‘हरियो वन, नेपालको धन’ चर्चित उखान थियो कुनै बेला । तर, पछिल्लो समयमा भने त्यही हरियो वन चौतर्फी अतिक्रमणमा पर्दा उखानमै सीमित हुन थालेको छ । सुदूरपश्चिममा चोरी तस्करीले वन मासिँदै गएकोप्रति चिन्ता गर्नेहरूका लागि त्यो भन्दा ठूलो चिन्ता डढेलोले निम्त्याएको छ । अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा डढेलोले ३० प्रतिशत वन सखाप पारेको छ ।
अत्याधिक गर्मी मौसम । त्यसमा पनि हावाहुरी उस्तै चल्दा सुदूरपश्चिमका राष्ट्रिय तथा सामुदायिक वन डढेलोको चपेटामा परेका हुन्। डढेलोको धुँवाले जंगलैभरि हिँड्न मुस्किल छ, सुदूरपश्चिममा । सुदूरपश्चिममा डढेलोका कारण ३० प्रतिशत वन सखाप भएको तथ्याङ्क देखिएको प्रदेश वन निर्देशनालय सुदूरपश्चिमले दिएको छ ।
प्रदेश वन निर्देशनालय धनगढीका प्रदेश वन निर्देशक हेमराज बिष्टका अनुसार अहिले सामुदायिक र राष्ट्रिय वन डढेलोले निल्दै छ। ‘तराईबाट चुरेमा मात्रै आँखाले देख्नेगरी ठाउँ–ठाउँमा डढेलो लागेको देखियो,’ उनले भने,‘अन्य ठाउँमा त कति छ कति ।’ उनले जंगलैभरी लागेको डढेलो निभाउन सक्ने पर्याप्त जनशक्ति र उपकरण नै आफूहरूरुसँग नभएको बताए । ‘डढेलो निभाउन सक्ने दक्ष र पर्याप्त जनशक्ति नै छैन,’ उनले भने,‘न त हामीसँग आधुनिक उपकरण नै छ ।’ सामान्य औजार र उपकरणहरु किनेर सामुदायिक वनलाई भने आफूहरूले दिएको उनी बताउँछन् ।
सुख्खा मौसम र गर्मीका कारण यसपालि वन क्षेत्रमा डढेलोको प्रकोप चाँडै देखिएको बताउँदै उनले भने,‘यसपालि हिउँदमा वर्षात नहुँदा डढेलोको प्रकोप बढेको देखिन्छ ।’ गत वर्षको तुलनामा यसवर्ष हिउँदे वर्षा भएको थिएन । हिउँदमा पानी पर्दा गिठा तथा अन्य झारपात उम्रिएपछि आगलागीका घटनामा कमी आउने भए पनि यसपालि भने पानी नपर्दा समस्या भएको उनले बताए । ‘हिउँदे वर्षा नहुनु र खडेरीले गर्दा यसपालि डढेलोको जोखिम बढी छ,’उनले भने,‘डढेलोबाट जोगाउन सबैभन्दा बढी जनचेतनाकै खाँचो रहेको छ ।’ समुदायमा रहेका केही गलत सोचाइका मानिसले जंगलमा आगजनी गर्ने गरेको बताउँदै उनले भने,‘सामुदायिक वनमा विमति राख्नेहरुले जंगलमा डढेलो लगाइदिन्छन्, र दुःख उपभोक्ताले पाउँछन् ।’ गर्मीको मौसम त्यसमा पनि सुकेका पातपतिंगर र सुकेका ढलापढा काठले डढेलो लाग्ने गरेको बताउँदै उनी भन्छन्,‘त्यसलाई व्यवस्थापन गर्न नसक्दा डढेलोले बर्सेनि जंगल सखाप पार्दैछ ।’ डढेलो लाग्दा ढलापडा रुख नासिने चिन्ता एकातिर छ भने अर्कोतिर पुनःउत्पादन पनि बिग्रने गरेको उनी बताउँछन् । ‘डढेलोले एक त सुखा पडामा सल्कँदा राजस्व गुम्छ,’ उनले भने,‘अर्कोतर्फ रुखमा आगो सल्कँदा धेरै दिनसम्म रही रहने भएकाले डढेलो नियन्त्रण गर्न गाह्रो हुने गर्छ ।’ डढेलोले पुर्नउत्पादनमा समस्या पर्ने गरेको बताउँदै उनले भने,‘भर्खरका विरुवा र हुर्के बढेका पोथ्रा पाथ्र्री सबैभन्दा बढी मासिने गरेका छन् ।’ डढेलोकै कारण उत्पादनमा पछाडि पर्नुका साथै त्यसले वातावरणिय लाभहरु सखाप हुनुका साथै पारिस्थितिक प्रणालीलाई पनि समाप्त गर्ने गरेको उनले बताए ।
जंगलमा डढेलो लगाउँदा चरिचरनका लागि नयाँ घाँस पलाउने भन्ने गलत मानसिकताका कारण स्थानीयले नै जानी जानी डढेलो लगाउने गरेको वन निर्देशक बिष्टले भने,‘जंगलमा आगो लगाउँदा पालुवा पलाउँछ र घाँस काट्न सजिलो हुन्छ भनेरै यहाँका किसानले डढेलो लगाउने गरेका छन् ।’ जनचेतनाको कमीका कारण बर्सेनि यहाँको जंगल डढेलोले सखाप भइरहेको उनले बताए । उनले भने,‘हामीले जनचेतना जगाउने कार्यक्रम ल्याउनुका साथै प्रत्येक सामुदायिक वनलाई डढेलो नियन्त्रणका लागि प्रयास गर्न निर्देशन दिएका छौँ ।’ सुदूरपश्चिममा रहेका सबै एफएम रेडियोमार्फत् जनचेतनामूलक सन्देश दिइएको उनले बताए ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी डढेलोको जोखिममा डोटीको वन क्षेत्र परेको छ । अहिले डोटीका डाँडाकाँडाका सबै जंगल डढेलोले निल्न थालेको छ । जम्मा क्षेत्रफलको ६८ प्रतिशत भूभाग जंगलले ढाकेको डोटीमा ५० प्रतिशत भूभाग अहिले डढेलोले सखाप भइसकेको डोटीका डिभिजन वन प्रमुख शम्भूप्रसाद तिवारी बताउँछन् । ‘अहिले डोटीको सबैतिरको जंगलमा डढेलो सल्केको छ,’ उनले भने,‘डढेलोकै कारण अहिले यहाँको जम्मा क्षेत्रफलको ५० प्रतिशत भूभाग सखाप भइसकेको छ ।’ डोटीमा डढेलो लाग्नुको प्राकृतिक कारण नभई भौतिक कारण रहेको उनी बताउँछन् । ‘यहाँ चट्याङले डढेलो सल्केको नभई आम उपभोक्ताले नै जानी जानी डढेलो सल्काएका छन्,’ उनले भने,‘आम उपभोक्ता जंगलमा आगो लगाउँदा त्यसले नयाँ पालुवा पलाउने र घाँस काट्न सजिलो हुने भन्ने गलत मानसिकताका कारण त्यसो गर्दै आएका छन् ।’ सल्लाघारीमा सल्लो पीरले मानिस हिँड्दा भिरमा लड्ने, गाई गोरु लड्ने भएकाले त्यस्तो ठाउँमा आगजनी गर्ने गरेको पनि उनी बताउँछन् । ‘सल्ली पीरमा चिप्लेर मानिसको मृत्यु हुने भयले पनि यहाँका आम उपभोक्ता वन जंगलमा डढेलो लगाउने गरेका छन्,’ उनले भने,‘त्यसलाई रोक्न हामीले जनचेतनामूलक सामग्री यहाँका एफएम रेडियोमार्फत् सार्वजनिक गरेका छौँ, तर पनि केही भएको छैन ।’
डढेलोले दुई जनाको मृत्यु !
सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न जाँदा सुदूरपश्चिममा दुई जना उपभोक्ताले ज्यान गुमाएका छन् । डोटीको शिखर नगरपालिका वडा नम्बर ८ का स्थानीय खडकबहादुर भुलको आफ्नो सामुदायिक वनमा लागेको डढेलो निभाउन जाँदा जलेर मृत्यु भएको छ । त्यस्तै बाजुराको बडिमालिका नगरपालिका–३, स्थित घटाल सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि खटिएकी स्थानीय उपभोक्ता थोपी खड्काको पनि जलेर मृत्यु भएको प्रदेश वन निर्देशनालय धनगढीले जनाएको छ । उनीहरुको परिवारलाई सम्बन्धित डिभिजन वन कार्यालयमार्फत् केही राहत दिन निर्देशन भएको बताउँदै प्रदेश वन निर्देशक बिष्टले भने,‘हामीले केही राहत दिन्छौँ, त्यसपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको दैवीप्रकोप उद्धार कोषबाट पनि सम्बन्धित पक्षलाई सहयोग दिइन्छ ।’
२८ चैत्र २०७७
•
४ मिनेट पाठ