नेपाली कांग्रेसको विशेष महाधिवेशनका विषयमा संस्थापन पक्ष लचक देखिएको छ। पार्टी एकता जोगाउन विशेष महाधिवेशन ‘सशर्त’ स्वीकार गर्न सकिने कुरामा संस्थापन पक्ष तयार देखिएको हो।
यसअघि नियमित महाधिवेशनको कार्य तालिकामा पार्टी अघि बढिसकेको निष्कर्षसहित ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले मागेको विशेष महाधिवेशनको औचित्य नरहेको संस्थापन पक्षको ठहर थियो।
तर, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले अगुवाइमा मागकर्ताबाटै विशेष महाधिवेशन आह्वान भयो। जसअनुसार आइतबार भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन भएको छ भने सोमबार बन्द सत्र पनि सुरु भएको छ। विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित भएको आयोजकको दाबी छ।
बन्द सत्रमा प्रस्तुत विशेष महाधिवेशनको कार्यविधिमा पुरानो केन्द्रीय कार्यसमिति भंग गरेर नयाँका लागि निर्वाचन गर्ने विषय पनि उल्लेख छ। जुन कार्यविधि ध्वनि मतबाट पारित पनि गरिएको छ।
विशेष महाधिवेशनले नयाँ नेतृत्व नै चयन गर्ने प्रस्तावसम्म पुगेपछि पार्टीले वैधानिक झमेला बेहोर्नुपर्ने र विभाजनको अवस्था देखिएको छ। जसले संस्थापन पक्षलाई झस्काएको छ। त्यसपछि सभापति शेरबहादुर देउवाले सोमबार आफू निकट नेता र कानुन व्यवसायीलाई बोलाएर छलफल गरेका थिए।
छलफलमा पार्टी एकता जोगाउन महामन्त्री द्वय थापा र शर्मासँग संवाद र सहमतिको प्रयास गर्ने निष्कर्ष निस्किएको केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनले भने, ‘हामी संस्थापन पक्ष सहमति संवाद र एकताको ढोका सधैँ खुला छ।’ सोहीअनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति देउवाले संवाद गर्ने पनि छलफल भएको उनले बताए।
ज्ञानेन्द्र बहादुर कार्कीकांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग संयोजक मीनबहादुर विश्वकर्माले पनि महामन्त्रीहरू विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा रूपान्तरण गर्न तयार भए कुरा मिल्ने बताए। ‘उहाँहरूले विशेष महाधिवेशनमा निर्वाचनको कुरा छाडेर नीति महाधिवेशनमा फोकस गर्नुप¥यो,’ उनले भने, ‘हामीले यही कुरा सभापति र कार्यवाहक सभापतिलाई पनि भन्यौँ। उहाँहरूले यसलाई सकारात्मक रूपमा लिनुभएको छ।’
सभापति देउवाले बोलाएको छलफलमा एकता कायम राख्न विभिन्न विकल्पबारे पनि कुराकानी भएको सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बताए। ‘उहाँहरूले नयाँ नेतृत्व चुनेपछि त पार्टी प्रस्टै फुटिहाल्छ। देश र लोकतन्त्र जोखिममा रहेका बेला, चुनाव लागिसकेका बेला पार्टी फुट्ने कुरा सुखद होइन,’ उनले भने, ‘त्यसैले पार्टी फुट्न नदिन हर सम्भव लचक हुने र एकता जोगाउने विकल्पमा पनि छलफल भएका छन्।’
वीरबहादुर बलायरजसमा विशेष महाधिवेशनको स्वीकार्यताको विषय पनि एक रहेको बलायरले बताए। ‘विशेष महाधिवेशनलाई नीति महाधिवेशन अथवा कुनै संकल्प महाधिवेशन भनेर नीतिगत कुरा पारित गरेर अघि बढ्ने कुरा मान्दा पार्टी जोगिन्छ भने, त्यसो गर्न सकिन्छ भन्ने रह्यो,’ उनले भने।
कांग्रेस लड्ने बेला नभएकाले सबै पक्ष संयम हुनुपर्ने र मध्यमार्गी विकल्पमा जानुपर्ने आवश्यकता बनेको सभापति बलायरको बुझाइ छ। उनले भने, ‘अरू बेला भए विधानमाथि आफूखुसी हुँदा कसरी लड्ने भन्ने हामीलाई थाहा थियो। तर, यो बेला त्यसरी लड्ने अवस्था छैन। पार्टी विभाजन हुँदा चुनावमा घाटा हुन्छ, त्यसले देश र लोकतन्त्रलाई कमजोर पार्ने स्थिति छ।’
केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी एकता जोगाउन संस्थापन पक्ष सकेसम्म लचक हुने बताए। उनले भने, ‘यो पार्टी सबैको हो। यसको एकता जोगिँदा मात्र कांग्रेस र लोकतन्त्र बलियो हुन्छ। त्यसैले अहिले एकता जरुरी छ। एकताका लागि दुवै पक्ष लचक हुनुपर्छ।’
अर्का केन्द्रीय सदस्य श्याम घिमिरे फरक परिस्थितिमा पार्टी फुटाउनेतिर कसैले जान नहुने बताउँछन्। त्यसका लागि दुवै पक्षले ‘विन–विन’को अवस्था बनाएर सहमति गरेर जानुपर्ने उनको धारणा छ। ‘पार्टी फुटाएर त आखिर महामन्त्री ज्युहरूलाई पनि फाइदा हुन्न होला। विषम परिस्थितिमा पार्टी फुटोस् भनेर हामीले पनि चाहेका छैनौँ,’ उनले भने,‘त्यसैले संवाद र सहमतिको माध्यमबाट विन–विनको विकल्पमा जानुपर्ने अहिलेको आवश्यकता हो।’ नीति महाधिवेशनका रूपमा सहमति जुटे संस्थापन पक्षका नेता महाधिवेशनमै सहभागी हुन पनि तयारी अवस्थामा रहेको बताउँछन्।
श्याम घिमिरेयस्तै संस्थापन पक्ष वैशाखमा तोकिएको १५ औँ महाधिवेशन अब कुनै पनि हालतमा नसर्ने प्रत्याभूति दिलाउन पनि तयार देखिएको छ।
दुई वटा सर्त
संस्थापन पक्षले दुई वटा सर्तमा मात्रै विशेष महाधिवेशनको अजेन्डा स्विकार्ने धारणा राखेका छ। जसमा पहिलो नेतृत्व परिवर्तन गर्न नहुने र दोस्रो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सभापति देउवाको हस्ताक्षरमा नै उम्मेदवारी दिने। ‘यसो हुँदा विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा ग्रहण गरेर बाँकी छलफल र प्रस्ताव अपनत्व लिँदै पार्टीको सम्पत्तिको रूपमा ग्रहण गर्न सकिन्छ,’ सभापति देउवा निकट एक नेताले भने।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आफूले आइतबार महामन्त्री थापा र सोमबार सभापति देउवालाई भेटेर वैकल्पिक प्रस्तावमा कुराकानी गरेको बताए। शेर्पा संस्थापन पक्षकै नेता हुन्। ‘दुवै पक्ष एक कदम पछि हटेर विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा स्विकार्ने, तर तत्काल नेतृत्व नफेर्ने विकल्प दुवै आदरणीय नेतासमक्ष राखेँ,’ शेर्पाले भने,‘त्यसमा सभापति देउवा सकारात्मक नै हुनुहुन्छ। महामन्त्री ज्युले थप छलफल गर्छौँ भन्नुभएको छ।’
शेखरको पुरानै लाइन
पार्टी एकता जोगाउन यस्तै मध्यमार्गी प्रस्ताव इतर पक्षका नेता डा. शेखर कोइरालाले पहिल्यैदेखि राख्दै आएका थिए। उनले नेतृत्व नै परिवर्तन गरेर जाँदा पार्टी फुट्ने तर, विधानको व्यवस्थाअनुसार माग गरिएको विशेष महाधिवेशनको अजेन्डालाई पनि अस्वीकार गर्न नसकिने उनको धारणा थियो।
डा. शेखर कोइरालासोहीअनुसार अहिले विशेष महाधिवेशनलाई नीति महाधिवेशन वा संकल्प सम्मेलनका रूपमा रूपान्तरण गर्न महामन्त्री द्वय थापा र शर्मालाई उनले आग्रह गरेका थिए। यस्तै सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षलाई पनि उक्त प्रस्ताव स्वीकार गर्न उनको आग्रह थियो।
तर, यसअघि संस्थापन पक्ष र महामन्त्री द्वयले कोइरालाको उक्त प्रस्तावलाई गम्भीर रूपमा लिएका थिएनन्। सोमबार पनि कोइरालाले आफू पक्षीय नेता र कानुन व्यवसायीसँग संवाद गरेका थिए। उक्त छलफलमा पनि पार्टी एकता जोगाउन यही विकल्पमा दुवै पक्षलाई मनाउन भूमिका खेल्ने निष्कर्ष निस्किएको थियो।
त्यसपछि नेता कोइराला सभापति देउवालाई भेट्न महाराजगन्जस्थित निवास पुगेका थिए। जहाँ संस्थापन पक्षकै नेताहरूको पनि जमघट भएको थियो। त्यहाँ पनि कोइरालाले सभापति देउवालाई पार्टी एकता जोगाउन लचक हुँदै महामन्त्रीद्वयलाई बोलाएर छलफल गर्न आग्रह गरेका थिए।
सभापति देउवाले आफू छलफल गर्न तयारै रहेको प्रतिक्रिया दिएका थिए। यस्तै संवादका लागि कार्यवाहक सभापति खड्काले पनि प्रयास गरिरहेको र पटक पटक संवाद गरेको पनि सुनाएका थिए।
कारबाही गर्न नहतारिने, फुटिहाले सामनाको तयारी
सभापति देउवाले विशेष महाधिवेशनको विषयलाई हतारमा अनुशासनको विषय बनाएर कारबाहीका लागि नहतारिन पनि आफू पक्षका नेताहरूलाई आग्रह गरेका छन्। उक्त विषय केही नेताले छलफलमा उठाएपछि देउवाले पार्टीभित्र स्वस्थ छलफलका लागि हुने गतिविधिमा कारबाही गरिहाल्न हतार गर्न नहुने बताएका थिए।
‘सभापति ज्युको कुरा अन्तिम समयसम्म पर्ख र हेरकै अवस्थासम्म पुग्नुपर्छ भन्ने छ। एकताका लागि सके जति लचकता अपनाउन पनि उहाँ तयार हुनुहुन्छ,’ सुदूरपश्चिम सभापति बलायरले भने,‘अब निकै अप्रिय नै निर्णय भइहाले त्यसपछि पार्टीले आफ्नो कदम चाल्नुपर्ने नै होला।’
यस्तै सभापति देउवाले लचकता अपनाउँदा–अपनाउँदै पनि पार्टी फुटिहाले त्यो परिस्थितिको सामना गर्न आफू निकट नेताहरूलाई निर्देशन दिएका छन्।
काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भन्नेमा फेरि बहस सुरु भएको छ।
संविधान संशोधनका क्रममा स्थानीय निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगले नै सुझाव दिएपछि यो विषयले नीतिगत बहसको रूप लिएको हो। नागरिक अभियान, नयाँ राजनीतिक दल र केही नेता यसको पक्षमा उभिए पनि राजनीतिक दलहरूमा भने यसप्रति संशय र असहमति देखिएको छ।
यसैक्रममा निर्वाचनको तयारी चलिरहँदा ‘गैरदलीय स्थानीय सरकार निर्माण अभियान’ र ‘स्वतन्त्र नागरिक अभियान’ लगायत समूहले दलीय चुनाव चिह्न हटाएर स्वतन्त्र उम्मेदवारबिच प्रतिस्पर्धा गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन्। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने अवधारणालाई आफ्नो राजनीतिक अजेन्डाका रूपमा अघि सारेको थियो।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि आयोगमा ज्ञापनपत्र बुझाएर यस विषयमा ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रकाशचन्द्र लोहनीले पनि गैरदलीय निर्वाचनको समर्थन गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि गैरदलीय स्थानीय तहको अवधारणाप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। कात्तिक २१ मा गैरदलीय स्थानीय सरकार निर्माण अभियानका प्रतिनिधिहरूसँगको भेटमा उनले यस विषयमा आफूले पनि छलफल गरिरहेको र कांग्रेस सकारात्मक रहेको बताएका थिए। यद्यपि पार्टीको केन्द्रीय निकायबाट औपचारिक निर्णय भने भइसकेको छैन।
यसरी हेर्दा गैरदलीय स्थानीय निर्वाचनको पक्षमा फरक राजनीतिक पृष्ठभूमिका व्यक्ति र समूह देखिएका छन् तर यसको पक्षमा देखिएको समर्थनलाई राजनीतिक दलहरूको संस्थागत सहमति भने मान्न सकिँदैन।
गैरदलीय निर्वाचनको पक्षमा उभिनेहरूको प्रमुख तर्क स्थानीय तहमा बढ्दो राजनीतिक हस्तक्षेप र दलीय भागबन्डा अन्त्य गर्नुपर्छ भन्ने हो। स्थानीय सरकार नागरिकसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले उम्मेदवारको मूल्यांकन पार्टीगत आबद्धताभन्दा उसको क्षमता, इमानदारी, कार्यसम्पादन र स्थानीय आवश्यकताका आधारमा हुनुपर्ने उनीहरूको तर्क छ।
पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आफू प्रमुख निर्वाचन आयुक्त हुने बेलामा पनि स्थानीय तहको गैरदलीय निर्वाचनका विषयमा छलफल भएको बताए तर राजनीतिक दलको सहमति नभएपछि त्यो हुन नसकेको उनको अनुभव छ। ‘म निर्वाचन आयोगमा हुँदा पनि गैरदलीयको विषयमा थुप्रै छलफल भएको थियो तर त्यो हुन सकेन,’ उनी भन्छन्, ‘राजनीतिक दलको समझदारीमा निर्भर हुने भएकाले यसमा राजनीतिक समझदारी आवश्यक पर्दछ।’
आफ्नो अनुभवका आधारमा हेर्दा स्थानीय तह सामाजिक, आर्थिक, राजनीतिक तथा सामाजिक व्यवहारसँग जोडिएको विषय भएकाले स्वतन्त्र व्यक्तिहरूबाटै निर्वाचन गराउँदा कुनै अप्ठ्यारो नहुने उनको भनाइ छ। यसबाट नेतृत्व विकासको अभ्यास हुने र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने उनले उल्लेख गरे। साथै निर्वाचन सञ्चालन (कन्डक्ट) र खर्च (कस्ट) को हिसाबले पनि गैरदलीय प्रणाली आवश्यक रहेको उनले बताए।
स्थानीय तहमा विकास निर्माणका योजना छनोट, बजेट विनियोजन, उपभोक्ता समिति गठन, कर्मचारी व्यवस्थापन र सेवा प्रवाहसम्म राजनीतिक प्रभाव देखिने गरेको आलोचना हुँदै आएको छ। कतिपय ठाउँमा राजनीतिक दलका प्रतिनिधिबिचको प्रतिस्पर्धा विकास र सेवा प्रवाहको विषयभन्दा दलगत प्रतिष्ठाको विषय बन्ने गरेको छ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूबिच राजनीतिक प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि त्यसले गाउँ र टोलसम्म विभाजन निम्त्याउने अवस्था आउनु उचित नभएको गैरदलीय प्रणालीका समर्थकहरूको भनाइ छ। गैरदलीय प्रणाली लागु भए स्थानीय तहमा दलगत भागबन्डा कम हुने, स्वतन्त्र र योग्य व्यक्तिले अवसर पाउने तथा स्थानीय मुद्दाले प्राथमिकता पाउने उनीहरूको अपेक्षा छ।
पूर्वप्रमुख निर्वाचन आयुक्त यादवका अनुसार चुनाव चिह्न हटाउँदैमा स्थानीय तहको राजनीतीकरण अन्त्य हुन्छ भन्ने निश्चित छैन। कुनै व्यक्ति दलको औपचारिक उम्मेदवार नबने पनि उसको राजनीतिक आबद्धता, विचारधारा र प्रभाव कायमै रहन्छ। दलहरूले प्रत्यक्ष रूपमा उम्मेदवार नउठाए पनि पछाडिबाट अप्रत्यक्ष समर्थन गरिरहने सम्भावना रहन्छ। त्यसैले प्रश्न चुनाव चिह्नको मात्र होइन, स्थानीय सरकारमा राजनीतिक दलहरूको भूमिका र जनप्रतिनिधिको जवाफदेहितासँग पनि जोडिएको देखिन्छ।
नेपालको संविधानको धारा २१५ र २१६ ले गाउँपालिका तथा नगरपालिकाको कार्यपालिका गठन र प्रमुख पदाधिकारीको निर्वाचनसम्बन्धी व्यवस्था गरेको छ। यी धाराहरूमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको निर्वाचन गोप्य मतदानबाट पहिलो हुने निर्वाचित हुने प्रणालीअनुसार हुने उल्लेख छ। तर उम्मेदवार अनिवार्य रूपमा राजनीतिक दलकै हुनुपर्ने स्पष्ट व्यवस्था संविधानमा छैन।
तर स्थानीय तह निर्वाचन ऐन २०७३ ले राजनीतिक दलबाट उम्मेदवारी दिने, दलको चुनाव चिह्न प्रयोग गर्ने र निर्वाचन सञ्चालन गर्ने प्रक्रिया निर्धारण गरेको छ। त्यसैले संविधानमा दलीय निर्वाचन अनिवार्य नभएको तर्कका आधारमा विद्यमान कानुनी व्यवस्था स्वतः हट्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७, १८ र २६ ले दलगत उम्मेदवारी, आधिकारिक टिकट र चुनाव चिह्नको स्पष्ट व्यवस्था गरेको छ। कानुनी शासनको सिद्धान्तअनुसार संसद्ले संशोधन नगरेसम्म वा सर्वोच्च अदालतले बदर नगरेसम्म विद्यमान ऐनहरू सक्रिय रहन्छन्। यही मंसिर ४ गते ‘गैरदलीय स्थानीय सरकार निर्माण अभियान’ले बुझाएको ज्ञापनपत्रमा समेत यिनै दफाहरू संशोधन गर्नुपर्ने माग उठाइएको छ। अर्कातर्फ संविधानले बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली आत्मसात् गरेकाले स्थानीय तह पूर्ण रूपमा गैरदलीय हुन सक्छ कि सक्दैन भन्ने संवैधानिक व्याख्याको द्वन्द्व पनि उत्तिकै कायमै छ।
संविधानसभाका सदस्य एवं राष्ट्रियसभाका पूर्वसांसद रामनारायण बिडारीले नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन २०७३, स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधन गरेर मात्र स्थानीय तह गैरदलीय बनाउन सकिने बताए। उनले दोस्रो संविधानसभामा स्थानीय तह निर्दलीय बनाउन व्यक्तिगत रूपमा निकै प्रयास गरे पनि कांग्रेस र एमालेले असहमति जनाएको बताए। संविधानमा स्थानीय तहबाहेक बहुदलीय प्रतिस्पर्धामा आधारित भनिएको भए अहिले संविधान संशोधन गर्नुपर्दैनथ्यो भन्ने उनको तर्क छ।
नेपालको संविधानले मुलुकको समग्र शासकीय संरचनालाई बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीका रूपमा परिभाषित गरेको छ।
संविधानको प्रस्तावनाले नै प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणालीप्रति प्रतिबद्धता जनाएको छ भने धारा ७४ ले यसलाई देशको आधिकारिक शासकीय स्वरूपका रूपमा स्थापित गरेको छ। यसका साथै धारा २६९ र २७० ले राजनीतिक दलको गठन, सञ्चालन र राजनीतिक प्रतिस्पर्धालाई संवैधानिक हकका रूपमा संरक्षण गर्दै दलमाथि प्रतिबन्ध लगाउन नपाइने सुनिश्चितता प्रदान गरेका छन्। यसलाई आधार बनाएर संविधान र कानुन संशोधन नगरी स्थानीय तहलाई गैरदलीय बनाउन नमिल्ने तर्क उनीलगायत एकथरीले गर्दै आएका छन्।
एमालेका नेता तथा सांसद गुरु बरालले पनि संविधानको विद्यमान प्रावधानका कारण स्थानीय तह वा सम्बन्धित निकायलाई गैरदलीय बनाउन नमिल्ने बताए। ‘संविधान र ऐनहरू दलीय व्यवस्थालाई प्रवद्र्धन गर्ने सिद्धान्तअनुसार बनेका छन्। संविधानले गैरदलीय व्यवस्थाको कल्पना नै गरेको छैन,’ उनले भने, ‘त्यसैले संवैधानिक व्यवस्थाबमोजिम यसलाई गैरदलीय बनाउन मिल्दैन।’
जनमत पार्टीका अध्यक्ष सिके राउतले जनप्रतिनिधिलाई पार्टीको ह्विपमा नबाँध्ने र दलगत चिह्नबिना प्रतिस्पर्धा गराउने विकल्पबाट संविधान संशोधन नगरी पनि गैरदलीय अभ्यास सम्भव हुन सक्ने तर्क गरेका छन्। अर्कातर्फ निर्वाचन आयोगले संविधान संशोधनसम्बन्धी सुझावमा स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने विषय समावेश गरेको छ। आयोगको यो सुझावले विषयलाई थप संवैधानिक बहसमा प्रवेश गराएको छ।
केही विश्लेषकका अनुसार संविधान संशोधनको विषय अघि बढे संविधानको धारा २७४ अनुसार दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ समर्थन आवश्यक पर्छ। त्यसैले गैरदलीय निर्वाचनको विषय प्राविधिक रूपमा निर्वाचन आयोगले मात्रै निर्णय गरेर लागु गर्न सक्ने अवस्था छैन।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पनि आगामी निर्वाचन विद्यमान संविधान र कानुनअनुसार हुनुपर्ने धारणा राखेका छन्। श्रम संस्कृति पार्टीका नेता रामप्रसाद चौलागाईंले पनि घोषणा गर्दैमा गैरदलीय प्रणाली व्यावहारिक रूपमा कार्यान्वयन गर्न कठिन हुने बताएका छन्। रास्वपाभित्रै पनि गैरदलीय निर्वाचनको अवधारणा र त्यसको व्यावहारिक कार्यान्वयनबारे मतभिन्नताको चर्चा हुन थालेको छ। यसले गैरदलीय निर्वाचनको माग राजनीतिक नाराका रूपमा लोकप्रिय भए पनि त्यसको संस्थागत स्वरूप निर्धारण गर्न सहज नभएको देखाउँछ।
पूर्वप्रमुख निर्वाचन आयुक्तहरूबिच निर्वाचन खर्च नियन्त्रण र कानुनी सुधारमा साझा चिन्ता देखिए पनि स्थानीय तहको प्रणाली नै फेर्ने विषयमा एकरूपता छैन। सार्वजनिक बहस हेर्दा भोजराज पोखरेलले बढ्दो निर्वाचन खर्च र राजनीतिक वित्त व्यवस्थापनको समस्यालाई लिएर स्थानीय तहमा स्वतन्त्र उम्मेदवारीको विकल्पलाई सुधारको एक पाटाका रूपमा औंल्याएका छन्।
नीलकण्ठ उप्रेतीले स्थानीय तहको विद्यमान संरचना उपयुक्त रहेकाले सानातिना कमजोरी सच्याउँदै जानुपर्ने तर सुधारको मुख्य प्राथमिकता संघ र प्रदेशको निर्वाचन प्रणाली तथा प्रतिनिधित्वमा हुनुपर्ने फरक मत राखेको पाइन्छ। दिनेश थपलियाले प्रणालीगत परिवर्तनभन्दा विद्यमान संरचनाभित्रै निर्वाचन खर्च नियन्त्रण, आचारसंहिताको कडा पालना, मतदाता नामावली शुद्धीकरण र छरिएका निर्वाचन कानुनको एकीकरणमा जोड दिएका छन्।
सूर्यप्रसाद श्रेष्ठले ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन नालीबेली’ पुस्तकमार्फत पञ्चायतकालीन निर्दलीय निर्वाचनको इतिहास र नेपालको निर्वाचन विकास क्रम समेटे पनि वर्तमान स्थानीय तहलाई गैरदलीय बनाउने छुट्टै प्रस्ताव भने गरेका छैनन्। विश्लेषकले गैरदलीय प्रणालीका समर्थकहरूले दलीय गुटबन्दी, आर्थिक प्रभाव र पहुँचको अवरोध हटेपछि महिला, दलित तथा अल्पसंख्यक समुदायले सहजै अवसर पाउने अपेक्षा गरेका छन् तर दलीय व्यवस्था समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने संस्थागत संयन्त्रसमेत भएकाले गैरदलीय प्रणालीमा स्पष्ट कानुनी व्यवस्था नभए उल्टै आर्थिक र सामाजिक रूपमा प्रभावशाली वर्गको वर्चस्व बढ्ने जोखिम रहने औंल्याएका छन्।
नेपालको संविधानले स्थानीय तहलाई संघीय संरचनाको तेस्रो तहका रूपमा स्थापित गरेको छ। स्थानीय तह केवल प्रशासनिक सेवा प्रवाह गर्ने निकाय होइन, कार्यकारिणी र विधायिकी अधिकारसमेत भएको सरकार हो। स्थानीय सभा, कार्यपालिका, न्यायिक समिति र स्थानीय कानुन निर्माणको अधिकारले यसको राजनीतिक तथा संस्थागत महत्व स्थापित गरेको छ। संविधानले संघीय सरकारले स्थानीय तहलाई कारबाही गर्न सक्ने व्यवस्था छैन तर कानुन बनाएर यस्तो प्रावधान राखिएकोप्रति संविधानसभाका सदस्य बिडारीले असहमति जनाएका छन्। यसलाई पनि परिवर्तन गर्नुपर्ने उनले बताए।
स्थानीय तहको सुधार चुनाव चिह्न हटाउँदैमा स्वतः सम्भव हुँदैन, दलीय भूमिकालाई पूर्ण रूपमा निषेध गर्दा लोकतान्त्रिक उत्तरदायित्व कमजोर हुने जोखिम रहेकाले वास्तविक बहस स्थानीय सरकारलाई कसरी पारदर्शी, समावेशी र नागरिकप्रति जवाफदेही बनाउने भन्ने शासन शैलीको रूपान्तरणमा केन्द्रित हुनुपर्छ भन्ने विश्लेषण पनि छ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...