धरानको मुख्य बजार क्षेत्र भानु चोक आसपासमा यातायात व्यवस्थापनको लागि अध्ययन गरी योजना निर्माण र कार्यान्वयनको गर्न एक कार्यदल गठन गरिएको छ।
उप-महानगरपालिकाले सोमबार सरोकारवाला निकायहरूसँग छलफल गर्दै १७ सदस्यीय कार्यदल गठन गरेको हो। साना तथा ठुला यातायात व्यवसायी, चालक मजदुर, ट्राफिक प्रहरी, प्रशासन, सम्बन्धित वडा अध्यक्षहरुसहितको छलफलले वडा नं २ का अध्यक्ष रमेश राई संयोजक रहेको कार्यदल गठन गरेको हो।
बसपार्कसमेत रहेको धरानको मुख्य भानु चोक वडा नं २ मा पर्छ। साना तथा ठुला सवारी, सिटी सफारी, टेम्पो र मोटरसाइकलको जथाभाबी स्टेण्ड र पार्किङले भानु चोक क्षेत्र अस्तव्यस्त छ।
कार्यदलमा वडा १, ३, ७, ९ र १२ का वडा अध्यक्षहरू, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश १ अध्यक्ष सरोज श्रेष्ठ, टेम्पोका प्रतिनिधि, सुमोका प्रतिनिधि, सिटी सफारीका प्रतिनिधि, इलाका प्रहरी, जिल्ला ट्राफिक प्रहरीलगायतका प्रतिनिधिहरू सदस्य रहेका छन्।
उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटा कार्यदलको सदस्य सचिव छन्। यो कार्यदलले समग्र अवस्थाको अध्ययन गरी १० दिनभित्र प्रतिवदन पेश गर्ने बैठकले निर्णय गरेको सदस्य सचिव सापकोटाले जानकारी दिए।
बैठकमा मेयर हर्क साम्पाङले भानु चोक र मुख्य बजार क्षेत्रमा एकतर्फी सवारी आवागमन लागु गर्ने प्रस्ताव राखेका थिए। साथै उनले निर्णय कार्यान्वयन गर्न राजनीतिक दल, मजदुर संघसंगठनहरुले आनाकानी गर्ने वा अवरोध गर्ने कार्य नगर्न पनि आग्रह गरेका छन्।
‘धरानलाई राम्रो, व्यवस्थित बनाउने हो भने संघसंगठन, पार्टीभन्दा माथि उठ्नै पर्छ।
पहिला कन्भिन्स गर्ने प्रयास गरौँ, नभए कडारुपमा पनि प्रस्तुत हुनुपर्छ,’उनले भने,‘कुन प्रणाली, विधिबाट काम गर्ने भनेर कार्यदलकै प्रतिवेदनमा आवोस्, हामी निर्णय गर्ने मात्र होइन, कार्यान्वयन पनि गराउन लाग्नुपर्छ।’
मेयर साम्पाङले भानु चोक क्षेत्रमा सफारी, टेम्पोले यात्रु प्रतीक्षा गर्ने नभै ओरालेर जाने सिस्टम बसाउनुपर्ने पनि बताए। त्यसो गर्दा भानु चोक र मुख्य बजार क्षेत्रमा साना सवारीहरूको भिडभाड नहुने उनको भनाई थियो।
‘कुन क्षेत्रलाई कसरी वान वे गर्ने ? कुन क्षेत्रमा सवारी निषेध गर्ने हो ? कार्यदलले नै भन्नुपर्छ,’उनले भने।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश १ का अध्यक्ष सरोज श्रेष्ठले २०४५ सालको भूकम्प अघि धरानमा मोटरसाइकल बाहेक अन्य सवारीसाधनहरू वा वे बाट मात्र चल्ने गरेको स्मरण गर्दै अब फेरि कडारुपमा लागु गराउनुपर्ने बताए।
‘अहिले ६ पाङ्ग्रे गाडीलाई गरिरहेका छौं, वान वे पुर्णरुपमा लागु नगर्ने हो भने यातायात क्षेत्रको अस्तव्यस्तता सुधार गर्न सकिँदैन,’उनले भने।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।