एआईमैत्री बन्दै स्थानीय सरकार
२६ भदौ २०८३
•
९ मिनेट पाठ
एआईमैत्री बन्दै स्थानीय सरकार
स्थानीय तहमा सेवा प्रवाह गर्ने परम्परागत शैलीलाई प्रविधिमैत्री बनाउने प्रयाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्न थालिएको छ।




नागरिकका सामान्य जिज्ञासाको सुनुवाइदेखि सेवा प्रवाह, आवश्यक कागजात, गुनासा दर्ता र फोनमार्फत सूचना उपलब्ध गराउनेसम्मका काममा एआईको प्रयोग गर्न थालिएको हो। यो नयाँ अभ्याससँगै स्थानीय सरकारको सेवा प्रवाह प्रविधिमैत्री बन्न थालेको छ ।

सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने प्रयाससँगै नेपालगन्ज उपमहानगरपालिकाले एआईमा आधारित असिस्टेन्ट अर्थात् सहायक सञ्चालनमा ल्याएको छ। पालिकाका सार्वजनिक सूचना तथा सेवाप्रवाहसँग सम्बन्धित जानकारी नागरिकलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको एआई असिस्टेन्ट अहिले परीक्षण चरणमा छ।

नागरिकले पालिकाबाट प्राप्त हुने सेवा, प्रक्रिया, त्यसका लागि आवश्यक कागजात, सार्वजनिक सूचना र अन्य सामान्य जानकारीका विषयमा एआई असिस्टेन्टमार्फत सोधपुछ गर्न सक्नेछन्। कार्यालयमा पुगेर कर्मचारीसँग जानकारी लिनुपर्ने वा फोन गरेर सोध्नुपर्ने अवस्था अन्त्य गर्न डिजिटल माध्यमबाटै सेवा उपलब्ध गराउने अभ्यासमा लागिएको उपमहानगरपालिकाले जनाएको छ ।

एआई प्रयोगसँगै स्थानीय सरकार प्रविधिमैत्री चरणमा प्रवेश गरेका छन्। बुटवल उपमहानगरपालिका एआई च्याटबोट सञ्चालनमा ल्याउने नेपालकै पहिलो पालिका भएको दाबी गरिएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सञ्चालनमा ल्याइएको च्याटबोटले सेवाग्राहीलाई पालिकाबाट उपलब्ध हुने विभिन्न सेवा र आवश्यक कागजातबारे जानकारी दिने उद्देश्य राखेको छ।

यसैगरी काठमाडौं महानगरपालिका–१७ ले नेपालमै पहिलोपटक एआईमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ। तोकिएको नम्बरमा फोन गर्दा एआई भ्वाइस असिस्टेन्टले सेवाग्राहीसँग स्वचालित रूपमा संवाद गरी जिज्ञासाको जवाफ दिने व्यवस्था गरिएको छ। एआईले समाधान गर्न नसकेका विषयमा भने फोन आफैं वडा कार्यालयका कर्मचारीकहाँ स्थानान्तरण हुने प्रणाली बनाइएको छ ।

ललितपुर महानगरपालिकाले पनि डिजिटल गभर्नेन्सलाई प्राथमिकता दिँदै एआईमा आधारित च्याटबोट सेवा अघि बढाएको छ। डिपिओ डटकम र युएनडिपीसँगको सहकार्यमा अघि बढाइएको यस्तो प्रणालीले स्थानीय सरकार र नागरिकबिचको दुईतर्फी सञ्चारलाई सहज बनाउने अपेक्षा गरिएको छ।

ललितपुर महानगरपालिका–३ तथा रुकुम पश्चिमका स्थानीय तहले पनि फोन तथा टेक्स्टमा आधारित एआई प्रणालीमार्फत चौबिसै घण्टा सेवा जानकारी, आवश्यक कागजातको सूची तथा गुनासो दर्ता गर्ने अभ्यास थालेका छन्।

नेपालमा स्थानीय तह सेवा प्रवाहमा एआईको प्रयोग विस्तार भइरहेका बेला नेपालगन्ज उपमहानगरपालिकाले यसलाई आफ्नो नीति तथा कार्यक्रममै समेटेको छ। नगर प्रमुख प्रशान्त विष्टका अनुसार समाज आधुनिक युगमा प्रवेश गरिसकेकाले नागरिकको सहजताका लागि एआई असिस्टेन्ट राखिएको हो।

सामान्य प्रकृतिका जिज्ञासा अब एआईमार्फत सोध्न सकिने र यसले नागरिकलाई सेवा लिन सहज हुने उनको भनाइ छ। ‘एआईको प्रयोग नीति तथा कार्यक्रममै उल्लेख गरिएको छ। समाज आधुनिक युगमा प्रवेश गरेकाले नागरिकको सहजताका लागि एआईमार्फत असिस्टेन्ट राखिएको हो,’ विष्टले भने, ‘सामान्य कुराहरू अब एआईबाट सोधपुछ गर्न सकिने भएकाले नागरिकलाई सहज हुनेछ।’

स्थानीय तहमा एआईको प्रवेशसँगै यसको प्रभावकारिता र जोखिमबारे पनि प्रश्न उठ्न थालेका छन्। एआईले नागरिकलाई तत्काल सूचना दिन सके पनि उसले उपलब्ध गराउने सूचना सही हुन्छ–हुँदैन, अद्यावधिक र पालिकाको वास्तविक निर्णयसँग मेल खान्छ कि खाँदैन भन्ने विषय पनि उठेको छ। कानुन, कार्यविधि, शुल्क, आवश्यक कागजात वा सेवा प्रक्रियामा परिवर्तन भए पनि एआई प्रणालीमा समयमै विवरण अद्यावधिक नभए गलत सूचना नागरिकसम्म पुग्न सक्छ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मानबहादुर बम अहिले एआई असिस्टेन्ट प्रणाली परीक्षणकै क्रममा रहेको बताउँछन्। उनका अनुसार परीक्षण सफल भए नियमित सञ्चालनमा लैजाने तयारी छ। परीक्षण परिणाम हेरेर आगामी प्रक्रिया अघि बढाइनेछ। ‘अहिले हामी परीक्षणका क्रममा छौं। परीक्षण सफल भयो भने यसलाई नियमित गर्ने हो,’ बमले भने, ‘अहिले शाखाका विवरणहरू अपडेट भइरहेका छन्। एआईलाई नगरका विषयमा पूरा पढाउन बाँकी छ ।’

एआईलाई पालिकाका सेवा, शाखा, प्रक्रिया, ऐनकानुन र निर्णयबारे पर्याप्त जानकारी उपलब्ध नगराई सञ्चालन गर्दा नागरिकले गलत उत्तर पाउने सम्भावना रहन्छ। त्यसैले एआईलाई कर्मचारीको विकल्पभन्दा पनि कर्मचारीको कामलाई सहयोग गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने देखिन्छ। यसको अर्को महत्त्वपूर्ण जोखिम नागरिकका व्यक्तिगत विवरणको सुरक्षा हो।

नागरिकले फोन, च्याट वा गुनासो प्रणालीमार्फत आफ्नो नाम, ठेगाना, फोन नम्बर, कागजात तथा अन्य विवरण उपलब्ध गराउन सक्छन्। यस्ता सूचना कहाँ भण्डारण हुन्छन्, कसले पहुँचमा पुग्छन्, कति समयसम्म राखिन्छन् र तेस्रो पक्षले प्रयोग गर्न पाउँछ कि पाउँदैन भन्ने विषय स्पष्ट नहुँदा डिजिटल सेवामाथि नागरिकको विश्वास कमजोर हुन सक्छ।

त्यसैगरी एआईले सबै नागरिकलाई समान रूपमा सेवा दिन सक्ने अवस्था पनि चुनौतीपूर्ण छ। इन्टरनेट, स्मार्टफोन वा डिजिटल प्रविधिको पहुँच नभएका नागरिक परम्परागत माध्यममै निर्भर छन्। प्रविधिको प्रयोग बढाउँदा कार्यालयमा प्रत्यक्ष सेवा लिन चाहने वा डिजिटल ज्ञान कम भएका नागरिकलाई सेवाबाट वञ्चित हुने अवस्था आउन नदिन वैकल्पिक सेवा कायम राख्नुपर्ने हुन्छ ।

एआईको अर्को जोखिम जवाफदेहिताको प्रश्न पनि हो। एआईले गलत सूचना दिएर नागरिकलाई आर्थिक वा प्रशासनिक क्षति भयो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने विषय महत्त्वपूर्ण छ। एआईले दिएको उत्तरलाई अन्तिम सरकारी निर्णय नमानिने र संवेदनशील विषयमा सम्बन्धित कर्मचारीबाट प्रमाणीकरण हुने व्यवस्था आवश्यक हुन्छ ।

जोखिमसँगै यसको फाइदा पनि छ। चौबिसै घण्टा सेवाबारे जानकारी उपलब्ध हुँदा कार्यालय खुल्नुपर्ने समय कुर्नुपर्ने बाध्यता घट्छ। एउटै प्रकृतिका प्रश्नमा कर्मचारीले पटकपटक जवाफ दिनुपर्ने समय बचत हुन्छ।

कर्मचारीलाई जटिल तथा निर्णय आवश्यक पर्ने काममा केन्द्रित हुन सहज हुन्छ। नागरिकले सेवा प्रक्रिया, आवश्यक कागजात, शाखा तथा सम्पर्कबारे घरबाटै जानकारी पाउन सक्छन्। एआईले भविष्यमा नागरिकलाई आफैं सम्पर्क गर्ने प्रणाली विकास गर्न सकिने सम्भावना पनि छ।

बमका अनुसार आवश्यकता हेरेर भविष्यमा सेवाग्राहीलाई एआई प्रणालीले आफैं कल गर्ने व्यवस्था पनि गर्न सकिनेछ। यस्तो प्रणाली प्रभावकारी रूपमा विकास भए कर तिर्ने समय, सेवा नवीकरण, कागजातको म्याद वा अन्य सार्वजनिक सेवासम्बन्धी सूचना नागरिकलाई समयमै पु¥याउन सकिनेछ ।

स्थानीय तहमा एआईको प्रयोग विस्तार भइरहँदा अब प्रश्न एआई राख्ने कि नराख्ने भन्नेभन्दा पनि कस्तो एआई, कुन उद्देश्यका लागि र कति सुरक्षित ढंगले प्रयोग गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ।

नागरिकको अधिकार, गोपनीयता र सरकारी सूचनाको विश्वसनीयतालाई केन्द्रमा राखेर एआई प्रणाली सञ्चालन गर्न सके यसले स्थानीय सरकारको सेवा प्रवाहलाई सरल र नागरिकमैत्री बनाउन सक्छ तर पर्याप्त परीक्षण, नियमित डेटा अद्यावधिक, मानवीय निगरानी र स्पष्ट जवाफदेहिताबिना एआई प्रयोग गरिएमा यो जोखिमको स्रोत बन्न सक्छ।

‘मानव अस्तित्वमै चुनौती बन्न सक्छ’

क्याम्ब्रिज विश्वविद्यालयका मेसिन लर्निङका प्राध्यापक नील लरेन्सले बिबिसी रेडियो–४ को ‘टुडे’ भन्ने कार्यक्रममा यो रिपोर्ट विश्वसनीय देखिएको बताएका छन्। उनका अनुसार अमेरिकामा एआई विकासलाई अमेरिका र चीनबिचको प्रतिस्पर्धाका रूपमा हेर्ने धारणा बलियो हुँदै गएको छ। ‘अमेरिका अन्य देशबाट निरन्तर विमुख हुँदै गएको छ,’ उनले भने, ‘त्यसैले अमेरिकी प्रशासनले आफ्ना केही साझेदार देशसँगको सहकार्य घटाउन खोजिरहेको हुन सक्छ ।’

सुपर इन्टेलिजेन्सको तयारी छैन

हुबिंगरले एक्समा लेखेका छन्, ‘हामी वास्तवमै मानव प्रजातिको अस्तित्वका लागि एआई खतरा बन्न सक्छ भन्ने विश्वास गर्छौं।’

उनको यो पोस्ट एक करोडभन्दा बढी पटक हेरिएको बताइएको छ। हुबिंगरले एन्थ्रोपिकले आफ्नातर्फबाट जोखिम कम गर्न सक्दो प्रयास गरिरहेको भए पनि ‘सुपर इन्टेलिजेन्स’ अर्थात् मानिसभन्दा अत्यन्तै बढी बौद्धिक क्षमता भएको एआईका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी अझै नभएको बताएका छन्। ‘हामीसँग सुपर इन्टेलिजेन्सका लागि एआई अलाइनमेन्टको समस्या समाधान गर्ने कुनै योजना छैन। न त हामी त्यस दिशामा स्पष्ट रूपमा अघि बढिरहेको देखिन्छ,’ उनले लेखेका छन्।

‘एआई अलाइनमेन्ट’ भन्नाले एआईलाई मानिसका मूल्य, नैतिकता र उद्देश्यअनुसार काम गर्ने गरी विकास गर्नु हो। सरल भाषामा भन्नुपर्दा एआईले मानिसले चाहेको उद्देश्यअनुसार नै काम गरोस् र आफ्नै छुट्टै उद्देश्य बनाएर गलत दिशामा नजाओस् भन्ने सुनिश्चित गर्नु एआई अलाइनमेन्टको मुख्य उद्देश्य हो ।

अनुसन्धानकर्ताको प्रमुख चिन्ता एआई मानवले चाहेभन्दा फरक दिशामा जान सक्ने सम्भावनाप्रति हो। अर्को चिन्ता एआई आफैंलाई सुधार गर्दै र आफ्नै प्रतिलिपि बनाउँदै स्वायत्त रूपमा अझ शक्तिशाली बन्न सक्ने सम्भावना हो। यस्तो सम्भावना ‘द टर्मिनेटरदेखि होराइजन: फोर्बिडन वेस्ट’ जस्ता विज्ञान कथामा समेत देखाइएको छ ।

एन्थ्रोपिकको रिपोर्ट के भन्छ?

गत अगस्टमा प्रकाशित एन्थ्रोपिकको सुरक्षा रिपोर्टमा कम्पनीले आफ्ना एआई मोडल कुनै शक्तिशाली संस्थाको इच्छाअनुसार गलत दिशामा जान सक्ने जोखिमलाई ‘कम’ मूल्यांकन गरेको थियो। यस्तो अवस्थामा एआई मोडलले कम्पनीको प्रणालीको दुरुपयोग गर्न वा त्यसमा हस्तक्षेप गर्न सक्ने रिपोर्टमा उल्लेख छ।

त्यसैगरी अत्यन्त सक्षम एआईले आफैं अनुसन्धान र विकास गर्न सक्ने सम्भावना पनि हाल ‘कम’ रहेको कम्पनीको आकलन छ। तर यस्तो क्षमता विकास भएमा एआईबाट ठुलो क्षति हुन सक्ने चेतावनी रिपोर्टले दिएको छ तर यो आकलनप्रति कम्पनीको विश्वास पहिलेको तुलनामा घटेको पनि रिपोर्टमा उल्लेख छ। ‘हामीले एआईको क्षमता तीव्र रूपमा बढ्न थालेका प्रारम्भिक संकेतहरू देखिरहेका छौं,’ रिपोर्टमा लेखिएको छ ।

एआई एजेन्टबाट साइबर आक्रमण

एआई क्षेत्रका धेरै विज्ञले लामो समयदेखि यो प्रविधिबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे चेतावनी दिँदै आएका छन्। सन् २०२३ मा ओपनएआई, गुगल डिपमाइन्ड र एन्थ्रोपिकका प्रमुखहरूले पनि एआईबाट हुनसक्ने जोखिमबारे चिन्ता व्यक्त गरेका थिए तर पछिल्ला केही सातामा यस्ता चेतावनी अझ गम्भीर बनेका छन्। यसको एउटा कारण एआईमाथि नियन्त्रण कायम राख्न कम्पनीहरूलाई नै कठिन हुन सक्ने संकेतहरू देखिनु हो ।

हालै एआई एजेन्ट साइबर आक्रमणमा प्रयोग भएका केही घटना सार्वजनिक भएका छन्। एआई एजेन्ट भनेको मानिसले निरन्तर निर्देशन दिइरहनु नपर्ने र केही काम आफैं गर्न अनुमति दिइएको प्रणाली हो।

ओपनएआई, एन्थ्रोपिक र मेटा कम्पनीले आफ्ना एआई प्रविधि ह्याकिङमा प्रयोग भएको जानकारी सार्वजनिक गरेका छन्। ओपनएआईका प्रमुख वैज्ञानिक याकुब पाचोकीले एआईको तीव्र विकासप्रति अत्यधिक सावधानी अपनाउन आग्रह गरेका थिए। भविष्यमा पनि एआईमा नियन्त्रण कायम राख्न थप हस्तक्षेप आवश्यक पर्न सक्ने चेतावनी उनले दिएका छन्।

पछिल्ला केही महिनामा एआई क्षेत्रका केही प्रमुख व्यक्तिले एआई विकासको गतिलाई केही कम गर्नुपर्ने बताएका छन्। यस्तो भन्नेमा एन्थ्रोपिकका प्रमुख डारियो अमोदेई र जेरेड क्याप्लान पनि छन्।

एआई कम्पनीमा काम गर्ने करिब एक हजार तीन सय कर्मचारीले एउटा खुला पत्रमा हस्ताक्षर गर्दै अमेरिकी सरकारलाई एआई विकासको सबैभन्दा उन्नत प्रविधिको गति नियन्त्रण गर्न आवश्यक प्राविधिक तथा प्रशासनिक व्यवस्था विकास गर्ने अन्तर्राष्ट्रिय प्रयासलाई समर्थन गर्न आग्रह गरेका छन्।

(बिबिसीबाट)
अर्को समाचार
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
१२ मिनेट अघि
•
१ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भन्नेमा फेरि बहस सुरु भएको छ।




संविधान संशोधनका क्रममा स्थानीय निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगले नै सुझाव दिएपछि यो विषयले नीतिगत बहसको रूप लिएको हो। नागरिक अभियान, नयाँ राजनीतिक दल र केही नेता यसको पक्षमा उभिए पनि राजनीतिक दलहरूमा भने यसप्रति संशय र असहमति देखिएको छ।

यसैक्रममा निर्वाचनको तयारी चलिरहँदा ‘गैरदलीय स्थानीय सरकार निर्माण अभियान’ र ‘स्वतन्त्र नागरिक अभियान’ लगायत समूहले दलीय चुनाव चिह्न हटाएर स्वतन्त्र उम्मेदवारबिच प्रतिस्पर्धा गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन्। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने अवधारणालाई आफ्नो राजनीतिक अजेन्डाका रूपमा अघि सारेको थियो।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि आयोगमा ज्ञापनपत्र बुझाएर यस विषयमा ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रकाशचन्द्र लोहनीले पनि गैरदलीय निर्वाचनको समर्थन गरेका छन्।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि गैरदलीय स्थानीय तहको अवधारणाप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। कात्तिक २१ मा गैरदलीय स्थानीय सरकार निर्माण अभियानका प्रतिनिधिहरूसँगको भेटमा उनले यस विषयमा आफूले पनि छलफल गरिरहेको र कांग्रेस सकारात्मक रहेको बताएका थिए। यद्यपि पार्टीको केन्द्रीय निकायबाट औपचारिक निर्णय भने भइसकेको छैन।

यसरी हेर्दा गैरदलीय स्थानीय निर्वाचनको पक्षमा फरक राजनीतिक पृष्ठभूमिका व्यक्ति र समूह देखिएका छन् तर यसको पक्षमा देखिएको समर्थनलाई राजनीतिक दलहरूको संस्थागत सहमति भने मान्न सकिँदैन।

गैरदलीय निर्वाचनको पक्षमा उभिनेहरूको प्रमुख तर्क स्थानीय तहमा बढ्दो राजनीतिक हस्तक्षेप र दलीय भागबन्डा अन्त्य गर्नुपर्छ भन्ने हो। स्थानीय सरकार नागरिकसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले उम्मेदवारको मूल्यांकन पार्टीगत आबद्धताभन्दा उसको क्षमता, इमानदारी, कार्यसम्पादन र स्थानीय आवश्यकताका आधारमा हुनुपर्ने उनीहरूको तर्क छ।

पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आफू प्रमुख निर्वाचन आयुक्त हुने बेलामा पनि स्थानीय तहको गैरदलीय निर्वाचनका विषयमा छलफल भएको बताए तर राजनीतिक दलको सहमति नभएपछि त्यो हुन नसकेको उनको अनुभव छ। ‘म निर्वाचन आयोगमा हुँदा पनि गैरदलीयको विषयमा थुप्रै छलफल भएको थियो तर त्यो हुन सकेन,’ उनी भन्छन्, ‘राजनीतिक दलको समझदारीमा निर्भर हुने भएकाले यसमा राजनीतिक समझदारी आवश्यक पर्दछ।’

आफ्नो अनुभवका आधारमा हेर्दा स्थानीय तह सामाजिक, आर्थिक, राजनीतिक तथा सामाजिक व्यवहारसँग जोडिएको विषय भएकाले स्वतन्त्र व्यक्तिहरूबाटै निर्वाचन गराउँदा कुनै अप्ठ्यारो नहुने उनको भनाइ छ। यसबाट नेतृत्व विकासको अभ्यास हुने र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने उनले उल्लेख गरे। साथै निर्वाचन सञ्चालन (कन्डक्ट) र खर्च (कस्ट) को हिसाबले पनि गैरदलीय प्रणाली आवश्यक रहेको उनले बताए।

स्थानीय तहमा विकास निर्माणका योजना छनोट, बजेट विनियोजन, उपभोक्ता समिति गठन, कर्मचारी व्यवस्थापन र सेवा प्रवाहसम्म राजनीतिक प्रभाव देखिने गरेको आलोचना हुँदै आएको छ। कतिपय ठाउँमा राजनीतिक दलका प्रतिनिधिबिचको प्रतिस्पर्धा विकास र सेवा प्रवाहको विषयभन्दा दलगत प्रतिष्ठाको विषय बन्ने गरेको छ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूबिच राजनीतिक प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि त्यसले गाउँ र टोलसम्म विभाजन निम्त्याउने अवस्था आउनु उचित नभएको गैरदलीय प्रणालीका समर्थकहरूको भनाइ छ। गैरदलीय प्रणाली लागु भए स्थानीय तहमा दलगत भागबन्डा कम हुने, स्वतन्त्र र योग्य व्यक्तिले अवसर पाउने तथा स्थानीय मुद्दाले प्राथमिकता पाउने उनीहरूको अपेक्षा छ।

पूर्वप्रमुख निर्वाचन आयुक्त यादवका अनुसार चुनाव चिह्न हटाउँदैमा स्थानीय तहको राजनीतीकरण अन्त्य हुन्छ भन्ने निश्चित छैन। कुनै व्यक्ति दलको औपचारिक उम्मेदवार नबने पनि उसको राजनीतिक आबद्धता, विचारधारा र प्रभाव कायमै रहन्छ। दलहरूले प्रत्यक्ष रूपमा उम्मेदवार नउठाए पनि पछाडिबाट अप्रत्यक्ष समर्थन गरिरहने सम्भावना रहन्छ। त्यसैले प्रश्न चुनाव चिह्नको मात्र होइन, स्थानीय सरकारमा राजनीतिक दलहरूको भूमिका र जनप्रतिनिधिको जवाफदेहितासँग पनि जोडिएको देखिन्छ।

नेपालको संविधानको धारा २१५ र २१६ ले गाउँपालिका तथा नगरपालिकाको कार्यपालिका गठन र प्रमुख पदाधिकारीको निर्वाचनसम्बन्धी व्यवस्था गरेको छ। यी धाराहरूमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको निर्वाचन गोप्य मतदानबाट पहिलो हुने निर्वाचित हुने प्रणालीअनुसार हुने उल्लेख छ। तर उम्मेदवार अनिवार्य रूपमा राजनीतिक दलकै हुनुपर्ने स्पष्ट व्यवस्था संविधानमा छैन।

तर स्थानीय तह निर्वाचन ऐन २०७३ ले राजनीतिक दलबाट उम्मेदवारी दिने, दलको चुनाव चिह्न प्रयोग गर्ने र निर्वाचन सञ्चालन गर्ने प्रक्रिया निर्धारण गरेको छ। त्यसैले संविधानमा दलीय निर्वाचन अनिवार्य नभएको तर्कका आधारमा विद्यमान कानुनी व्यवस्था स्वतः हट्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७, १८ र २६ ले दलगत उम्मेदवारी, आधिकारिक टिकट र चुनाव चिह्नको स्पष्ट व्यवस्था गरेको छ। कानुनी शासनको सिद्धान्तअनुसार संसद्ले संशोधन नगरेसम्म वा सर्वोच्च अदालतले बदर नगरेसम्म विद्यमान ऐनहरू सक्रिय रहन्छन्। यही मंसिर ४ गते ‘गैरदलीय स्थानीय सरकार निर्माण अभियान’ले बुझाएको ज्ञापनपत्रमा समेत यिनै दफाहरू संशोधन गर्नुपर्ने माग उठाइएको छ। अर्कातर्फ संविधानले बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली आत्मसात् गरेकाले स्थानीय तह पूर्ण रूपमा गैरदलीय हुन सक्छ कि सक्दैन भन्ने संवैधानिक व्याख्याको द्वन्द्व पनि उत्तिकै कायमै छ।

संविधानसभाका सदस्य एवं राष्ट्रियसभाका पूर्वसांसद रामनारायण बिडारीले नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन २०७३, स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधन गरेर मात्र स्थानीय तह गैरदलीय बनाउन सकिने बताए। उनले दोस्रो संविधानसभामा स्थानीय तह निर्दलीय बनाउन व्यक्तिगत रूपमा निकै प्रयास गरे पनि कांग्रेस र एमालेले असहमति जनाएको बताए। संविधानमा स्थानीय तहबाहेक बहुदलीय प्रतिस्पर्धामा आधारित भनिएको भए अहिले संविधान संशोधन गर्नुपर्दैनथ्यो भन्ने उनको तर्क छ।

नेपालको संविधानले मुलुकको समग्र शासकीय संरचनालाई बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीका रूपमा परिभाषित गरेको छ।

संविधानको प्रस्तावनाले नै प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणालीप्रति प्रतिबद्धता जनाएको छ भने धारा ७४ ले यसलाई देशको आधिकारिक शासकीय स्वरूपका रूपमा स्थापित गरेको छ। यसका साथै धारा २६९ र २७० ले राजनीतिक दलको गठन, सञ्चालन र राजनीतिक प्रतिस्पर्धालाई संवैधानिक हकका रूपमा संरक्षण गर्दै दलमाथि प्रतिबन्ध लगाउन नपाइने सुनिश्चितता प्रदान गरेका छन्। यसलाई आधार बनाएर संविधान र कानुन संशोधन नगरी स्थानीय तहलाई गैरदलीय बनाउन नमिल्ने तर्क उनीलगायत एकथरीले गर्दै आएका छन्।

एमालेका नेता तथा सांसद गुरु बरालले पनि संविधानको विद्यमान प्रावधानका कारण स्थानीय तह वा सम्बन्धित निकायलाई गैरदलीय बनाउन नमिल्ने बताए। ‘संविधान र ऐनहरू दलीय व्यवस्थालाई प्रवद्र्धन गर्ने सिद्धान्तअनुसार बनेका छन्। संविधानले गैरदलीय व्यवस्थाको कल्पना नै गरेको छैन,’ उनले भने, ‘त्यसैले संवैधानिक व्यवस्थाबमोजिम यसलाई गैरदलीय बनाउन मिल्दैन।’

जनमत पार्टीका अध्यक्ष सिके राउतले जनप्रतिनिधिलाई पार्टीको ह्विपमा नबाँध्ने र दलगत चिह्नबिना प्रतिस्पर्धा गराउने विकल्पबाट संविधान संशोधन नगरी पनि गैरदलीय अभ्यास सम्भव हुन सक्ने तर्क गरेका छन्। अर्कातर्फ निर्वाचन आयोगले संविधान संशोधनसम्बन्धी सुझावमा स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने विषय समावेश गरेको छ। आयोगको यो सुझावले विषयलाई थप संवैधानिक बहसमा प्रवेश गराएको छ।

केही विश्लेषकका अनुसार संविधान संशोधनको विषय अघि बढे संविधानको धारा २७४ अनुसार दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ समर्थन आवश्यक पर्छ। त्यसैले गैरदलीय निर्वाचनको विषय प्राविधिक रूपमा निर्वाचन आयोगले मात्रै निर्णय गरेर लागु गर्न सक्ने अवस्था छैन।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पनि आगामी निर्वाचन विद्यमान संविधान र कानुनअनुसार हुनुपर्ने धारणा राखेका छन्। श्रम संस्कृति पार्टीका नेता रामप्रसाद चौलागाईंले पनि घोषणा गर्दैमा गैरदलीय प्रणाली व्यावहारिक रूपमा कार्यान्वयन गर्न कठिन हुने बताएका छन्। रास्वपाभित्रै पनि गैरदलीय निर्वाचनको अवधारणा र त्यसको व्यावहारिक कार्यान्वयनबारे मतभिन्नताको चर्चा हुन थालेको छ। यसले गैरदलीय निर्वाचनको माग राजनीतिक नाराका रूपमा लोकप्रिय भए पनि त्यसको संस्थागत स्वरूप निर्धारण गर्न सहज नभएको देखाउँछ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूबिच निर्वाचन खर्च नियन्त्रण र कानुनी सुधारमा साझा चिन्ता देखिए पनि स्थानीय तहको प्रणाली नै फेर्ने विषयमा एकरूपता छैन। सार्वजनिक बहस हेर्दा भोजराज पोखरेलले बढ्दो निर्वाचन खर्च र राजनीतिक वित्त व्यवस्थापनको समस्यालाई लिएर स्थानीय तहमा स्वतन्त्र उम्मेदवारीको विकल्पलाई सुधारको एक पाटाका रूपमा औंल्याएका छन्।

नीलकण्ठ उप्रेतीले स्थानीय तहको विद्यमान संरचना उपयुक्त रहेकाले सानातिना कमजोरी सच्याउँदै जानुपर्ने तर सुधारको मुख्य प्राथमिकता संघ र प्रदेशको निर्वाचन प्रणाली तथा प्रतिनिधित्वमा हुनुपर्ने फरक मत राखेको पाइन्छ। दिनेश थपलियाले प्रणालीगत परिवर्तनभन्दा विद्यमान संरचनाभित्रै निर्वाचन खर्च नियन्त्रण, आचारसंहिताको कडा पालना, मतदाता नामावली शुद्धीकरण र छरिएका निर्वाचन कानुनको एकीकरणमा जोड दिएका छन्।

सूर्यप्रसाद श्रेष्ठले ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन नालीबेली’ पुस्तकमार्फत पञ्चायतकालीन निर्दलीय निर्वाचनको इतिहास र नेपालको निर्वाचन विकास क्रम समेटे पनि वर्तमान स्थानीय तहलाई गैरदलीय बनाउने छुट्टै प्रस्ताव भने गरेका छैनन्। विश्लेषकले गैरदलीय प्रणालीका समर्थकहरूले दलीय गुटबन्दी, आर्थिक प्रभाव र पहुँचको अवरोध हटेपछि महिला, दलित तथा अल्पसंख्यक समुदायले सहजै अवसर पाउने अपेक्षा गरेका छन् तर दलीय व्यवस्था समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने संस्थागत संयन्त्रसमेत भएकाले गैरदलीय प्रणालीमा स्पष्ट कानुनी व्यवस्था नभए उल्टै आर्थिक र सामाजिक रूपमा प्रभावशाली वर्गको वर्चस्व बढ्ने जोखिम रहने औंल्याएका छन्।

नेपालको संविधानले स्थानीय तहलाई संघीय संरचनाको तेस्रो तहका रूपमा स्थापित गरेको छ। स्थानीय तह केवल प्रशासनिक सेवा प्रवाह गर्ने निकाय होइन, कार्यकारिणी र विधायिकी अधिकारसमेत भएको सरकार हो। स्थानीय सभा, कार्यपालिका, न्यायिक समिति र स्थानीय कानुन निर्माणको अधिकारले यसको राजनीतिक तथा संस्थागत महत्व स्थापित गरेको छ। संविधानले संघीय सरकारले स्थानीय तहलाई कारबाही गर्न सक्ने व्यवस्था छैन तर कानुन बनाएर यस्तो प्रावधान राखिएकोप्रति संविधानसभाका सदस्य बिडारीले असहमति जनाएका छन्। यसलाई पनि परिवर्तन गर्नुपर्ने उनले बताए।

स्थानीय तहको सुधार चुनाव चिह्न हटाउँदैमा स्वतः सम्भव हुँदैन, दलीय भूमिकालाई पूर्ण रूपमा निषेध गर्दा लोकतान्त्रिक उत्तरदायित्व कमजोर हुने जोखिम रहेकाले वास्तविक बहस स्थानीय सरकारलाई कसरी पारदर्शी, समावेशी र नागरिकप्रति जवाफदेही बनाउने भन्ने शासन शैलीको रूपान्तरणमा केन्द्रित हुनुपर्छ भन्ने विश्लेषण पनि छ।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस