प्रधानमन्त्रीकाे भारत भ्रमण: नयाँ सम्भावना, पुरानै चुनौती
०८ मंसिर २०८३
•
११ मिनेट पाठ
प्रधानमन्त्रीकाे भारत भ्रमण: नयाँ सम्भावना, पुरानै चुनौती
प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी सोमबार काठमाडौं फर्केका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह आइतबार नयाँदिल्ली गएका थिए। यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ राजनीतिक विश्वास र आर्थिक साझेदारीको दिशामा अघि बढाउने अवसर दिएको छ।




नयाँ सरकार गठनपछि प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमण भएकाले यसको राजनीतिक र कूटनीतिक महत्त्व स्वाभाविक रूपमा बढी छ। भारतीय प्रधानमन्त्री मोदीसँगको वार्ता, विकास सहयोग घोषणा, पूर्वाधार आयोजना शिलान्यास, पारवहन र हवाई सम्पर्क विस्तार सहमति तथा विभिन्न क्षेत्रमा भएका समझदारीले भ्रमणलाई उपलब्धिमूलक बनाएका छन् तर यसको वास्तविक सफलता घोषणाको सूचीबाट होइन, कार्यान्वयन प्रतिबद्धता र त्यसबाट नेपालले प्राप्त गर्ने लाभबाट मापन हुनुपर्छ।

भ्रमणका क्रममा भारतले नेपालका लागि २४० अर्ब रुपैयाँको विकास सहयोग पनि घोषणा गरेको छ। कुल रकममध्ये ५६ अर्ब अनुदान र १८४ अर्ब ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय रुपैयाँमा उपलब्ध हुने ऋण हो।

भोटेकोसी–त्रिशूली बाढीपछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनामा अनुदान सहयोग उपलब्ध गराउने भारतीय प्रतिबद्धता सकारात्मक छ। तर २४० अर्ब रुपैयाँलाई अनुदानका रूपमा बुझ्नुहुँदैन। ऋणको उपयोग, ब्याजदर, भुक्तानी अवधि र त्यसबाट निर्माण हुने आयोजनाको प्रतिफल स्पष्ट हुनुपर्छ। विकास सहयोग रकमको आकारले होइन, त्यसले नेपालको उत्पादन, रोजगारी र आर्थिक क्षमतामा पार्ने प्रभावले  निर्धारण गर्छ।

नेपालका लागि पारवहन सुविधाका दृष्टिले गुजरातस्थित दीनदयाल बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने भारतीय घोषणा महत्त्वपूर्ण छ। आवश्यक पूर्वाधार बनेपछि ओडिसाको पारादीप बन्दरगाह उपयोग गर्न पाउने व्यवस्थाले पनि नेपालको समुद्रसम्मको पहुँच विस्तार गर्न सक्छ।

भूपरिवेष्टित मुलुकका रूपमा नेपालले पारवहन सुविधामा विविधता खोज्नु स्वाभाविक हो। एउटा मात्र मार्ग वा बन्दरगाहमा निर्भर रहँदा आपूर्ति प्रणाली र व्यापारमा पर्ने जोखिम कम गर्न यस्ता विकल्प उपयोगी हुन सक्छन्। तर बन्दरगाहसम्म पहुँचको घोषणा मात्रै पर्याप्त हुँदैन। पारवहन लागत, ढुवानी समय, भन्सार प्रक्रिया र नेपाली व्यवसायीले पाउने वास्तविक सुविधाले यसको उपयोगिता निर्धारण गर्नेछ।

हवाई सम्पर्क विस्तारमा काठमाडौं–भैरहवा–लखनऊको विद्यमान हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति पनि सकारात्मक छ। नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उपयोगका लागि यसले सहयोग पुर्‍याउन सक्छ। यद्यपि नेपालको लामो समयदेखिको आवश्यकता थप अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्ग प्राप्त गर्नु हो। एउटा मार्गलाई दुईतर्फी बनाउने सहमतिलाई उपलब्धि मान्दै थप हवाई प्रवेशमार्गको प्रयासलाई निरन्तरता दिनुपर्छ।

रेल तथा सीमापार पूर्वाधारमा भएका सहमति पनि दीर्घकालीन महत्त्वका छन्। अयोध्या–जनकपुर रेल सेवा उद्घाटनले धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावना बढाएको छ। रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण अन्तिम हुनु र नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा भारतले सहकार्य गर्ने सहमतिले नेपालको रेल यातायातको भविष्यप्रति नयाँ अपेक्षा जगाएको छ तर जनकपुर–बर्दिबास रेलमार्ग विस्तारको सम्झौता भएको १६ वर्ष बितिसक्दा पनि आयोजना अधुरै रहनु कार्यान्वयन क्षमतामाथिको प्रश्न हो। नयाँ रेलमार्गको अध्ययन र प्रतिबद्धतासँगै पुराना आयोजनालाई समयमै सम्पन्न गर्ने सुनिश्चितता आवश्यक छ।

ऊर्जा सहकार्यका दृष्टिले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन शीघ्र टुंग्याउने सहमति पनि महत्त्वपूर्ण छन्।

सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनाको अध्ययन अघि बढाउने प्रतिबद्धताले जलस्रोतको उपयोग र बाढी नियन्त्रणमा सहकार्यको सम्भावना देखाएको छ। तर पञ्चेश्वर आयोजना लामो समयदेखि छलफल र प्रतिबद्धतामै सीमित छ। अब पनि प्रतिवेदन टुंग्याउने सहमति मात्रै दोहोरिने हो भने यस्ता प्रतिबद्धताको अर्थ रहँदैन। नेपालले जलविद्युत् उत्पादनसँगै सिँचाइ, बाढी नियन्त्रण, वातावरणीय प्रभाव र लाभको न्यायोचित बाँडफाँटलाई प्राथमिकतामा राख्नुपर्छ।

भ्रमणमा कृषि औद्योगिक पार्क स्थापना, नेपालमा भारतीय प्रविधि संस्थान (आइआइटी) को शाखा स्थापना, प्रहरी तथा प्रशासनिक क्षमता विकास, स्वास्थ्य, आयुर्वेद, स्याटेलाइट सञ्चार र सहरी विकास लगायतका क्षेत्रमा भएका आठ समझदारीले सहकार्यको दायरा फराकिलो बनाएका छन्। यी विषयले नेपालको संस्थागत क्षमता, प्राविधिक जनशक्ति र उत्पादन प्रणाली विकासमा योगदान पुर्‍याउन सक्छन् तर समझदारीपत्रमा हस्ताक्षर हुनु र त्यसको कार्यान्वयन हुनु फरक कुरा हुन्। प्रत्येक सहकार्यको स्पष्ट कार्ययोजना, समयसीमा, बजेट र जिम्मेवार निकाय तोकिनुपर्छ।

भ्रमणमा सीमा व्यवस्थापन र समाधानको विषय पनि उठेको छ। सीमा स्तम्भ मर्मत तथा पुनःस्थापनामा संयुक्त काम भइरहेको उल्लेख गर्दै बाँकी सीमा समस्यामा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ। यो सकारात्मक भए पनि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका विवादित क्षेत्रको समाधानका लागि स्पष्ट राजनीतिक इच्छाशक्ति र समयबद्ध प्रक्रिया आवश्यक छ। नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएका विषयलाई नियमित कूटनीतिक संवादमा मात्र सीमित राख्नु हुँदैन।

भारत नेपालको महत्त्वपूर्ण व्यापारिक र विकास साझेदार हो। भौगोलिक निकटता, आर्थिक अन्तरनिर्भरता र सामाजिक–सांस्कृतिक सम्बन्धका कारण भारतसँगको सहकार्य नेपालको आवश्यकता हो तर असल सम्बन्धको अर्थ आफ्ना राष्ट्रिय सरोकारमा मौन रहनु होइन। पारस्परिक सम्मान, समान हित र विश्वासका आधारमा सम्बन्ध अघि बढाउन सक्नु नै परिपक्व कूटनीति हो।

भ्रमणले विकसित भारत र समुन्नत नेपालको संयुक्त दृष्टिकोणसमेत अघि सारेको छ। यो दृष्टिकोणलाई नारामा सीमित नराखी नेपालको उत्पादन क्षमता, पूर्वाधार, शिक्षा, प्रविधि र रोजगारी विस्तारसँग जोड्नुपर्छ। भारतसँगको सहकार्यबाट नेपालले आफ्नो आर्थिक क्षमता बढाउने, व्यापार विविधीकरण गर्ने र विकासको आधार बलियो बनाउने अवसर लिन सक्नुपर्छ।

भारतसँग सम्बन्ध सुधार्नु नेपालको आवश्यकता हो तर सम्बन्ध सुधारको उपलब्धि राष्ट्रिय हित र नागरिकको जीवनमा देखिनुपर्छ। प्रधानमन्त्रीको भ्रमणको वास्तविक सफलता आर्थिक सहयोगको घोषणा, रेल उद्घाटन वा आयोजनाको शिलान्यासले होइन, तिनको कार्यान्वयनबाट नेपालले प्राप्त गर्ने आर्थिक, सामाजिक र रणनीतिक लाभले निर्धारण गर्नेछ।

नेपालका प्रधानमन्त्रीहरूले अहिले मात्र होइन, विगतमा गरेका भारत भ्रमण पनि निकै सकारात्मक र उपलब्धिमूलक नै भनिएका थिए। विगतमा भएका भ्रमणका क्रममा पनि सबै प्रधानमन्त्रीहरू भारतसँगको सम्बन्ध थप उचाइमा पुग्ने र पुर्‍याउने उत्साहसहित स्वदेश फर्केका थिए। यस पटक पनि त्यस्तै उत्साह छ। तर भ्रमणपछिका दिनहरू सम्बन्ध सुधारभन्दा चिसिन पुगेको विगतले देखाउँछ। त्यसबाट पाठ सिकेर नेपालले भारतसहित छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्ध विस्तार गर्नुपर्छ र भएका सहमति र सम्झौताहरू कार्यान्वयनमा ल्याउनुपर्छ। थाती रहेका विषयहरूलाई क्रमश सलट्याउँदै जानुपर्छ। अब सरकारको ध्यान भ्रमणका उपलब्धि सार्वजनिक गर्नेभन्दा तिनलाई परिणाममा बदल्ने दिशामा केन्द्रित हुनुपर्छ।

आयोजना शिलान्यास

प्रधानमन्त्री शाहले नयाँदिल्लीमा रहँदा समकक्षी मोदीसँग दुईपक्षीय हितका विषयमा छलफल गर्नुका साथै अयोध्या–जनकपुर रेल सेवाको भर्चुअल माध्यममा हरियो झन्डा देखाएर शुभारम्भ गरेका थिए। भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामदेखि अयोध्या क्यान्टसम्मको दुरी करिब ६०४ किलोमिटर छ। रेल जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुरलगायतका सहर हुँदै सुरु बिन्दुमा पुग्ने छ। जनकपुरसम्म आउने रेलमार्गलाई बर्दिबाससम्म विस्तार गर्ने सम्झौता भने नेपाल र भारतले सन् २०१० मै गरेका थिए। तर १६ वर्ष बित्दा पनि रेलमार्ग बर्दिबास आउन सकेको छैन।

त्यस्तै दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा पाँच प्रोजेक्टको शिलान्यास गरेका छन्। शिलान्यास गरिएका प्रोजेक्टमा दार्चुला र धार्चुला जोड्ने महाकाली नदीको पुल, वनवासामा एकीकृत चेक पोस्ट (आइसिपी), मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको फोज टु, झापामा ग्रिन फिल्ड अल स्टोरेज टर्मिनल र ६६९ मेगावटाको तल्लो अरुण जलविद्युत् आयोजना छन्।

मोदीसँगको भेटअघि प्रधानमन्त्री शाह दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए। त्यसक्रममा प्रधानमन्त्री शाहले करूणा नै सबभन्दा ठुलो शक्ति भएको बताए।

प्रधानमन्त्री शाहले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। गान्धीको समाधिस्थलमा राखिएको आगन्तुक पुस्तिकामा प्रधानमन्त्री शाहले लेखेका छन्, ‘यस पवित्र स्थलमा म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्छु। उहाँको जीवनले सत्यमा कुनै पनि शक्तिले उछिन्न नसक्ने सामथ्र्य हुन्छ भन्ने कुरा संसारलाई प्रमाणित गरेको थियो।

नेपालका जनता र सरकारका तर्फबाट म उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गछुै। भगवान् बुद्धको जन्मभूमिबाट आएको मैले गान्धीजीको विरासतमा त्यही अमर प्रकाश पाउँछु –करूणा नै सबभन्दा ठुलो शक्ति हो र साँचो नेतृत्व भनेको हामीमध्येका सबैभन्दा साधारण र निम्न हैसियतका मानिसको निःस्वार्थ सेवामा निहित हुन्छ भन्ने गहिरो सत्य।’

प्रधानमन्त्री शाहले नेपाल र भारत साझा भूगोलले मात्रै नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको विरासतले पनि जोडिएको उल्लेख गरेका छन्। ‘नेपाल र भारत केवल साझा भूगोलले मात्र जोडिएका छैनन्, यी दुई देश आस्था, आत्मीयता र चिरस्थायी मित्रताको शाश्वत विरासतले पनि बाँधिएका छन्। गान्धीजीको कालजयी आदर्शको सम्मान गर्दै म गहिरो इमानदारी, पारस्परिक सम्मान र अटुट विश्वासका साथ यस सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको दृढ प्रतिबद्धता पुनः व्यक्त गर्छु।’

उनले गान्धीका आदर्शहरूले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्वतर्फको साझा यात्रालाई निरन्तर उज्यालो दिइरहून् भन्ने कामनासमेत गरेका छन्।

स्वदेश फर्कनुअघि भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग प्रधानमन्त्री शाहले शिष्टाचार भेट गरेका थिए। राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेटेका प्रधानमन्त्री शाहलाई भेट्न आइतबार साँझ भारतीय विदेशमन्त्री एस जयशंकर होटल ताजमा पुगेका थिए। प्रधानमन्त्री शाह ३५ सदस्यीय टोलीसहित नयाँदिल्ली पुगेका थिए।

भ्रमण दलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्मालगायत थिए।

‘प्रतिफल किसानको खेतमा देखिनुपर्छ’

प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा दुई देशबिच भएका समझदारी र उद्घाटन गरिएका परियोजनाको प्रतिफल जनताले प्रत्यक्ष महसुस गर्न पाउनुपर्ने बताएका छन्।

भारतीय समकक्षी मोदीसँग सोमबार दुईपक्षीय भेटपछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले दुई देशबिच भएका समझदारीहरू र अघि बढाइएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्ने बताएका हुन्। ‘युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ। विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ,’ उनले भने,‘उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं।’

पुर्खाले स्थापित गरेको ऐतिहासिक सम्बन्धलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल–भारत सम्बन्धलाई युगको आवश्यकता अनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने उनले बताए। यसबाट नयाँ पुस्ताका लागि सम्भावनाका ढोका खोल्ने जिम्मेवारी दुवै देशको रहेको उनको भनाइ थियो।

‘नेपालका प्रधानमन्त्रीमा दूरदर्शिता देखें’

भारतका प्रधानमन्त्री नरेन्द्र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहमा दूरदर्शिता देखिएको बताए। हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालका प्रधानमन्त्री शाहलाई पहिलो विदेश भ्रमणका रूपमा भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।

संयुक्त राष्ट्रसंघीय महासभालाई विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा सम्बोधन गर्दा नै नेपालका प्रधानमन्त्री शाहको दूरदर्शिता स्पष्ट देखिएको मोदीले बताए। ‘आज केही घन्टाको कुराकानीमै मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धमा उनको क्लिअर भिजन र कमिटमेन्टको महसुस गरें,’ मोदीले भने, ‘भारत–नेपाल सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धले जोडिएको छ।’

मोदीले नेपालका जनताले शाहलाई दिएको ऐतिहासिक जनादेशले पनि नेपालको नयाँ आशा र भरोसा दर्साउने बताए। मोदीले नेपाल र भारतबिचको सम्बन्धलाई साझा सभ्यतासँग जोड्दै भगवान् राम र माता सीता दुवै देशको साझा सभ्यता र आस्थाका प्रतीक रहेको पनि बताए। ‘भगवान् राम र माता सीता हाम्रो साझा सभ्यता र आस्थाका प्रतीक हुन्,’ मोदीले प्रधानमन्त्री शाहको प्रशंसा गर्दै भने, ‘भारत एक सशक्त र समृद्ध विकास यात्रामा सधैं सहभागी हुँदै आएको छ। हामीले सम्बन्धलाई नयाँ उचाइका साथ अघि बढाउन महत्त्वपूर्ण निर्णय  लिएका छौं।’

सन्धि पुनरवलोकनको बाटो  खुलेको दाबी

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले सन् १९५० को सन्धि पुनरवलोकन गर्ने बाटो खुलेको बताएका छन्। दुई देशका प्रधानमन्त्रीबिच भिजन डकुमेन्टमा भएको सहमतिले सन्धि पुनरवलोकन गर्ने बाटो खुलेको दाबी मन्त्री खनालको छ। प्रधानमन्त्री शाह भारत भ्रमण गरी सोमबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले यस्तो दाबी प्रस्तुत गरेका छन्।

नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको इपिजी प्रतिवेदनमा उल्लेख भएको विषयमा पनि छलफल हुने मन्त्री खनालले बताए। ‘यसअघि सीमास्तम्भ मर्मत र निरीक्षणको काम प्राविधिक स्तरमा हुँदै आएको थियो। अब उच्चस्तरमा संवाद गर्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना विदेश सचिव र हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहले परराष्ट्र सचिवलाई निर्देशन दिनुभएको छ। यसले नयाँ संवाद सुरू हुनेछ,’ मन्त्रीले खनालले भने।

मन्त्री खनालले नेपालले यसअघि बाहिरिन मात्रै प्रयोग गर्दै आएको भैरहवा हवाई रूट अब दुईतर्फी प्रयोग गर्न पाउने सहमति ‘ब्रेक थ्रु’ भएको बताए। प्रधानमन्त्री स्तरमा यो सहमति भएकाले त्यसको प्राविधिक पक्षबारे दुवै देशका प्राविधिक टोलीले अध्ययन गरी टुंग्याउने उनले जनाए।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
४१ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock २ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस