भक्तपुरको ख्वप इन्जिनियरिङ कलेज लिवाली नजिकै पर्छ, इन्जिनियरिङ चोक लिवाली। कलेजबाट केही मिटरको उत्तर पश्चिम परेको यो ठाउँमा पुग्ने बित्तिकै धेरैको मुखबाट स्वतस्फुर्ट निस्कने शब्द हो आहा ! कस्तो राम्रो।
यहाँ यस्तो कुनै विशेष भएर आहा भएको होइन, घरै पिच्छै सवैतिर लहरै दायाँबायाँ हरियाली कायम भएकोले भएको हो। यहाँका सबै घरहरूको दुवैतर्फ लहरै गमलाहरूमा बिरुवाहरूले ढाकेर सवैतिर आकर्षक भएकोले हो। यही कारण अहिले यो ठाउँ भक्तपुरकै नमुना ठाउँको रुपमा चिनिन थालेको छ।
त्यहाँका स्थानीय मिलेर हरियाली कायम गरेका हुन्। चोकका सबै घरधनीहरू मिलेर सामूहिक रुपमा गमलामा फुलहरू तथा बोटबिरुवाहरू रोपेर हरियाली कायम भएको छ।
हरियाली कायम गर्न झण्डै एक वर्षदेखि सुरु गरेका उनीहरूले गमलामा रोपेका रुख, बोटविरुवाहरुले अलि ठूल्ठूलो भई हरियाली कायम भएपछि सबैको लागि यो ठाउँ आहा बनेको हो।
स्थानीयवासीहरू मिलेर बनाएको इन्जिनियरिङ चोक लापु ग्वाली पुचः (इन्जिनियरिङ चोक बाटो सहयोगी समूह) का अध्यक्ष रत्नलाल साँढले २०७८ वैशाख १५ गते आफ्नो अध्यक्षमा समूह गठन गरी काम थालेपछि अहिले परिणाम आएको बताउँछन्।
टोलका सडक दायाँ बायाँका लहरै भएका दुवैतर्फका घरघर अगाडि लहरै हरियाली कायम भएपछि अहिले धेरैको आँखा गएको बताउँछन्। उनका अनुसार झण्डै एक दुई सय मिटरको कालोपत्रे बाटोमा सवैतिर लहरै हरियो देखिएपछि टोलको शोभा नै अर्के भएको सबै घरधनीका साथ बाहिरका मानिसले पनि अनुभव गरेका छन्। यसले घर मात्रै होइन, टोलकै सुन्दरतामा नयाँ चमक आएको छ, उनले भने, जति यो बाटो भएर हिँड्छन् सवै जना तारिफ गरेर जान्छन्।
त्यहाँ झण्डै एक सय ५० वटा गमलाहरूमा सवैमा रंगरोगन गरी वरिपरि दुवैतिर लहरै कपुर, ढुपी, इनडोर प्लानलगायतका बिरुवा रोपेर हरियाली कायम गरेका छन्।
उनीहरूका अनुसार सुरुमा त्यहाँ २० लिटरको बिग्रेको जार किनेर रंगरोगन गरी सय वटा लहरै राखी बिरुवा रोपेका थिए। पछि फेरि भक्तपुर नगरपालिका वडा नं ८ सँग सहयोग मागेर ५० प्रतिशत वडाले व्यवहोर्ने गरी प्रति गोटा एक सय ५० रुपैयाँ जाने गमला ५० वटा किनेर त्यसमा पनि बिरुवा रोपेका थिए। पछि फेरि वडा कार्यालयकै सहयोगमा बिरुवाहरूमा राख्ने कम्पोस्ट मल (भक्तपुर नगरपालिकाले बनाउने कम्पोस्ट मल) बाट मल ल्याई सबै बिरुवाहरूमा राखेका थिए। त्यसपछि बिरुवा सप्रेर अहिले सबै हराभरा कायम भएको छ।
स्थानीय कृष्णसुन्दर प्रजापतिले टोलवासी नै मिलेर नियमित रुपमा सरसफाइ कार्यक्रम पनि गर्दै आएको जनाए। साथै टोलवासी नै मिलेर त्यहाँ ठाउँठाउँमा बाटो भएर हिँड्ने बटुवाहरूका लागि फोहोर फाल्न (बिस्कुटको खोल, चाउचाउको खोल) फाल्नका लागि डष्टविनको पनि व्यवस्था गरेका छन्।
अर्का स्थानीय सागर कुसाथाले आफूहरुको नमुना काम देखेर अहिले बिस्तारै अरूतिर पनि सिको गर्न थालेको जनाए। आफूहरुबाटै सिको गरेर टोलको पश्चिमको सडकमा स्थानीय वालकृष्ण साँढको अध्यक्षतामा टोल समिति गठन भएको र उसले पनि सरसफाईको काम थालेको सुनाए।
टोलवासीको यही काम भक्तपुर नगरपालिका लागि पनि नमुना बनेको छ। यही कारण नगरपालिकाले पनि नगरको प्रमुख बजारको दुवै छेउ यस्तै गमलामा बोटबिरुवा रोपी हरियाली कायम गर्ने उद्देशका साथ नगरको मुख्य बजार सूर्य मढीदेखि भार्वाचोसम्मका डेढ सय पसलेहरूलाई बोलाइ यस विषयमा छलफल गरेको थियो।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।