सभामुख अर्याल तान्जानिया प्रस्थान, यस्ता छन् भ्रमणका कार्यक्रम
१८ असोज २०८३
•
६ मिनेट पाठ
सभामुख अर्याल तान्जानिया प्रस्थान, यस्ता छन् भ्रमणका कार्यक्रम
सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानियातर्फ प्रस्थान गरेका छन्।




सभामुख अर्याल आइतबार साँझ ७:०० बजे कतार एयरवेजको उडान क्युआर ६४५ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट तान्जानियातर्फ प्रस्थान गरेका हुन्। उनी सोही दिन राति ९:१५ बजे कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्। त्यसपछि राति २:१० बजे कतार एयरवेजको उडान क्युआर १४९९ मार्फत दोहाबाट तान्जानियाको किलिमान्जारोतर्फ प्रस्थान गरी ५ अक्टोबर २०२६ को बिहान ७:३५ बजे किलिमान्जारो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

उनीसँगै प्रतिनिधिमण्डलमा सभामुखकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रविन महत्तो, राष्ट्रिय सभाका सदस्यहरू झक्कुप्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी छन्। साथै, प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डे, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल तथा सभामुखका निजी सचिव मधु मिजार पनि प्रतिनिधिमण्डलमा सहभागी छन्।

तान्जानियाको अरुषा सहरमा आयोजना हुने अन्तरव्यवस्थापिका संघको १५३औँ महासभा ५ देखि ९ अक्टोबर २०२६ (१९ देखि २३ असोज २०८३) सम्म सञ्चालन हुनेछ। महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा तथा द्विपक्षीय भेटवार्तालगायतका कार्यक्रम सञ्चालन हुनेछन्।

महासभाको पहिलो दिन, ५ अक्टोबर २०२६ सोमबार (१९ असोज २०८३) प्रतिनिधिमण्डलका सल्लाहकार तथा सचिवहरूको बैठक हुनेछ। त्यसैगरी, एसिया प्रशान्त समूहको बैठक तथा महिला सांसदहरूको मञ्चको कार्यक्रम आयोजना हुनेछ। यसै दिन थाइल्यान्डको राष्ट्रिय सभाको माथिल्लो सदनका सभामुख मोंगकोल सुरसज्जाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुनेछ। साथै, अस्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल तथा चीनको राष्ट्रिय जनकांग्रेसअन्तर्गत शिक्षा, विज्ञान, संस्कृति तथा जनस्वास्थ्य समितिका उपाध्यक्ष तियान सुएजुनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग पनि द्विपक्षीय भेटवार्ता हुनेछ। यसै दिन महासभाको औपचारिक उद्घाटन समारोह हुनेछ।

दोस्रो दिन, ६ अक्टोबर २०२६ मंगलबार (२० असोज २०८३) प्रतिनिधिमण्डलले लेक न्यासा भवनस्थित लेक न्यासा हलमा आयोजना हुने गभर्निङ काउन्सिलको बैठकमा सहभागिता जनाउनेछ। यसै दिन बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुनेछ।

यसै दिन लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार तथा सशक्तीकरण प्रवर्द्धनका लागि संसदीय रणनीतिसम्बन्धी मस्यौदा प्रस्तावमाथि छलफल तथा पूर्ण बैठकमा प्रस्ताव लेखनको कार्य सुरु हुनेछ। शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी स्थायी समितिमा सैन्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगका कारण उत्पन्न चुनौतीबीच शान्ति सुरक्षामा संसद्को भूमिका तथा संसदीय कूटनीति, मध्यस्थता र संवादमार्फत दिगो शान्ति स्थापनासम्बन्धी विषयमा प्यानल छलफल हुनेछ।

यसै दिन “समावेशिता, विश्वास र सबैका लागि अवसरमार्फत सुशासन अभिवृद्धि तथा समुदायको सशक्तीकरण” विषयमा महासभाको सामान्य छलफल सुरु हुनेछ। साँझ तान्जानियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। आकस्मिक विषयका सम्बन्धमा सम्माननीय सभामुखज्यूको सम्बोधनका लागि समेत समय निर्धारण हुन सक्नेछ।

तेस्रो दिन, ७ अक्टोबर २०२६ बुधबार (२१ असोज २०८३) महासभाको सामान्य छलफल निरन्तर सञ्चालन हुनेछ। संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी स्थायी समितिमा सुधारिएको संयुक्त राष्ट्रसंघीय प्रणालीको प्रतिबिम्बका रूपमा तान्जानियामा रहेको संयुक्त राष्ट्रसंघीय देश टोलीसम्बन्धी प्यानल छलफल हुनेछ। साथै, “अझ प्रभावकारी र प्रतिनिधिमूलक संयुक्त राष्ट्रसंघतर्फ” शीर्षकको प्रस्तावमाथि छलफल गरी संयुक्त राष्ट्रसंघको बडापत्र पुनरावलोकनसम्बन्धी सम्मेलन आह्वान गर्ने प्रस्तावमाथि निर्णय हुनेछ।

लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा मस्यौदा प्रस्तावको पूर्ण बैठकमा लेखन कार्य सम्पन्न गरिनेछ। दिगो विकाससम्बन्धी स्थायी समितिमा सन् २०३० सम्म पर्वतीय तथा समुद्री पारिस्थितिक प्रणालीको संरक्षण तथा ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्वसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ।

शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी स्थायी समितिमा द्वन्द्वका समयमा समुद्री सुरक्षा तथा महत्वपूर्ण पूर्वाधारको संरक्षण, अन्तर्राष्ट्रिय जलमार्ग तथा विश्वव्यापी आर्थिक स्थायित्वमा संसद्को भूमिकासम्बन्धी विज्ञ छलफल हुनेछ। साथै, उक्त समितिको ब्युरोका लागि निर्वाचन हुनेछ। महासभामा सामान्य छलफललाई निरन्तरता दिइनुका साथै क्रेमर पासी पुरस्कार प्रदान गर्ने तथा आकस्मिक विषयमाथि मतदान गर्ने कार्यक्रम रहेको छ।

चौथो दिन, ८ अक्टोबर २०२६ बिहीबार (२२ असोज २०८३) संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी स्थायी समितिमा द्वन्द्व रोकथाम तथा समाधानका लागि संयुक्त राष्ट्रसंघीय संयन्त्रले कसरी काम गर्छ भन्ने विषयमा प्यानल छलफल तथा समितिको ब्युरोका लागि निर्वाचन हुनेछ। महासभामा आकस्मिक विषयमाथि छलफलका साथै सामान्य छलफललाई निरन्तरता दिइनेछ।

दिगो विकाससम्बन्धी स्थायी समितिमा कृत्रिम बुद्धिमत्ता र रोजगारीको भविष्यसम्बन्धी प्यानल छलफल, टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप३१) मा हुने संसदीय बैठकका लागि तयारी तथा समितिको ब्युरोका लागि निर्वाचन हुनेछ। महासभामा अन्तरव्यवस्थापिका संघका प्रस्ताव तथा अन्य निर्णयहरूको कार्यान्वयनसम्बन्धी विशेष जवाफदेहिता सत्र आयोजना हुनेछ र सामान्य छलफल सम्पन्न गरिनेछ।

लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा मस्यौदा प्रस्ताव पारित गर्ने तथा समितिको ब्युरोका लागि निर्वाचन गर्ने कार्यक्रम रहेको छ। साँझ सबै प्रतिनिधिमण्डलका लागि सांस्कृतिक साँझको आयोजना हुनेछ।

पाँचौँ दिन, ९ अक्टोबर २०२६ शुक्रबार (२३ असोज २०८३) लेक न्यासा भवनस्थित लेक न्यासा हलमा अन्तरव्यवस्थापिका संघको गभर्निङ काउन्सिलको बैठक हुनेछ। बैठकमा अन्तरव्यवस्थापिका संघको अध्यक्षको निर्वाचन, सांसदहरूको मानवअधिकारसम्बन्धी विषयमा निर्णय तथा विभिन्न विशेष बैठकका प्रतिवेदनमाथि छलफल हुनेछ।

त्यसपछि महासभाको बैठकमा विभिन्न प्रस्ताव पारित गर्ने, स्थायी समितिहरूका प्रतिवेदन प्रस्तुत गर्ने, सामान्य छलफलको निष्कर्ष दस्तावेज पारित गर्ने तथा अन्तरव्यवस्थापिका संघको विधानमा प्रस्तावित संशोधनहरू अनुमोदन गर्ने कार्यक्रम रहेको छ। महासभाको समापनपछि प्रतिनिधिमण्डल केन्याको राजधानी नैरोबीतर्फ प्रस्थान गर्नेछ।

महासभापछिको कार्यक्रमअन्तर्गत छैठौ दिन १० अक्टोबर २०२६ शनिबार (२४ असोज २०८३) नैरोबीमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने तथा नैरोबी नेसनल पार्क, जिराफ सेन्टर र डेभिड शेल्ड्रिक वन्यजन्तु संरक्षण केन्द्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

११ अक्टोबर २०२६ आइतबार (२५ असोज २०८३) नैरोबी सहरको भ्रमण गरी यहाँका प्रमुख सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन तथा स्थानीय जीवनशैलीबारे जानकारी लिने कार्यक्रम रहेको छ।

१२ अक्टोबर २०२६ सोमबार (२६ असोज २०८३) केन्याको संसद् भवनस्थित समिति कक्षमा उपसभामुख तथा सांसद ग्लाडिस जेप्कोसेगी बोससँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि संसदीय बजेट कार्यालयसँग भेटघाट तथा अन्तरक्रिया हुनेछ।

कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधिमण्डल नैरोबीस्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत दुबईतर्फ प्रस्थान गर्नेछ। दुबईबाट काठमाडौंतर्फ प्रस्थान गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमनसँगै भ्रमण कार्यक्रम सम्पन्न हुनेछ।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
१० मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस