वडाध्यक्षलाई आफ्नो खुट्टा मालिस गर्न लगाएको भिडियो सार्वजनिक भएपछि देशभर आलोचित बनेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।
कार्यकालभरि विभिन्न विवाद र आलोचित गतिविधिका कारण चर्चामा रहेका चौधरीको राजीनामा मंगलबार बसेको कार्यपालिका बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
नेकपा (एमाले) बाट निर्वाचित अध्यक्ष चौधरीले गत कात्तिक ५ गते नै उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए।
‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामा पत्रमा उल्लेख छ।
उनले पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस गरेकाले स्वेच्छाले राजीनामा दिएको पत्रमा खुलाएका छन्।
विवादको श्रृंखला: मदिरा सेवनदेखि खुट्टा मालिससम्म
अध्यक्ष चौधरीको कार्यकाल सुरुदेखि नै विवादित रह्यो। उनीमाथि पटक-पटक मदिरा सेवन गरी कार्यालयमा होहल्ला गर्ने र जनप्रतिनिधिमाथि हुकुमी शासन चलाएको गम्भीर आरोप लाग्दै आएको थियो।
विवादको उत्कर्ष भने गत असोज ५ गते देखियो। उनले वडा नम्बर-५ का कार्यवाहक वडाध्यक्ष हरि खंगलाई आफ्नो खुट्टा मालिस गर्न लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।
गाउँपालिकास्थित उपाध्यक्षको कार्यकक्षको सोफामा पल्टिएका अध्यक्ष चौधरीको खुट्टा वडाध्यक्ष खंगले दबाइरहेको दृश्यले धेरैले उनको कार्यशैलीमाथि प्रश्न उठाए।
कानुनतः असार १० भित्रै सम्पन्न गरिसक्नुपर्ने गाउँसभा जनप्रतिनिधिबीचको विवाद र विशेषगरी अध्यक्ष चौधरीको व्यवहारका कारण पटक-पटक स्थगित हुँदै आएको थियो।
असोज ५ गते सभाका लागि बोलाइएको दिन पनि उनी मदिराले मातिएर कार्यालय पुगेको र वडाध्यक्षहरूसँगको नोकझोकपछि सभा नगर्ने अडान लिएर सोफामा पल्टिएका थिए।
गाउँसभा नहुँदा जनप्रतिनिधि तथा कर्मचारीहरूले दशैंको तलब-भत्तासमेत नपाउने अवस्था सिर्जना भएपछि, अन्य वडाध्यक्षहरूको आग्रहमा अध्यक्षसँग राम्रो सम्बन्ध भएका खंगले उनलाई फकाउन खुट्टा मालिस गरिदिएका थिए।
त्यसपछि मात्र सोही दिन तनावपूर्ण अवस्थामा गाउँसभा सम्पन्न भएको थियो। यसअघि भदौ १० मा बोलाइएको गाउँसभा पनि अध्यक्ष चौधरी मदिरा सेवन गरेर कार्यालयमा आई होहल्ला गरेपछि स्थगित भएको थियो।
पालिकामा एमालेबाट निर्वाचित अध्यक्ष चौधरी र नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष कल्पना चौधरीबीच सुरुदेखि नै असमझदारी रहँदै आएको थियो। जसकारण पनि पालिकाको विकास निर्माण र प्रशासनिक काम कारबाहीलाई समेत प्रभावित पारेको थियो।
आफ्नो राजीनामा पत्रमा भने चौधरीले लेखेका छन्, ‘गाउँपालिका अध्यक्षको हैसियतले पाएको अनुभवलाई म जीवनको महत्त्वपूर्ण उपलब्धि ठान्दछु। भविष्यमा पनि समाज र गाउँको सेवामा आफूलाई निरन्तर समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
उनको राजीनामा स्वीकृत भएसँगै अब गाउँपालिकाको नेतृत्व उपाध्यक्ष चौधरीले सम्हाल्नेछिन्।
ताप्लेजुङ । नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्चालनतर्फ उन्मुख रहेको दाबी गरेका छन्।
नेपाल बार एसोसिएसन जिल्ला अदालत इकाइ, ताप्लेजुङको नवनिर्मित बार भवनको उद्घाटन कार्यक्रममा शनिबार फुङलिङमा सम्बोधन गर्दै मिश्रले सरकारले न्यायालयमा सुधार गर्नुपर्ने विषयमा यथाशीघ्र श्वेतपत्र जारी गर्नुपर्ने खाँचोसमेत औँल्याए।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको मिश्रको आरोप थियो।
‘विधि र प्रक्रियाभन्दा पनि चयनमुखी नीतिमार्फत सरकारले न्याय प्रशासनलाई सत्ताको स्वार्थअनुकूल अघि बढाउन खोजिरहेको छ,’ मिश्रले भने।
उनले वर्तमान सरकारले सत्ताको छायामा गरिने अनुसन्धानलाई बढावा दिइरहेको दाबीसमेत गरे। सत्ताका पात्र परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउँदै मिश्रले फौजदारी न्याय प्रशासनलाई संरक्षण गर्नुपर्ने सरकारले आफ्नै उद्देश्य परिपूर्ति गर्ने व्यक्तिहरू छनोट गरी न्याय प्रशासनलाई सत्ताको छायामा पार्ने प्रयास गरिरहेको बताए।
‘विगतका सरकारले न्यायालयमा आफ्ना मान्छे भर्ती गरेको आरोप लाग्ने गरेको थियो। अहिलेको सरकारले देखिजानी आफ्नू अनुकूलको न्याय सम्पादन गराउने बदनियत राखेर चयनमुखी प्रक्रिया अपनाएको छ,’ मिश्रले भने।
उनले फौजदारी न्याय प्रशासन सोसल मिडियाको ट्रायलबाट प्रताडित र आक्रान्त भएको पनि बताए। पुलिङ र अल्गोरिदमबाट वकिल तथा न्यायालय डराउन नहुने उनको भनाइ थियो।
फौजदारी न्याय प्रशासन घुसखोरी, भ्रष्टाचारीकरण र दलालीकरणबाट पूर्ण रूपमा प्रभावित भएकोसमेत मिश्रले बताए। वर्तमान सरकारबाट न्याय क्षेत्रमा गरिएको सुधारको अपेक्षा सरकारले चयनमुखी प्रणाली र बिचौलियासहितका व्यक्तिको संरक्षणजस्ता कारणले गुमाइसकेको उनको भनाइ थियो।
भ्रष्टाचार र दलालीकरणविरुद्धका अभियानमा नेपाल बार सधैँ सरकारको साथमा रहेको, तर बिचौलियाको प्रभावका कारण वर्तमान सरकार बाहिर जान नसकेको पनि मिश्रले बताए।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य खगेन्द्रसिं हाङ्गाम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमसहित नेपाल बारका केन्द्रीय तथा प्रादेशिक पदाधिकारीहरू र विभिन्न जिल्लाका बार अध्यक्षहरूले सम्बोधन गरेका थिए।
जिल्ला अदालतको हाताभित्र ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको बार भवनको निर्माण कार्य पूरा भएसँगै अब बारको दैनिक कामकाज नवनिर्मित भवनबाटै सञ्चालन हुने बार ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए।
कार्यक्रममार्फत बार भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई ताप्लेजुङ बारले कदरपत्रद्वारा प्रशंसा गरेको ताप्लेजुङ बारका सचिव सन्तोष प्रसाईंले बताए।
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...