मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो। मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए।
साँझ ढल्किँदै गयो। मानिसहरूको चहलपहल बढ्दै गयो। आँगनमा बाजा बज्दै थियो। बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भीड बढ्दै थियो।
चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलको बस्नेत–गिरी बस्तीका पहलमान बस्नेतको घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको एक सय आठ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किँदै थियो। केही व्यक्तिहरु बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए। राति ९ बजेदेखि तीनवटा रूखबाट काटिएको दाउरा दनदनी बल्दै थियो।
दुई घन्टाभन्दा बढी समय बलेको दाउरा सबै आगोका भुङ्ग्रोेमा परिणत भयो। मध्यराति करिब ११ बजे यो बस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिल र वरिपरि बसेर निकै कौतुहलताका साथ ‘अग्निकुण्ड’ तर्फ हेर्दै अब के हुन्छ?, आगोको सबै भुङ्ग्रोमाथि उफ्रेर सबै आगोको गोल निभाउँछन् कि निभाउँदैनन् भनेर हेर्दै थिए।
आगोको भुङ्ग्रो नजिकै गुरु रुदबहादुर खड्काले तान्त्रिक विधि अनुसार पूजा गरेपछि कुल देवताका नाममा बोकाको बलि दिइयो। त्यसपछि पहलमानको मूल घरमा भित्रिएका सेतो गन्जी र धोती लगाएका पुरुषहरुले पूजा गरेर बत्ती खाएसँगै शरीर कमाउँदै स्नान गरेर फर्किएसँगै काम्दै उफ्रँदै थुपारिएको आगोको भुङ्ग्रोमाथि तीनपटक घुमेपछि गुरुको आदेश पाउने बित्तिकै आगोमाथि दौडिन थाले।
केहीबेरमा मूलको घरको पूजाकोठाभित्र गुरुदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका एक हूल मानिस काम्दै घरबाट निस्किए र आगोको भुङ्ग्रोतर्फ लम्किए। अगाडि बाजा घन्किरहेको थियो। वरिपरि बढेको भीड आगो माथिको नाच हेर्न लालायित थिए। त्यसपछि देवदेवी एवं वायु चढेका सेता गन्जी, धोती लगाएका, माला लगाएका व्यक्तिहरू, काम्दै उफ्रँदै दाउराको आगोको भुङ्ग्रोे अगाडि पुगे। कोही देवदेवीको जयजयकार गर्दै थिए।
हातमा थाल बजाउँदै उफ्रिरहेका र अर्का मूल गुरु रुद्रबहादुर खड्का एकै छिनमा आगोको भर्भराउँदो भुङ्ग्रोमा लात्तीले हानेर उफ्रिन थाले। त्यसलगत्तै एकपछि अर्को आगोमा होमिए र त्यसैगरी लात्तीले हाने। गुरुको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगोमा होमिन थाले। उनीहरू आगोको भुङ्ग्रोमा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले। मानौँ त्यो एउटा खेलकुद मैदान हो, आगोका तीन भङ्ग्रो फुटबल हो र उनीहरू त्यही, त्यहीँ फुटबल खेलिरहेका छन्।
नाङ्गो पैतालाले आगोमाथि मानिस नाचेको र उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए। भुङ्ग्रोेमाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो। काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदोे भुङ्ग्रोमा नाचिरहे। आगोमा नाचेको डिलमा बसेर हेरिरहेकाहरू चकित मात्रै परेनन्, आफ्ना छोरा र श्रीमान् आगोमा नाच्दा आमा र श्रीमतीहरूको मन भने कटक्क खायो। शरीरमा कुलको मूल देवता अर्थात् खप्परमास्टर शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, कुलका मामा भान्जी शरीरमा धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत, दिनेश बस्नेत, सुमन बस्नेत आगोमा उफ्रिन थाले।
नजिकै डिलमा उभिएकी एक किशोरी भन्दै थिइन्, “ओहो, आगोको भुङ्ग्रोेमा उफ्रिँदा हाम्रो ड्याडीलाई पोलेन होला त? जीउ पनि दुख्यो होला है।” हेर्नेमध्ये धेरैले जिज्ञासा राखे, यसरी भुङ्ग्रोमाथि नाच्नेको पैतालाको हालत के भयो होला? तर खली खुवाउने कार्य सम्पन्न भएपछि भुङ्ग्रोमा नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा हेर्नेहरु चकित परे।
आगोमा नाचेपछि शरीरमा देवदेवी र वायुको कम्पन आइरहेका सबैलाई गुरुले आगामा नाच्दा सुरक्षित भए नभएको एवं काँचो वायु तथा कुलदेवदेवीले पूर्णता पाए/नपाएको जिज्ञासा राख्दै पालैपालो सबैलाई सोधे। पूर्णता पाएको र डाङ्ग्रेको शरीर सुरक्षित रहेको बताएपछि भने फेरि जयजयकार गर्दै खुसीको धुनसहितको बाजा बजाउँदै सबै काम्दै सुरुमा निस्किएकै घरमा पसे, बलिरहेको बत्ती मुखमा हाल्दै शरीर कम्पन छाड्दै पुरानै अवस्थामा फर्किए र बाहिर निस्किए।
आफ्नो कुलदेवतालाई उचित स्थान दिने र अकालमा ज्यान गुमाएर भड्किएको मृतात्माको मुक्तिका लागि शदिऔँदेखि चल्दै आएको तान्त्रिक विधिअनुसार गरिने खली प्रथालाई बस्नेत परिवारले चौथोपटक पूर्णता दिएका थिए। मूल गुरु खड्काले भन्नुभयो, “खली प्रथालाई चमत्कार वा अन्धविश्वास भन्न हुँदैन, यो श्रृष्टिको उत्पत्ति कालदेखिनै चल्दै आएको परम्पपरा मानिन्छ। गुरुहरूले प्राचीन तान्त्रिक प्रक्रियामार्फत प्रेतात्माको मुक्तिका लागि खली प्रथा चल्दै आएको हो। मैले नै यहीँ कुलमा योसमेत तीनपटक वायु उतार्ने र खली खुवाउने कार्य गरिएको छ। बीस वर्षअघि पनि यो कुलमा खली खुवाइएको थियो।”
उनका अनुसार अकालमा मृत्यु भएकाको उद्धार नगरी पिशाचको रुपमा रहँदा त्यो कुल वंशभित्रका परिवारलाई दुःख कष्ट दिने, घरमा बिरामी नछुट्ने, अकल्पनीय दुर्घटनाहरु हुने, पशु चौपायाहरु बिरामी नै नभई अचानक मर्नेलगायतका घटना हुन्छन्, अकालमा मृत्यु भएकाको वायु उतारेर त्यही कुलवंशका व्यक्तिको शरीरमा धारण गरेपछि वायुदेवका रुपमा स्थान पाउने भड्किएको आत्माले मुक्ति पाउने विश्वास रहेको छ।
अकालमा मृत्यु भएकाहरु सबै वायुदेवका रुपमा कुलदेवतासँगै राखेर पूजा गर्ने भएपछि कुलवंशमा राम्रो भएर आउने पूर्ण विश्वास रहेको मूल गुरु खड्का बताउछन्। तान्त्रिक विधि र कूल देवताको शक्तिले आगोको भुङ्ग्रोमा उफ्रिँदा पनि डाङ्ग्रको खुट्टाको रौं समेत नजल्ने उनी बताउछन्।
यहाँका बस्नेत कुलमा अकालमा ज्यान गुमाएकाहरूको आत्मा मुक्तिको कर्मका लागि खली खुवाउन तीन साताको तान्त्रिक विधिअनुसार सबै प्रक्रिया पुरा गरेर खली खुवाउने कार्य सम्पन्न गरिएको हो। तीन सातादेखि हरेक दिन राति खाना खाएपछि कुलका सबै पुरुष शुद्ध भई जम्मा भएर प्रत्येक रात गुरुमार्फत वायु उतार्ने काम सम्पन्न गरेपछि खली खुवाएर त्यसलाई पूर्णता दिइएको नवीन बस्नेतले बताउछन्।
शरीरमा कुलको मूलदेवता अर्थात् खप्परमास्टर शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, भान्जाभान्जी चेतबराह र मण्डली धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत आगोको भुङ्ग्रोमा उप्रिाएका थिए। पुरोना धामी दिनेश बस्नेतको आङ अर्थात् शरीरमा धारण गरेको खप्परमास्टर राजकुमारको शरीरमा र पुरानो धामी सुमन बस्नेतको शरीरमा रहेको भान्जाभान्जी चेतबराह र मण्डली सौरभको आङ अर्थात् शरीरमा हस्तान्तरणसमेत गरिएको नवीन बस्नेतले बताए।
आफ्नो कुलमा अकालमा ज्यान गुमाएर मोक्ष नपाएका पितृको उद्धारका लागि गरिने प्राचीन र तान्त्रिक विधिलाई खली खाने प्रथा भन्ने गरिएको गुरु खड्काले बताउछन्। सुरुमा गुरुमार्फत कुलका सबै जम्मा भएर एक भाइका घरमा वायु उतार्ने गरिन्छ।
काठमाडौं। जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रतिबद्धतासहित ‘काठमाडौं जलवायु घोषणा, २०८३’ जारी गरेको छ।
जलवायु न्याय, समावेशी विकास र उत्थानशील सहर निर्माणलाई केन्द्रमा राखेर महानगरपालिकाले आइतबार एक सातादेखि सञ्चालन भइरहेको काठमाडौं जलवायु कार्य सप्ताहको समापनका अवसरमा उक्त घोषणा सार्वजनिक गरेको हो।
मंसिर ७ देखि १३ गतेसम्म आयोजित सप्ताहबाट प्राप्त ज्ञान, अनुभव, सुझाव र सिकाइलाई कार्यान्वयनमा रूपान्तरण गर्ने उद्देश्यले घोषणा जारी गरिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्।
घोषणामा जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएको उल्लेख गर्दै यसको सामना गर्न स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता आवश्यक रहेको औँल्याइएको छ।
जलवायु न्यायको सिद्धान्त आत्मसात् गर्दै विकसित राष्ट्रको जिम्मेवारी तथा विकासशील राष्ट्र र जोखिममा रहेका समुदायका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
घोषणापत्रले सात क्षेत्रमा प्रतिबद्धता जनाएको छ। यी प्रतिविद्धतामा, पहिलो, जलवायु परिवर्तनलाई साझा चुनौतीका रूपमा स्वीकार गर्दै साझा समाधानको प्रयास गर्ने रहेको छ भने दोस्रोमा जलवायु परिवर्तनसम्बन्धी विषयलाई नयाँ पुस्ताको सरोकार बनाउने विषय समावेश छ।
यसैगरी, तेस्रोमा प्रकृतिमैत्री विकास र प्रकृतिमा आधारित समाधानलाई प्राथमिकता दिने तथा चौथोमा , काठमाडौं उपत्यकाको विशिष्ट पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्ने विषय समावेश छ।
यसैगरी पाँचौँ प्रतिविद्धतामा जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रममा नागरिक तथा समुदायको सहभागिता बढाउने र छैटौँमा जलवायु न्यायको केन्द्रमा नागरिक र जोखिममा रहेका समुदायलाई राख्ने विषय समावेश छ। सातौँ तथा अन्तीम वुदामा प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने कुरा समेटिएको छ।
महानगरपालिकाले विद्यालय तहदेखि नै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन र दिगो विकाससम्बन्धी विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने जनाएको छ।
बालबालिका, युवा तथा नयाँ पुस्तालाई जलवायु परिवर्तनका असर र समाधानका विषयमा सचेत बनाउँदै निर्णय प्रक्रियामा समेत सक्रिय सहभागी गराउने घोषणा गरिएको छ।
त्यस्तै, विकासका नाममा प्रकृति, नदी, खोला, वन, सिमसार, खुला क्षेत्र र जैविक विविधतामाथि पर्ने दबाब घटाउन रैथाने ज्ञान, स्थानीय सीप र वैज्ञानिक अनुसन्धानलाई विकास आयोजनासँग जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
विकासका हरेक योजना तथा आयोजनामा जलवायु जोखिम मूल्याङ्कन, वातावरणीय संवेदनशीलता र दीर्घकालीन प्रभावलाई अनिवार्य रूपमा समेटिने घोषणामा उल्लेख छ।
काठमाडौं उपत्यकाको भौगोलिक बनावट, वन तथा जलाधार क्षेत्र, परम्परागत पानीका स्रोत र नदी सभ्यतासहितको विशिष्ट पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्ने प्रतिबद्धता पनि गरिएको छ।
यसका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन, वायु प्रदूषण नियन्त्रण, आकाशे पानी तथा वर्षाको पानी सङ्कलन, रिचार्ज काठमाडौं अभियान, नदी तथा खोलाको पुनर्जीवन र हरित क्षेत्र विस्तारलाई प्राथमिकता दिइनेछ।
हिटी, पोखरी, राजकुलो तथा सांस्कृतिक सम्पदाको संरक्षण र सफा टेम्पो तथा बिजुली बसजस्ता विद्युतीय सार्वजनिक यातायातको प्रवद्र्धन पनि घोषणामा समेटिएको छ।
जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रमलाई सम्मेलन र नीतिमा मात्र सीमित नराखी नागरिकको दैनिक जीवनसँग जोड्ने महानगरको प्रतिबद्धता छ। सहरी नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण, सार्वजनिक यातायात, हरित पूर्वाधार, पानीको मितव्ययी उपयोग र दिगो उपभोगलाई प्राथमिकता दिइनेछ। विपद् आउनुअघि तयारी गर्ने, जोखिम घटाउने र क्षति भएपछि पुनःस्थापना गर्ने क्षमता पनि संस्थागत गरिनेछ।
घोषणाले जलवायु न्यायको केन्द्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय, अनौपचारिक बस्तीका बासिन्दा तथा जलवायु जोखिममा रहेका अन्य समूहलाई राखेको छ।
स्थानीय ज्ञान, परम्परागत सीप, रैथाने खाना र दिगो खाद्य प्रणालीलाई वैज्ञानिक अनुसन्धानसँग जोड्दै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। जलवायु सुरक्षा सुविधा नभई प्रत्येक नागरिकको अधिकारका रूपमा स्थापित गर्ने घोषणामा उल्लेख छ।
घोषणा सार्वजनिक गर्दै कार्यवाहक प्रमुख डंगोलले जलवायु सप्ताहबाट प्राप्त ज्ञान, अनुभव र सुझावलाई कार्यान्वयनमा रूपान्तरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन्।
उनले जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण गर्दै काठमाडौंलाई उत्थानशील सहर बनाउने अभियानमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।
‘जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएकाले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता सुनिश्चित गर्दै जलवायु न्यायको सिद्धान्त आत्मसात् गर्नेछौँ,’ उनले भनिन्।
जलवायु सप्ताहमा उठेका विषय, छलफल र निष्कर्षलाई कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यान्वयनमा लैजाने महानगरपालिकाले जनाएको छ।
यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्राज्ञिक तथा अनुसन्धान संस्था र समुदायबीच दीर्घकालीन साझेदारी तथा सहकार्य संयन्त्र विकास गरिनेछ। जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्दै पारदर्शी अनुगमन, नियमित समीक्षा र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्ने प्रतिबद्धता पनि घोषणामा गरिएको छ।
घोषणापत्रमा प्रतिबद्धता कार्यान्वयन गर्नु साझा दायित्व भएको उल्लेख गर्दै बहुक्षेत्रीय समन्वय, संस्थागत साझेदारी, स्रोत परिचालन र नियमित अनुगमनमार्फत काठमाडौं जलवायु घोषणा, २०८३ कार्यान्वयन गर्ने सङ्कल्प व्यक्त गरिएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...