय सरकार निर्माण अभियानका प्रतिनिधिहरूसँगको भेटमा उनले यस विषयमा आफूले पनि छलफल गरिरहेको र कांग्रेस सकारात्मक रहेको बताएका थिए। यद्यपि पार्टीको केन्द्रीय निकायबाट औपचारिक निर्णय भने भइसकेको छैन। यसरी हेर्दा गैरदलीय स्थानीय निर्वाचनको पक्षमा फरक राजनीतिक पृष्ठभूमिका व्यक्ति र समूह देखिएका छन् तर यसको पक्षमा देखिएको समर्थनलाई राजनीतिक दलहरूको संस्थागत सहमति भने मान्न सकिँदैन।
गैरदलीय निर्वाचनको पक्षमा उभिनेहरूको प्रमुख तर्क स्थानीय तहमा बढ्दो राजनीतिक हस्तक्षेप र दलीय भागबन्डा अन्त्य गर्नुपर्छ भन्ने हो। स्थानीय सरकार नागरिकसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले उम्मेदवारको मूल्यांकन पार्टीगत आबद्धताभन्दा उसको क्षमता, इमानदारी, कार्यसम्पादन र स्थानीय आवश्यकताका आधारमा हुनुपर्ने उनीहरूको तर्क छ। पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आफू प्रमुख निर्वाचन आयुक्त हुने बेलामा पनि स्थानीय तहको गैरदलीय निर्वाचनका विषयमा छलफल भएको बताए तर राजनीतिक दलको सहमति नभएपछि त्यो हुन नसकेको उनको अनुभव छ। ‘म निर्वाचन आयोगमा हुँदा पनि गैरदलीयको विषयमा थुप्रै छलफल भएको थियो तर त्यो हुन सकेन,’ उनी भन्छन्, ‘राजनीतिक दलको समझदारीमा निर्भर हुने भएकाले यसमा राजनीतिक समझदारी आवश्यक पर्दछ।’
आफ्नो अनुभवका आधारमा हेर्दा स्थानीय तह सामाजिक, आर्थिक, राजनीतिक तथा सामाजिक व्यवहारसँग जोडिएको विषय भएकाले स्वतन्त्र व्यक्तिहरूबाटै निर्वाचन गराउँदा कुनै अप्ठ्यारो नहुने उनको भनाइ छ। यसबाट नेतृत्व विकासको अभ्यास हुने र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने उनले उल्लेख गरे। साथै निर्वाचन सञ्चालन (कन्डक्ट) र खर्च (कस्ट) को हिसाबले पनि गैरदलीय प्रणाली आवश्यक रहेको उनले बताए।
स्थानीय तहमा विकास निर्माणका योजना छनोट, बजेट विनियोजन, उपभोक्ता समिति गठन, कर्मचारी व्यवस्थापन र सेवा प्रवाहसम्म राजनीतिक प्रभाव देखिने गरेको आलोचना हुँदै आएको छ। कतिपय ठाउँमा राजनीतिक दलका प्रतिनिधिबिचको प्रतिस्पर्धा विकास र सेवा प्रवाहको विषयभन्दा दलगत प्रतिष्ठाको विषय बन्ने गरेको छ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूबिच राजनीतिक प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि त्यसले गाउँ र टोलसम्म विभाजन निम्त्याउने अवस्था आउनु उचित नभएको गैरदलीय प्रणालीका समर्थकहरूको भनाइ छ। गैरदलीय प्रणाली लागु भए स्थानीय तहमा दलगत भागबन्डा कम हुने, स्वतन्त्र र योग्य व्यक्तिले अवसर पाउने तथा स्थानीय मुद्दाले प्राथमिकता पाउने उनीहरूको अपेक्षा छ। पूर्वप्रमुख निर्वाचन आयुक्त यादवका अनुसार चुनाव चिह्न हटाउँदैमा स्थानीय तहको राजनीतीकरण अन्त्य हुन्छ भन्ने निश्चित छैन। कुनै व्यक्ति दलको औपचारिक उम्मेदवार नबने पनि उसको राजनीतिक आबद्धता, विचारधारा र प्रभाव कायमै रहन्छ। दलहरूले प्रत्यक्ष रूपमा उम्मेदवार नउठाए पनि पछाडिबाट अप्रत्यक्ष समर्थन गरिरहने सम्भावना रहन्छ। त्यसैले प्रश्न चुनाव चिह्नको मात्र होइन, स्थानीय सरकारमा राजनीतिक दलहरूको भूमिका र जनप्रतिनिधिको जवाफदेहितासँग पनि जोडिएको देखिन्छ।
नेपालको संविधानको धारा २१५ र २१६ ले गाउँपालिका तथा नगरपालिकाको कार्यपालिका गठन र प्रमुख पदाधिकारीको निर्वाचनसम्बन्धी व्यवस्था गरेको छ। यी धाराहरूमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको निर्वाचन गोप्य मतदानबाट पहिलो हुने निर्वाचित हुने प्रणालीअनुसार हुने उल्लेख छ। तर उम्मेदवार अनिवार्य रूपमा राजनीतिक दलकै हुनुपर्ने स्पष्ट व्यवस्था संविधानमा छैन। तर स्थानीय तह निर्वाचन ऐन २०७३ ले राजनीतिक दलबाट उम्मेदवारी दिने, दलको चुनाव चिह्न प्रयोग गर्ने र निर्वाचन सञ्चालन गर्ने प्रक्रिया निर्धारण गरेको छ। त्यसैले संविधानमा दलीय निर्वाचन अनिवार्य नभएको तर्कका आधारमा विद्यमान कानुनी व्यवस्था स्वतः हट्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७, १८ र २६ ले दलगत उम्मेदवारी, आधिकारिक टिकट र चुनाव चिह्नको स्पष्ट व्यवस्था गरेको छ। कानुनी शासनको सिद्धान्तअनुसार संसद्ले संशोधन नगरेसम्म वा सर्वोच्च अदालतले बदर नगरेसम्म विद्यमान ऐनहरू सक्रिय रहन्छन्। यही मंसिर ४ गते ‘गैरदलीय स्थानीय सरकार निर्माण अभियान’ले बुझाएको ज्ञापनपत्रमा समेत यिनै दफाहरू संशोधन गर्नुपर्ने माग उठाइएको छ। अर्कातर्फ संविधानले बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली आत्मसात् गरेकाले स्थानीय तह पूर्ण रूपमा गैरदलीय हुन सक्छ कि सक्दैन भन्ने संवैधानिक व्याख्याको द्वन्द्व पनि उत्तिकै कायमै छ।
संविधानसभाका सदस्य एवं राष्ट्रियसभाका पूर्वसांसद रामनारायण बिडारीले नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन २०७३, स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधन गरेर मात्र स्थानीय तह गैरदलीय बनाउन सकिने बताए। उनले दोस्रो संविधानसभामा स्थानीय तह निर्दलीय बनाउन व्यक्तिगत रूपमा निकै प्रयास गरे पनि कांग्रेस र एमालेले असहमति जनाएको बताए। संविधानमा स्थानीय तहबाहेक बहुदलीय प्रतिस्पर्धामा आधारित भनिएको भए अहिले संविधान संशोधन गर्नुपर्दैनथ्यो भन्ने उनको तर्क छ।
नेपालको संविधानले मुलुकको समग्र शासकीय संरचनालाई बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीका रूपमा परिभाषित गरेको छ। संविधानको प्रस्तावनाले नै प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणालीप्रति प्रतिबद्धता जनाएको छ भने धारा ७४ ले यसलाई देशको आधिकारिक शासकीय स्वरूपका रूपमा स्थापित गरेको छ। यसका साथै धारा २६९ र २७० ले राजनीतिक दलको गठन, सञ्चालन र राजनीतिक प्रतिस्पर्धालाई संवैधानिक हकका रूपमा संरक्षण गर्दै दलमाथि प्रतिबन्ध लगाउन नपाइने सुनिश्चितता प्रदान गरेका छन्। यसलाई आधार बनाएर संविधान र कानुन संशोधन नगरी स्थानीय तहलाई गैरदलीय बनाउन नमिल्ने तर्क उनीलगायत एकथरीले गर्दै आएका छन्।
एमालेका नेता तथा सांसद गुरु बरालले पनि संविधानको विद्यमान प्रावधानका कारण स्थानीय तह वा सम्बन्धित निकायलाई गैरदलीय बनाउन नमिल्ने बताए। ‘संविधान र ऐनहरू दलीय व्यवस्थालाई प्रवद्र्धन गर्ने सिद्धान्तअनुसार बनेका छन्। संविधानले गैरदलीय व्यवस्थाको कल्पना नै गरेको छैन,’ उनले भने, ‘त्यसैले संवैधानिक व्यवस्थाबमोजिम यसलाई गैरदलीय बनाउन मिल्दैन।’ जनमत पार्टीका अध्यक्ष सिके राउतले जनप्रतिनिधिलाई पार्टीको ह्विपमा नबाँध्ने र दलगत चिह्नबिना प्रतिस्पर्धा गराउने विकल्पबाट संविधान संशोधन नगरी पनि गैरदलीय अभ्यास सम्भव हुन सक्ने तर्क गरेका छन्। अर्कातर्फ निर्वाचन आयोगले संविधान संशोधनसम्बन्धी सुझावमा स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने विषय समावेश गरेको छ। आयोगको यो सुझावले विषयलाई थप संवैधानिक बहसमा प्रवेश गराएको छ।
केही विश्लेषकका अनुसार संविधान संशोधनको विषय अघि बढे संविधानको धारा २७४ अनुसार दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ समर्थन आवश्यक पर्छ। त्यसैले गैरदलीय निर्वाचनको विषय प्राविधिक रूपमा निर्वाचन आयोगले मात्रै निर्णय गरेर लागु गर्न सक्ने अवस्था छैन। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पनि आगामी निर्वाचन विद्यमान संविधान र कानुनअनुसार हुनुपर्ने धारणा राखेका छन्। श्रम संस्कृति पार्टीका नेता रामप्रसाद चौलागाईंले पनि घोषणा गर्दैमा गैरदलीय प्रणाली व्यावहारिक रूपमा कार्यान्वयन गर्न कठिन हुने बताएका छन्। रास्वपाभित्रै पनि गैरदलीय निर्वाचनको अवधारणा र त्यसको व्यावहारिक कार्यान्वयनबारे मतभिन्नताको चर्चा हुन थालेको छ। यसले गैरदलीय निर्वाचनको माग राजनीतिक नाराका रूपमा लोकप्रिय भए पनि त्यसको संस्थागत स्वरूप निर्धारण गर्न सहज नभएको देखाउँछ।
पूर्वप्रमुख निर्वाचन आयुक्तहरूबिच निर्वाचन खर्च नियन्त्रण र कानुनी सुधारमा साझा चिन्ता देखिए पनि स्थानीय तहको प्रणाली नै फेर्ने विषयमा एकरूपता छैन। सार्वजनिक बहस हेर्दा भोजराज पोखरेलले बढ्दो निर्वाचन खर्च र राजनीतिक वित्त व्यवस्थापनको समस्यालाई लिएर स्थानीय तहमा स्वतन्त्र उम्मेदवारीको विकल्पलाई सुधारको एक पाटाका रूपमा औंल्याएका छन्। नीलकण्ठ उप्रेतीले स्थानीय तहको विद्यमान संरचना उपयुक्त रहेकाले सानातिना कमजोरी सच्याउँदै जानुपर्ने तर सुधारको मुख्य प्राथमिकता संघ र प्रदेशको निर्वाचन प्रणाली तथा प्रतिनिधित्वमा हुनुपर्ने फरक मत राखेको पाइन्छ। दिनेश थपलियाले प्रणालीगत परिवर्तनभन्दा विद्यमान संरचनाभित्रै निर्वाचन खर्च नियन्त्रण, आचारसंहिताको कडा पालना, मतदाता नामावली शुद्धीकरण र छरिएका निर्वाचन कानुनको एकीकरणमा जोड दिएका छन्।
सूर्यप्रसाद श्रेष्ठले ‘लोकतन्त्र र जनअभिमत ः नेपालको निर्वाचन नालीबेली’ पुस्तकमार्फत पञ्चायतकालीन निर्दलीय निर्वाचनको इतिहास र नेपालको निर्वाचन विकास क्रम समेटे पनि वर्तमान स्थानीय तहलाई गैरदलीय बनाउने छुट्टै प्रस्ताव भने गरेका छैनन्। विश्लेषकले गैरदलीय प्रणालीका समर्थकहरूले दलीय गुटबन्दी, आर्थिक प्रभाव र पहुँचको अवरोध हटेपछि महिला, दलित तथा अल्पसंख्यक समुदायले सहजै अवसर पाउने अपेक्षा गरेका छन् तर दलीय व्यवस्था समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने संस्थागत संयन्त्रसमेत भएकाले गैरदलीय प्रणालीमा स्पष्ट कानुनी व्यवस्था नभए उल्टै आर्थिक र सामाजिक रूपमा प्रभावशाली वर्गको वर्चस्व बढ्ने जोखिम रहने औंल्याएका छन्।
नेपालको संविधानले स्थानीय तहलाई संघीय संरचनाको तेस्रो तहका रूपमा स्थापित गरेको छ। स्थानीय तह केवल प्रशासनिक सेवा प्रवाह गर्ने निकाय होइन, कार्यकारिणी र विधायिकी अधिकारसमेत भएको सरकार हो। स्थानीय सभा, कार्यपालिका, न्यायिक समिति र स्थानीय कानुन निर्माणको अधिकारले यसको राजनीतिक तथा संस्थागत महŒव स्थापित गरेको छ। संविधानले संघीय सरकारले स्थानीय तहलाई कारबाही गर्न सक्ने व्यवस्था छैन तर कानुन बनाएर यस्तो प्रावधान राखिएकोप्रति संविधानसभाका सदस्य बिडारीले असहमति जनाएका छन्। यसलाई पनि परिवर्तन गर्नुपर्ने उनले बताए।
स्थानीय तहको सुधार चुनाव चिह्न हटाउँदैमा स्वतः सम्भव हुँदैन, दलीय भूमिकालाई पूर्ण रूपमा निषेध गर्दा लोकतान्त्रिक उत्तरदायित्व कमजोर हुने जोखिम रहेकाले वास्तविक बहस स्थानीय सरकारलाई कसरी पारदर्शी, समावेशी र नागरिकप्रति जवाफदेही बनाउने भन्ने शासन शैलीको रूपान्तरणमा केन्द्रित हुनुपर्छ भन्ने विश्लेषण पनि छ।


स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस